
काठमाडौं । विश्व फुटबलको सबैभन्दा ठूलो मञ्चमा स्पेन र अर्जेन्टिना उपाधिका लागि आमनेसामने हुँदै गर्दा दुवै टोली नयाँ इतिहास रच्ने अवसरको संघारमा छन् । प्रतियोगिताभर दुवै टोलीले उत्कृष्ट प्रदर्शन गरेका छन् भने व्यक्तिगत र सामूहिक रूपमा थुप्रै कीर्तिमान पनि बनाएका छन् ।
स्पेनका मिडफिल्डर रोड्रीले यस विश्वकपमा ६४८ सफल पास पूरा गर्दै विश्वकप इतिहासकै एक संस्करणमा सबैभन्दा धेरै पास पूरा गर्ने खेलाडी बनेका छन् । उनले कतार २०२२ मा आफैंले बनाएको ६३८ पासको कीर्तिमान तोडेका हुन् । यसअघि स्पेनकै जाभीले सन् २०१० मा ५९९ सफल पास पूरा गरेका थिए । यस संस्करणमा रोड्रीपछि स्पेनकै पाउ कुबार्सी ५४७ र आयमेरिक लापोर्ट ५३३ सफल पासका सूचीमा छन् ।
स्पेन लगातार ३७ अन्तर्राष्ट्रिय खेलमा अपराजित छ । मार्च २०२४ मा कोलम्बियासँग १–० ले पराजित भएपछि स्पेनले २७ खेल जितेको छ भने १० खेल बराबरी खेलेको छ । यो पुरुष अन्तर्राष्ट्रिय फुटबलमा संयुक्त रूपमा सबैभन्दा लामो अपराजित यात्रा हो, जसको बराबरी यसअघि इटाली (२०१८–२०२१) र अर्जेन्टिना (२०१९–२०२२) ले गरेका थिए ।
स्पेनका युवा विंगर लामिन यामालले यस विश्वकपमा ३० सफल ड्रिबल पूरा गर्दै सबैभन्दा धेरै डिफेन्डर छल्ने खेलाडी बनेका छन् । फ्रान्सका किलियन एम्बाप्पे (२४), ब्राजिलका भिनिसियस जुनियर (२३), अर्जेन्टिनाका लियोनेल मेस्सी (२२) र बेल्जियमका जेरेमी डोकु (२१) त्यसपछि छन् । विश्वकपको एउटै संस्करणमा सबैभन्दा धेरै सफल टेक–अन गर्ने कीर्तिमान भने डिएगो म्याराडोनाको नाममा छ, जसले सन् १९८६ मा ५३ पटक विपक्षीलाई छलाएका थिए ।
अर्जेन्टिनाले यस विश्वकपमा सात खेलमा १९ गोल गर्दै प्रति खेल औसत २.७१ गोल गरेको छ । सन् १९७० पछि एउटै विश्वकपमा कुनै टोलीले गरेको यो सर्वाधिक गोल हो । इतिहासमा ब्राजिल (१९५०), फ्रान्स (१९५८), पश्चिम जर्मनी (१९५४) र हंगेरी (१९५४) ले मात्र यसभन्दा बढी गोल गरेका छन् ।
स्पेनले प्रतियोगितामा १३ गोल गरेको छ, जुन उसको विश्वकप इतिहासकै सर्वाधिक हो । यसअघि सन् १९८६ मा ११ गोल गरेको स्पेनले सन् २०१० मा विश्वकप जित्दा आठ गोल मात्र गरेको थियो ।
अर्जेन्टिनाले लगातार १३ विश्वकप खेलमा कम्तीमा दुई गोल गर्ने नयाँ कीर्तिमान बनाएको छ । कतार २०२२ को उद्घाटन खेलमा साउदी अरेबियासँग २–१ ले पराजित भएपछि अर्जेन्टिनाले प्रत्येक खेलमा कम्तीमा दुई गोल गर्दै आएको छ । साथै टोलीले लगातार १६ विश्वकप खेलमा गोल गरेको छ, जुन इतिहासका केही महान टोलीहरूको शृंखलाभन्दा मात्र पछि छ ।
अर्जेन्टिनाले प्रतियोगिताका सबै सात खेल जित्दै सन् २००२ को ब्राजिलको कीर्तिमान बराबरी गरेको छ । यदि फाइनल पनि जितेमा अर्जेन्टिना विश्वकप इतिहासमा शतप्रतिशत जितसहित उपाधि जित्ने पाँचौं टोली बन्नेछ ।
स्पेनका गोलरक्षक उनाई सिमोनले सात खेलमा छ क्लिन–सिट राख्दै नयाँ विश्वकप कीर्तिमान बनाएका छन् । यसअघि सात गोलरक्षकले एउटै संस्करणमा पाँच क्लिन–सिट राखेका थिए। सिमोनले लगातार ६५० मिनेटसम्म गोल नखाई अर्को कीर्तिमान पनि बनाए, जसले इटालीका वाल्टर जेन्गाको ५१७ मिनेटको पुरानो कीर्तिमान तोड्यो। यस संस्करणमा उनको सेभ प्रतिशत ९३ रहेको छ, जुन सबै गोलरक्षकमध्ये उत्कृष्ट हो ।
स्पेनले प्रतियोगिताभर केवल एक गोल मात्र बेहोरेको छ। यदि टोलीले उपाधि जित्यो भने विश्वकप विजेता टोलीले सबैभन्दा कम गोल खाएको नयाँ कीर्तिमान बन्नेछ। यसअघि फ्रान्स (१९९८), इटाली (२००६) र स्पेन (२०१०) ले उपाधि यात्रा क्रममा दुई–दुई गोल मात्र बेहोरेका थिए । यता अर्जेन्टिनाले भने सात गोल खाएको छ ।
अर्जेन्टिनाले पेनाल्टी क्षेत्रबाहिरबाट पाँच गोल गर्दै अर्को कीर्तिमानको बराबरी गरेको छ । तीमध्ये मेस्सीले दुई तथा जियोभानी लो सेल्सो, जुलियन आल्भारेज र एन्जो फर्नान्डेजले एक–एक गोल गरेका छन् । मेस्सी विश्वकप इतिहासमा पेनाल्टी क्षेत्रबाहिरबाट सर्वाधिक गोल गर्ने खेलाडीसमेत बनेका छन् ।
स्पेनका मिकेल ओयारजाबालले पाँच गोल गर्दै एउटै विश्वकपमा सर्वाधिक गोल गर्ने स्पेनी खेलाडीको कीर्तिमान बराबरी गरेका छन्। यसअघि एमिलियो बुट्रागुएनो (१९८६) र डेभिड भिल्ला (२०१०) ले पनि पाँच–पाँच गोल गरेका थिए । ओयारजाबालका कुल छ गोल योगदान छन्, जुन स्पेनका लागि संयुक्त रूपमा सर्वाधिक हो ।
असिस्टतर्फ मेस्सीले चार असिस्ट गरेका छन् र प्रतियोगिताका उत्कृष्ट प्लेमेकर बन्ने दौडमा छन् । स्पेनका मार्क कुकुरेया र डानी ओल्मोले समान दुई–दुई असिस्ट गरेका छन् ।
यसरी हेर्दा स्पेन र अर्जेन्टिना केवल विश्वकप उपाधिका लागि मात्र होइन, इतिहासका थुप्रै नयाँ कीर्तिमान रच्ने लक्ष्यसहित फाइनलमा उत्रिँदै छन् । व्यक्तिगत उत्कृष्टता, सामूहिक प्रदर्शन र ऐतिहासिक उपलब्धिको प्रतिस्पर्धाले यो फाइनललाई विश्वकप इतिहासकै सबैभन्दा रोमाञ्चक खेलमध्ये एक बनाउने अपेक्षा गरिएको छ ।





प्रतिक्रिया