विश्वकप फाइनलका लागि स्लोभेनियाली रेफ्री नियुक्त भएपछि अर्जेन्टिनाका समर्थकहरू किन निराश ?

0
Shares

एजेन्सी । सोमबार विहान १२:४५ मा सुरू हुने स्पेन र अर्जेन्टिनाबीचको विश्वकप फाइनलका लागि स्लोभेनियाली रेफ्री स्लाभ्को भिन्सिक नियुक्त भएपछि अर्जेन्टिनाका समर्थकहरू सशंकित भएका छन् ।

लियोनेल मेस्सी लगातार दोस्रो पटक विश्वकप उपाधि जित्ने अभियानमा छन् । प्रतियोगिताको दौरान अधिकारीहरूले अर्जेन्टिनालाई पक्षपात गरेको आरोप लागिरहेका बेला मेस्सी न्युयोर्कमा हुने यो मुख्य खेलमा आफ्नो टोलीको नेतृत्व गर्दैछन् ।

बुधबार फिफाले मेटलाइफ स्टेडियममा हुने फाइनल खेल सञ्चालन गर्न भिन्सिकलाई नियुक्त गरेको छ । भिन्सिकलाई उनकै देशका टोमाज क्लान्च्निक र एन्ड्राज कोभासिकले सहायक रेफ्रीको रूपमा साथ दिनेछन् भने जोर्डनका अधम मखादमे चौथो अधिकारीको रूपमा रहनेछन् ।

भिन्सिक निकै अनुभवी रेफ्री हुन् । उनले २०२४ को रियल म्याड्रिड र बोरुसिया डर्टमन्डबीचको च्याम्पियन्स लिग फाइनलका साथै युरो २०२४ मा स्पेन र फ्रान्सबीचको सेमिफाइनल खेल पनि खेलाइसकेका छन् ।

तर, सन् २०२० मा एक ‘सेक्स पार्टी’ बाट ‘गलत रूपमा’ पक्राउ परेको उनको विवादास्पद विगतले मात्र अर्जेन्टिनी मिडियामा चिन्ता बढाएको होइन । धेरैजसो चिन्ता अर्जेन्टिनाको राष्ट्रिय टोलीसँगको उनको पुरानो रेकर्डलाई लिएर देखिएको छ।

४६ वर्षीय भिन्सिकले २०२२ को कतार विश्वकपमा डेब्यु गरेका थिए र उनले नै अर्जेन्टिनाको साउदी अरेबियासँगको अप्रत्याशित हारको खेल खेलाएका थिए । उल्लेखनीय कुरा के छ भने, उनले खेलाएको अर्जेन्टिनाको त्यो अन्तिम खेल थियो। त्यसपछि मेस्सी र उनको टोलीले विश्वकपमा कुनै पनि खेल हारेको छैन र कतारमा फ्रान्सलाई पेनाल्टीमा हराउँदै उपाधि जितेको थियो ।

भिन्सिकले यस विश्वकपमा हालसम्म तीनवटा खेल खेलाएका छन्: ब्राजिल र मोरक्कोबीचको १-१ को बराबरी, अल्जेरियाको जोर्डनमाथिको २-१ को जित, र मेक्सिकोको इक्वेडरमाथिको जित । यी खेलहरूमा उनले सातवटा पहेँलो कार्ड र एउटा सिधै रातो कार्ड देखाएका छन् ।

फिफाले सार्वजनिक गरेको एक भिडियोमा भिन्सिक भावुक हुँदै भनेका छन्, ‘सुरुमा म स्तब्ध भएँ, त्यसपछि धेरै खुसी लाग्यो । म काँपिरहेको थिएँ, विश्वकप फाइनल खेलाउन पाउनु मेरो लागि ठूलो सम्मान हो । यो एक युवा रेफ्रीका लागि सपना जस्तै हो।’

विगतको विवाद

केही वर्षअघि भिन्सिकको करियर झण्डै समाप्त भएको थियो । ३० मे २०२० मा बोस्निया र हर्जगोभिनाको एक घरमा आयोजित पार्टीमा प्रहरीले छापा मार्दा उनी पक्राउ परेका थिए। प्रहरीले त्यहाँ लागूऔषध र वेश्यावृत्ति गिरोहको अनुसन्धान गरिरहेको थियो।

त्यसबेला २६ पुरुष र ९ महिला पक्राउ परेका थिए भने प्रहरीले हतियार, कोकिन, फोन, ल्यापटप र नगद बरामद गरेको थियो । भिन्सिकलाई सोधपुछ गरिए पनि उनीमाथि कुनै आरोप भने लागेन । उनले पछि स्पष्टीकरण दिँदै आफू त्यहाँ एउटा व्यापारिक भेटघाटका क्रममा दुर्घटनावश पुगेको र ती मानिसहरूलाई नचिनेको बताएका थिए ।

खराब हावापानीको चुनौती

अर्जेन्टिनाले फाइनलमा राम्रो नतिजाको मात्र अपेक्षा गरेको छैन, उनीहरू मौसम पनि सफा होस् भन्ने चाहन्छन् । क्यानडाको डढेलोका कारण न्युयोर्क र न्यु जर्सी क्षेत्रमा हावाको गुणस्तर निकै खराब भएको छ र स्वास्थ्य सतर्कता जारी गरिएको छ ।

न्युयोर्कका गगनचुम्बी भवनहरू धुवाँले ढाकिएका छन् र मानिसहरूलाई मास्क लगाउन आग्रह गरिएको छ । स्पेनको टोली बुधबार राति नै आइपुगेर प्रशिक्षण सुरु गरिसकेको छ भने अर्जेन्टिनाको टोली शुक्रबार न्यु जर्सी पुगेको हो ।

८०,००० भन्दा बढी दर्शक अपेक्षा गरिएको मेटलाइफ स्टेडियम एउटा खुला रङ्गशाला हो।