मेस्सीलाई रोक्न सबै टिम असफल, स्पेनले के गर्ला ?

0
Shares


एजेन्सी । म्यानचेस्टर युनाइटेडका महान् प्रशिक्षक सर एलेक्स फर्गुसनका लागि सन् २००९ र २०११ का च्याम्पियन्स लिग फाइनलहरू सधैं एउटा गहिरो पश्चात्तापको विषय बनेर रहेका छन् ।

उनले ती खेलहरूमा लियोनल मेस्सीको जादुलाई रोक्न सकेनन् । फर्गुसनले पछि आफ्नो आत्मवृत्तान्तमा लेखेका थिए– मेस्सीलाई रोक्न यस्ता बलिया सेन्टर–ब्याकहरू चाहिन्छ जो पछाडि के भइरहेको छ भन्ने चिन्ता नगरी सिधै मेस्सीमाथि जाइलागून् । उनका अनुसार, मेस्सी किनारमा भन्दा बीचबाट खेल्दा बढी खतरनाक हुन्छन् ।

फर्गुसनले अर्कोपटक फाइनलमा मेस्सीलाई मच्चिन नदिने दृढ योजना त बनाएका थिए तर उनीहरूको भेट हुने त्यो अर्को अवसर कहिल्यै आएन ।

मेस्सीको प्रतिभालाई ध्वस्त पार्ने योजना बुन्ने फर्गुसन मात्र एक्ला प्रशिक्षक वा डिफेन्डर होइनन् । तर, जतिसुकै योजना बुने पनि मेस्सीको असीमित प्रतिभाले ती सबैलाई टुक्रा–टुक्रा पारिदिन्छ । महान् बक्सर माइक टाइसनले भनेझैं, ‘सबैको एउटा योजना हुन्छ, जबसम्म उनीहरूको मुखमा मुक्का बज्रँदैन ।’

मेस्सीको हकमा पनि विपक्षीहरू मेस्सी–फाइड नहुन्जेल मात्र योजनामा अडिग रहन्छन् । सैद्धान्तिक रूपमा उनलाई रोक्ने धेरै तरिकाहरू होलान् । तर, व्यवहारमा उनले विपक्षीलाई पराजित गर्ने यति धेरै उपायहरू निकाल्छन् कि डिफेन्डरहरू अक्क न बक्क हुन्छन् ।

बार्सिलोनाका पूर्व स्टार ह्रिस्टो स्टोइचकोभले ठट्टा गर्दै भनेका थिए, ‘पहिले मलाई रोक्न पेस्तोल चाहिन्छ भन्थे । तर, आज मेस्सीलाई रोक्न मशिनगन नै चाहिन्छ ।’

यो खेलप्रतिको स्वाभाविक स्फूर्ति र वर्षौंको अनुभवबीचको लडाइँ हो । स्पेनका वर्तमान प्रशिक्षक लुइस डे ला फुएन्टेसँग पनि मेस्सीको एउटा यस्तै अविस्मरणीय कथा छ । सन् २००४ मा मेस्सीको चर्चा भर्खर सुरु हुँदै गर्दा उनले मेस्सीलाई रोक्न ७० मिनेटसम्म कडा म्यान–मार्किङ लगाएका थिए तर मार्किङ गर्ने खेलाडीलाई मैदान बाहिर निकाल्नासाथ १५ मिनेटभित्रै मेस्सीले चार गोल ठोकेर सबै योजना खरानी पारिदिएका थिए ।

मेस्सी फुटबलको मञ्चमा छाएको २१ वर्ष भइसक्यो । अहिले उनलाई रोक्न खटिएका पाउ कुबार्सी जस्ता खेलाडीहरू त मेस्सीले खेल्न थाल्दा जन्मिएका पनि थिएनन् । तैपनि, मेस्सीलाई रोक्ने अचूक उपाय प्रायः सबै प्रशिक्षकहरूका लागि आज पनि दुर्लभ नै छ । मेस्सी लयमा छन् भने उनलाई रोक्नु पूर्वबाट सूर्य उदाउन रोक्नु जस्तै कठिन हुन्छ ।

फर्गुसनले सोचेको तर कार्यान्वयन गर्न नपाएको एउटा विधि अहिले धेरै टोलीले अपनाउने गरेका छन्— मेस्सीलाई दायाँ किनारमा खुम्च्याउने र बीचमा ठाउँ नदिने । विशेषगरी, करियरको यो मोडमा विपक्षीहरू उनलाई बीचबाट लामो र सटीक पासहरू फाल्न नदिन केन्द्रमा भीडभाड गर्छन् ।

इंग्ल्यान्ड र इजिप्ट विरुद्धका खेलमा विपक्षीले उनलाई डेडलिएस्ट क्षेत्रबाट बाहिर धकेल्ने प्रयास गरेका थिए । स्पेनले पनि उनलाई रोक्न आक्रामक रूपमा दबाब दिने र बलमा खेल्न कम समय दिने रणनीति लिने देखिन्छ ।

मेस्सीलाई दबाब दिनु आफैंमा एउटा जोखिमपूर्ण काम हो । उनी साँघुरो ठाउँमा पनि बललाई यति कुशलतापूर्वक चलाउन सक्छन् कि विपक्षी डिफेन्डरहरू झुक्किन्छन् । बल जोगाउन उनी निकै सिपालु छन् र एउटै मुभमा दुईतीन जनालाई छक्याएर साथीहरूका लागि ठाउँ बनाइदिन सक्छन् ।

तर, डिफेन्डरहरूले उनलाई बल पाउनेबित्तिकै पछाडिबाट निरन्तर गिजोल्ने हो भने उनी जोखिम नलिई नजिकैको साथीलाई पास दिन रुचाउँछन् । मेस्सीको हातमा बल जति कम समय रहन्छ, उनको व्यक्तिगत खतरा त्यति नै कम हुन्छ ।

स्पेनको डिफेन्स अहिले निकै छिटो छ जसले बल खोस्न र अगाडि बढाउन माहिर मानिन्छ । मार्क कुकुरेला र फ्याबियन रुइज जस्ता खेलाडीले मेस्सीलाई डिफेन्सको बीचमा छिर्न र अन्य खेलाडीलाई बल उपलब्ध गराउनबाट रोक्नुपर्नेछ । अर्जेन्टिनासँग यसपटक एन्जेल डि मारिया जस्ता विंगर नभएकाले मेस्सीलाई रोक्नु नै मुख्य चुनौती हो ।

कतिपय टोलीहरूले मेस्सीलाई दुईजना खेलाडीले घेरेर उनको बायाँ खुट्टाको प्रभाव कम गर्ने प्रयास गर्छन् । मेस्सी अझै पनि उनीहरूलाई नटमेग वा जादुमयी मुभमार्फत पराजित गर्न सक्छन् तर यस्तो दबाबले उनलाई पछाडि हट्न बाध्य पार्छ । मेस्सीलाई मात्र होइन, उनलाई बल पुर्याउने रोड्रिगो डी पल र एन्जो फर्नान्डेज जस्ता सहयोगीहरूलाई पनि रोक्नु उत्तिकै आवश्यक हुन्छ ।

जोसे मौरिन्होले सन् २०१० मा इन्टर मिलानमा मेस्सीलाई रोक्न एउटा विशेष पिँजडा जस्तै रणनीति बनाएका थिए जहाँ खेलाडीहरूले उनलाई खुल्ने मौका नै दिएका थिएनन् । तर डिफेन्डरहरूले उनलाई रोक्न योजना बनाए झैं मेस्सीले पनि विपक्षीको कमजोरीको अध्ययन गरिरहेका हुन्छन् ।

स्पेनको शैली मेस्सीका लागि नौलो होइन किनकि उनले बार्सिलोनामा हुँदा यस्तै शैलीको डटेर सामना गरेका थिए ।
मेस्सीलाई रोक्न प्रशिक्षकहरूले हरेक सम्भावित मार्गहरू प्रयोग गरिसकेका छन् र कतिपय केही समयका लागि सफल पनि भएका छन् । कसैले मेस्सीलाई रोक्न सक्छ भने त्यो स्पेन नै हो भन्ने फुटबल जगतको बुझाइ छ ।

तर, यो प्रतियोगिताभर मेस्सीलाई रोक्ने प्रयास पुतली समात्ने जालले धूवाँ समात्न खोज्नु जस्तै कठिन साबित भइरहेको छ । सर एलेक्स फर्गुसनले पनि यो कुरालाई पक्कै महसुस गर्नेछन् ।