गभर्नरको दौडमा पूर्वसचिवको इन्ट्री, यी बलिया दाबेदारमध्ये कसले मार्ला बाजी ?

14.9k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकको गभर्नर नियुक्तिको मिति नजिकिँदै गएको छ । नेपाल राष्ट्र बैंक नेतृत्वमा पुग्ने आकांक्षाबाट धेरै जना ब्याक हटिरहेका बेला शक्तिशाली दाबेदार बनेर पूर्वसचिवहरुको इन्ट्री भएको छ ।

गभर्नरका प्रत्यासीहरुले तीव्र राजनीतिक लबिङ गरिरहेका छन् ।

सत्ता साझेदार एमाले र कांग्रेसका उच्च तहका नेताहरु सकेसम्म आफ्नो पार्टी निकट नत्र ‘विन-विन’ अवस्थामा समझदारीमै गभर्नर छान्ने मनस्थितिमा पुगेका बेला पूर्वसचिवहरुको नाम आउनुलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

राष्ट्र बैंकको १८औं गभर्नर सिफारिस गर्न सरकारले समिति गठन गरेपछि गभर्नरका आकांक्षीहरुले राजनीतिक नेतृत्व र शक्तिकेन्द्रहरु सँगको उठबस बाक्लो बनाइरहेका छन् । २ दर्जन बढी आकांक्षी रहे पनि अहिलेसम्म आइपुग्दा सूची छोटिएर आधा दर्जनमा सिमित बनेको छ ।

‘उच्च राजनीतिक नेतृत्वबीच दलसँग निकटता रहेका व्यक्ति भन्दा पनि स्वतन्त्र, अर्थतन्त्र बुझेको र उच्च नैतिक चरित्र भएको डाइनामिक मान्छेलाई गभर्नर बनाउने भन्नेमा मतभेद छैन,’ कांग्रेस सभापति शेरबहादुर देउवा निकट कांग्रेसका एक प्रभावशाली नेताले क्लिकमान्डुसँग भने, ‘प्रधानमन्त्री केपी ओली र शेरबहादुर दाइबीच कुन पार्टीको बनाउने भन्दा पनि सबैले स्वीकार गर्न सक्ने साझा मान्छेका बारेमा छलफल भइरहेका छ ।’

स्रोतका अनुसार कांग्रेसले ‘ज्ञानेन्द्र ढुंगाना, गुणाकर भट्ट, केवल भण्डारी र रविन्द्र पाण्डे’को नाम अघि सारेको छ भने एमालेले ‘नीलम ढुंगाना तिम्सिना, प्रकाश श्रेष्ठ, बमबहादुर मिश्र र अशोक शेरचन’को नाम अघि सारेको छ । तर, दुवै दलहरु कसको नाममा समझदारीमा आउने भन्रेमा अहिलेसम्म टुंगो भने लागिसकेको छैन ।

‘अहिले चर्चामा आएका उम्मेद्वारहरुले कांग्रेस र एमालेको उच्च नेतृत्वलाई विभिन्न च्यानलमार्फत् तीव्र दबाब दिइरहेको अवस्थामा विगतमा कर्मचारीतन्त्रमा बसेर ओली र देउवा दुबैलाई खुसी बनाएका कुनै पूर्वसचिव फ्याट्ट गभर्नर नियुक्ति भए भने आश्चर्य नमाने हुन्छ,’ उच्च राजनीतिक स्रोतहरु बताउँछन्-‘किनभने, अहिले ओली र देउवा सकेसम्म आफ्नो मान्छे बनाउन नत्र साझा मान्छे बनाउनेमा सहमत छन् ।

निलम ढुंगाना, ज्ञानेन्द्र ढुंगाना, डा गुणाकर भट्ट, डा प्रकाश श्रेष्ठ र केवल भण्डारीमध्ये एक जनाले बाजी मार्ने सम्भावना बढी भएको स्रोतहरुको दाबी छ । प्रधानमन्त्री ओलीनिकट स्रोतले भन्यो, ‘भागबन्डा भन्दा पनि गभर्नरका रुपमा अर्थतन्त्र हाँक्न सक्ने योग्य व्यक्तिका बारेमा सत्ता साझेदार एमाले कांग्रेस एकमत छन् । उल्लेखित ५ जनामध्ये कसले राम्रोसँग हाँक्नसक्छ भन्नेमा छलफल भइरहेको छ । उनीहरुभन्दा राम्रोसँग हाँक्न सक्ने व्यक्तिको खोजी भइरहे पनि अहिलेसम्म अरु नाम आएको छैन । सिफारिस समितिले त्यस्तो व्यक्ति खोज्न पनि सक्छ । त्यस्तो व्यक्ति पूर्वसचिव नै हुने प्रवल सम्भावना छ ।’

राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल यही चैत २४ गते सकिँदैछ । सरकारले चैत ११ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा पूर्वगभर्नर विजयनाथ भट्टराई र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा विश्व पौडेल रहेको ३ सदस्यीय गभर्नर सिफारिस समिति गठन गरिसकेको छ । राष्ट्र बैंक ऐनमा भएको व्यवस्थाअनुसार उक्त समितिले कम्तिमा १ जना डेपुटी गभर्नरसहित ३ जनाको नाम सिफारिस गर्नेछ । यसरी समितिले सिफारिस गरेका ३ मध्ये १ जनालाई मन्त्रिपरिषदले गभर्नर नियुक्त गर्नेछ ।

स्रोतका अनुसार आगामी सोमबार बस्ने मन्त्रिपरिषदको बैठकले गभर्नर नियुक्ति गर्ने सम्भावना उच्च छ । त्यसैले माथि उल्लेख गरिएका ५ जनामध्ये बाटै एक जना गभर्नर हुने सम्भावना देखिन्छ ।

सुरुमा करिब २ दर्जन आकांक्षी रहेको समाचार बनाएको क्लिकमान्डुले दोस्रोपटक १२ जना दाबेदार रहेको रिपोर्ट बनाएको थियो । गभर्नर नियुक्तिको मुखैमा आइपुग्दा शक्तिशाली दाबेदारका आकांक्षीहरुको संख्या आधा दर्जनमा खुम्चिएको छ।

गभर्नर पदमा आफू समर्थित व्यक्ति पुर्‍याउन राजनीतिक दल र व्यावसायिक घरानाहरु समेत आफू अनुकुलको व्यक्तिलाई पुर्‍याउन ठूलै प्रयास गर्दै आएका छन् । परम्परागत रुपमा दुई मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गरिरहेको अवस्थामा कुनै एक पार्टी निकटभन्दा पनि दुवै पार्टीलाई विश्वासमा लिन सक्ने दाबेदारले बाजी मार्ने सम्भावना बलियो छ ।

विभिन्न स्रोतहरु, उच्च राजनीतिक व्यक्तिहरु, विभिन्न शक्तिकेन्द्र र प्रभावशाली व्यापारिक घरानाहरुसँग भएको कुराकानीबाट प्राप्त सूचना विश्लेषण गरेर यो रिपोर्ट तयार पारिएको हो । हरौं, शीर्ष दाबेदारहरूको सम्भावना र पोलिटिकल कनेक्सनः

डा नीलम ढुंगाना तिम्सिना

राष्ट्र बैंकको सिनियर डेपुटी गभर्नर नीलम स्वभाविक रुपमा गभर्नरको सबैभन्दा बलियो दाबेदार हुन् । ढुंगानाको निकटता एमालेतिरै छ । उनका पति विष्णुप्रसाद तिमल्सिना एमाले निकट प्राध्यापक संघको राजनीति गर्छन् । नीलम स्वयं पनि एमाले नेतृत्वहरुसँग नजिक छिन् । महिला भएको नाता जोड्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग भेटिरहन्छिन् ।

ढुंगानाले प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्य, पूर्वराष्ट्रपति भण्डारीमार्फत् आफूलाई गभर्नर बनाउन लबिइङ गरिसकेकी छन् । प्रधानमन्त्री ओलीले केहीदिन अघि भएको एक सार्वजनिक कार्यक्रममा आफूले नै महिलालाई पहिलो राष्ट्रपति, प्रधानन्यायाधीश, सभामुख, मूख्यमन्त्री र मुख्यसचिव आफूले नै बनाएको बताएर महिलालाई नै गभर्नर बनाउने संकेत गरेका थिए । नीलम प्रधानमन्त्री ओलीको गृहजिल्ला झापाकै हुन् ।

३ जना सिफारिस गर्दा एकजना डेपुटी गभर्नर सिफारिस गर्नैपर्ने व्यवस्था भएकाले नीलमको नाम सिफारिस हुनसक्ने बलियो सम्भावना छ । राजनीतिक भागबण्डामा गभर्नर एमालेको पोल्टामा पर्‍यो र प्रधानमन्त्री ओलीले एक्लै निर्णय गर्ने अवस्था आएको खण्डमा ढुंगानाले बाजी मार्ने सम्भावना अत्यन्तै उच्च छ । कांग्रेस सभापति शेरबहादुर देउवाले नीलमको नाममा गम्भीर असन्तुष्टि जनाएनन् भने भावी गभर्नरका लागि उनी नै सबैभन्दा शक्तिशाली दाबेदार हुन् । नीलमका माइतीहरु कांग्रेसको राजनीतिमा सक्रिय भएकाले उनको नाममा देउवा पनि कन्भिन्स हुनसक्ने सम्भावना पनि छ ।

२०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेकी उनले अष्ट्रेलियाबाट व्यवस्थापनमा विद्यावारिधी गरेकी छन् ।

बमबहादुर मिश्र

बहालवाला डेपुटी गभर्नर बमबहादुर मिश्र गभर्नरका स्वाभाविक दाबेदार हुन् । उनको नाम पनि ३ जनाको सूचीमा पर्ने सम्भावना उत्तिकै छ । यसअघि डा चिरन्जीवि नेपाललाई गभर्नर नियुक्ति गर्दा बहालवाला डेपुटी गभर्नरद्वय गोपाल काफ्ले र महाप्रसाद अधिकारी दुवैको नाम सिफारिस भएको थियो । राजनीतिक नेतृत्वले ‘ग्रिन सिग्नल’ नदिएपछि मिश्रलाई अरुभन्दा केही कमजोर दाबेदारका रुपमा हेर्न थालिएको स्रोतहरुको दाबी छ । यद्यपि उनको सम्भावना टरेको भने छैन ।

राष्ट्र बैंकमा कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा नियुक्त भएका बमबहादुर मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकी मात्रै होइनन्, एमाले निकटसमेत हुन् । उनी पढाइमा अब्बल छन् । प्रधानमन्त्री ओलीको गृहनगर दमककै भएकाले र डेपुटी गभर्नरसमेत भएकाले मिश्रलाई गभर्नरको बलियो दाबेदारका रुपमा हेरिएको छ ।

मिश्र एमाले निकट भए पनि अहिलेसम्म कुनै पनि दल तथा दल निकट कर्मचारी संघको सदस्यता लिएका छैनन् । पार्टी निकट भएर सबै सहयोग गर्न तयार रहेको तर व्यवसायिक व्यक्ति भएकाले सदस्यता नलिने भन्दै उनले एमाले निकट कर्मचारी संघको सदस्यता नलिएको एमालेको सदस्य रहेका राष्ट्र बैंककै कर्मचारीहरु बताउँछन् ।

राष्ट्र बैंक प्रवेश गर्नुअघि मिश्रले निजी क्षेत्रले सञ्चालन गरेका विभिन्न बैंकमा काम गरेका थिए । २०५९ साउन २७ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका मिश्रले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । साथै, उनले कानुनमा एलएलबीसम्मको अध्ययन पूरा गरेका छन् ।

ज्ञानेन्द्र ढुंगाना

ज्ञानेन्द्र ढुंगाना नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा होमिएका छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ढुंगाना कांग्रेसको संस्थापन र इतर दुवै पक्षसँग नजिक छन् ।

ज्ञानेन्द्रका दाइ गोबिन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोबिन्द पछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै इतर समूह र दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीईओ भएर काम गरिसकेका छन् ।

गभर्नर कांग्रेसको भागमा पर्ने सन्देश पाएपछि ढुंगाना सीईओको जागिरै छाडेर गभर्नर बन्ने अन्तिम कसरतमा लागेका छन् । नेपाल बैंकर्स संघको अध्यक्ष रहिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला प्रथम भएका थिए । काठमाडौं आएर कमर्स पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्डर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे ।

ढुंगानालाई नजिकबाट चिन्नेहरु राष्ट्र बैंकको जागिरे भएकाले उनीसँग गभर्नर बन्ने सपना उहिल्यैदेखि पलाएको बताउँछन् । डा. चिरञ्जीवि नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि चर्चामा थियो । तर, त्यतिखेल उनको प्रयास सफल भएको थिएन।

राष्ट्र बैंक र निजी क्षेत्रले प्रवर्द्धन गरेका २ बैंकमा सीईओ भएर काम गरेको अनुभव तथा कांग्रेस पृष्ठभूमिका ढुंगाना कांग्रेसको कोटामा गभर्नर परेमा निकै बलिया दाबेदार हुन् । ढुंगाना निर्णय क्षमता उच्च भएका व्यक्तिका साथै पोलिटिकल म्यानेजमेन्ट गर्न सक्ने क्षमता भएका व्यक्ति पनि हुन् । कांग्रेसले ढुंगानाको नाममा दरिलो अडान राखेको अवस्थामा उनी गभर्नर बन्न सक्ने सम्भावना निकै बलियो छ ।

डा गुणाकर भट्ट

गभर्नरका अर्का बलियो दाबेदार हुन् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा गुणाकर भट्ट । सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सिधा पहुँच भएका भट्ट कांग्रेसको भागमा गभर्नर परेमा बलियो दाबेदार हुन् । देउवाले भट्टको परिवारले लगाएको एउटा गुन तिर्नुपर्ने बताउँदै आएको र उक्त गुन तिर्न गुणाकरलाई एउटा नियुक्त दिनुपर्ने बताउँदै आएको स्रोतको दाबी छ । भट्टलाई डेपुटी गभर्नर बनाउन नसकेका देउवाले यसपटक गर्भनर बनाएर ‘एउटा पुरानो गुन’ तिर्नसक्ने देउवा निकट कांग्रेसका नेताहरु बताउँछन् ।

भट्टले २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका हुन् । भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भएका हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर र अर्थशास्त्रमै पीएचडी गरेका छन् । भट्ट अर्थशास्त्र स्नातकोत्तरका गोल्ड मेडलिस्ट हुन् । केन्द्रिय बैंकको मूख्य भूमिकाका बारेमा सचेत उनी शास्त्रीय अर्थशास्त्रीका रुपमा काम कारबाही गर्दै आएका छन् ।

नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि देउवाले भट्टलाई बोर्डको अध्यक्ष बन्न प्रस्ताव गरेका थिए। उक्त प्रस्ताव अस्वीकार गरेका भट्टको चासो गभर्नरमा छ ।

राष्ट्र बैंकको शक्तिशाली विभागका कार्यकारी निर्देशक भएर काम गरेका उनले डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको आर्थिक सल्लाहकार भएर समेत काम गरेका थिए । भट्ट धितोपत्र बोर्डको सञ्चालक भएर काम गरिसकेका व्यक्ति हुन् । उनले राष्ट्र बैंकमा नियमन, बैंक सुपरिवेक्षण, आर्थिक अनुसन्धान र भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरिसकेको छन्।

अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी उच्च नैतिक चरित्र भएका सालिन र नम्र स्वाभावका छन् । राष्ट्र बैंकमा अर्थशास्त्री नेतृत्व नहुँदा मुलुकको अर्थतन्त्र शिथिल भएको आम बुझाइ छ, यस्तो अवस्थामा राम्रो अर्थशास्त्रीको छवि बनाएका र अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका भट्टलाई गभर्नरको बलियो उम्मेद्वारका रुपमा हेरिएको छ । भट्ट सरकार र राष्ट्र बैंकको सम्बन्ध सन्तुलित हुनुपर्ने मान्यता राख्छन् । कांग्रेसले भट्टको नाम बलियोसँग अघि सार्ने सम्भावना निकै उच्च छ । यसर्थ उनी गभर्नरका निकै नै शक्तिशाली दाबेदार हुन् ।

डा. प्रकाश कुमार श्रेष्ठ

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ पनि गभर्नरका बलियो दावेदार हुन् । राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत श्रेष्ठले गभर्नरको दौडमा होमिएपछि गत फागुन १८ गते नै कार्यकारी निर्देशकबाट राजीनामा दिइसकेका छन् । पदबाट राजीनामा दिएर गभर्नरको दौडमा श्रेष्ठ अघि बढेपछि एमालेनिकट दाबेदारहरु झस्किएका छन् ।

किनभने, श्रेष्ठले एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।

२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए। उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् ।

यसअघि राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका बेला अहिलेका अर्थमन्त्री विष्णु पौडेल नै अर्थमन्त्री थिए । पौडेलले त्यसबेलै श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन चाहेका थिए । तर, प्रधानमन्त्री ओलीको हस्तक्षेपका कारण श्रेष्ठ डेपुटी गभर्नर बन्न सकेका थिएनन् ।

प्रधानमन्त्री ओलीले नै नीलम र बमबहादुरलाई डेपुटी गभर्नर बनाउन अर्थमन्त्रीलाई निर्देशन दिएपछि पौडेलले चाहँदा चाहँदै पनि श्रेष्ठले मौका पाएनन् । प्रधानमन्त्री ओलीले श्रेष्ठलाई ‘पछि हेरौंला’ भनेर बचन दिएकाले यसपटक एमालेको भागमा गभर्नर परेमा उनीलाई गभर्नरका सबैभन्दा शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ ।

श्रेष्ठलाई गभर्नर बनाउन एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालगायतका नेताहरु लबिइङमा छन् । यद्यपि प्रधानमन्त्री ओलीले भने अहिलेसम्म गभर्नरका लागि कसैलाई बचन दिइनसकेको स्रोतहरुको दाबी छ ।

गभर्नरको लबिइङ गर्दै एमाले महासचिव पोखरेलकहाँ पुगेका एक दाबेदारलाई उनले यसपटक श्रेष्ठ नै आफ्नो उमेदवार भएको जवाफ दिएका थिए । युवराज खतिवाडले पनि शंखर पोखरेलको उमेदवार नै आफ्नो उमेदवार हुने बताएको स्रोतको दाबी छ ।

राम्रो अर्थशास्त्रीको परिचय बनाएका श्रेष्ठसँग व्यवस्थापकीय अनुभवको कमी रहेको उनका आलोचकहरु बताउँछन् । श्रेष्ठले राष्ट्र बैंकमा लामो समय आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक भएर काम गरे भने लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख भएर पनि काम गरे । उनीसँग नेपाल धितोपत्र बोर्डको सञ्चालक बनेर काम गरेको अनुभव पनि छ । राष्ट्र बैंकमा अर्थशास्त्री नेतृत्व नहुँदा मुलुकको अर्थतन्त्र शिथिल भएको आम बुझाइ छ, यस्तो अवस्थामा राम्रो अर्थशास्त्रीको छवि बनाएका र अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका श्रेष्ठ गभर्नरका लागि निकै बलियो उम्मेद्वार हुन् ।

‘अहिले चर्चामा आएका उम्मेद्वारहरुले कांग्रेस र एमालेको उच्च नेतृत्वलाई विभिन्न च्यानलमार्फत् तीव्र दबाब दिइरहेको अवस्थामा विगतमा कर्मचारीतन्त्रमा बसेर ओली र देउवा दुबैलाई खुसी बनाएका कुनै पूर्वसचिव फ्याट्ट गभर्नर नियुक्ति भए भने आश्चर्य नमाने हुन्छ,’ उच्च राजनीतिक स्रोतहरु बताउँछन्- ‘किनभने, अहिले ओली र देउवा सकेसम्म आफ्नो मान्छे बनाउन नत्र साझा मान्छे बनाउनेमा सहमत छन् ।

केवल भण्डारी

अहिलेसम्म गभर्नरको दाबेदारका रुपमा चर्चामा नआएको नाम हो, केवल भण्डारी । भण्डारी पनि प्रधनमन्त्री ओलीको गृहजिल्ला झापाका हुन् । सह-सचिव रहँदा भण्डारीले सम्पत्ति शुद्धिकरण अनुसन्धान विभाग, अर्थ मन्त्रालयको बजेट महाशाखा तथा अन्तर्राष्ट्रिय आर्थिक सहायता समन्वय महाशाखा प्रमुख र महालेखा नियन्त्रकको कार्यालयमा काम गरेको अनुभव छ ।

सचिवमा बढुवा भएपछि कर्णालीको प्रमुख सचिव बनेका भण्डारीसँग राष्ट्रिय योजना आयोग र श्रम तथा रोजगार मन्त्रालयको सचिवका रूपमा काम गरेको अनुभव छ । २०४९ असार १७ गते निजामति सेवामा प्रवेश गरेका भण्डारीले निजामति सेवा ऐनमा ५८ वर्ष उमेर हद रहेकाले कार्यकाल सकिनु केही दिनअघि मात्रै अर्थात् २०८० चैत ८ गते अवकाश लिएका थिए ।

राजनीतिक रुपमा कांग्रेस पृष्ठभूमिका भण्डारी कुशल प्रशासक र उच्च नैतिकता भएका व्यक्ति मानिन्छन् । झापाको अर्जुनधारा स्थायी घर भएका कांग्रेस निकट मानिने भण्डारीको सम्बन्ध प्रधानमन्त्री ओली र प्रधानमन्त्रीका आर्थिक सल्लाहकार समेत रहेका पूर्वगभर्नर एवं पूर्वअर्थमन्त्री युवराज खतिवाडासँग पनि खासै नराम्रो सम्बन्ध छैन ।

कुनै राजनीतिक दलको भन्दा पनि सक्षम र अर्थतन्त्र हाँक्न सक्ने उच्च नैतिक चरित्र र वृहत् सोच भएको गभर्नरको खोजी भइरहेका बेला भण्डारी एकाएक बलियो दाबेदारका रुपमा प्रस्तुत भएका छन् । तर उनका लागि पनि कांग्रेसले निरन्तर अडान राखिरहनु पर्छ । गभर्नर सिफारिस समितिका सदस्य डा विश्व पौडेल उपाध्यक्ष रहेका बेला भण्डारी सचिव थिए । जुनबेला शेरबहादुर देउवा प्रधानमन्त्री थिए । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्व पौडेललगायतका नेताहरुसँग पनि उनको निकै सुमधुर सम्बन्ध छ । महामन्त्रीद्वयले सभापतिमाथि निरन्तर दबाब राखिराखे र कांग्रेसको एकमात्र उम्मेद्वार बने भने उनी गभर्नर बन्न सक्छन् ।

रविन्द्र र राजेन्द्रलाई बाधक बन्यो उमेरको मापदण्ड

गभर्नर बन्ने आकांक्षा राखेका राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशकसमेत रहेका अहिलेका राष्ट्र बैंकका सञ्चाल रविन्द्र पाण्डे र पूर्वमुख्यसचिव राजेनद्र किशोर क्षेत्रीका लागि भने उमेर नै मूख्य बाधक बनेको छ । क्षेत्री पूर्वमुख्यसचिवको छोटो जिम्मेवारीबाट ५८ वर्षे उमेर हदका कारण २०७४ कात्तिक ६ गते अवकास पाएका थिए भने पाण्डे २०६८ सालमा राष्ट्र बैंकको कार्यकारी निर्देशकबाट अवकास पाएका थिए ।

राष्ट्र बैंक ऐनले गभर्नरको योग्यता तोकेको भए पनि उमेरका समबन्धमा कुनै व्यवस्था गरेको छैन । तर, अर्थ मन्त्रालय सम्बद्ध सार्वजनिक निकायका पदाधिकारी तथा सदस्यको नियुक्ति र मनोनयन सम्बन्धी मापदण्ड २०७३ मा भने ६५ वर्ष नाघेको व्यक्तिलाई गभर्नर नियुक्त गर्न नहुने व्यवस्था छ । उक्त मापदण्ड अनुसार मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको कार्यकारी प्रमुखको हकमा ३० वर्ष उमर पूरा भई ६५ वर्ष ननाघेको हुनुपर्ने व्यवस्था छ । उक्त मापदण्ड नेपाल राष्ट्र बैंककको हकमा पनि लागू हुनेछ ।

हालै मात्रै नेपाल धितोपत्र बोर्ड र नेपाल प्राधिकरणको अध्यक्ष नियुक्त गर्दा सिफारिस समितिले बनाएको कार्यविधिमा उक्त मापदण्ड अनुसारको उमेर भएकाले मात्रै आवेदन दिन सक्नेगरी कार्यविधि बनाएको थियो ।

उक्त मापदण्डले केन्द्रीय बैंक वा निजामति सेवामा अवकास भएर पनि पटक(पटक राजनीतिक नियुक्ति खानेहरुका लागि बाटो रोक्ने देखिन्छ ।

मन्त्रिपरिष्‌दले उक्त मापदण्ड खारेज वा संशोधन गरेर पनि चाहेको व्यक्तिलाई गभर्नर बनाउन सक्छ । तर, कुनै अमुक व्यक्तिलाई गभर्नर बनाउनकै लागि मापदण्ड संशोधन गर्दा सकारमाथि कुन स्वार्थमा गभर्नर बनाउने मापदण्ड संशोधन गरेको भन्ने आरोप लाग्ने निश्चित छ ।

पछिल्लो समय स्वार्थ समूहको चाहनाअनुसार राजनीतिक नियुक्ति हुने गरेको भन्दै सडकदेखि संसदसम्म सरकारमाथि प्रश्न उठ्दै आएको छ । यस्तो अवस्थामा गभर्नर नियुक्तिको मुखमै मापदण्ड संशोधनमा लाग्दा सरकारमाथि थप प्रश्न उठ्ने जोखिम रहेकाले सरकार त्यसतर्फ लाग्नसक्ने अवस्था छैन ।

को र कस्तो गभर्नर ? (विशेष श्रृंखला)

– गभर्नर सिफारिस समितिलाई ब्रिफिङ: ट्यालेन्ट हन्ट गर्दा यी विषयमा गम्भीर नभए कलंकको दाग लाग्छ
– राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको लिगलिगे दौड: कसको कनेक्सन कहाँ, सम्भावना कति ?
– राष्ट्र बैंकको गभर्नरमा डेढ दर्जन आकांक्षी, को को छन् दौडमा ?
– नेपाल राष्ट्र बैंकको भावी गभर्नर को बन्लान् ?
– गभर्नरको पदनै धरापमा पारेको राष्ट्र बैंकको त्यो अलोकप्रिय नीतिले प्रणालीलाई कता लैजाँदैछ ?
– राष्ट्र बैंकको आगामी गभर्नर कस्तो हुनुपर्छ ?
– राष्ट्र बैंक कब्जा गर्ने सरकारको दुर्नियत, विचौलियाको मतियारलाई गभर्नर नबनाउनु: स्वर्णिम
– सरकारले गठन गर्‍यो गभर्नर सिफारिस समिति, राष्ट्र बैंकले कस्तो नेतृत्व पाउँदैछ ?
– गभर्नर नियुक्तिको मुखैमा किन गायव गरियो ‘अर्थ सम्वद्ध निकायका पदाधिकारी नियुक्ति मापदण्ड’ ?
– यी ३ जनाले पाए राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने जिम्मेवारी
– एक्जिट मुडमा गभर्नर, अत्यावश्यक बाहेक निर्णय हुन छोड्यो
– कार्यकाल सकिनुअघि १० दिनको ‘फोर्स लिभ’मा गभर्नर अधिकारी, अन्तिम एक साता जिम्मेवारीमा फर्किने
– गभर्नर नियुक्तिको मुखैमा ओलीको सन्देश: महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव बनाउने मै हुँ
– डेपुटी गभर्नर नीलम: १९ वर्षमै विवाह, टीयूको गोल्ड मेडलिस्ट, विद्यार्थीले भनेपछि राष्ट्र बैंकमा जागिर
– राष्ट्र बैंकको अब बन्ने गभर्नर यस्तो होस्ः पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल
– परराष्ट्रमन्त्री आरजूले नमानेपछि गभर्नर छान्ने समितिले कामै गर्न सकेन, अब के हुन्छ ?
– गभर्नर नियुक्तिको सिफारिस गर्न तीन सदस्यीय समिति गठन
– नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा ज्ञानेन्द्र ढुंगाना, कति छ सम्भावना ?
– राष्ट्र बैंकको अब बन्ने गभर्नर ‘म जस्तै’ हुनुपर्छ
– यस्तो हुनुपर्छ अबको गभर्नर: पूर्वबैंकर परशुराम कुँवर
– भावी गभर्नरमा हुनैपर्ने ३ गुण, जसले राष्ट्र बैंकको शीर उँचो राख्नेछ: नरबहादुर थापा
– राजनीतिक हैन आर्थिक म्यान्डेट पुरा गर्ने गभर्नर चाहिन्छ: अनलराज भट्टराई
– ‘भावी गभर्नरको इन्टिग्रिटी कम्तिमा पूर्वगभर्नर कुलशेखर शर्माको झैं हुनुपर्छ’
– पार्टीबाट राजीनामा दिएको भोलिपल्ट गभर्नर नियुक्त गरेपछि राष्ट्र बैंक कसरी स्वायत्त हुन्छ ?
– आर्थिक दुरावस्थाबीच कस्तो व्यक्तिलाई गभर्नर चयन गर्ने?
– गभर्नरका लागि योग्य व्यक्ति नेता र शक्तिकेन्द्रलाई बिटो बुझाउँदै पुग्दैन, सरकारले ‘ट्यालेन्ट हन्ट’ गर्नुपर्छ
– कसैले पचाउन नसक्ने तथा बोल्ड नीतिगत निर्णय लिने व्यक्तिलाई गभर्नर बनाउनुपर्छ

राष्ट्र बैंकका कर्मचारीहरु भन्छन्: हामीलाई यस्तो गभर्नर चाहिन्छ
अबको गभर्नर कुलशेखर र कल्याणविक्रम जस्ता ‘टावरिङ पर्सनालिटी’ बनुन्, नाम सुन्दै विश्वले पुकारोस्