आर्थिक वर्ष ७६/७७ को नाफाबाट बैंकहरुको औसत लाभांश क्षमता ११.३२%, कस्को कति ?



काठमाडौं । आर्थिक वर्ष २०७६/७७ को नाफाबाट यो वर्ष वाणिज्य बैंकहरुले सेयरधनीलाई दिने औषत लाभांश ११.३२ प्रतिशत रहेको देखिएको छ ।

अहिले २७ वटा वाणिज्य बैंक संचालनमा छन् । जसमा प्रभु र कृषि विकास बैंकले गत आर्थिक वर्षको वित्तीय विवरण सार्वजनिक गरेका छैनन् । राष्ट्रिय वाणिज्य बैंकले सर्वसाधारणलाई सेयर जारी नगरेको हुँदा यो विवरणमा उल्लेख गरिएको छैन ।

जसअनुसार २४ वटा बैंकले औसतमा ११.३२ प्रतिशत लाभांश गत वर्षको नाफाबाट दिन सक्नेछन् ।

राष्ट्र बैंकले असोजसम्मको ब्याज आम्दानीलाई पनि अघिल्लो वर्षको आम्दानीमा लेखांकन गर्न सक्ने सुविधा दिएको छ । यो आधारमा असोजसम्म ब्याज उठेमा पनि लाभांश रकम थप बढ्छ ।

यसबाहेक अघिल्लो वर्ष कमाएको पैसाबाट र जगेडामा राखेको पैसाबाट समेत लाभांश दिनसक्ने व्यवस्था छ ।

पूर्णलेखापरिक्षण हुँदा यो रकम फरक छ । अहिले तयार पारिएको रिपोर्ट बैंकहरुले प्रकाशित गरेको अपरिस्कृत वित्तीय विवरणको आधारमा गरिएको हो ।

गत वर्षको नाफाबाट नविल बैंकले सबैभन्दा बढी अर्थात् ३०.१२ प्रतिशत लाभांश दिन सक्छ । ०७७ असार मसान्तमा १ अर्ब १५ करोड रुपैयाँ किस्ता र ब्याज उठाउन नसक्दा पनि गत वर्ष ३ अर्ब ५६ करोड ६६ लाख रुपैयाँ खुद नाफा कमाएको छ । जसमध्ये ३ अर्ब ४ करोड २२ लाख रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ ।

बैंकको चुक्ता पुँजी १० अर्ब ९ करोड रुपैयाँ छ भने १२ अर्ब ६६ करोड रुपैयाँ छ ।

०७७ असार मसान्तमा बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज उठेन, कसको कति ?

नविल बैंकले अघिल्लो आर्थिक वर्षको नाफाबाट गत आर्थिक वर्ष २२ प्रतिशत नगद लाभांश र १२ प्रतिशत बोनस सेयर गरी कूल ३४ प्रतिशत लाभांश दिएको थियो ।

नविल पछि गत आर्थिक वर्षको नाफाबाट धेरै लाभांश दिने क्षमता भएको बैंक हो स्ट्यान्डर्ड चार्टर्ड । यो बैंकले २४.७६ प्रतिशत लाभांश दिने क्षमता राख्छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट यो बैंकले गत वर्ष २२.५ प्रतिशत नगद लाभां दिएको थियो ।

चुक्ता पुँजी बढाउनुपर्ने बाध्यता भएको अवस्था बाहेक चाटर्ड बैंकले नगद लाभांश दिँदै आएको छ ।

स्ट्यान्डर्ड चाटर्डले पनि ०७७ असार मसान्तमा ४४ करोड रुपैयाँ ब्याज र किस्ता उठाउन सकेको छैन । यस्तो अवस्थामा पनि बैंकले गत वर्ष १ अर्ब ९८ करोड ३९ लाख रुपैयाँ रहेको छ । अघिल्लो वर्षको तुलनामा बैंकको नाफा भने १५.७६ प्रतिशतले घटेको हो ।

गत आर्थिक वर्ष बैंकले १ अर्ब ५१ करोड ५७ लाख रुपैयाँ वितरणयोग्य नाफा कमाएको छ ।

त्यस्तै नेपाल बैंकले ०७७ असार मसान्तमा उठ्नुपर्ने ६ अर्ब १४ करोड रुपैयाँ किस्ता र ब्याज उठाउन नसक्दा पनि गत वर्षको नाफाबाट यो वर्ष सेयरधनीलाई २०.४८ प्रतिशत लाभांश दिने क्षमता राख्छ ।

बैंकले गत वर्ष १५ प्रतिशत बोनस सेयर र १० प्रतिशत बोनस सेयर गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो ।

त्यसैगरी, गत आर्थिक वर्षको नाफाबाट एभरेष्ट बैंकले १९.६२ प्रतिशत लाभांश दिनसक्ने क्षमता राख्छ । अघिल्लो आर्थिक वर्षको नाफाबाट एभरेष्ट बैंकले सेयरधनीलाई २० प्रतिशत नगद लाभांश र ५ प्रतिशत नगद लाभांश गरी कूल २५ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले ०७७ असार मसान्तमा ८२ करोड रुपैयाँ उठाउनुपर्ने किस्ता र ब्याज उठाउन सकेन । यद्यपि बैंकले गत वर्ष २ अर्ब ४९ करोड रुपैयाँ नाफा कमाएको छ । जुन अघिल्लो वर्षको भन्दा १८.२६ प्रतिशतले कम हो ।

एभरेष्ट बैंकले गत वर्ष सेयरधनीलाई बाँड्न मिल्ने १ अर्ब ६७ करोड रुपैयाँ नाफा कमाएको छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ५१ करोड रुपैयाँ छ भने ८ अर्ब १८ करोड रुपैयाँ रिजर्भ छ ।

गत आर्थिक वर्षमा एनआइसी एशियाले ३ अर्ब १२ करोड रुपैयाँ नाफा कमाको छ । जसमध्ये १ अर्ब ४४ करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । जसअनुसार एनआइसी एशियाले  सेयरधनीलाई यो वर्ष १४.८३ प्रतिशत लाभांश दिने क्षमता राख्छ

अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंकले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

बैंकले ०७७ असार मसान्तमा उठाउनुपर्ने ९१ करोड रुपैयाँ मात्रै किस्ता र ब्याज उठाउन सकेन । ठूलो पोर्टफोलियो भए पनि यो बैंकले लकडाउनकै बेला कर्जा तिर्नेलाई विभिन्न छुटको अफर ल्याएर ऋण उठाउन सफल भएको थियो । जसकारण गत आर्थिक वर्षको वित्तीय विवरणमा ठूलो असर देखिएन ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ७१ करोड रुपैयाँ छ भने रिजर्भ ५ अर्ब ८२ करोड रुपैयाँ छ ।

गत आर्थिक वर्ष हिमालयन बैंकले २ अर्ब ५४ करोड रुपैयाँमा नाफा कमाएको छ । जसमध्ये १ अर्ब ३० करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ३७ करोड रुपैयाँ छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट सेयरधनीलाई १३.९६ प्रतिशत लाभांश दिने क्षमता राख्छ

अघिल्लो आर्थिक वर्षको नाफाबाट बैंकले गत वर्ष १० प्रतिशत बोनस र १२ प्रतिशत नगद लाभांश गरी कूल २२ प्रतिशत लाभांस दिएको थियो ।

हिमालयन बैंकले ०७७ असार मसान्तमा उठाउनुपर्ने १ अर्ब २९ करोड रुपैयाँ उठाउन सकेन । जसको असर नाफामा परेको हो ।

सानिमा बैंकले ०७७ असार मसान्तमा उठ्नुपर्ने १ अर्ब २४ करोड रुपैयाँ ब्याज र किस्ता उठाउन सकेन । तैपनि गत आर्थिक वर्ष सानिमा बैंकले १ अर्ब ७० करोड रुपैयाँ नाफा कमाएको छ । जसमध्ये १ अर्ब ११ करोड रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । बैंकको चुक्ता पुँजी ८ अर्ब ८० करोड रुपैयाँ छ ।

जसअनुसार सानिमाले गत वर्षको नाफाबाट यो वर्ष १२.६१ प्रतिशत लाभांश दिने क्षमता राख्छ । अघिल्लो वर्षको नाफाबाट गत वर्ष बैंकले १० प्रतिशत बोनस र ११.०५ प्रतिशत नगद लाभांश गरी कुल २१.०५ प्रतिशत लाभांश दिएको थियो ।

गत आर्थिक वर्षमा लक्ष्मी बैंकले १ अर्ब ४८ करोड ४७ लाख रुपैयाँ नाफा कमाएको छ । जसमध्ये १ अर्ब १२ करोड ७२ लाख रुपैयाँ सेयरधनीलाई बाँड्न मिल्छ । जसअनुसार बैंकले गत वर्षको नाफाबाट यो वर्ष ११.४१ प्रतिशत लाभांश दिने क्षमता राख्छ।

बैंकको चुक्ता पुँजी ९ अर्ब ८१ करोड रुपैयाँ छ भने रिजर्भमा २ अर्ब ५४ करोड रुपैयाँ छ ।

अघिल्लो वर्षको नाफाबट बैंकले गत वर्ष १० प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद गरी कूल १५ प्रतिशत लाभांश दिएको थियो ।

गत वर्षको नाफाबाट बैंक अफ काठमाण्डू, प्राइम र एसबीआइले ११ प्रतिशत लाभांश दिने क्षमता राख्नछन् भने एनएमबिले १० प्रतिशत लाभांश दिने क्षमता राख्छ

२४ वटा बैंकमा १२ वटा बैंकको लाभांश क्षमता १० प्रतिशतभन्दा बढी छ भने १२ वटा बैंकको क्षमता १० प्रतिशतभन्दा कम छ ।

माछापुच्छ्रे बैंकले ९.६१ प्रतिशत, ग्लोबल आइएमई बैंकले ९ प्रतिशत, सिटिजन्सले ९.०३ प्रतिशत लाभांश क्षमता राख्छन् । सिद्दार्थको ८.४५ प्रतिशत लाभांश क्षमता रहेको छ ।

मेगाको ८.४५ प्रतिशत, सनराइजको ५.८९, कुमारीको ५.६७एनबीको ५.१६ प्रतिशत लाभांश क्षमता रहेको छ ।

यस्तै लाभांशका हिसाबले लामो समय नम्बर वान रहेको नेपाल इन्भेष्टमेन्ट बैंकको लाभांश क्षमतामा उच्च गिरावट आएको छ । गत आर्थिक वर्षको नाफाबाट इन्भेष्टमेन्टले ४.५८ प्रतिशतमात्रै लाभांश दिने क्षमता राख्छ

अघिल्लो वर्षको नाफाबाट गत वर्ष इन्भेष्टमेन्ट बैंकले १०.५ प्रतिशत बोनस र ८.५ प्रतिशत नगद गरी कूल १९ प्रतिशत लाभांश दिएको थियो । उक्त लाभांश बैंकको इतिहासमै सबैभन्दा कम थियो ।

०७७ असार मसान्तमा उठ्नुपर्ने २ अर्ब ६२ करोड रुपैयाँ ब्याज र किस्ता उठाउन नसकेपछि इन्भेष्टमेन्ट बैंकको नाफा प्रभावित भएको हो ।

यद्यपि गत आर्थिक वर्षमा बैंकले २ अर्ब ५७ करोड १६ लाख रुपैयाँ नाफा कमाएको छ । जसमध्ये ६५ करोड २३ लाख रुपैयाँ मात्रै सेयरधनीलाई बाँड्न मिल्छ । बैंकको चुक्ता पुँजी १४ अर्ब २५ करोड र रिजर्भमा ११ अर्ब ४० करोड ५३ लाख रुपैयाँ छ ।

त्यसैगरी, सेञ्चुरीको लाभांश दिने क्षमता ४.०२ प्रतिशत छ भने सिभिल बैंकको लाभांश दिने क्षमता सबैभन्दा कम अर्थात् ३.१५ प्रतिशत छ

कोरोनाको असर नाफा देखिएपछि अधिकांश बैंकको लाभांश क्षमता घटेको हो । बैंकहरुको लाभांश दिने क्षमतामा कमी आएसँगै वित्तीय क्षेत्रको ७५ प्रतिशत हिस्सा रहेको सेयर बजार प्रभावित हुने आँकलन गर्न सकिन्छ ।


क्लिकमान्डु