०७७ असार मसान्तमा बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज उठेन, कसको कति ?



काठमाडौं । कोरोना महामारीका कारण वाणिज्य बैंकहरुको ५१ अर्ब ७५ करोड रुपैयाँ किस्ता/ब्याज नउठेको देखिएको छ ।

अक्रुड इन्ट्रेष्ट रिसिवेवल (एआइआर) को आधारमा २०७७ असार मसान्तसम्ममा बैंकहरुको सो परिमाणको किस्ता र ब्याज उठ्न नसकेको हो ।

क्लिकमाण्डूलाई प्राप्त विवरणअनुसार २७ वटा वाणिज्य बैंकको ५१ अर्ब ७५ करोड रुपैयाँ उठ्नुपर्ने किस्ता र ब्याज नउठेको हो । बैंकहरुले उठाउने किस्तारब्याज अघिल्लो बर्षकोभन्दा साढे ४ गुणाले बढी हो ।

अघिल्लो वर्ष असार मसान्तमा यसरी उठ्नुपर्ने ११ अर्ब ४७ करोड रुपैयाँमात्रै ब्याज उठेको थिएन ।

कोरोनाका कारण व्यवसायमा असर परेको भन्दै राष्ट्र बैंकले सावाँ/ब्याज तिर्ने समय सारिदिएकाले बैंकहरुले उठाउनुपर्ने जति रकम उठाउन नसकेका हुन् ।

२७ वटा वाणिज्य बैंकमा सबैभन्दा बढी ब्याज पूर्णसरकारी लगानीको राष्ट्रिय वाणिज्य बैंकको उठेको छैन । राष्ट्रिय वाणिज्य बैंकको १३ अर्ब १८ करोड रुपैयाँ उठ्नुपर्ने ब्याज नउठेको हो । अघिल्लो आर्थिक वर्षमा १ अर्ब ८३ करोड रुपैयाँ उठाउन बाँकी थियो ।

दोस्रोमा सरकारी लगानी रहेको नेपाल बैंक रहेको छ । नेपाल बैंकको ६ अर्ब १४ करोड रुपैयाँ ब्याज उठेको छैन । अघिल्लो आर्थिक वर्षमा नेपाल बैंकको २५ करोड रुपैयाँमात्रै उठाउन बाँकी थियो ।

सबैभन्दा कम ब्याज उठाउन बाँकी बैंकमा नेपाल एसबिअई बैंक हो । एसबिआईको ३० करोड रुपैयाँ ब्याज उठाउन बाँकी रहेको छ । एसबिआईले अघिल्लो वर्ष २१ करोड रुपैयाँमात्रै उठाउन सकेको थिएन ।

पछिल्लो समय आक्रामक शाखा विस्तार र व्यवसाय गरेको एनआईसी एशिया भने ब्याज उठाउन सफल भएको देखिन्छ । एनआईसीको जम्मा ९१ करोड रुपैयाँको ब्याज उठेको छैन । अघिल्लो आर्थिक वर्षमा एनआईसी एशियाले ५३ करोड रुपैयाँ उठाउन सकेको थिएन ।

बिग मर्जर गरेर व्यवसायको आकार ठूलो बनाएको ग्लोबल आइएमई बैंकको १ अर्ब ९० करोड रुपैयाँ ब्याज उठेको छैन । ग्लोबले अघिल्लो वर्ष जम्मा २७ करोड रुपैयाँ मात्रै उठाउन सकेको थिएन ।

बैंकहरुले गर्ने नाफामा प्रमुख हिस्सा ब्याजबाट आउने आम्दानी हो । आर्थिक वर्ष २०७५/७६ मा ब्याज आम्दानी अन्तर्गत बैंकहरुले ३ खर्ब ४ अर्ब रुपैयाँ गरेका थिए । खर्च भने १ खर्ब ७७ अर्ब रुपैयाँ हुँदा खुद ब्याज आम्दानी १ खर्ब २७ अर्ब रुपैयाँ भएको थियो ।

राष्ट्र बैंकले २०७७ सालको असारसम्म उठ्नुपर्ने ब्याज असोज मसान्तसम्ममा उठेमा पनि असारको लेखांकन गर्ने सुविधा भने दिएको छ ।

असोज महिनासम्ममा पनि ब्याज नउठेमा भने बैंकहरुको नाफा प्रभावित हुन्छ । बैंकले उठाउनुपर्ने ब्याज नउठे पनि निक्षेपकर्तालाई दिनुपर्ने ब्याज भने दिनुपर्छ । जसकारण ब्याजबाट आउन आम्दानी घट्ने तर खर्च भने बढी हुने गर्छ ।

नेपाल राष्ट्र बैंकअनुसार गत असार मसान्तसम्ममा नेपाल इन्भेष्टमेन्ट बैंकको २ अर्ब ६२ करोड रुपैयाँ ब्याज उठेको छैन । अघिल्लो असार मसान्तमा इन्भेष्टमेन्ट बैंकको जम्मा २८ करोड रुपैयाँमात्रै उठाउन बाँकी थियो ।

त्यस्तै नेपाल क्रेडिट एण्ड कमर्श (एनसीसी) २ अर्ब ३७ करोड रुपैयाँ उठाउन बाँकी छ । अघिल्लो वर्ष एनसीसी बैंकको जम्मा १५ करोड रुपैयाँमात्रै उठाउन बाँकी थियो ।

त्यस्तै, प्रभु बैंकको २ अर्ब रुपैयाँ उठ्न बाँकी रहेको छ । अघिल्लो वर्ष प्रभुले १ अर्ब ३ करोड रुपैयाँ उठाउन बाँकी थियो ।

त्यसैगरी, कृषि विकास बैंकको १ अर्ब ९० रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो वर्ष जम्मा ९० करोड रुपैयाँमात्रै उठाउन बाँकी थियो ।

एनएमबि बैंकको १ अर्ब ७२ करोड रुपैयाँ उठेको छैन । अघिल्लो वर्ष ६१ करोड रुपैयाँ उठेको थिएन ।

मेगा बैंकको १ अर्ब ४५ करोड रुपैयाँ उठ्न सकेको छैन । अघिल्लो वर्ष २८ करोड रुपैयाँ मात्रै उठेको थिएन ।

कुमारी बैंकको १ अर्ब ४० करोड रुपैयाँ उठ्न सकेन । अघिल्लो वर्ष ३३ करोड रुपैयाँ मात्रै उठेको थिएन ।

त्यस्तै, सिटिजन्स बैंकको १ अर्ब ३७ करोड रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो वर्ष जम्मा २६ करोड रुपैयाँ मात्रै उठ्न बाँकी थियो ।

प्राइम बैंकको १ अर्ब ३७ करोड रुपैयाँ उठ्न सकेको छैन । अघिल्लो वर्ष ३८ करोड रुपैयाँमात्रै उठाउन बाँकी थियो ।

हिमालयन बैंकको १ अर्ब २९ करोड रुपैयाँ उठ्न सकेको छैन । अघिल्लो वर्ष ७२ करोड रुपैयाँ उठेको थिएन ।

सानिमा बैंकको १ अर्ब २४ करोड रुपैयाँ उठेको छैन । अघिल्लो वर्ष ३१ करोड रुपैयाँमात्रै उठाउन सकेको थिएन ।

नेपाल बंगलादेश बैंकको १ अर्ब २० करोड रुपैयाँ उठेको छैन । अघिल्लो वर्ष जम्मा २१ करोड रुपैयाँमात्रै उठ्न बाँकी थियो ।

नविल बैंकको १ अर्ब १५ करोड रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो वर्ष ७४ करोड रुपैयाँ उठ्न बाँकी थियो ।

सिद्धार्थ बैंकको १ अर्ब ११ करोड रुपैयाँ उठ्न बाँकी छ । अघिल्लो वर्ष ४२ करोड रुपैयाँमात्रै उठ्न बाँकी थियो ।

त्यस्तै, बैंक अफ काठमाण्डूको १ अर्ब ९ करोड रुपैयाँ उठाउन बाँकी छ । अघिल्लो आर्थिक वर्ष जम्मा १२ रुपैयाँमात्रै उठाउन बाँकी थियो ।

सनराइज बैंकको १ अर्ब ८ करोड रुपैयाँ उठ्न सकेको छैन । अघिल्लो वर्ष ४१ करोड रुपैयाँ मात्रै उठेको थिएन ।

त्यसैगरी, सिभिल बैंकको १ अर्ब ७ करोड रुपैयाँ उठाउन बाँकी छ । अघिल्लो वर्ष जम्मा ६४ करोड रुपैयाँमात्रै उठाउन बाँकी थियो ।

माछापुच्छ्रे बैंकको ९३ करोड रुपैयाँ उठाउन बाँकी छ । अघिल्लो वर्ष २३ करोड रुपैयाँ मात्रै उठाउन बाँकी थियो ।

सेञ्चुरी बैंकको गत वर्षको ९० करोड रुपैयाँ उठ्न सकेको छैन । अघिल्लो वर्ष २३ करोड रुपैयाँ उठाउन बाँकी थियो ।

एभरेष्ट बैंकको ८२ करोड रुपैयाँ उठेको छैन । अघिल्लो वर्ष २३ करोड रुपैयाँमात्रै उठाउन बाँकी थियो ।

लक्ष्मी बैंकको ८० करोड रुपैयाँ उठाउन बाँकी छ । अघिल्लो वर्ष २५ करोड रुपैयाँ उठाउन बाँकी थियो ।

स्ट्यान्डर्ड चार्टर्डको ४४ करोड रुपैयाँ उठाउन बाँकी छ । अघिल्लो वर्ष २७ करोड रुपैयाँ उठाउन बाँकी थियो ।

यसैगरी प्रतिशतको आधारमा अघिल्लो आव २०७५/७६ को तुलनामा गत आव २०७६/७७ मा उठाउन बाँकी किस्ता ब्याज सबैभन्दा बढी नबिल बैंकको छ भने सबै भन्दा थोरै नेपाल एसबीआइ बैंकको छ ।

नेपाल बैंकले उठाउन बाँकी किस्ता ब्याज २३५६ प्रतिशत छ भने एसबीआइको ४२.८५ प्रतिशत छ ।


क्लिकमान्डु