इंग्ल्याण्डमाथि जितेको अर्जेन्टिनालाई होला कारबाही ?

2.6k
Shares

एजेन्सी । अर्जेन्टिनाले विश्वकप सेमिफाइनलमा इङ्ल्यान्डलाई २-१ ले हराएपछि उत्सव मनाउँदा लिसान्ड्रो मार्टिनेज र जियोभानी लो सेल्सोलगायत केही खेलाडीले ‘फकल्यान्ड अर्जेन्टिनाको हो’ लेखिएको ब्यानर देखाएका थिए।

यो घटना बिहीबार बिहान अटलान्टामा भएको सेमिफाइनल पछि भएको थियो, र ब्यानर कहाँबाट आयो भन्ने अझै स्पष्ट नभएको अलजजिराले जनाएको छ ।

फिफाको नियम के भन्छ ?

फिफाको नियमअनुसार राजनीतिक, आपत्तिजनक वा भेदभावपूर्ण प्रकृतिका ब्यानर, झन्डा, पर्चा र अन्य सामग्री स्टेडियम भित्र निषेधित छन्। फिफा र आईएफएबीले प्रमुख प्रतियोगिताहरूमा टिम वा दर्शकहरूले राजनीतिक झन्डा, नारा र प्रतीक देखाउने विषयमा सधैं कडा आपत्ति अपनाउँदै आएका छन् ।

फिफाले यसअघि पनि २०१४ मा स्लोभेनियाविरुद्धको एक मैत्रीपूर्ण खेलपछि यस्तै संकेत देखाएकोमा अर्जेन्टिना फुटबल संघलाई करिब ३६ हजार डलर जरिवाना गरेको थियो । यसैले यसपटक पनि जरिवाना वा अन्य कारबाही हुनसक्ने आकलन गरिएको छ, यद्यपि फिफाले अझै आधिकारिक प्रतिक्रिया दिएको छैन।

फकल्यान्ड (माल्भिनास) टापुको स्वामित्वबारे अर्जेन्टिना र बेलायतबीच लामो समयदेखि विवाद छ । १९८२ मा यी टापुहरूमाथि दुई देशबीच युद्ध भएको थियो, जसमा ६४९ अर्जेन्टिनी र २५५ बेलायती सैनिकको मृत्यु भएको थियो ।

अर्जेन्टिनाले सन् १८१६ मा स्पेनबाट स्वतन्त्रता पाएपछि यी टापु आफूले उत्तराधिकारमा पाएको र बेलायतले १८३३ मा गैरकानूनी उपनिवेशीकरण गरी कब्जा गरेको दाबी गर्दै आएको छ ।