
काठमाडौं । नेपाली कांग्रेसको संस्थापन इतर पक्षले १५ औँ महाधिवेशनको तयारीका लागि काठमाडौंको महाराजगञ्जस्थित चुनदेवीमा सम्पर्क कार्यालय स्थापना गरेको छ ।
१४ औं महाधिवेशनबाट निर्वाचित कार्यसमितिका सदस्यहरूको सक्रियतामा सोमबार कार्यालयको उद्घाटनसँगै औपचारिक बैठक समेत प्रारम्भ भएको हो ।
कार्यालयको उद्घाटन र बैठकको प्रारम्भिक सत्रमा पार्टीका निःवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्काले विशेष महाधिवेशन र नियमित महाधिवेशनका सन्दर्भमा देखिएका विवाद तथा पार्टीको हालसम्मका गतिविधिबारे स्पष्ट पारेका थिए ।
उनले पार्टीलाई विभाजनबाट जोगाउन शीर्ष नेताहरू र केन्द्रीय सदस्यहरूले निरन्तर प्रयास गरे पनि पछिल्लो पाँच महिनामा एकताको ठोस परिणाम देखा नपरेकोमा चिन्ता व्यक्त गरेको नेता मीनबहादुर विश्वकर्माले जानकारी दिए ।
बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै नेता विश्वकर्माले मुलुकको वर्तमान राजनीतिक परिस्थितिको सामना गर्न र लोकतन्त्रको सुदृढीकरणका लागि कांग्रेसभित्र मजबुत एकता आवश्यक रहेको बताए ।

उनले निर्वाचन आयोग र अदालतबाट मान्यता प्राप्त नेतृत्वले पार्टी एकताका लागि सार्थक पहल गर्न नसकेको आरोप समेत लगाए ।
बैठकले आगामी साउन ६ गते विपी कोइरालाको स्मृति दिवसलाई ऐतिहासिक रूपमा मनाउने निर्णय गरेको छ ।
मंगलवार पुनः बैठक बसेर कार्यक्रमको विस्तृत कार्यतालिका र स्थान तय गर्ने बताए । बैठकले १५ औँ महाधिवेशनको कार्यतालिका र सम्पर्क कार्यालयमार्फत गरिने आगामी गतिविधिहरूबारे पनि निष्कर्ष निकाल्ने नेता विश्वकर्माले जानकारी दिए ।
पार्टीभित्रको आन्तरिक विवादबारे चर्चा गर्दै नेता विश्वकर्माले वर्तमान नेतृत्वका कारण पार्टी एकतामा बाधा पुगेको दाबी गरे ।
विशेष महाधिवेशनको जिद्दीका कारण पार्टीले अघिल्लो निर्वाचनमा अपेक्षित परिणाम ल्याउन नसकेको र ८९ सिटबाट ३८ सिटमा खुम्चिनुपरेको उनको तर्क छ ।






प्रतिक्रिया