
काठमाडौं । नेपाल राष्ट्र बैंकले १५ अर्ब रुपैयाँ बराबरको ‘नेपाल राष्ट्र बैंक ऋणपत्र २०८४ छ’ जारी गर्ने भएको छ । बैंकिङ प्रणालीमा भएको अधिक तरलता प्रशोचन गर्न केन्द्रिय बैंकले १ वर्ष अवधिका लागि ऋणपत्र जारी गर्न भएको हो ।
मौद्रिक व्यवस्थापन विभागमार्फत बैंकले आज २०८३ असार २९ गते बोलकबोल प्रक्रियाबाट उक्त ऋणपत्र निष्कासन गर्न लागेको हो । १ वर्ष अवधिको लागि जारी हुने ऋणपत्रको बोलकबोल आजै अपराह्न ३ बजेसम्म अनलाइन बिडिङ सिस्टम मार्फत हुने राष्ट्र बैंकले जनाएको छ ।
१५ अर्ब रुपैयाँको ऋणपत्र १ वर्षको हुनेछ । जसको साँवा भुक्तानी मिति २०८४ असार २९ गते रहेको छ । ऋणपत्रको ब्याजदर बोलकबोलको माध्यमबाट निर्धारण हुने र ब्याज भुक्तानी अर्धवार्षिक हरेक ६ महिनामा हुनेछ ।
यसमा नेपाल राष्ट्र बैंकबाट इजाजतप्राप्त वाणिज्य बैंक, विकास बैंक र फाइनान्स कम्पनीहरु (काउन्टरपार्टी) मात्र सहभागी हुन पाउनेछन् । ऋणपत्रमा न्यूनतम ५ करोड र अधिकतम ५ करोड रुपैयाँले भाग गर्दा निःशेष भाग जाने गरी कुल आह्वान रकमसम्म आवेदन दिन सकिनेछ ।
ऋणपत्रको बोलकबोल बहु–ब्याजदरमा गर्न सकिने भए पनि बाँडफाँट गर्दा एकल ब्याजदर कायम हुनेछ । बोलकबोलमा सबैभन्दा कम ब्याजदर प्रस्ताव गर्नेलाई प्राथमिकता दिइनेछ । यदि आह्वान गरिएको रकम भन्दा बढीको आवेदन परेमा समानुपातिक आधारमा बाँडफाँट गरिने राष्ट्र बैंकले स्पष्ट पारेको छ ।
ऋणपत्रलाई बैंक तथा वित्तीय संस्थाले अन्य बैंक तथा वित्तीय संस्थामा धितोको रूपमा प्रयोग गर्न सक्नेछन् । ऋणपत्रमा गरिएको लगानीलाई अनिवार्य नगद मौज्दातमा गणना गर्न पाइने छैन । तर, वैधानिक तरलता र खुद तरल सम्पत्ति अनुपातमा भने गणना गर्न पाइनेछ ।
ऋणपत्र खरिदका लागि आवेदन दिएका संस्थाहरूको खातामा पर्याप्त मौज्दात नभई बोलकबोल रद्द भएमा, त्यस्ता संस्थालाई २.५० प्रतिशत हर्जनासहित ६ महिनासम्म राष्ट्र बैंकका अन्य बोलकबोलमा सहभागी हुन नपाउने गरी प्रतिबन्ध लगाउने सुचनमा उल्लेख छ ।






प्रतिक्रिया