विश्वकपमा बाजी हार्दा नर्वेजियन एयर बन्यो ब्रिटिश एयरवेज !


जारी विश्वकपमा खेल मैदानमा नतिजाहरू उलटफेर भइरहँदा त्यसको बाहिरी प्रभाव पनि उत्तिकै चर्को देखिएको छ । फ्यानहरूबीच जीत र हारमा बाजी चल्नु त सामान्यै हो, तर यसपटक चर्चित कर्पोरेट कम्पनीहरू नै आपसमा बाजी लगाएर मैदान बाहिर पनि रमाइलो नाटक सिर्जना गरेका छन् । नर्वेजियन एयर र ब्रिटिश एयरवेज जस्ता ठूला एयरलाइन्सहरू नै सामाजिक सञ्जालमा एकआपसमा भिड्दा इन्टरनेट प्रयोगकर्ताहरू पनि हाँसो थाम्न नसकी यसमा जोडिए र अन्ततः यो पूरै प्रकरण नै भाइरल बन्यो ।

बाजी कसरी सुरु भयो ?

म्याचभन्दा केही दिनअघि नै नर्वेजियन एयरले सामाजिक सञ्जालमा ब्रिटिश एयरवेजलाई ट्याग गर्दै चुनौती दियो, ‘हे ब्रिटिश एयरवेज, बाजी लगाउने हो ? नर्वे जित्यो भने तिमीहरूले आइतबार इन्स्टाग्राममा हाम्रो लोगो राख्नुपर्छ र नर्वे हार्यो भने हामी तिम्रो लोगो राख्छौं ।’

जवाफमा ब्रिटिश एयरवेजले पहिले जिस्क्याउँदै ‘जित्न नसक्ने बाजी नलगाऊ’ भन्यो, त्यसपछि औपचारिक रूपमा बाजी स्वीकार गर्यो । दुवै एयरलाइन्सका कर्मचारीहरूले हात मिलाएर बाजी पक्का गरेको भिडियो समेत पोस्ट गरे, जुन इन्टरनेटमा तुरुन्तै फैलियो ।

नर्वेले यसअघि नै ब्राजिललाई २-१ ले हराएर १९९८ पछि पहिलोपटक क्वार्टर फाइनलमा पुगेको थियो, अर्लिङ हालान्डको गोलको भरमा । त्यसैले नर्वेली फ्यानहरूको उत्साह चरम सीमामा थियो। तर जुलाई १२ मा माइयामीमा भएको क्वार्टर फाइनलमा इङ्गल्यान्डले नर्वेलाई एक्स्ट्रा टाइममा जुड बेलिङ्घमको दुई गोलले हराइदियो ।

नर्वेजियनले वाचा निभायो

हारपछि नर्वेजियन एयरले आफ्नो वाचा पूरा गर्दै २४ घण्टाको लागि इन्स्टाग्राम प्रोफाइल तस्बिर ब्रिटिश एयरवेजको लोगोमा बदल्यो । पोस्टमा ‘It’s coming home’ र ‘Well played England’ लेखिएको थियो । साथै यस्तो सन्देश पनि थपिएको थियो- ‘टुर्नामेन्ट हाम्रा लागि सकिए पनि, यो मित्रवत बाजी सधैं हाम्रो मनमा रहनेछ । हामी इङ्गल्यान्ड र ब्रिटिश एयरवेजलाई सेमिफाइनलका लागि शुभकामना दिन्छौं र ट्रफी घर फर्काउने आशा गर्छौं !

ब्रिटिश एयरवेजको जवाफ

ब्रिटिश एयरवेजले उक्त पोस्टमा कमेन्ट गर्दै ‘यो नयाँ लुक तिमीलाई साँच्चै राम्रो देखिन्छ’ भन्यो र थप्यो, ‘राम्रो खेल्यौं, मजा दिएकोमा धन्यवाद, यहाँबाट हाम्रो नयाँ मित्रता सुरु होस् ।’

अरू एयरलाइन्स पनि जोडिए

कुरा यतिमै सीमित रहेन । मलेसिया एयरलाइन्स, कान्टास, भर्जिन अस्ट्रेलिया र केन्या एयरवेज लगायतका थुप्रै एयरलाइन्सहरूले पनि नर्वेजियनको पोस्टमा कमेन्ट गरे । मलेसिया एयरलाइन्सले त रमाइलो गर्दै भन्यो- सामान्यतया लोगो बदल्न एयरलाइन्सलाई ६ महिना र १४ वटा अनुमोदन चाहिन्छ, तर यी दुई एयरलाइन्सले यति छिटो कसरी गरे भनेर जिस्क्याए ।

पुरानो प्रतिस्पर्धाको सन्दर्भ

रमाइलो कुरा के छ भने, यी दुई एयरलाइन्सको वास्तवमा पुरानो व्यावसायिक प्रतिस्पर्धाको इतिहास पनि छ । नर्वेजियनले लन्डन ग्याटविकबाट उत्तर अमेरिकातर्फ सस्तो लामो दूरीको उडान सेवामा ब्रिटिश एयरवेजसँग सिधै प्रतिस्पर्धा गरेको थियो । तर यो आक्रामक विस्तार रणनीतिका कारण नर्वेजियनलाई आर्थिक समस्या भोग्नुपर्यो साथै ७८७ ड्रिमलाइनरका रोल्स-रोयस इन्जिनहरूमा पनि समस्या देखियो । अन्ततः नर्वेजियनले लामो दूरीका उडानहरू छोडेर स्क्यान्डिनेभियन बजारमा मात्र फोकस गर्नुपर्यो जुन कदम पछि कम्पनीको भविष्यका लागि सही साबित भयो ।

इङ्गल्यान्डले अब बुधबार अटलान्टामा अर्जेन्टिनासँग सेमिफाइनल खेल्नेछ ।