राष्ट्रिय वाणिज्य बैंक सुन चोरी प्रकरण:

भदौ २४ को ‘रेट’मा पैसा दिने बैंकको निर्णय, पीडितको माग- अहिलेकै मूल्य वा सुन नै देऊ


काठमाडौं । २०८२ भदौ २४ को जेनजी आन्दोलनमा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट लुटपाट भएको सुन फिर्ता नपाएको भन्दै बैंकमा सुन धितो राख्नेहरुले अहिले आन्दोलन गरिरहेका छन् ।

जेनजी आन्दोलनका क्रममा राष्ट्रिय वाणिज्य बैंक नयाँ बानेश्वर शाखाबाट ऋणीहरुले धितोमा राखेको करिब १८ किलो सुन लुटिएको थियो ।

राष्ट्रिय वाणिज्य बैंकले बिमा गराएको हुँदा बिमा दाबी गरिसकेको र पीडितलाई सुनको बिमा दाबी गरेको मितिको मूल्यका आधारमा रकम फिर्ता गर्ने निर्णय गरेर कतिपय ऋणीलाई रकम समेत फिर्ता गरिसकेको छ । तर, बैंकबाट सुन धितोमा ऋण लिएकाहरुले भने पुरानो मूल्यमा नभई अहिलेको मूल्यमा हिसाब गरेर पैसा दिनुपर्ने वा सुन नै फिर्ता दिनुपर्ने भन्दै आन्दोलन गरिरहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकले सुन चोरी भएको मिति २०८२ भदौ २४ गतेको मूल्यका आधारमा पैसा दिने निर्णय गरेको थियो ।

बैंकको सञ्चालक समितिले एउटा अध्ययन समिति बनाएर अन्तर्राष्ट्रिय अभ्यास र नेपालमा पनि द्वन्द्वकालमा भएका चोरीका घटना र त्यस समयमा भएको भुक्तानी समेतका आधारमा प्रतिवेदन तयार गरी २०८२ भदौ २४ गतेको मूल्यका आधारमा रकम फिर्ता गर्ने निर्णय गरेको थियो ।

‘बजार मूल्य जेसुकै भए पनि बैंकबाट चोरी भएको २०८२ भदौ २४ गतेको मूल्यका आधारमा पीडित ऋणीहरुलाई रकम फिर्ता गर्ने निर्णय भएको हो,’ राष्ट्रिय वाणिज्य बैंक स्रोतले क्लिकमान्डुसँग भन्यो, ‘बिमा कम्पनीमा पनि हामीले सोही दिनको मूल्यका आधारमा नै बिमा दाबी गरेका छौं । धितो राख्ने ऋणीहरुलाई पनि सोही मूल्यमा फिर्ता गर्ने निर्णय गरिएको हो ।’

बैंकले सुन चोरी भएको मितिदेखि ऋणको ब्याज मिनाहा गर्ने र ऋणीले भुक्तानी गर्नुपर्ने बैंकको ऋण कट्टा गरी धितोमा राखेको सुनको रकम भुक्तानी गरिरहेको राष्ट्रिय वाणिज्य बैंक स्रोतले क्लिकमान्डुलाई जानकारी दियो ।

‘भदौ २४ गते नयाँ बानेश्वर शाखाबाट १७ हजार ९ सय ४५ ग्राम सुन र ५ करोड १५ लाख रुपैयाँ नगद चोरी भएको हो,’ राष्ट्रिय वाणिज्य बैंकका एक अधिकारीले भने, ‘२२६ जना ऋणीले धितोमा राखेको उक्त सुन चोरी भएको हो । जसमध्ये १०० जनाभन्दा बढीले धितोमा राखेको सुनको भदौ २४ गतेको मूल्यका आधारमा नगद बुझिसकेका छन् । अन्यलाई पनि सोही दरमा रकम भुक्तानी दिइरहेका छौं । तर, उहाँहरुले भने अहिलेको मूल्य वा सुन नै चाहिने भन्दै नगद लिन मान्नुभएको छैन ।’

सञ्चालक समितिबाट भएको निर्णय अनुसार बैंकले नगद लिनेहरुलाई भदौ २४ पछिको कर्जाको ब्याज छुट दिएर कर्जाको साँवा बराबरको रकम मात्रै कट्टी गरेको बैंक स्रोतले जनाएको छ ।

अहिले भने भदौ २४ को मूल्यमा सहमति जनाएर नगद बुझिसकेकाहरु पनि अहिलेको मूल्यमा वा सुन नै चाहिने भन्दै आन्दोलनमा सहभागी भइरहेका छन् ।

२०८२ भदौ २४ गते सुनको मूल्य प्रतितोला २ लाख १४ हजार ७०० रुपैयाँ थियो । २०८३ असार १० गते(आज) सुनको मूल्य प्रतितोला २ लाख ८३ हजार ५०० रुपैयाँमा कारोबार भइरहेको छ । यसबीचमा सुनको मूल्य बढेर २०८२ माघ १५ गते प्रतितोला ३ लाख ३९ हजार ३०० रुपैयाँसम्म पुगेको थियो ।

पीडितहरूले केही दिनअघि सिंहदरबारस्थित राष्ट्रिय वाणिज्य बैंकको केन्द्रीय कार्यालयमा प्रदर्शन गरेका थिए ।

आन्दोलनमा उत्रिएका ऋणीहरुले आफूले बैंकमा धितोमा राखेको सुनको साटो सुन नै नपाएसम्म आन्दोलन जारी राख्ने चेतावनी दिएका थिए । ‘सुन लुटियो भनियो । ठिक छ । लुटिएको सुन जस्ताको त्यस्तै पाइने कुरा भएन’, आन्दोलनमा सहभागी एक ऋणीले भने, ‘आकार परिवर्तन भएर फरक पर्दैन, तर हामीलाई हामीले बैंकमा जति सुन राखेका थियौँ, त्यति नै सुन चाहिन्छ । नत्र आन्दोलन रोक्दैनौँ ।’

कुल तौलको बिमा दाबी गरेर पीडितलाई खुद तौलको भुक्तानी गर्दै बैंक

बैंकले पीडितलाई सुनको तौलमा भने भुक्तानी गर्दा अन्याय गरेको खुलेको छ । बैंकले बिमा दाबी गर्दा चोरी भएको कुल तौलमा बिमा दाबी गरेको छ । तर, सुन चोरी भएका पीडितहरुलाई रकम भुक्तानी गर्दा बैंकले धितो लिँदा मूल्यांकन गर्दा सुनका गहनामा प्रयोग हुने जर्ती कट्टा गरेपछिको तौल अर्थात् (खुद तौल) को मात्रै रकम भुक्तानी गर्ने निर्णय गरी सोही अनुसार भुक्तानी गरिरहेको छ ।

यसरी बैंकले बिमा कम्पनीमा बढी तौलको बिमा दाबी गर्ने र पीडितलाई भने जर्ती कट्टापछिको कम तौलको मात्रै रकम भुक्तानी गरिरहेको पाइएको हो ।

यस विषयमा प्रश्न उठेपछि राष्ट्रिय वाणिज्य बैंकको सञ्चालक समितिले त्यसमा पुनरावलोकन गर्न समिति बनाएको थियो । त्यसमा पीडितलाई बिमा दाबी गरेको कुल मूल्यमा नै हिसाब गरेर नगद भुक्तानी गर्न सिफारिस भए पनि सञ्चालक समितिले निर्णय गरेको छैन ।

स्रोतका अनुसार उक्त निर्णय पुनरावलोकन गर्ने प्रस्ताव सञ्चालक समितिमा पेस भए पनि सरकारले बैंकको सञ्चालक समितिलाई राजीनामा दिन निर्देशन दिएपछि सञ्चालक समितिलाई पूर्णता दिएको छैन । सञ्चालक समितिले पूर्णता नपाउँदा पुरानो निर्णय पुनरावलोकन हुन नसकेको बैंक स्रोतले जनाएको छ ।

सञ्चालक समितिले पूर्णता पाएपछि सुनको जर्ती कट्टा नगरी कुल तौलका मूल्यका आधारमा नै भुक्तानी दिने प्रतिबद्धता बैंकले जनाएको स्रोतले बतायो ।

कतिपय ऋणी सदस्यहरुले बैंकमा धितो राख्दा सुरक्षित हुने भनेर ऋण लिएको रकमभन्दा धेरै सुन धितोमा राखेको र हराएको सबै सुनमा जर्ती कट्टापछिको मूल्यमा भुक्तानी गर्दा त्यस्ता व्यक्तिहरु मर्कामा परेको देखिन्छ । बैंकले धितो मूल्यांकन गर्दा धितोका लागि आवश्यक भन्दा बढी सुन स्वीकार गरेको पाइएको हो ।

यस्तो थियो घटना

जेनजी प्रदर्शनका क्रममा राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाबाट त्यतिबेलाकोबजार मूल्य अनुसार साढे ३३ करोड रुपैयाँ मूल्य बराबरको सुन र ५ करोड भन्दा बढी नगद चोरी तथा लुटपाट भएको थियो ।

भदौ २४ मा भएको जेनजीको प्रदर्शनका क्रममा नयाँ बानेश्वर संसद भवन पछाडि रहेको राष्ट्रिय वाणिज्य बैंकको शाखामा तोडफोड र लुटपाट भएको थियो ।

प्रदर्शनकारीले ५ करोड रुपैयाँभन्दा बढी नगद र १८ किलोभन्दा बढी सुन लुटपाट गरेको राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत देवेन्द्ररमण खनालले बताएका थिए ।

बैंकको नयाँ बानेश्वर शाखमा रहेको भल्टसम्म पुग्गे आइरन गेटनै फोडेर उक्त लुटपाट भएको पाइएको हो।

सर्वसाधारण ग्राहको लकर सुरक्षित रहेको भए पनि बैंकमा रहेको सुनसहित नगद भने चोरी भएको थियो ।

चोरी र लुटपाट भएको सीसीटीभी फुटेजसहित बैंकले प्रहरीमा उजुरी दिएको थियो ।

बैंकले कर्जा लगानी गर्दा ऋणीबाट धितोको रुपमा लिएको सुन समेत चोरी भएको हो । भदौ २३ गतेबाट सुरु भएको जेनजी प्रदर्शनले भदौ २४ गते उग्ररुप लिएको थियो । सो क्रममा नयाँ बानेश्वरस्थित संसद भवनको पछाडि रहेको बैंकको शाखामा तोडफोड तथा लुटपाट भएको थियो ।

संसद भवनमा तोडफोड तथा आगलागी गरेपछि एक समूहले बैंक शाखा कार्यालयमा प्रवेश गरेर तोडफोड र आगजगनी गर्दै लुटपाट गरेको थियो ।

बैंकको बानेश्वर शाखामा मध्य रातिसम्म पनि एउटा समूहले तोडफोड गरिरहेको थियो । भदौ २४ गते राति १० बजेपछि सेना परिचालन भएसँगै सेनाले बैंक तोडफोड गरिरहेका ५ जनालाई नियन्त्रणमा लिएको थियो।

कुन समूहले सुन र नगद चारी गर्यो भन्ने अझै खुलेको छैन । उक्त प्रकरणमा प्रहरीले असोज २२ गते दुई जनालाई पक्राउ गरेको थियो । पक्राउ पर्नेमा दोलखाका दीपक श्रेष्ठ र सिराहाका नरेशकुमार यादव रहेको प्रहरीले जनाएको छ ।
पक्राउ परेकामध्ये यादवको साथबाट करिब चार लाख रुपैयाँ नगद र केही मात्रामा सुन बरामद गरिएको प्रहरीले जनाएको छ।

लुटपाट तथा चोरी भएपछि गभर्नर विश्व पौडेलले राष्ट्रिय वाणिज्य बैंकको नयाँ बानेश्वर शाखाको अवलोकन गरि त्यहाँ भएको क्षतिको अवस्थाबारे जानकारीसमेत लिएका थिए ।

गभर्नर विश्वनाथ पौडेलले जेनजी आन्दोलनका क्रममा केही बैंकका शाखा कार्यालय र एटीएम प्रभावित भए पनि बैंकिङ प्रणाली भने सुरक्षित रहेको बताएका थिए ।

गभर्नर पौडेलले ६८ वटा बैंकका शाखा कार्यालयमा आक्रमण भएको जानकारी दिए । त्यस्तै, ६९ वटा एटीएममा केही क्षति पुगेको भए पनि समग्र प्रणाली सामान्य अवस्थामा रहेको गभर्नर पौडेलको भनाइ थियो ।