अर्जेन्टिना र स्पेनबीचको फाइनल खेलको टिकट मूल्य ३५ करोडसम्म, दर्शक भरिने

994
Shares

एजेन्सी । फिफा विश्वकप २०२६ को फाइनल सोमबार विहान १२:४५ बजे न्यु जर्सीस्थित मेटलाइफ स्टेडियममा स्पेन र अर्जेन्टिनाबीच हुँदै छ । यो अमेरिकामा अहिलेसम्म आयोजना भएको सबैभन्दा महँगो खेलकुद कार्यक्रम बनेको छ ।

लियोनेल मेसीको सम्भवतः अन्तिम विश्वकप उपस्थिति र स्पेनको युवा तारा लामिने यामालको सामनाले फाइनलमा टिकटको माग असाधारण उचाइमा पुर्‍याएको छ ।

टिकट अहिलेसम्मकै महँगो

फिफाले सुरुमा फाइनलको आधिकारिक टिकट मूल्य २ हजार ३० डलर (३ लाख ८ हजार ५६० रुपैयाँ) देखि ६ हजार ७३० डलर (१० लाख २२ हजार ९६० रुपैयाँ) सम्म तोकेको थियो ।

तर यस पटक पहिलोपटक लागू गरिएको डाइनामिक प्राइसिङ प्रणालीका कारण मूल्य निरन्तर बढ्दै गयो । अप्रिलमा चौथो चरणको बिक्री खुल्दा क्याटेगोरी १ को टिकट १० हजार ९९० डलर (१६ लाख ७० हजार ४८० रुपैयाँ) बाट सुरु भयो, जुन अक्टोबरको सुरुवाती मूल्य ६ हजार ३७० (९ लाख ६८ हजार २४० रुपैयाँ) भन्दा ७० प्रतिशतभन्दा बढी थियो ।

फाइनल हुनुभन्दा एक दिनअघि नै अवस्था झनै चर्को बन्यो ।

शुक्रबारसम्म फिफाको आधिकारिक बिक्री साइटमा लगभग सबै टिकट बिक्री भइसकेको थियो, बाँकी केही सिट प्रतिटिकट झन्डै ३२ हजार डलर (४८ लाख ६४ हजार रुपैयाँ) मा उपलब्ध थिए । शनिबार आइपुग्दा त फिफाको आधिकारिक साइटमा एउटै पनि अन्तिम-मिनेटको टिकट बाँकी रहेन, बरु फिफाकै रिसेल प्लेटफर्ममा टिकट १० हजारदेखि लिएर २.३ मिलियन डलर (३४ करोड ९६ लाख रुपैयाँ) सम्ममा सूचीबद्ध भएका थिए ।

अर्को प्रमुख रिसेल प्लेटफर्म सिटगिकमा फाइनलको औसत टिकट मूल्य शुक्रबारसम्म ११,००० (१६ लाख ७२ हजार रुपैयाँ) भन्दा माथि पुगेको थियो, जुन सो प्लेटफर्मले अहिलेसम्म बेचेको सबैभन्दा महँगो टिकट भएको र सन् २०२४ को सुपर बाउल भन्दा समेत ८ प्रतिशत बढी भएको कम्पनीले जनाएको छ ।

स्टेडियम भरिने निश्चित

रोयटर्सले गरेको फिफा उपस्थिति तथ्यांकको विश्लेषण अनुसार, समूह चरणका ७२ खेलमध्ये आधाभन्दा बढी खेल पूर्ण क्षमतामा भरिएका थिए र बाँकी अधिकांश खेलमा पनि पूर्ण भन्दा केही सय सिट मात्र कम रहेको पाइएको थियो । फिफाका अनुसार समूह चरणका खेलहरूमा ९९.७ प्रतिशत सिट भरिएका थिए । यद्यपि, जुन ११ मा ग्वाडालाहारा स्टेडियममा भएको दक्षिण कोरिया–चेकिया खेलका बेला भने धेरै खाली सिट देखिएका थिए, जसले उच्च मूल्यले फ्यानहरूलाई पर धकेल्ने हो कि भन्ने प्रारम्भिक आशंका जगाएको थियो । तर फाइनलसम्म आइपुग्दा त्यो आशंका पूरै गलत सावित भयो ।

शनिबारसम्मै आधिकारिक साइटमा एउटै टिकट नबाँकी रहनुले स्टेडियम पूर्ण रूपमा भरिने निश्चित भएको संकेत गर्छ।

किन यति उच्च मूल्य?

पूर्व क्लिभल्यान्ड क्याभालियर्स टिकटिङ विशेषज्ञ स्कट फ्रिडम्यानका अनुसार, फिफाले उच्च मूल्य तोक्दा पनि फ्यानहरूले तिर्ने आँकलन सही साबित भयो । उनले फाइनलमा हप्ता-हप्तै ‘स्लो टिकटिङ’ रणनीति अपनाइएको र सीमित सिट क्रमशः बजारमा ल्याइएकाले खरिददारमा हतारो सिर्जना भएको बताए ।

अर्कातर्फ, कोलम्बिया विश्वविद्यालयका प्राध्यापक आदम एल्माख्तुबका अनुसार डाइनामिक प्राइसिङ प्रणाली अझै धेरैका लागि अस्पष्ट रहेको र यसमा पारदर्शिता आवश्यक रहेको बताए ।

अमेरिकामा रिसेल बजारमा रहेको खुकुलो नियमले पनि मूल्य वृद्धिलाई थप बढावा दिएको छ । सह-आयोजक मेक्सिकोमा भने रिसेलरहरूले आफूले तिरेको मूल्यभन्दा बढीमा टिकट बेच्न नपाउने नियम लागू छ ।

पहुँचको प्रश्न

मानव अधिकार संस्थाहरूले भने यो टुर्नामेन्ट धेरै फ्यानको पहुँचबाट टाढै रहेको आलोचना गरेका छन् । फुटबल सपोर्टर्स युरोपका कार्यकारी निर्देशक रोनन इभाँका अनुसार, यो विश्वकप ‘थोरै भाग्यमानीहरूको मात्र’ भएको उनको भनाइ छ, किनकि भिसा र भ्रमण खर्च धान्न सक्ने युरोपेली मुलुकका फ्यानले मात्र यसको फाइदा उठाउन सकेका छन् ।