देउवाले भने: म नेपाल फर्कंदै छु, सरकार प्रतिशोधात्मक बन्न सक्छ

77
Shares

काठमाडौं । पूर्वप्रधानमन्त्री एवं नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू छिट्टै स्वदेश फर्कन लागेको जानकारी गराएका छन् ।

उपचारका क्रममा विदेशमा रहेका देउवाले ‘विपी स्मृति दिवस’को पूर्वसन्ध्यामा एक प्रेस विज्ञप्ति जारी गर्दै वर्तमान राजनीतिक परिस्थितिप्रति चिन्ता व्यक्त गरेका हुन् ।

स्वदेश फर्कने तयारीमा रहेका देउवाले आफ्नो सन्देशमा देशको वर्तमान अवस्थालाई दृष्टिगत गर्दै प्रतिशोधको राजनीति त्यागेर सहकार्यको बाटो रोज्न आग्रह गरेका छन् ।

‘प्रतिशोध होइन, सहकार्य चाहिएको छ । त्यसैले इतिहासबाट प्राप्त अनुभव, परिवर्तनको ऊर्जा र प्रविधि तथा ज्ञानले सम्पन्न नयाँ पुस्ताको सिर्जनशील क्षमताबीच मनको एकता, राष्ट्रिय संवाद र साझा सहकार्यको आवश्यकता आज पहिलेभन्दा अझ बढी सान्दर्भिक बनेको छ,’ देउवाले भनेका छन् ।

देउवाले वर्तमान सरकारको कार्यशैलीप्रति कडा आलोचना गर्दै सरकार अलोकतान्त्रिक र प्रतिशोधात्मक बन्दै गएको आरोप लगाएका छन् ।

उनले फरक विचारप्रति असहिष्णुता र राज्यशक्तिको दुरुपयोग गरी प्रतिपक्षको आवाज थुन्ने प्रयास भइरहेको दाबी गरेका छन् ।

‘सरकार प्रतिशोधात्मक र अलोकतान्त्रिक बन्न सक्छ, तर म नेपाली जनताको लोकतान्त्रिक चेतना, राष्ट्रप्रेम र न्यायप्रतिको विश्वासमाथि पूर्ण आस्था राख्छु,’ देउवाले सन्देशमा उल्लेख गरेका छन् ।

उनले स्वतन्त्र न्यायपालिका र अख्तियार दुरुपयोग अनुसन्धान आयोग जस्ता संवैधानिक निकायलाई कार्यकारी नियन्त्रणको औजार बनाउन खोजिएको भन्दै गम्भीर चिन्ता व्यक्त गरेका छन् ।

छ दशक लामो आफ्नो राजनीतिक यात्राको स्मरण गर्दै देउवाले बीपी कोइरालाको ‘राष्ट्रिय मेलमिलाप’को नीति आज पनि उत्तिकै सान्दर्भिक रहेको बताएका छन् ।

उनले राष्ट्रियता, प्रजातन्त्र, समाजवाद र संविधानवादको रक्षाका लागि सम्पूर्ण राजनीतिक शक्ति, नागरिक समाज र युवा पुस्तालाई एकजुट हुन आह्वान गरेका छन् ।

उनले भनेका छन्, ‘आज देशलाई विभाजन होइन, एकता चाहिएको छ । अविश्वास होइन, विश्वास चाहिएको छ । प्रतिशोध र निषेधको राजनीतिबाट माथि उठेर राष्ट्र निर्माण अनि साझा भविष्य हाम्रो साझा संकल्प बन्नुपर्छ ।’

उपचारका लागि फागुन १३ को राति सिंगापुर गएका देउवा त्यहाँबाट हङकङ पुगेका थिए । स्वास्थ्य उपचार प्रक्रिया पूरा गरी उनी अहिले नेपाल फर्कन लागेका हुन् ।

आफ्नो निष्ठा र समर्पण भावप्रति विश्वास दिलाउँदै उनले नेपाली भूमिमा पुनः पाइला टेक्न लागेकोमा खुसी व्यक्त गरेका छन् ।