‘द ओडिसी’ को बक्स अफिसमा ऐतिहासिक ओपनिङ, पहिलो सप्ताहान्तमै २६ करोड ४० लाख डलरको व्यापार

63
Shares

एजेन्सी । विश्वप्रख्यात निर्देशक क्रिस्टोफर नोलनको नयाँ चलचित्र ‘द ओडिसी’ ले विश्वव्यापी बक्स अफिसमा तहल्का मच्चाएको छ ।

स्टुडियो युनिभर्सल पिक्चर्सका अनुसार, यस चलचित्रले प्रदर्शनको पहिलो हप्तामै २६ करोड ४० लाख अमेरिकी डलरको व्यापार गर्दै कीर्तिमान कायम गरेको छ । म्याट डेमन, टम हल्यान्ड, एन ह्याथवे र जेन्डाया जस्ता दिग्गज कलाकारहरूको मुख्य भूमिका रहेको यो चलचित्र होमरको प्राचीन ग्रीक महाकाव्यमा आधारित छ ।

यसले ट्रोजन युद्धपछि आफ्नो घर इथाका फर्किने क्रममा राजा ओडिसियसले सामना गरेका १० वर्ष लामो जोखिमपूर्ण र साहसिक यात्राको कथालाई पर्दामा उतारेको छ ।

गत शुक्रबार सार्वजनिक भएको यो चलचित्रले नोलनकै अघिल्लो बहुचर्चित चलचित्र ‘ओपनहाइमर’ को भन्दा पनि ठूलो ओपनिङ पाएको छ । ‘ओपनहाइमर’ ले आफ्नो प्रदर्शन कालभरि विश्वव्यापी रूपमा ९७ करोड ५० लाख डलर कमाएको थियो तर ‘द ओडिसी’ को सुरुवाती व्यापारले त्यो रेकर्डलाई पनि उछिन्न सक्ने संकेत दिएको छ ।

करिब २७ सय वर्ष पुरानो महाकाव्यमा आधारित यस चलचित्रको निर्माण लागत झन्डै २५ करोड डलर रहेको बताइएको छ । निर्देशक नोलनले ‘ओपनहाइमर’ को व्यावसायिक र आलोचनात्मक सफलतापछि मात्र आफूले यति ठूलो प्रोजेक्टमा हात हाल्ने आँट गरेको स्वीकार गरेका छन् ।

ब्याटम्यान फ्रेन्चाइजी बाहेक नोलनको करियरमा यो अहिलेसम्मकै उत्कृष्ट ओपनिङ हो । यसअघि सन् २०१२ मा प्रदर्शनमा आएको उनको चलचित्र ‘द डार्क नाइट राइजेज’ ले पहिलो हप्ता २४ करोड ९० लाख डलर कमाएको थियो ।

उत्तर अमेरिकामा मात्र यस चलचित्रले १२ करोड ४५ लाख डलर संकलन गरेको छ । यो यस वर्ष ‘टोय स्टोरी ५’ र ‘द सुपर मारियो ग्यालेक्सी मुभी’ पछि तेस्रो ठूलो ओपनिङ बनेको छ । चलचित्र ‘आर–रेटेड’ अर्थात् वयस्कका लागि मात्र भए तापनि यसले हासिल गरेको यो सफलतालाई फिल्म उद्योगमा निकै महत्त्वपूर्ण उपलब्धिको रूपमा हेरिएको छ ।

युनिभर्सल पिक्चर्सले सुरुमा उत्तर अमेरिकामा १० करोड डलरको व्यापार हुने प्रक्षेपण गरेको थियो तर दर्शकको उत्साहले त्यो अनुमानलाई गलत साबित गरिदियो । तथ्यांक अनुसार दर्शकहरूमध्ये ५६ प्रतिशत पुरुष रहेका छन् भने झन्डै ७५ प्रतिशत टिकट खरिदकर्ताहरू २५ वर्षभन्दा माथिका छन् ।

त्यस्तै, कुल दर्शकको आधा हिस्सा १८ देखि ३४ वर्ष उमेर समूहका युवाहरूको रहेको छ । अन्तर्राष्ट्रिय बजारमा बेलायत र आयरल्यान्डबाट सबैभन्दा धेरै १ करोड ७४ लाख डलर संकलन भएको छ ।

प्राविधिक रूपमा यो चलचित्र पूर्ण रूपमा ‘आइम्याक्स’ क्यामराबाट खिचिएको पहिलो फिचर फिल्म हो । आइम्याक्स क्यामराहरू निकै भारी र आवाज निकाल्ने खालका भए तापनि यसले दृश्यलाई अत्यन्तै सफा, चम्किलो र उच्च गुणस्तरको बनाउँछ ।

लन्डनको बीएफआई आइम्याक्स सिनेमामा चलचित्रका सबै शोहरू पहिलो हप्ताका लागि हाउसफुल भएका थिए । कतिपय प्रशंसकहरू त चलचित्र हेर्नका लागि मध्यरात र बिहान ४ बजेदेखि नै लाइनमा बसेका थिए ।

‘द ओडिसी’ अहिले विश्वका ७३ वटा बजारका १२ हजार ८०० भन्दा बढी स्थान र २६ हजार पर्दाहरूमा प्रदर्शन भइरहेको छ ।
निर्देशक नोलनले हालै एक अन्तर्वार्तामा ‘द ओडिसी’ को छायांकन निकै चुनौतीपूर्ण रहेकाले अब अर्को चलचित्र बनाउन कम्तीमा तीन वर्ष लाग्ने बताएका छन् । उनले आफूलाई केही समय फुर्सद चाहिएको र कामको चापबाट विश्राम लिएर मात्र नयाँ योजनामा लाग्ने स्पष्ट पारेका छन् ।

समीक्षकहरूले यसलाई नोलनको अहिलेसम्मकै उत्कृष्ट चलचित्र भनेर प्रशंसा गरेका छन् । चलचित्रमा रोबर्ट प्याटिन्सन, लुुपिता न्योंगो, सामन्था मर्टन र चार्लिज थेरोन जस्ता कलाकारहरूको पनि दमदार अभिनय रहेको छ ।