
काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो दुई वटा फेसवुक ह्याण्डलमध्ये एउटा ‘बालेन शाह’ मार्फत गत् जेठ ३१ गते एउटा स्टाट्स सार्वजनिक गरेका थिए । जुन स्टाट्समा क्षणभरमै १४०.६ के लाइक र ३७६ वटा प्रतिक्रिया आएको थियो ।
त्यो स्टाट्समार्फत उनले भनेका थिए,‘हप्ता भरी काम गरेर म बिदाको दिन जिस्किन्छु, यो समस्या हैन !, दुख त्यो दिन मान्नु , जुन दिन म जिस्किन छोड्छु !’
स्टाट्समा भनिएजस्तै हप्ताभरी काम गरेर थकित भएपछि सार्वजनिक बिदाको दिन उनी मज्जैले ‘चिलआउट’ हुन्छन । त्यहि चिलआउट भएको फुर्सदिलो समय निकालेर उनी स्वदेशी उत्पादन र पर्यटकीय क्षेत्रको प्रवद्र्धन समेत गर्दैआएका छन् ।
चिलआउट भएकै दिन उनी स्वदेशी उत्पादन र पर्यटकीय क्षेत्रको प्रवद्र्धनमा निक्कै अभ्यस्त हुन थालेका छन् । कहिले काँही उनी विदावाहेकको दिनमा पनि प्रवद्र्धनात्मक गतिविधि सामाजिक सञ्जालमार्फत गर्दैआएको पाइएको छ ।
उनले पछिल्लो समय (गत् बैशाख २६ देखि असार १७ गते) को ५४ दिनको अवधीमा समाजिक सञ्जालमार्फत तीन पटक स्वदेशी उत्पादन र दुई पर्यटकीय क्षेत्रको निःशुल्क रुपमा बजार प्रवद्र्धन गरिदिएका छन् ।
उनको सरकार घटन भएको सय दिन पुग्नै लाग्दा उनीबाट स्वदेशी उत्पादन र पर्यटकीय क्षेत्रप्रतिको लगाउ र प्रवद्र्धनलाई निक्कै उत्साहजनक र साकारात्मक रुपमा हेरिएको छ । स्वदेशी उत्पादनमध्ये एक वटा उत्पादन सरकारी स्वामित्वको उद्योगबाट उत्पादित उत्पादनको थियो भने दुई वटा स्वदेशी निजी क्षेत्रको उद्योगले उत्पादन गरेको उत्पादनको थियो ।
यो प्रवद्र्धनको लागि उनले सामाजिक सञ्जालमध्ये फेसबुकको दुई आफ्ना ह्याण्डल ‘बालेन शाह’ र ‘बालेन’ प्रयोग गरेका थिए । प्रधानमन्त्री शाहको यो नीतिका कारण बजार प्रवद्र्धनमा करोडौं खर्च हुने स्थानमा निःशुल्कमा त्यस्ता उत्पादन र पर्यटकीय क्षेत्रको प्रचार प्रसार भएको छ ।
प्रधानमन्त्री शाहले आफ्नो कार्यकालको १०० दिनको सन्दर्भमा स्वदेशी उत्पादनहरू जस्तै डीडीसीका दुग्धजन्य पदार्थ, गोल्डस्टार जुत्ता र नेपालको पर्यटन क्षेत्रको प्रवर्धन गरेका थिए । कम्पनीले करोडौँ रुपैयाँ खर्च गरेर गर्ने विज्ञापनभन्दा प्रधानमन्त्री शाहको एउटै सामाजिक सञ्जालको पोस्टले स्वदेशी ब्रान्डको प्रचार र बिक्रीमा ठुलो सकारात्मक प्रभाव पारेको विश्लेषकहरुको विश्लेषण छ ।
प्रधानमन्त्री शाहले आफ्नो ‘चिलआउट’ (फुर्सदको समय) लाई जसरी उपयोग गरे, त्यसले नेपाली बजारमा मात्र होइन, उपभोक्ताको मनोविज्ञानमा समेत एउटा ठूलो हलचल पैदा गरिदिएका छन् । एउटै फेसबुक स्टाटसले करोडौँको विज्ञापनलाई माथ दिन सक्छ र थलिएका स्वदेशी उद्योगलाई ‘सोल्ड आउट’ को अवस्थामा पु¥याउन सक्छ भन्ने कुरा उनको पछिल्लो गतिविधिले प्रमाणित गरेको छ ।
शाहको यो अभियान सफल हुन्छ वा असफल भन्ने अन्तिम निष्कर्ष समयले दिनेछ । तर एउटा तथ्य भने अहिले नै स्थापित भइसकेको छ, उनका केही स्टाट्सले नेपालमा डिजिटल प्रभाव, उपभोक्ता मनोविज्ञान, स्वदेशी ब्रान्डिङ र पर्यटन प्रवद्र्धन सम्बन्धी बहसलाई नयाँ मोड दिएको छ । ब्राण्डिङको लागि करोडौं रुपैयाँ खर्चिने विज्ञापन बजारका बीच एउटा मोबाइल फोन, केही तस्वीर र छोटो क्याप्सनले बजारको माग बदल्न सक्छ भन्ने उदाहरणका रूपमा यो अभियान अब अध्ययनको विषयसमेत बनेको छ ।
यि त भए प्रधानमन्त्री शाहको प्रवद्र्धनात्मक प्रचार प्रसार । उनको यो नीतिका कारण अर्कोतर्फ सरकारी स्वामित्वको उद्योग र निजी क्षेत्रको उद्योगले पनि उल्लेख्य परिमाणमा लाभ गर्न पाएका छन् ।
उनले प्रवद्र्धन गरेको ति उत्पादनहरु अहिले उद्योगमा स्टक नभएर सम्पूर्ण रुपमा ‘सोल्ड आउट’ भइसकेको छ । ति उत्पादन बजारबाट सम्पूर्ण परिमाणमा सोल्ड आउट भइसकेर अहिले उद्योगहरुमा थेग्न नसक्ने गरी माग ह्वात्तै बढेर गएको छ । जसलाई सम्बोधन गर्न उद्योगहरुलाई हम्मे हम्मे परेको उद्योगीहरु बताउँछन् ।
‘गोल्डस्टार’ ब्राण्डमा जुत्ता उत्पादन गर्दैआएको किरण सुज म्यानुफ्याचर्सकी कार्यकारी निर्देशक विदुषी राणाले प्रधानमन्त्री शाहको दुई पटकको प्रवद्धनात्मक नीतिका कारण स्वदेशी निजी लगानी उद्योगको बजार नै ग्रुम भएको जानकारी दिइन ।
‘गोलस्टार ब्राण्डको सेतो जुत्ता लगाएर प्रधानमन्त्रीज्युले केवल एउटा ब्रान्डलाई होइन, नेपालमै उत्पादन गर्ने सम्पूर्ण उद्योग, उद्यमी र हजारौं श्रमिकको मेहनतलाई सम्मान गर्नुभएको छ,’ रास्वपाका समानुपातिक साँसदसमेत रहेकी उनले क्लिकमाण्डुसँग भनिन, ‘यो स्वदेशी उत्पादन, रोजगारी र आत्मनिर्भर नेपालको पक्षमा दिइएको शक्तिशाली सन्देश थियो । उहाँको प्रवद्र्धनात्मम प्रचार प्रसारका कारण उक्त सेतो जुत्ताको सम्पूर्ण स्टक नै सकिएको छ ।’
प्रधानमन्त्री शाहले स्वदेशी दुग्ध उत्पादनको प्रवद्र्धन गरेसँगै बजारमा दुग्धजन्य पदार्थको मागमा निकै वृद्धि भएको संस्थानले जनाएको छ । संस्थानका महाप्रवन्धक डा.शरणकुमार पाण्डेकाअनुसार पछिल्लो समय बजारमा उत्पादनको माग यति बढेको छ कि संस्थानले माग अनुसारको आपूर्ति गर्न समेत कठिनाई भएको छ ।
‘प्रधानमन्त्रीज्युको प्रवद्र्धनात्मक प्रचार प्रसारका कारण पछिल्लो समय संस्थानको बजार ५० देखि १०० प्रतिशतसम्मले वृद्धि भएको छ । वर्षदिनभन्दा बढी समयदेखि थन्केर बसेको उत्पादनहरु पूर्ण रुपमा सकिएको छ, विशेष गरी दहीको बिक्रीमा भारी वृद्धि देखिएको छ । यसअघि देशभर दैनिक ४० हजार लिटर दही बिक्री हुने गरेकोमा हाल त्यो बढेर ८० हजार लिटर पुगेको छ । त्यस्तै, मोही र फ्लेवर्ड मिल्कको माग पनि उच्च रहेको छ ।
संस्थानका अनुसार विगतमा थन्किएर बसेको चिजको मौज्दात पनि छिट्टै सकिने अवस्थामा पुगेको छ । एक वर्षलाई पुग्ने अनुमान गरिएको ५० टन याक चिज बढेको मागका कारण आगामी ६ महिनाभित्रै (मंसिर–पुससम्ममा) सकिने देखिएको छ । हाल संस्थानसँग बटर र धुलो दूध बाहेक अन्य सामग्रीहरूको मौज्दात नरहेको र आएको दूध सिधै बजारमा खपत भइरहेको छ । आफ्नै प्रयोगको लागि बटर र धुलो राखिएको संस्थानले जनाएको छ ।
बजारमा माग उच्च भए पनि पुराना मेसिन र सीमित क्षमताका कारण उत्पादन बढाउन संस्थानलाई चुनौती थपिएको छ । समस्यालाई समाधान गर्न संस्थानले आगामी आर्थिक वर्षभित्र पूर्ण स्वचालित (अटोमेटेड) प्लान्ट जडान गर्ने योजना बनाएको छ । क्षमता विस्तार र नयाँ प्रविधि जडानका लागि करिब एक अर्ब रुपैयाँ आवश्यक पर्ने र त्यसका लागि विभिन्न निकायहरूसँग ऋण तथा पुँजी जुटाउन छलफल भइरहेको पाण्डेले जानकारी दिए । सम्भवतः आगामी साउन महिनादेखि यो प्रक्रिया अघि बढ्नेछ ।
बजार विस्तारसँगै संस्थानले किसानहरूलाई दिनुपर्ने बक्यौता रकममा पनि उल्लेख्य सुधार गरेको छ । यसअघि ७ देखि ८ महिनासम्म बाँकी रहेको भुक्तानी अवधि अहिले साढे ३ महिनामा झारिएको छ । चिज उत्पादन हुने क्षेत्रका किसानहरूले त एक महिनाभित्रै भुक्तानी पाउन थालेका छन् ।
नेपाल पर्यटन बोर्डका पूर्वसदस्य तथा नेपाल पर्वतारोहण संघका महासचिव राजेन्द्रबहादुर लामाका अनुसार प्रधानमन्त्री शाहको एउटा सामाजिक सञ्जालको पोस्टले मात्रै पर्यटकीय चाप नबढ्ने बताए ।
उनले भने ‘अपि सैपालमा हिमालको प्रवद्र्धनका लागि सरकारले यस अघि नै आरोहण शुल्क छुट दुई वर्षलाई दिएको छ भने स्थानीय सरकारमार्फत गरिएको प्रचारबाट देखिएको चाप मात्रै हो ।’
पर्यटन क्षेत्रको प्रवद्र्धन प्रधानमन्त्री शाहले बोलेरभन्दा पनि नीतिगत काम गरेर दीर्घकालीन रुपमा बाटो बनाएर गर्नु उपयुक्त हुने बुझाइ उनको छ ।
लामाले भने, ‘प्रधानमन्त्री शाहले नेपाल वायुसेवा निगमलाई जहाज थप गर्ने योजना ल्याउनुपर्यो, जहाज बढेको घोषणा गर्नुभयो भने नेपाल आउने विदेशी बढेर मकालु, अपि सैपालदेखि अन्य गन्तव्यमा पनि चाप बढ्ला नत्र सामाजिक सञ्जालमा बोल्दैमा २ लाख लाइक र कमेन्ट आउला त्यो भन्दा बाहेकको प्रगति केही पनि हुँदैन् ।’
प्रधानमन्त्री शाहको प्रवद्र्धनात्मक स्टाट्स र प्रचार प्रसार टाइमलाइन
प्रधानमन्त्री शाहले पछिल्लो समयमा गत् असार १० गते बुधबार( जुन २४) मा फेसबुकको आफ्नो ह्याण्डल ‘बालेन’ मार्फत आफ्नो छोरी र श्रीमतिको फ्यामिली फोटोसहित स्टाट्स सार्वजनिक गर्दै क्याप्सनमा ‘भिजिट चितवन, न्यानो ठाँउ’ भनेर पर्यटकीय नगरी चितवनको प्रवद्र्धन गरेका थिए ।
यो स्टाट्समा ४९१ के लाइक, २७ के प्रतिक्रिया र १.६ के शेयर भएको थियो । यहि स्टाट्स उनले आफ्नो फेसबुक ह्याण्डल ‘बालेन शाह’ बाट पनि सोहि दिन सार्वजनिक गरेका थिए । त्यसमा २०.१ के लाइक र ७६७ वटा प्रतिक्रिया आएको थियो । यो स्टाट्समा मिश्रित प्रतिक्रिया उनले प्राप्त गरेका थिए ।
त्यसलगत्तै उनले असार ६ गते शनिबार(जुन २०) मा स्वदेशी पर्यटकीय क्षेत्रको प्रवद्र्धन गर्दै स्टाट्स सार्वजनिक गरेका थिए । ‘बालेन’ भन्ने ह्याण्डमार्फत भिडियो स्टाट्स सार्वजनिक गर्दै उनले मकालु बेस क्याम्प ट्रेक जाने रुट र त्यहाँ पुग्न लाग्ने समयसहितको तालिका सार्वजनिक गरेका थिए । यो स्टाट्समा ५८५.६ के लाइक र ३४.९ के प्रतिक्रिया र १० के शेयर भएको थियो ।
उनले सोहि दिन यो स्टाट्स ‘बालेन शाह’ ह्याण्डलमार्फत पनि सार्वजनिक गरेका थिए । जसमा १४.२ के लाइक र ५६८ वटा प्रतिक्रिया प्राप्त गरेका थिए । अधिकाँश प्रतिक्रिया प्रधानमन्त्री शाहको उक्त प्रवद्र्धनात्मक कामको खुलेरै प्रशंसा गरेका थिए ।
यसको केहि दिन पहिले अर्थात जेठ ३० शनिबार(जुन १३) मा उनले दार्चुलास्थित अपि हिमालको तल्लो फाँटमा खेलाडीहरुले क्रिकेट खेल्दै गरेका भिडियो सामाग्री ‘बालेन शाह’ ह्याण्डलमार्फत सार्वजनिक गरेका थिए । जसमा २१.९ के लाइक, ६१३ प्रतिक्रिया र ७३ पटक शेयर भएको थियो ।
यहि सामाग्री उनले ‘बालेन’ ह्याण्डलमार्फत पनि सोहि दिन सार्वजनिक गरेका थिए । जसमा ८११.३ के लाइक, ५७.८ के प्रतिक्रिया र १४ के पटक शेयर भएको थियो । । अधिकाँश प्रतिक्रिया दिनेहरुले उक्त स्थानमा अन्तर्राष्ट्रिय स्तरको क्रिकेट मैदान बनाउन उनलाई सुझाएका थिए ।
यसको १५ दिन पहिले अर्थात जेठ १५ गते शुक्रबार (मे २९) मा संघीय संसदमा बजेट भाषणमा सहभागी हुँदा किरण सुज म्यानुफ्याचर्सद्वारा ‘गोल्डस्टार’ ब्राण्डमा उत्पादित ‘आर्क एक्स वान सी’ मोडेलको सेतो ‘स्निकर्स’ जुत्ता लगाएको दोश्रो पटक उनको तस्वीर सार्वजनिक भएका थियो ।
संसद भवनबाट बाहिरिने क्रममा उनले आफूले लगाएको उक्त जुत्ता उत्पादनकर्ता किरण सुज म्यानुफ्याचर्सका कार्यकारी निर्देशक तथा रास्वपाकी समानुपातिक सांसद बिदुषी राणालाई देखाउँदै गरेको तस्वीर सार्वजनिक भएको थियो । राणालाई आफ्नो सेतो जुत्ता देखाउँदै नेपालमै उत्पादित वस्तुलाई प्रोत्साहन गरेको उनले सन्देश दिएका थिए ।
किरण सुज म्यानुफ्याचर्सका ब्राण्ड प्रमुख इरज श्रेष्ठका अनुसार प्रधानमन्त्री शाहले गोल्ड स्टार ब्राण्डको उक्त सेतो जुत्ताको प्रवद्र्धन गरेपछि अहिले बजार र उद्योगबाट उक्त मोडेलका सम्पूर्ण जुत्ताको स्टक सकिएको छ ।
प्रधानमन्त्री शाहले स्वदेशी ब्रान्ड गोल्डस्टारको प्रवर्धन गरेपछि ‘आर्क एक्स वान सी’ जुत्ताको चर्चा चुलिएको थियो । श्रेष्ठले चर्चा चुलिएपछि ३६ हजार कार्टुनमा रहेको ३६ हजार जोडी ‘आर्क एक्स वान सी’ सम्पूर्ण रुपमा सोल्ड आउट भएको जानकारी दिए ।
‘प्रवद्र्धनात्मक प्रचार प्रसारका कारण उक्त मोडेलको सम्पूर्ण स्टक बिक्री भइसकेको छ, उद्योगमा अब एक जोडा पनि बाँकी छैन,’ श्रेष्ठले क्लिकमान्डुसँग भने,‘झन्डै ९ महिना पुरानो मोडल रहेको यो जुत्ता ‘स्निकर्स’ श्रेणीको हो ।’ बजारमा यो जुत्ताको अधिकतम बिक्री मूल्य १ हजार ४०० रुपैयाँ तोकिएको थियो । यो मूल्यको आधारमा ५ करोड ४ लाख रुपैयाँबराबरको ३६ हजार जोडी उक्त जुत्ता बिक्री भएको थियो ।
शाहले स्वदेशी उत्पादनको प्रवर्धन गर्ने क्रममा प्रयोग गरेको गोल्डस्टार जुत्ताको ‘आर्क एक्स वान सी’ मोडलको बजारमा उच्च माग देखिए पनि कम्पनीले तत्काल यसलाई पुनः उत्पादन नगर्ने भएको छ ।
कम्पनीले पुराना मोडेलभन्दा नयाँ डिजाइन र सेगमेन्टका जुत्ताहरू बजारमा ल्याउने तयारी गरिरहेका उनले जानकारी दिए ।
कम्पनीका अनुसार जुत्ताका लागि आवश्यक कच्चा पदार्थ र धागो विदेशबाट आयात गर्नुपर्ने र त्यसका लागि कम्तीमा २ देखि ३ महिना समय लाग्नेछ ।
श्रेष्ठले भने, ‘हाम्रो उत्पादन पाइपलाइनमा चल्ने र सिजनल हुने भएकाले ३ महिनापछि अहिलेको जस्तो माग रहन्छ कि रहँदैन भन्ने निश्चित हुँदैन । त्यसैले जोखिम नलिनका लागि हामीले तत्काल नयाँ अर्डर नगर्ने निर्णय गरेका हौँ ।’
प्रधानमन्त्री शाहले स्वदेशी वस्तुको प्रवद्र्धन आफ्नो फेसवुक स्टाट्समार्फत मात्रै नभएर मन्त्रिपरिषद् बैठकमार्फत पनि गर्दैआएका छन् । यस्तै परिदृश्य देखिएको थियो, जेठ २६ गते मंगलबार(जुन ९) मा बसेको मन्त्रिपरिषद्को बैठकको क्रममा । बैठकको क्रममा प्रधानमन्त्री शाहसहित सबै मन्त्रीहरुको अगाडि सरकारी स्वामित्वको डीडीसीबाट उत्पादित विभिन्न दुग्धजन्य पदार्थ र मिठाईको गिफ्ट प्याकेट राखेर बजार प्रवद्र्धन गरिएको थियो । यो गिफ्ट प्याकेटमा डीडीसीद्वारा उत्पादित शुद्ध घिउ, दही, पनिर, चिज, मिठाईलगायतका सामग्रीहरू समावेश गरिएको थियो ।
यसअघि जेठ २ गते शनिबार(मे १६) मा ‘बालेन’ ह्याण्डलमार्फत उनले सरकारी स्वामित्वको दुग्ध विकास संस्थान(डीडीसी) बाट उत्पादित याक चीज खाँदै गरेको तस्वीरसहित क्याप्सनमा ‘से चीज, डीडीसी चीज’ भनेर स्टाट्स सार्वजनिक गरेका थिए ।
यो स्टाट्समा ५३५.९ के लाइक, ५०.२ के प्रतिक्रिया र ४.१ के पटक शेयर भएको थियो । सोहि दिन उनले आफ्नो अर्को ह्याण्डल ‘बालेन शाह’ मार्फत उक्त स्टाट्स सार्वजनिक गरेका थिए । जसमा २०.२ के लाइक र ७२८ वटा प्रतिक्रिया आएको थियो । अधिकाँश प्रतिक्रिया सरकारी उद्योगबाट उत्पादन भएको स्वदेशी उत्पादनको प्रवद्र्धनको लागि उनलाई धन्यवाद दिएको बिषयमा केन्द्रित थियो ।
उनको प्रवद्र्धनात्मक स्टाट्स बैशाख २६ गते शनिबार(मे ९) देखि सुरु भएको थियो । यो दिन उनले पहिलो पटक कुल र चिलआउट भएर इनफर्मल डे«समा देखा परेका थिए । सेतो शर्ट, खैरो रंगको चेक भएको प्यान्ट र गोल्डस्टार ब्राण्डको आर्क एक्सआईसी मोडेलको स्नीकर सेतो जुत्ता लगाएर कुर्सीमा बसेको उनको बिन्दास तस्वीर ‘बालेन’ ह्याण्डलमार्फत सार्वजनिक भएको थियो । यो स्टाट्समा ९७७.३ के लाइक, १०७.५ के प्रतिक्रिया र ३.८ के पटक शेयर भएको थियो ।
यो स्टाटस उनको अर्को ह्याण्डल ‘बालेन शाह’ मार्फत भने सार्वजनिक भएको थिएन् । प्रतिक्रिया दिनेमध्ये केहिले उनलाई उनको अगाडि बलिउडका नायकसमेत फिका भएको र कसैले स्ट्रक्चरल इन्जिनियर, र्याप, मेयर, मोडेलको संयुक्त रुप प्रधानमन्त्री भएको टिप्पणी गरेका थिए । कतिपयले भने स्वदेशी उत्पादनको प्रवद्र्धनमा उनको भूमिका उल्लेखनीय भएको उल्लेख गरेका थिए ।






प्रतिक्रिया