
काठमाडौं । पछिल्लो २ त्रैमासमा बढेको घरजग्गा कारोबारसँगै बैंकहरूको कर्जा असुली (रिकभरी) पनि सकारात्मक बन्दै गएको छ।
चालु आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासमा घरजग्गाको कुल कारोबार, लिखत पारित, राजीनामा कारोबार संख्या र राजीनामा क्षेत्रफलमा खासै सुधार देखिएको छैन ।
तर, घरजग्गाको राजीनामा कारोबार मूल्य र राजस्वमा भने उल्लेख्य सुधार देखिएको छ । कारोबार मूल्यका आधारमा चालु आर्थिक वर्षको दोस्रो र तेस्रो त्रैमासको घरजग्गा कारोबार आर्थिक वर्ष २०७९/८० यताकै सबैभन्दा उच्च देखिएको हो ।
चालु आर्थिक वर्षको तेस्रो त्रैमासमा राजीनामा कारोबार मूल्यका आधारमा १ खर्ब ८३ अर्ब ९० करोड रुपैयाँ बराबरको घरजग्गा किनबेच भएको छ । त्यस्तै, दोस्रो त्रैमासमा १ खर्ब ५४ अर्ब ९७ करोड रुपैयाँ बराबरको घरजग्गा राजीनामा कारोबार हुँदा प्रथम त्रैमासमा १ खर्ब ६ अर्ब २६ करोड रुपैयाँ बराबरको राजीनामा कारोबार भएको हो ।
पछिल्लो चार वर्षको घरजग्गा कारोबारको विश्लेषण गर्दा चालु आर्थिक वर्षमा मात्रै लगातार सुरुवाती ३ त्रैमासमा १ खर्ब रुपैयाँभन्दा माथिको राजीनामा कारोबार भएको नेपाल राष्ट्र बैंकको ‘घरजग्गा कारोबारको प्रवृत्ति र वर्तमान स्थिति’ सम्बन्धी प्रतिवेदनले देखाउँछ ।
घरजग्गाको कुल कारोबार, लिखत पारित, राजीनामा कारोबार संख्या र राजीनामा क्षेत्रफलमा खासै सुधार नहुँदा पनि राजीनामा कारोबार मूल्यमा उल्लेख्य वृद्धि हुनुले ग्रामीणभन्दा सहरी क्षेत्रको उच्च मूल्य भएका घरजग्गाको कारोबार बढेको तथ्यांकले देखाउँछ ।
घरजग्गाको कारोबारमा मात्र सुधार देखिएको छैन, बैंकहरूको कर्जा असुलीमा समेत देखिने गरी सुधार भएको बैंकरहरू बताउँछन् ।
‘धितो लिलामीमा पनि सुधार देखिएको छ । ठूला र साना धितो सबैको बिक्रीमा सुधार देखिएको छ,’ नेपाल बैंकर्स संघका कार्यकारी सदस्य समेत रहेका कुमारी बैंकका प्रमुख कार्यकारी अधिकृत रामचन्द्र खनाल भन्छन्, ‘आर्थिक गतिविधिमा उल्लेख्य सुधार भएको भने होइन । कतिपय ठाउँमा अब मूल्य कम आए पनि जग्गा बेचेर ऋण तिर्नुपर्छ भन्ने अवस्था देखिन्छ । कतिपय ऋणीले आफैँले धितोमा राखेको जग्गा खरिद गर्ने मान्छे खोजेर ऋण फर्स्यौट (सेटलमेन्ट) गरिरहेका छन् ।’
अहिले महँगो मूल्य भनिएको जग्गा पनि बिक्री भइरहेको खनालले बताए । कतिपय ऋणीले मसान्तसम्म खातामा रकम जम्मा गर्ने प्रतिबद्धता जनाए पनि प्रतिबद्धता अनुसार रकम असुल हुन्छ कि हुँदैन भन्नेमा भने मसान्त नै कुर्नुपर्ने उनले बताए ।
‘विगतमा राष्ट्र बैंकले असार मसान्तमा उठ्नुपर्ने ब्याज साउन मसान्तसम्म जम्मा गर्दा पनि असारकै आम्दानी जनाउन सकिने व्यवस्था गरेको थियो । त्यसले गर्दा असारमा ब्याज जम्मा गर्न नसक्नेले साउनमा गर्दा पनि हुन्थ्यो । अहिले असार मसान्तमा कतिले जम्मा गर्छन्, अहिल्यै भन्न सकिने अवस्था छैन,’ खनालले भने, ‘बजारको प्रतिक्रिया भने सकारात्मक छ । कर्मचारी फिल्डमा जाँदा हुने व्यवहारमा सुधार देखिएको छ ।’
एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत सुदेश खालिङ पनि पछिल्लो केही वर्षयता ऋणीमा देखिएको वित्तीय सुशासनको कमीमा केही सुधार आएको बताउँछन् ।
सम्पर्कमै नआउने ऋणीहरू अहिले बैंकका कर्मचारीको सम्पर्कमा आउने, ऋण तिर्न विभिन्न योजनाहरू प्रस्ताव गर्ने, थप समय माग गर्ने तथा जरिवाना छुट माग्ने जस्ता अवस्था देखिएको उनी बताउँछन् । ‘बैंकिङ क्षेत्रका लागि काम गर्ने वातावरणमा सुधार देखिएको छ, जुन सकारात्मक कुरा हो,’ खालिङ भन्छन्, ‘आर्थिक गतिविधिमा सुधार नभई कर्जा माग बढ्न र असुलीमा पूर्ण सुधार हुन समय लाग्छ ।’
एनआईसी एशिया बैंकका प्रमुख कार्यकारी अधिकृत सुजित कुमार शाक्य पनि असुलीमा उल्लेख्य सुधार नभए पनि केही सकारात्मक संकेत देखिएको बताउँछन् । ‘हाम्रोमा धितो लिलाम वा बिक्री गर्नुपर्ने सम्पत्ति ठूलोभन्दा सानो धेरै छ । २०/३० लाखदेखि २/४ करोडसम्मका सम्पत्तिहरू बिक्री भइरहेका छन्,’ उनले भने, ‘केही वर्ष घरजग्गाको मूल्य बढ्ला कि भनेर पर्खनेहरू पनि अब मूल्य घटेकै अवस्थामा बिक्री गरेर ऋण फर्स्यौट गरिरहेका छन् । खरिद गर्नेले पनि घटेको मूल्यमा किनिरहेका छन् ।’
व्यावहारिक समस्या भएकाहरूले २०/३० प्रतिशत मूल्य घटाएर पनि बिक्री गरिरहेको र मूल्य घटेपछि किन्छु भन्नेहरूलाई अवसर भएकोले विशेष गरी काठमाडौं उपत्यका बाहिरका सहर केन्द्रित क्षेत्रको घरजग्गा लिलाम भइरहेको उनले बताए ।
‘असुलीमा उल्लेख्य सुधार भएको होइन । केही ठाउँमा अहिले पनि कर्मचारीमाथि दुर्व्यवहार भइरहेको छ । तर, त्यस्ता घटनामा सुधार भने देखिएको छ,’ शाक्य भन्छन्, ‘मधेसका कतिपय ठाउँमा ऋणीहरूले ऋण तिर्न समय दिए तिर्ने भन्दै विभिन्न योजना पेस गर्ने अवस्था पनि देखिएको छ । असुलीमै धेरै परिवर्तन भयो भन्ने अवस्था होइन, तर वातावरण सुधारोन्मुख देखिएको छ ।’
नेपाल बैंकका प्रमुख कार्यकारी अधिकृत तिलकराज पाण्डे पनि असुलीमा अपेक्षित सुधार नदेखिएको बताउँछन् । गत वर्षको तुलनामा केही सकारात्मक भए पनि ठूला ऋणीको असुलीमा सुधार नभएको उनले बताए । ‘साना ऋणीहरूले जसोतसो पैसा व्यवस्था गरेर भए पनि ऋण तिरेका छन् । ठूला ऋणहरूमा नै समस्या छ । त्यसमा सुधार नभएसम्म असुलीमा सुधार भयो भन्ने अवस्था छैन,’ उनले क्लिकमाण्डूसँग भने, ‘असुलीको वातावरणमा भने केही सकारात्मक अवस्था देखिएको छ । तर, वास्तविक असुलीमै भने खासै सुधार भयो भन्ने अवस्था देखिँदैन ।’
हिमालयन बैंकका प्रमुख कार्यकारी अधिकृत अशोक राणा भने बजारमा असुलीमा कुनै सुधार नदेखिएको बताउँछन् । ‘धितो लिलाम र गैर-बैंकिङ सम्पत्ति बिक्री हुन सकेको छैन । सम्पत्ति बिक्री गर्न सूचना प्रकाशित गर्दा पनि आवेदन नै पर्दैन,’ राणा भन्छन्, ‘थप बिग्रँदो अवस्था भने छैन, तर बिग्रिएका फाइलहरूमा असुली भएर सुधार भएको अवस्था भने होइन ।’
बैंकर्स संघका अध्यक्ष समेत रहेका माछापुच्छ्रे बैंकका प्रमुख कार्यकारी अधिकृत सन्तोष कोइराला पनि असुली सकारात्मक भए पनि दुई नियामकीय प्रावधानका कारण केही समस्या भएको बताउँछन् ।
‘विगतमा असार मसान्तमा उठ्नुपर्ने ब्याज साउन १५ सम्म असुल हुँदा पनि असारको आम्दानी जनाउन सकिने थियो । अहिले असार मसान्तभित्र जति असुल हुन्छ, त्यसैलाई आधार मानेर क्लोजिङ गर्नुपर्छ,’ कोइराला भन्छन्, ‘कतिपय ऋणीहरूले आफ्नो क्लोजिङ सकेपछि मात्र ब्याज भुक्तानी गर्ने भनेर रोकेका हुन्छन् । साउनको १/२ गते भुक्तानी गर्दा पनि असारको आम्दानी देखाउन नपाउँदा समस्या भयो ।’
दोस्रो कारण, विगतमा नियमित नभई चैत मसान्तमा ब्याज भुक्तानी गर्नेले असारमा पनि ब्याज भुक्तानी गरेमा ‘असल’ वर्गमा वर्गीकरण गरी नियमित हुने व्यवस्था थियो । तर, अहिले चैत मसान्तपछि विगतको बक्यौता भुक्तानी गरी असारमा पनि भुक्तानी गर्दा प्रोभिजन ‘राइटब्याक’ गर्न नपाउँदा समस्या भएको उनले बताए ।
‘कर्जा नियमित भएको ३ महिनापछि मात्रै असल वर्गमा वर्गीकरण गरी प्रोभिजन फिर्ता गर्न पाउने व्यवस्थाले चैतपछि असुली भएको कर्जामा प्रोभिजन राइटब्याक नहुँदा समस्या भयो,’ उनले भने, ‘असुलीमा भने सकारात्मक अवस्था देखिन्छ । धनगढीदेखि विराटनगरसम्म नै पुगेर फर्किँदा असुलीको वातावरणमा केही सुधार देखिएको छ । आम्दानी नै नहुँदा ऋण तिर्न नसक्ने फरक समस्या भयो, तर ऋणी सम्पर्कमा आएर नयाँ योजना पेस गर्ने अवस्था देखिएको छ ।’ सबैभन्दा ठूलो समस्या देखिएको मधेसको अवस्था पनि सकारात्मक रहेको उनले बताए ।








प्रतिक्रिया