गैरकानुनी रुपमा अमेरिका पैसा पठाएको विषयमा रविमाथि अनुसन्धान हुने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति तथा पूर्वउपप्रधान तथा गृहमन्त्री रवि लामिछानेमाथि हुन्डी पठाएको विषयमा अनुसन्धान हुने भएको छ । 

लामिछानेमाथि उनले नेपालमा हुँदा गैरकानुनी रुपमा अमेरिकामा पैसा पठाएको (हुन्डी) गरेको विषयमा अनुसन्धान गर्ने भएको हो । प्रहरी स्रोतकाअनुसार लामिछानेले आफ्नो बैक खातामा जम्मा भएको रकम धेरै भएतापनि त्यसलाई खर्च कहाँ गरिएको भन्ने विषय नदेखिएको भन्दै हुन्डी भएको हुन सक्ने आश‌ंकासहित अनुसन्धान गरिने भएको हो । 

प्रहरी स्रोतकाअनुसार उनको बैंक खातामा रहेको रकम के शिर्षकमा खर्च भएको हो भन्ने विषयलाई लिएर अनुसन्धान हुन लागेको हो । उक्त विषयमा अनुसन्धान गर्दा लामिछानेले रकम गैरकानुनी रुपमा अमेरिका पठाएको हुन सक्ने कोणबाट पनि अनुसन्धान गर्ने तयारी भएको छ । प्रहरी स्रोतले भन्यो, ‘उहाँको अमेरिकामा रहेको पारिवारिक समस्या सुल्झाउन नेपालबाट गैरकानुनी रुपमा पैसा पठाएको हुन सक्ने देखिएको छ । हामीले त्यहि विषयलाई आधार मानेर खर्च कहाँ भयो भन्ने खोज्दैछौं ।’

लामिछानेले अमेरिका पैसा पठाउने विषयमा उनकै पूर्वपत्नी ईशा लामिछानेले केही वर्षअघि सार्वजनिक रुपमा नै भनेकी थिइन् । लामिछाने पत्नी ईशाले घरको किस्ता तिर्नका लागि उनले पैसा अमेरिका पठाएको बताएको थिइन् । साथै रास्वपाका पूर्व महासचिव मुकुल ढकालले पनि लामिछानेमाथि नेपालबाट हुन्डी गरेर रकम अमेरिका पठाउने गरेको आरोप लगाएका थिए । 

प्रहरी स्रोतकाअनुसार यीनै विषयलाई आधार मानेर हुन्डी भएको हुनसक्ने आशंकासहित लामिछानेमाथि थप अनुसन्धान गर्ने तयारी भएको हो । 

लामिछानेलाई प्रहरीले गत कात्तिक २ गते काठमाडौंबाट पक्राउ गरेर पोखरा लगेको थियो । उनलाई सहकारी ठगी प्रकरणको विषयमा अनुसन्धान गर्न पोखरा लगिएसँगै पटक पटक म्याद थप भएर अनुसन्धान भइरहेको छ । यसबीच उनी विरुद्ध रुपन्देही र काठमाडौंमा पनि पक्राउ पुर्जि जारि भएको छ । काठमाडौंमा उनलाई कालिमाटिमा रहेको स्वर्णलष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा पक्राउ गर्न अदालतले पक्राउ पुर्जि जारि गरेको थियो ।


क्लिकमान्डु