अमेरिकामा बस्ने विदेशीलाई अहिलेसम्मकै कठोर नीति, देशनिकाला गर्न ट्रम्पले सेना प्रयोग गर्ने



एजेन्सी । अमेरिकाको राष्ट्रपतिमा निर्वाचित डोनाल्ड ट्रम्पले आप्रवासीहरुका लागि वा उनीहरुविरुद्ध के कस्ता निर्णय गर्लान् भनेर आम चासोको विषय बनिरहेको छ।

२० जनवरीमा ह्वाइट हाउसमा प्रवेश गर्न लागेका ट्रम्पले आप्रवासीहरुको सन्दर्भमा पहिलो कार्यकालभन्दा पनि कठोर निर्णयहरु गर्नसक्ने धेरैको आशंका छ ।

विशेषगरी अवैध रुपमा बसोबास गरिरहेका आप्रवासीहरुलाई देशनिकाला गर्ने उनले घोषणा गरिसकेका छन् । २०१७ देखि २०२१ सम्म आफ्नो पहिलो कार्यकालमा अधुरो रहेका नीतिहरु दोस्रो कार्यकालमा पूरा गर्ने ट्रम्पले घोषणा गरिसकेका छन् ।

आप्रवासीहरुलाई सीमा क्षेत्रमा रोक्ने

ट्रम्पले सीमा क्षेत्रमा कडाइ गर्ने कुरा पहिलो कार्यकालमा पनि भनेका थिए । यद्यपि कतिपय कदमहरु चाल्न सकिरहेका थिएनन् । यसपटक भने उनले ह्वाइट हाउस प्रवेश गर्नुअघि नै सीमा क्षेत्रमा आप्रवासीहरुलाई रोक्न सेना तैनाथ गर्ने बताएका छन् । आप्रवासीहरु अवैध रुपमा अमेरिका प्रवेश गर्ने रुटको अन्तिम बिन्दु मानिएको मेक्सिको सीमा क्षेत्रमा नेसनल गार्ड सैनिकहरुलाई तैनाथ गर्ने उनले घोषणा गरेका छन् ।

साथै मेक्सिको सीमा क्षेत्रमा पर्खाल बनाउने पहिलो कार्यकालकै नीतिलाई यसपटक पूर्णता दिने उनको तयारी छ । यसका लागि ट्रम्पले पर्खाल बनाउन आवश्यक रकम संकलन गर्ने तयारी गरिसकेका छन् । सोमबार ट्रम्पले सोसल मिडियामा स्टाटस लेख्दै यसको संकेत दिएका छन् । जहाँ उनले राष्ट्रिय संकटकाल घोषणा गरेर अवैध रुपमा अमेरिकामा रहेका आप्रवासीहरुलाई बाहिर पठाउन सैन्य साधन प्रयोग गर्ने बताएका छन् ।

२०१९ मा लागू गरिएको ‘रिमेन इन मेक्सिको’ कार्यक्रमलाई फेरि सुरु गर्ने पनि उनले बताएका छन् । यस कार्यक्रम अन्तर्गत अवैध रुपमा मेक्सिकोबाट अमेरिका छिर्न खोजेका अन्य देशका नागरिकहरु अब मेक्सिकोमै बस्नुपर्ने छ । ट्रम्पले सबै अवैध आप्रवासीहरुलाई हिरासतमा राख्ने पनि योजना बनाएका छन् ।

जो बाइडेनले २०२० मा ट्रम्पलाई पराजित गरेसँगै मानवतावादी र सुव्यवस्थित प्रवासन नीति लागू गर्ने प्रतिबद्धता व्यक्त गरेका थिए । तर उनले अवैध रुपमा सीमा पार गरिरहेका आप्रवासीहरुलाई रोक्नका लागि आफ्नो कार्यकालभर संघर्ष गरिरहे ।

५ नोभेम्बरमा भएको राष्ट्रपति निर्वाचनमा ट्रम्पलले डेमोक्रेट्स उम्मेदवार कमला ह्यारिसलाई पराजित गरे । जहाँ आप्रवासन प्रमुख मुद्दा नै थियो । अनुसन्धानले के देखाएको थियो भने ३९ प्रतिशत मतदाताहरुले अमेरिकामा अवैध रुपमा रहेका अधिकांश प्रवासीहरुलाई जेल चलाउनुपर्ने राय व्यक्त गरेका थिए । जवकि ५६ प्रतिशतले उनीहरुलाई कानुनी हैसियतका लागि आवेदन दिने मौका दिनुपर्ने तर्क गरेका थिए ।

अक्टोबरमा एक निर्वाचन सभामा ट्रम्पले अमेरिकी कंग्रेससँग १० हजार नयाँ बोर्डर पेट्रोलका लागि बजेट माग गर्ने बताएका थिए । उनले बाइडेनले शरणार्थी नीतिलाई उल्ट्याउने भन्दै त्यो सीमा सुरक्षाका लागि अपर्याप्त हुने ट्रम्पको भनाइ थियो ।

ठूलो संख्यामा डिपोर्टेसन

ट्रम्पले अमेरिकी इतिहासमै सबैभन्दा ठूलो निर्वासन अभियान सुरु गरेको दाबी गरेका छन् । जसमा अपराधहरुमाथि ध्यान केन्द्रित गरिने बताइएको छ ।

साथै यसले लाखौं आप्रवासीहरुलाई उनीहरुको आफ्नै मूल देशमा फिर्ता पठाउने लक्ष्य रहने बताइएको छ । ट्रम्पको दोस्रो कार्यकालमा अमेरिकी इतिहासमै सबैभन्दा धरै आप्रवासीहरुलाई देश निकाला गर्ने वा तिनको मूल देशमा फिर्ता पठाउने काम हुने अपेक्षा गरिएको छ ।

यतिसम्म कि ट्रम्पले तीब्र रुपमा डिपोर्टेसनका लागि नयाँ आप्रवासी हिरासत क्याम्प बनाउने सम्भावनालाई पनि इन्कार गरिरहेका छैनन् । तर उनले यसको त्यति जरुरी नहुने पनि बताएका छन् । यस सन्दर्भमा उनले आप्रवासीहरुलाई गिरफ्तार गर्न र निर्वासित गर्नका लागि नेसनल गार्डको प्रयोग गर्ने घोषणा गरेका छन् । र जरुरी पर्दा सेना प्रयोग गर्न पनि सकिने उनले बताएका छन् ।

यससँगै उनले केही देशहरु र विचारधारा राख्ने मानिसहरुलाई पनि अमेरिका प्रवेशमा रोक लगाउने बताइन्छ । उनले गाजापट्टी, सिरिया, यमन र यस्तै केही क्षेत्रबाट अमेरिका प्रवेश गर्नेहरुमाथि प्रतिबन्ध लगाउने बताएका छन् । जसबाट सुरक्षाका लागि खतरा हुने उनको भनाइ छ ।

यस्तै ट्रम्पले बाइडेनको मानवीय पेरोल योजनालाई समाप्त गर्ने पनि प्रतिबद्धता व्यक्त गरेका छन् । उनले अवैध आप्रवासीहरुका सन्तानलाई नागरिकता दिने प्रक्रिया पनि खारेज गर्ने छन् । जुन अमेरिकी संविधानको संशोधनको लामो समयदेखि चलिरहेको व्याख्याको विरुद्धमा रहेको बताइन्छ ।


क्लिकमान्डु