नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा ज्ञानेन्द्र ढुंगाना, कति छ सम्भावना ?

8k
Shares

काठमाडौं । नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्ञानेन्द्र ढुंगानाले पदबाट राजीनामा दिएका छन् ।

उनले आइतबारदेखि लागू हुने गरि राजीनामा दिएको क्लिकमान्डुसँग बताए ।

ढुंगाना नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा होमिएका हुन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् ।

ज्ञानेन्द्रका दाइ गोविन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्द पछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीईओ हुन् ।

गभर्नर कांग्रेसको भागमा पर्ने निश्चित भएपछि ढुंगाना सीईओको जागिरै छाडेर गभर्नर बन्ने अन्तिम कसरतमा लागेका छन् ।

बैंकको बहालवाला पदाधिकारी राष्ट्र बैंकको गभर्नर वा सञ्चालक नियुक्त हुन नपाउने व्यवस्था छ । ‘वाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी र ५ प्रतिशत वा सो भन्दा बढी सेयर तथा मतदानको अधिकार भएको व्यक्ति राष्ट्र बैंकको गभर्नर वा सञ्चालक हुन अयोग्य हुनेछ,’ नेपाल राष्ट्र बैंक ऐनको दफा २१ मा भनिएको छ ।

तर, वाणिज्य बैंककको प्रमुख कार्यकारी अधिकृत भएको व्यक्ति गभर्नरको लागि योग्य हुने व्यवस्था छ । वाणिज्य बैंकको सीईओ भएपछि गभर्नरको लागि योग्य हुने भएपनि बहालवाला सीईओ बन्न नसक्ने ऐनका व्यवस्थाका कारण ढुंगानाले गभर्नर नियुक्तिको प्रक्रिया सुरु भएसँगै नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतबाट राजिनामा दिएका हुन् ।

नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला फस्ट भएका थिए । काठमाडौं आएर कमर्श पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्टर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले नेपाल बंगलादेश (एनबी) बैंकको सीईओ भएर पनि काम गरे ।

राष्ट्र बैंकको जागिरे भएकाले उनीभित्र राष्ट्र बैंकको गभर्नर बन्ने सपना उहिल्यैदेखि पलाएको ढुंगानालाई नजिकबाट चिन्नेहरु बताउँछन् । डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरका रुपमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन । अहिले पनि ढुंगानाको नाम गभर्नरका लागि चर्चाको अग्रस्थानमा छ ।

राष्ट्र बैंकमा काम गरेको अनुभव, निजी क्षेत्रले प्रवर्द्धन गरेको बैंकको सीईओ भएर काम गरेको अनुभव र कांग्रेस पृष्ठभूमिका ढुंगाना कांग्रेसको कोटामा गभर्नर परेमा निकै बलिया दाबेदार हुन् । ढुंगाना निर्णय क्षमता उच्च भएका व्यक्ति हुन् । राष्ट्र बैंकको गभर्नरले बोल्ड डिसिजन गर्नुपर्ने भएकाले उनी उपयुक्त पात्र भएको राष्ट्र बैंकका कर्मचारीहरु पनि बताउँछन् ।

राष्ट्र बैंक ऐनले गभर्नरका लागि उमेरहद तोकेको छैन । तर, अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनले भने गभर्नर नियुक्तिका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष नकटेको हुनुपर्ने व्यवस्था गरेको छ ।

ढुंगाना २०२७ सालमा जन्मिएका हुन् ।