
काठमाडौं । आज फुटबल इतिहासमा सर्वोच्च स्थानमा उभिएका लियोनेल मेस्सीको यात्रा भने सजिलो थिएन। सानो उमेरमै उनले लडेको एउटा दुर्लभ रोगले उनको भविष्यलाई नै संकटमा पारेको थियो, जुन कथा आज उनको सफलतासँगै झन् प्रेरणादायी बनेर सामु आउँछ ।
अर्जेन्टिनाको रोसारियोमा जन्मेका मेस्सी सानै उमेरदेखि फुटबलमा उत्कृष्ट देखिन्थे । तर आठ–नौ वर्षको हुँदा उनका आमाबुबाले छोराको उचाइ र शारीरिक वृद्धि आफ्ना समकालीन बच्चाहरूको तुलनामा निकै कम भएको याद गरे ।
चिकित्सकीय जाँचपछि उनलाई ग्रोथ हर्मोन डिफिसेन्सी भन्ने रोग पत्ता लाग्यो, जुन अवस्थामा शरीरले पर्याप्त वृद्धि हर्मोन उत्पादन गर्न सक्दैन र समयमै उपचार नगरे उचाइ सामान्यभन्दा निकै कम रहन सक्छ । यसको उपचार सजिलो थिएन ।
उनलाई दैनिक रूपमा हर्मोन इन्जेक्सन दिनुपर्ने थियो र यो उपचार वर्षौंसम्म चलाउनुपर्ने थियो, जसको खर्च महिनाको करिब ९०० अमेरिकी डलरसम्म पुग्थ् यो। यो रकम मेस्सी परिवारको हैसियतभन्दा धेरै माथिको थियो । सुरुमा उनी खेल्ने स्थानीय क्लब न्युएल्स ओल्ड बोइज्ले केही सहयोग गरे पनि लामो समयसम्म पूरा खर्च धान्न सकेन ।
यही आर्थिक संकटले मेस्सी परिवारलाई स्पेन जाने र त्यहाँका ठूला क्लबसँग सम्पर्क गर्ने बाध्यता सिर्जना गर्यो । धेरै क्लबले चासो नदेखाएपछि अन्ततः एफसी बार्सिलोनाले १३ वर्षीय मेस्सीको प्रतिभा देखेर उनलाई आफ्नो युवा एकेडेमी ला मासियामा भर्ना गर्ने र उनको उपचार खर्च पूर्ण रूपमा बेहोर्ने प्रतिबद्धता जनायो ।
यो सम्झौता एउटा साधारण न्याप्किन कागजमै लेखिएको थियो, जुन आज फुटबल इतिहासकै सबैभन्दा प्रसिद्ध कागजातहरूमध्ये एक मानिन्छ ।
बार्सिलोना गएपछि मेस्सीले नियमित उपचार पाए र बिस्तारै उनको शारीरिक वृद्धि पनि सामान्य हुँदै गयो। यही अवसरले उनलाई आफ्नो प्रतिभा पूर्ण रूपमा प्रस्फुटन गर्ने बाटो खोलिदियो ।
आज ३९ वर्षका मेस्सी आफ्नो करियरको छैटौं विश्वकप खेलिरहेका छन् । न्यु जर्सीको मेटलाइफ स्टेडियममा स्पेनविरुद्ध हुने फाइनलमा उनी लामिने यामालसँग पहिलोपटक भिड्दै छन् । करिब १९ वर्षअघि सानो यामाललाई काखमा च्यापेको तस्बिरले चर्चा पाएको मेस्सी आज तिनै यामालको टिमविरुद्ध फाइनल खेलिरहेका छन् ।
यस विश्वकपमा उनले अल्जेरियाविरुद्ध टुर्नामेन्ट सुरुवातमै ह्याट्रिक बनाए, जुन उनको करियरकै पहिलो विश्वकप ह्याट्रिक थियो । टुर्नामेन्टमा हालसम्म २१ गोल पुर्याएका छन् जसले जर्मनीका मिरोस्लाभ क्लोजको १६ गोलको लामो समयदेखिको रेकर्ड भत्काएको छ।
इङ्ल्यान्डविरुद्धको असिस्टका साथ उनले करियरमा १२ विश्वकप असिस्ट पुर्याई पेलेको १० सहायताको रेकर्ड पनि पछि पारेका छन् । यसरी ३३ म्याचमा ३३ गोल योगदान (२१ गोल र १२ सहायता)पुर्याए ।
यो फाइनल जितेमा उनले आफ्नो दोस्रो विश्वकप जित्नेछन् र अर्जेन्टिनालाई इटाली (१९३४, १९३८) र ब्राजिल (१९५८, १९६२) पछि लगातार दुई विश्वकप जित्ने तेस्रो देश बनाउनेछन् ।
यसअघि २०१४ को ब्राजिल विश्वकपमा फाइनलमा जर्मनीसँग हारे पनि मेस्सी टुर्नामेन्टको उत्कृष्ट खेलाडी (गोल्डेन बल) बनेका थिए । त्यसको आठ वर्षपछि २०२२ को कतार विश्वकपमा उनले फ्रान्सलाई पेनाल्टी शुटआउटमा हराउँदै अर्जेन्टिनालाई ३६ वर्षपछि तेस्रो विश्वकप जिताए । त्यस फाइनलमा उनले आफै दुई गोल गरेका थिए र यसैसँगै उनी दोस्रोपटक गोल्डेन बल जित्ने पहिलो खेलाडी बनेका थिए ।
क्लब फुटबलमा हेर्ने हो भने मेस्सीको सबैभन्दा लामो र सफल अध्याय बार्सिलोनासँग जोडिन्छ । सन् २००४ देखि २०२१ सम्म बार्सिलोनामा खेल्दा उनले जम्मा ३५ ट्रफी जिते, जसमा दस पटक ल लिगा च्याम्पियनसिप, चार पटक युएफा च्याम्पियन्स लिग, सात पटक कोपा डेल रे र तीन पटक फिफा क्लब विश्वकप समावेश छन् ।
यसका अतिरिक्त उनले थुप्रै स्पेनिस र युरोपेली सुपर कपहरू पनि जितेका छन् । सन् २००८-०९ को सिजनमा उनी बार्सिलोनाको ऐतिहासिक “त्रेबल” (ल लिगा, कोपा डेल रे र च्याम्पियन्स लिग एकैसाथ जित्ने उपलब्धि) हासिल गर्ने टिमको प्रमुख सदस्य पनि थिए । बार्सिलोना छाडेपछि उनी सन् २०२१ मा पीएसजी गए, जहाँ उनले दुई पटक लिग १ च्याम्पियनसिप र फ्रान्सको ट्रफी डे च्याम्पियन जिते। सन् २०२३ मा अमेरिकी लिग एमएलएसको इन्टर मायामीमा सामेल भएपछि उनले पदार्पण गर्दा नै सोही वर्ष लिग्स कप ट्रफी जिताए ।
अन्तर्राष्ट्रिय तहमा मेस्सीले अर्जेन्टिनालाई २०२२ को फिफा विश्वकपसहित २०२१ र २०२४ को कोपा अमेरिका पनि जिताएका छन् । यसका अतिरिक्त उनी सन् २००८ को बेइजिङ ओलम्पिकमा स्वर्ण पदक जित्ने र २०२२ मा युरोपेली र दक्षिण अमेरिकी च्याम्पियनबीचको फिनालिसिमा खेल जित्ने अर्जेन्टिना टिमका पनि सदस्य थिए ।
व्यक्तिगत सम्मानको हकमा मेस्सीले आठ पटक बालोन डी’ओर पुरस्कार जितेर यो सम्मान सबैभन्दा बढी पटक जित्ने खेलाडीको रेकर्ड कायम गरेका छन्, साथै दुई पटक विश्वकप गोल्डेन बल पनि आफ्नो नाममा दर्ज गरेका छन् ।
बार्सिलोनाकै लागि उनले ७७८ म्याचमा ६७२ गोल गरी क्लबको इतिहासकै सर्वाधिक गोलदाताको स्थान पनि सुरक्षित गरेका छन्, भने फुटबल इतिहासकै सर्वाधिक सहायता दिने खेलाडी पनि उनै हुन् । कुल गरेर मेस्सीले करियरभर ४७ भन्दा बढी टिम ट्रफी र ५० भन्दा बढी व्यक्तिगत सम्मान जितिसकेका छन् ।
मेस्सीको गोलको तथ्यांक साँच्चै अकल्पनीय छ । सन् २०२६ जुलाई १५ सम्मको पछिल्लो अद्यावधिक तथ्याङ्कअनुसार, मेस्सीले क्लब र देश गरी जम्मा ९१९ गोल गरिसकेका छन्, जुन उनले १,१६३ आधिकारिक म्याचहरूमा हासिल गरेको हो । यसमध्ये ७९४ गोल क्लबहरूको तर्फबाट (बार्सिलोना, पीएसजी र इन्टर मायामी गरी) र १२५ गोल अर्जेन्टिना राष्ट्रिय टिमको तर्फबाट रहेका छन् ।
एक समय हर्मोनको अभावले उचाइ नबढ्ने डर बोकेको सानो बालक आज फुटबल इतिहासकै सबैभन्दा धेरै पदक र सम्मान जित्ने खेलाडीका रूपमा उभिएका छन् । बाल्यकालको त्यो संघर्ष र आज विश्वकप फाइनलसम्मको यात्राले प्रमाणित गर्छ कि सही अवसर र समर्थन पाए कुनै पनि कमजोरी वा सीमितताले भविष्य रोक्न सक्दैन ।





प्रतिक्रिया