बालेन सरकार बनेपछि इन्धनको आपूर्तिमा सहजता प्रदान गर्न भएको २ दिने निर्णयले कर्मचारी तथा पर्यटन क्षेत्र उत्साहित छन् । स्वास्थ्य, शिक्षासहितका केही क्षेत्रमा व्यवस्थापन मिलाउन सके सार्क राष्ट्रभरी नै हुने २ दिने बिदालाई अन्तर्राष्ट्रिय जगतले जस्तै नेपालले पनि फलदायी बनाउन सक्छ ।

काठमाडौं । सरकारले पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको असहजता र बढ्दो आर्थिक भारलाई कम गर्ने भन्दै २०८२ चैत २३ गते निर्णय गरेर हप्तामा दुई दिन सार्वजनिक बिदा दिइरहेको छ ।
यस्तो सार्वजनिक बिदा सरकारी निकायसहित निजी विद्यालयहरूमा पनि लागू भएको छ । सरकारले सातामा ५ दिन (सोमबार–शुक्रबारसम्म) दैनिक ८ घण्टा कर्मचारीलाई काम लगाउने र बाँकी दुई दिन (शनिबार र आइतबार) बिदा दिइरहेको छ ।सरकारले दिएको यस्तो बिदाले सातामा ४० घण्टा काम गर्ने यसअघिको व्यवस्थालाई २ दिन बिदा दिएर पनि पूरा भने गरेको छ ।
सरकारले दिएको दुई दिने बिदाले आन्तरिक पर्यटकलाई मस्ती भएको छ भने अत्यावश्यक सेवा लिनुपर्ने सेवाग्राहीलाई भने सास्ती भएको छ ।
सरकारले दिएको बिदाका कारण आन्तरिक पर्यटन प्रवर्द्धन सहज भएको छ । आन्तरिक पर्यटन प्रवर्द्धन गर्न सरकारले २ दिन बिदा दिनु प्रभावकारी हुने भन्दै पर्यटन मन्त्रालयले यसअघि अध्ययन प्रतिवेदन नै तयार पारेको थियो । पर्यटन मन्त्रालयले २०७९ मै हप्तामा दुई दिन सार्वजनिक बिदा दिने सम्बन्धमा अध्ययन गर्न गठित समितिले दिएको प्रतिवेदन तयार पारेको थियो ।
उक्त प्रतिवेदनले सातामा २ दिन बिदा दिँदा १ अर्ब ६४ करोड ९१ लाख रुपैयाँ बचत हुने अनुमान २०७७/७८ को बजेटसँग तुलना गरेर तथ्यांक सार्वजनिक भएको थियो । अहिलेको तुलनामा यस्तो बचतको अंक हिसाब गरेर निकाल्ने हो भने अझै ठूलो हुने अनुमान गरिएको छ ।
त्यतिबेला कोरोना महामारीपछिको पर्यटन प्रवर्द्धन गर्न र सरकारी खर्च कम गर्न २ दिन बिदाको प्रस्ताव गरिएको थियो । पर्यटन प्रवर्द्धन गर्न सहयोग हुने यस्तो बिदा विश्वका अधिकांश देशमा हुने गरेको छ । सार्क सदस्य राष्ट्रमध्ये नेपालबाहेक सबैमा सातामा २ दिन नै बिदा रहेको छ ।
सरकारले गरेको अध्ययन प्रतिवेदन अनुसार २ दिन सार्वजनिक बिदाले कर्मचारी र कार्यालय तथा संस्थाहरूको उत्पादकत्व वृद्धि हुने, सरकारी खर्च कटौतीमा सहयोग पुग्ने, पर्यटकीय दृष्टिकोणले आन्तरिक पर्यटन प्रवर्द्धनमा सहयोग हुने, सामाजिक दृष्टिकोणले लैङ्गिक समानता कायम गर्न सकिने उल्लेख भएको छ ।
यसका साथै काम र व्यक्तिगत जीवनबीचको सन्तुलन कायम गर्न सहयोग हुने, पारिवारिक सामिप्यता कायम हुने र पर्यावरणीय दृष्टिकोणले समेत सकारात्मक प्रभाव पर्न जाने देखिएकाले २ दिन बिदा प्रभावकारी हुने सरकारी अध्ययन प्रतिवेदनमै छ ।
दुई दिन बिदा दिँदा सरकारले व्यवस्थापन मिलाउने र दीर्घकालीन समयको रणनीति बनाउने काम भने महत्त्वपूर्ण हो ।
सरकारले सातामा दुई दिन बिदा दिँदा कुनै अध्ययन नै नगरेको, यसअघि नै दुई पटक सरकारले निर्णय गरेर पनि कार्यान्वयन गर्न नसक्दा असफल भएर फिर्ता भएको विषयमाथि समीक्षा नै गरेको छैन ।
तर पनि आकस्मिक रूपमा सरकारले इन्धन अभावका कारण दैनिक जीवनयापन सहज बनाउन दिएको बिदाले अझै अत्यावश्यक सेवाका सरकारी निकायमा व्यवस्थापन मिलाउन नसक्दा असहजता सिर्जना भइरहेको छ ।
सरकारी अस्पतालमा सेवाग्राहीको भिडभाडलाई सरकारले नियन्त्रण गर्ने गरी सहज सेवा सुविधा अझै दिन सकेको छैन । यो क्षेत्रका सेवाग्राहीले २ दिने बिदाका कारण सास्ती पाइरहेका छन् ।
शिक्षा क्षेत्रलाई कोर्स व्यवस्थापनमा चुनौती
निजी तथा आवासीय विद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) का महासचिव आरबी कटुवालले पूर्वतयारी बिना शैक्षिक सत्र अनुसारको क्यालेन्डर बाहिरबाट आएको २ दिने बिदाले सुरुमा केही अन्योल देखिए पनि सहजै व्यवस्थापन मिलाउन सकिएको बताए । कटुवालले क्लिकमान्डुसँग भने, ‘बिदालाई व्यवस्थापनसँगै पाठ्यक्रम समयमै सक्नुपर्ने दबाब रहेको छ । त्यसका लागि शिक्षा मन्त्रालयबाटै पाठ्यक्रम स्वीकृत गरेर लागू गर्ने काम भएको छ ।’
उनले भने, ‘सुरु–सुरुमा त अलिकति समस्या जस्तो देखिएको थियो, तर अहिले खासै त्यस्तो छैन । पाठ्यक्रमको विषयमा भने हामी गम्भीर छौं । आइतबारको बिदाले गर्दा कोर्स नसकिने हो कि भन्ने चिन्ता छ, तर हामीले अतिरिक्त क्रियाकलापलाई कम गरेर फास्ट ट्रयाकबाट भए पनि शैक्षिक सत्रको भार व्यवस्थापन गर्ने योजना बनाएका छौं ।’
सेवा प्रवाहमा प्रविधिको प्रयोगले सेवा सहज बनाउँछौं – स्वास्थ्य मन्त्रालय
स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले भने अस्पतालसहितका अत्यावश्यक क्षेत्रमा २ दिने बिदाले खासै ठूलो असर नपर्ने दाबी गरे । उनले भने, ‘अस्पतालहरू सधैँ खुला रहने क्षेत्र हो । यहाँ हुने भीड व्यवस्थापनका लागि सरकारले सेवा प्रवाहमा प्रविधिको प्रयोग गरेर सहजता प्रदान गर्ने काम गरिरहेको छ ।’
अधिकारीका अनुसार, ‘अस्पतालहरू त दसैँको टीकाको दिन पनि खुलेका हुन्छन्, त्यसैले बिदाले आकस्मिक सेवा रोकिँदैन । सरकारी अस्पतालमा बिरामीको चाप भने सधैँ हुन्छ । यसलाई हामीले जनताको विश्वासका रूपमा लिएका छौं ।’ उनले थपे, ‘भीड कम गर्न हामीले कान्ति, ट्रमा र वीर अस्पतालसहितका ठूला अस्पतालमा अनलाइन टिकटिङ सुरु गरिसकेका छौं, यसलाई देशभर विस्तार गरेर सेवालाई थप व्यवस्थित बनाउँदैछौं ।’
दुई दिन बिदा व्यावहारिक धरातल बाहिर : नेपाल नर्सिङ संघ
नेपाल नर्सिङ संघका कार्यवाहक अध्यक्ष रमेश सुब्बाले भने स्वास्थ्य क्षेत्रको लागि २ दिने बिदाको निर्णय व्यावहारिक धरातलभन्दा बाहिर भएको प्रतिक्रिया दिएका छन् । उनका अनुसार अस्पतालमा आउने सेवाग्राहीको समस्या र स्वास्थ्यकर्मीको कार्यभारलाई मात्रै हेर्ने हो भने पनि यो प्रभावकारी भएको छैन ।
‘हामी नेपालीहरू विदेश जाँदा ऋण तिर्नुपर्ने बाध्यताले डबल ड्युटी गर्नेदेखि आर्थिक लाभ र क्षमता विकासको लागि ओभरटाइम काम गरिरहेका हुन्छौं । तर आफ्नै देशमा बिरामीहरू लाइनमा बस्दा हामी बिदाको कुरा गरेर बसिरहेका छौं ।’
सुब्बाले भने, ‘बिहान ८ बजे विद्यालय र ९ बजे कर्मचारी कार्यालय पुग्नुपर्ने नियम व्यावहारिक देखिँदैन । नर्स र बिरामीको अनुपात नमिल्दा र जनशक्ति कम हुँदा यस्ता निर्णयले सेवाको गुणस्तरमा धक्का पुर्याउन सक्छ । पहिले हाम्रा आधारभूत संरचना र जनशक्तिलाई बलियो बनाउनुपर्छ, त्यसपछि मात्रै प्रभावकारी बनाउन सकिन्छ ।’
सुब्बाका अनुसार नेपालमा सरकारी क्षेत्रमा काम गर्नेभन्दा पनि निजी क्षेत्रमा काम गर्नेको हिस्सा ठूलो हुँदा कामकाजी महिलालाई घरव्यवहार मिलाएर कार्यालय जान समस्या भइरहेको छ । बालबच्चाको स्कुल बिदा हुने तर आफ्नो कार्यालय भने जानुपर्ने बाध्यता धेरै कामकाजी महिलालाई भएको विषयलाई पनि गम्भीर रूपमा लिनुपर्ने तर्क सुब्बाको छ ।
आन्तरिक पर्यटन प्रवर्द्धन प्रभावकारी
२ दिने बिदाले नेपालमा आन्तरिक पर्यटन प्रवर्द्धन भने प्रभावकारी भइरहेको छ । पर्यटन व्यवसायी उत्साहित भएका छन् भने तीन दिन लगातार पर्ने बिदामा भने होटल रेस्टुरेन्टहरू थप खचाखच हुने गरेका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्वसीईओ दीपकराज जोशी यसअघि नै पटक–पटक माग गरिएको यस्तो दुई दिने बिदाले पर्यटन क्षेत्रलाई सकारात्मक ऊर्जा दिएको बताउँछन् । जोशीले क्लिकमान्डुसँग भने, ‘आन्तरिक पर्यटकीय गन्तव्यमा चहलपहल बढेको छ भने सामाजिक सञ्जालमा घुमघाम गरेको पोस्ट गर्न पनि २ दिने बिदा प्रभावकारी भइरहेको छ ।’
यसले पर्यटन क्षेत्रमा थपिँदै गएको होटलसहितको पर्यटकीय पूर्वाधारप्रति थप आशा र भरोसा बढेको छ भने घुमघामसहित हुने खर्चले अर्थतन्त्र चलायमान बनाउनेदेखि राज्यलाई योगदान समेत दिएको बुझाइ जोशीको छ ।






प्रतिक्रिया