
काठमाडौं । व्यवसायी दुर्गा प्रसाईंले बिर्तामोडमा बनाउँदै गरेको होटलको लागत अझै बढ्न सक्ने देखिएको छ । झापाको बिर्तामोडमा बनाउँदै गरेको होटल अट्रियम प्रालिको लागत सुरूको लागतभन्दा अझै बढ्न सक्ने देखिएको छ ।
कम्पनीले बिर्तामोडमा लक्जरी होटल निर्माण गरिरहेको छ । कम्पनीले सुरूमा २ अर्ब ८४ करोड ३० लाख रुपैयाँमा होटल निर्माण गर्ने भनिएको थियो ।
तर कम्पनीले होटलमा कोठाको संख्या बढाएको र डिजाइनमा परिवर्तन गर्दा लागत बढेको उल्लेख गरेको थियो । कम्पनीले सुरूमा ९६ वटा कोठा बनाउने भनिएकोमा अब ९८ कोठा पुग्नेछ ।
कम्पनीले कोठा बढाएसँगै लागत बढाएर ३ अर्ब २९ करोड ८० लाख रुपैयाँ लगानीमा निर्माण गर्ने भनेको थियो । तर, अहिले पुनः कम्पनीले थप सिभिल, मेकानिकल तथा फर्निचर सम्बन्धी कार्य, ब्याङ्क्वैट, क्यासिनो क्षेत्रको डिजाइन परिमार्जन गरी सुविधाको विस्तार तथा निर्माण अवधि लम्बिँदा ब्याज बढ्न गई लागत वृद्धि हुने देखिएको हो ।
कम्पनीले होटल निर्माणका लागि ऋण–इक्विटी ७०ः३० अनुपात राखेको छ । त्यसमध्ये २ अर्ब ३६ करोड ९० लाख रुपैयाँ वित्तीय व्यवस्थापन भइसकेको छ ।
होटलको निर्माण कार्य अन्तिम चरणमा छ । तर, तोकिएको समय र अनुमानित लागतमा सम्पन्न हुन अझै चुनौति रहेको छ ।
सन् २०१६ मा स्थापना भएको कम्पनीले १६ हजार ८ सय ४३ स्क्वायरफिटमा होटल निर्माण गर्नेछ । होटलमा ९८ वटा कोठाको सुविधासहित लक्जरियस होटलको सुविधा दिने भएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि २ अर्ब रुपैयाँको रेटिङ गराएको छ ।






प्रतिक्रिया