
विराटनगर । विराटनगर भन्सार कार्यालयमा सामान जाँचपास गर्न भन्सार विभागबाट अनुमति लिएका एजेन्टले आफ्नो लाइसेन्स भाडामा लगाएर भन्सार राजस्व छली गर्न बाटो खुला गरिदिएको पाइएको छ ।
त्यसरी अर्काको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गराउने एजेन्टले प्रज्ञापन पत्रमा वास्तविक विवरण लुकाएर ठूलो परिमाणमा भन्सार राजस्व छली गर्दै आएको पुष्टि भएको छ ।
भन्सार जाँचपास गर्ने एजेन्टलाई भन्सार विभागले लिखित परीक्षा लिने र उत्तीर्ण हुनेलाई ७ लाख रुपैयाँ बैंक ग्यारेन्टी लिएर अनुमति पत्र दिने गरेको छ । त्यसरी अनुमति पाएका एजेन्टलाई सम्बन्धित भन्सारले आफ्नो युजर दिन्छ र त्यही युजरका आधारमा त्यो एजेन्टले प्रज्ञापनपत्र भरेर भन्सार जाँचपासमा सहभागी हुन्छ ।
त्यसरी विभागबाट आफ्नो नाममा भन्सार जाँचपास गर्ने लाइसेन्स लिएका भरत भट्टराई, रिवाज रोक्का, किशोर शाही, सुरेश अग्रवाल, रोहित यादव, हरि ठाकुर, चेतनाथ पौडेल, बासु नेपाल, राजेश गुप्ता, दयानन्द मण्डल, निश्चल नेपाल, प्रदिप साह र गोपीकृष्ण उप्रेती लगायतले वार्षिक २ देखि तीन लाखसम्ममा लाइसेन्स भाडामा लगाएर भन्सार जाँचपास गराउँदा बारम्बार भन्सार राजस्व छली गर्दै आएको विराटनगर भन्सार एजेन्ट संघ स्रोतले दाबी गरेको छ ।
प्रदिप साह भन्सार कर्मचारीसमेत हुन् । उनले पत्नी प्रीतिकुमारी झाको नाममा रहेको भन्सार एजेन्टको लाइसेन्स वार्षिक दुई लाखमा भाडामा लगाएको स्रोतले बताए ।
अधिकांश लाइसेन्सधारीले भारतीय नागरिकलाई लाइसेन्स भाडामा दिएका छन् । तीमध्ये रोहित यादव, सञ्जीव भगत, कुन्दन मण्डल र रामेश्वर खण्डेवाल भारतीय नागरिक हुन् ।
अर्काको लाइसेन्स भाडामा लिने भाडादारले प्रज्ञापनपत्रमा चाहिँ लाइसेन्सधारीकै हस्ताक्षर गराउँछन् । स्रोतले भन्यो, ‘त्यस्ता भाडादारले पाँचवटा कन्साइनमेन्टका ठाउँमा ६–७ वटासम्मको काम गरेर वास्तविक परिमाण लुकाएर राजस्व छली गर्दै आएका छन् । त्यसबेला उनीहरूले ‘आए आपका गए वापका’ लगायतका शब्द प्रयोग गर्ने गरेको’ भन्सार एजेन्ट संघ स्रोतको भनाइ छ ।
विराटनगर भन्सार एजेन्ट संघमा लाइसेन्सधारी ४० जना भन्सार एजेन्ट आबद्ध छन् । तीमध्ये मुस्किलले ५ जना लाइसेन्सधारी मात्र आफैँ भन्सार जाँचपास गर्दै आएका छन् ।
तीबाहेक बाँकी झन्डै ३५ जना लाइसेन्सधारी एजेन्टले आफ्नो लाइसेन्स वार्षिक कम्तीमा दुई लाखदेखि तीन लाख रुपैयाँसम्ममा भाडामा लगाएर भन्सार राजस्व छली गर्दै आएको पाइएको छ ।
यसको पछिल्लो उदाहरण हुन् अर्काको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गर्दै आएका अक्बर अली । उनले प्रज्ञापन पत्रमा वास्तविक विवरण लुकाएर भन्सार राजस्व छली गर्दा १ लाख ५७ हजार मूल्यका सामान जफतसहित ५ लाख ७७ हजार जरिवानामा परेका छन् ।
भन्सार एजेन्ट भरत भट्टराईको लाइसेन्स वार्षिक दुई लाख रुपैयाँमा भाडामा लिएर अलीले लामो समयदेखि भन्सार जाँचपास गर्दै भन्सार राजस्व छली गर्दै आएका छन् । आफ्नै फर्म नभए पनि अरूको लाइसेन्स भाडामा लिएर राजस्व छलीमा अली ‘माहिर खेलाडी’ का नामले चिनिन्छन् ।
गत असार २९ गते भारतीय नम्बर प्लेटको बीआर ०१ जीए ३३४७ नम्बरको ट्रक भन्सार जाँचपास सकेर बाहिरिने क्रममा सशस्त्र प्रहरीको नियन्त्रणमा परेपछि अलीको खुराफाती सार्वजनिक भएको हो ।
सशस्त्र प्रहरीको टोलीले उक्त ट्रक नियन्त्रणमा लिएर पुनः जाँचका लागि भन्सारमा बुझाएको थियो । भन्सारको भौतिक परीक्षणका क्रममा अलीले सिलाई मेसिन र चस्मा आयात गरेको भनी प्रज्ञापन पत्र भरे पनि त्यसभित्र महँगा कपडाहरू लुकाएर ल्याएको फेला पर्यो ।
प्रज्ञापन पत्रमा उल्लेख नभएका थप २७ वटा विभिन्न सामग्रीका आइटम र १२ बोरा लुकाइएको कपडा बरामद भएपछि भन्सारले १ लाख ५७ हजार मूल्यका सामान बरामद गर्दै अलीलाई ५ लाख ७७ हजार जरिवाना तिराएको हो ।
‘भन्सारले एजेन्टलाई विश्वास गरेर युजर कोड दिएको हो । एजेन्टले तेस्रो मानिस लगाएर कैफियत गरेको पुष्टि भएपछि कारबाही गरिएको’ विराटनगर भन्सार प्रमुख उमेश श्रेष्ठले बताए ।
‘भन्सारले युजर दिएको एजेन्टलाई मात्र चिन्छ,’ उनले भने, ‘भन्सार ऐन अनुसार स्वघोषणा भन्दा बढी सामान भेटिएपछि कारबाही गरिएको हो । एजेन्टको लाइसेन्सका बारेमा पनि कारबाहीको प्रक्रिया अगाडि बढाउने तयारी भइरहेको छ ।’
बारम्बार सचेत गराउँदा पनि श्रेष्ठ सचेत नभएपछि कारबाहीको विकल्प नभएको बताए ।
यसअघि पनि लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गर्दै आएका कुन्दन मण्डल र रिवाज रोक्का कारबाहीमा परेका थिए । मण्डललाई भन्सारले १६ लाख र रोक्कालाई ४ लाख जरिवाना गरेर एक महिना काममा रोक लगाएको थियो ।
अर्काको लाइसेन्स भाडामा लिएर भन्सार जाँचपास गराउँदै आएका भाडावाला एजेन्टका कारण आफ्नै लाइसेन्समा काम गर्ने भन्सार एजेन्ट र भन्सार प्रशासन बदनाम हुँदै आएको विराटनगर भन्सार एजेन्ट संघका अध्यक्ष देवकी नन्दन शर्माको गुनासो छ।
‘अर्काको लाइसेन्स भाडामा लिएर काम गर्नेले ‘आए आपका गए वापका’ भन्दै राजस्व छलीमा फटाही गर्छन्,’ शर्माले भने, ‘उनीहरूले गरेको फटाहीको जिम्मेवारी आफैँ काम गर्ने लाइसेन्सधारी एजेन्ट र भन्सार प्रशासनले भोग्नुपरेको अवस्था छ ।’





प्रतिक्रिया