
काठमाडौं । काठमाडौंको कुलेश्वरमा आइतबार दिउँसो प्रहरीले गोली चलाएर लागुऔषध कारोबारीलाई नियन्त्रणमा लिएको छ । लागुऔषध नियन्त्रण ब्युरोको टोलीले चलाएको दुई राउन्ड गोली लागेर एक जना भारतीय नागरिक घाइते भएका छन्।
लागुऔषधको ठूलो कारोबार भइरहेको सूचनाका आधारमा ब्युरोबाट इन्स्पेक्टर राकेश यादवको नेतृत्वमा खटिएको टोलीले कुलेश्वरको पुल नजिकै पुग्दा कारोबारीलाई नियन्त्रणमा लिन गोली चलाएको हो। ब्युरोका अनुसार, प्रहरीले दुई राउन्ड गोली चलाएको थियो । गोली लागेर घाइते भएका भारतीय नागरिकको देब्रे खुट्टामा चोट लागेको छ र उनको उपचार भइरहेको छ ।
प्रहरीले घटनास्थलबाट दुई जना नेपाली र एक जना भारतीय गरी जम्मा तीन जनालाई पक्राउ गरेको छ। उनीहरूको साथबाट ठूलो परिमाणमा औषधीजन्य लागुऔषध बरामद भएको छ । प्रारम्भिक विवरण अनुसार, उनीहरूको साथबाट २४ हजार ७०० एम्पुल ‘टेपान्डोल’ नामक लागुऔषध बरामद भएको प्रहरीले जनाएको छ ।
ब्युरोले घटनाको बारेमा थप अनुसन्धान भइरहेको र विस्तृत विवरण आउन बाँकी रहेको बताएको छ।





प्रतिक्रिया