राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको लिगलिगे दौड: कसको कनेक्सन कहाँ, सम्भावना कति ?


काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको ५ वर्षे कार्यकाल पूरा हुन लागेसँगै गभर्नरका आकांक्षीहरुले लिगलिगे दौड सुरु गरिसकेका छन् । वर्तमान गभर्नर अधिकारीको कार्यकाल आगामी चैत २४ मा सकिँदैछ । गभर्नर अधिकारीको कार्यकाल सकिनुअघि १९औं गभर्नर बन्ने आकांक्षीहरुले शक्ति केन्द्रसँगको उठबस बाक्लो बनाउन थालेका छन् ।

राष्ट्र बैंकको गभर्नर पद ‘ग्ल्यामर’ मानिन्छ । पूर्वअर्थमन्त्री तथा हाल प्रधानमन्त्रीका आर्थिक सल्लाहकार रहेका डा. युवराज खतिवडाले राष्ट्रिय योजना आयोगका उपाध्यक्ष हुँदा मर्यादाक्रममा तल रहेको गभर्नरमा पदमा ‘ग्ल्यामर’ भएको भन्दै नियुक्ति लिएका थिए ।

अर्थतन्त्रका लागि निकै महत्त्वपूर्ण मानिने मौद्रिक नीति तर्जुमा गर्ने, नोटमा हस्ताक्षर गर्ने मात्रै नभएर अन्तर्राष्ट्रिय एक्पोजरका कारण पनि गभर्नर पद सबैको रोजाइमा पर्ने गरेको छ । पछिल्लो समय त सरकालाई सफल वा असफल बनाउन भूमिका खेल्नसमेत सक्ने भएकाले राजनीतिक रुपमा समेत गभर्नरलाई उच्च महत्त्वका साथ हेरिँदै आएको छ ।

सोही कारण १९औं गभर्नरका आकांक्षीहरु शक्ति केन्द्रसँग निकटता बढाउँदै आफू गभर्नर भए शिथिल अर्थतन्त्रलाई ट्र्याकमा ल्याउने ब्रिफिङ गर्न थालेका छन् । राजनीतिक नियुक्ति भएकाले पनि योग्यता पुगेका आकांक्षीहरु आफू निकटका नेताहरुको विश्वास जित्न लागिपरेका छन् ।

राष्ट्र बैंक ऐनले गभर्नर सिफारिस गर्दा सिफारिस समितिले बहालवाला डेपुटी गभर्नर मध्येबाट एक जनाको नाम अनिवार्य सिफारिस गर्नुपर्ने व्यवस्था गरेको छ । जसकारण बहालवाला दुबै डेपुटी गभर्नर गभर्नरको स्वभाविक मुख्य दाबेदार हुन् ।

नेपाल राष्ट्र बैंक ऐनमा आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्यांकशास्त्र, गणित वा कानुन विषयमा स्नातकोत्तर गरी आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य कानुनको क्षेत्रमा कार्यअनुभव भएको व्यक्ति गभर्नर बन्न योग्य हुने उल्लेख छ।

नेपाल सरकार वा राष्ट्र बैंकको विशिष्ट श्रेणीको विश्वविद्यालको प्राध्यापक, वाणिज्य बैंकको प्रमुख कार्यकारी अधिकृतलाई ऐनले तोकेको कार्यअनुभव मानिने उल्लेख छ । त्यस्तै अन्तर्राष्ट्रिय संघ संस्थाको कार्यकारी तहको वा सो सरहको पद र मर्यादाक्रमले सोभन्दा उच्च तहको पदमा काम गरेकालाई पनि कार्यअनुभव मानिने उल्लेख छ ।

राष्ट्र बैंक ऐनले गभर्नरका लागि उमेरहद तोकेको छैन । तर, अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनले भने गभर्नर नियुक्तिका लागि ३० वर्ष उमेर पूरा भई ६५ वर्ष नकटेको हुनुपर्ने व्यवस्था गरेको छ ।

नेपाल सरकार मन्त्रिपरिषद्बाट स्वीकृत भएको सोही मापदण्ड गभर्नरका केही दाबेदारका लागि बाधक बन्ने देखिएको छ ।

उक्त योग्यता पुगेका गभर्नरको दावेदारको सूचीमा राष्ट्र बैंकका डेपुटी गभर्नर र कार्यकारी निर्देशक, वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत, नेपाल सरकारका पूर्वसचिव लगायका व्यक्ति दावेदार छन्।

राष्ट्र बैंकको गभर्नर बन्ने आकांक्षीहरु करिब २ दर्जन छन् । जसमध्ये एक दर्जनलाई गभर्नरको बलियो दाबेदारको रुपमा हेरिएको छ।

देशको केन्द्रीय बैंकको रुपमा काम कारबाही गर्ने राष्ट्र बैंकले नेपाली मुद्राको निष्काशन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरीवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछ । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो ।

प्रधानमन्त्री, अर्थमन्त्रीलगायत उच्चपदस्थ व्यक्तिहरुसँग नियमित छलफल, बजेट निर्माणदेखि मौद्रिक नीति तर्जुमासम्मको कार्यमा गभर्नर प्रत्यक्ष संलग्न हुन्छन् । यसैगरी देशविदेश भ्रमण, मौद्रिक निकाय तथा केन्द्रीय बैंक प्रमुखको रुपमा मिल्ने सम्मान र पहुँचजस्ता कारण राष्ट्र बैंकको गभर्नर सरकारको सबैभन्दा आकर्षक नियुक्तिमध्ये एक हो ।

पछिल्लो समय गभर्नर पदमा आफू समर्थित व्यक्ति पुर्‍याउन राजनीतिक दल र स्वार्थ समूह निकै सक्रिय छन् । निजी क्षेत्रलाई पनि केन्द्रीय बैंकले लिने नीतिले ठूलो अर्थ राख्छ । त्यसकारण व्यवसायिक घरनाहरु समेत आफू अनुकुलको व्यक्तिलाई गभर्नर बनाउन ठूलै प्रयास गर्दै आएका छन् ।

परम्परागतरुपमा दुई मुख्य प्रतिस्पर्धी दल कांग्रेस र एमाले मिलेर सरकार सञ्चालन गरिरहेको अवस्थामा कुनै एक पार्टी निकटभन्दा पनि दुबै पार्टीलाई विश्वासमा लिनसक्ने दाबेदारले बाजी मार्ने सम्भावना बलियो छ ।

सत्ता समीकरणबाट आफू बाहिरिँदा पनि स्थायीरुपमा अर्थतन्त्रको एउटा बागडोर सम्हाल्ने भएकाले राज्यका नीति, संरचना र सम्भावित व्यवस्था हेरफेरमा गभर्नर पद फेरो बन्न पुग्छ । पछिल्लो समय गभर्नर पद राजनीतिक यात्राको नयाँ पाइला बनेको छ भने सत्तामा विपक्षी दल हुँदा पनि बार्गेन गर्न सक्ने बलियो आधार बनेको छ । त्यसको पछिल्लो उदाहारण हुन् गभर्नर महाप्रसाद अधिकारी । उनले कांग्रेस र माओवादी गठबन्धनको सरकारलाई चरम असहयोग गरे भने एमालेमाथि सफ्ट कर्नर राखेर मौद्रिक उपकरणको प्रयोग गरे ।

राष्ट्र बैंक ऐनले गभर्नर सिफारिसका लागि अर्थमन्त्रीको संयोजकत्वमा पूर्वगभर्नर मध्येबाट १ जना र र १ जना विज्ञसदस्य रहेको सिफारिस समिति गठन गर्ने व्यवस्था छ । सिफारिस समितिले सरकारसमक्ष ३ जनाको नाम सिफारिस गर्नु पर्दछ । नाम सिफारिस गर्ने कार्यविधि स्वयं समितिले निर्माण गर्छ । आवेदन माग गरेर ३ जनाको नाम छनोट गर्ने कि दाबेदार र सक्षम व्यक्ति सिधै पहिचान गरेर मन्त्रिपरिषदमा नाम पठाउने भन्ने अधिकार समितिलाई नै दिइएको हुन्छ ।

समितिले मन्त्रिपरिषदमा सिफारिस गर्ने ३ नाममध्ये केन्द्रीय बैंकका २ डेपुटी गभर्नरमध्ये १ हुनैपर्ने व्यवस्था छ । पछिल्ला दुई गभर्नर बहालवाला डेपुटी गभर्नरबाट गभर्नर भएको देखिँदैन । तर डा. चिरञ्जीवी नेपाल बाहेकका पछिल्ला गभर्नर राष्ट्र बैंकबाटै अवकास पाएकाहरु बनेको देखिन्छ । विजयनाथ भट्टराई राष्ट्र बैंकका बहालवाला डेपुटी गभर्नरबाटै गभर्नर नियुक्त भएका थिए। उनलाई कार्यकाल नसकिँदै सरकारले निलम्बन गरेर दिपेन्द्रबहादुर क्षेत्रीलाई गभर्नर बनाएको थियो । क्षेत्री राष्ट्र बैंकबाटै अवकाश पाएका कर्मचारी हुन् । त्यसपछि गभर्नर बनेका डा. युवराज खतिवडा पनि राष्ट्र बैंकका अवकाशप्राप्त कर्मचारी हुन् भने वर्तमान गभर्नर महाप्रसाद अधिकारी राष्ट्र बैंककै डेपुटी गभर्नरबाट अवकाश पाएका व्यक्ति हुन् ।

राष्ट्र बैंकको बहालवाला डेपुटी गभर्नरबाट गभर्नर हुनेमा हरिशंकर त्रिपाठी, सत्येन्द्रप्यारा श्रेष्ठ र गणेशबहादुर थापा पनि छन् । युवराज खतिवडा र महाप्रसाद अधिकारी राष्ट्र बैंकबाट अवकाश पाए पनि राजनीतिक नियुक्तिमा अधिकतम लाभ लिनेमध्येमा पर्छन् । गभर्नर नियुक्तिको पछिल्लो शिलशिला हेर्न हो भने प्रधानमन्त्रीले चाहेकै व्यक्तिले बाजी मारेको देखिन्छ । तर यसपटक कांग्रेस एमालेको गठबन्धन भएकाले ओली र देउवाको सहमतिमा गभर्नर बन्ने निश्चित छ ।

राष्ट्र बैंकको क्याडरलाई गभर्नर बनाउँदा ‘कर्मचारीतन्त्रमा शुक्ष्म व्यवस्थापन हुने’ र संकुचित सोचभन्दा माथि उठ्न नसक्ने भन्दै बाहिरबाट गभर्नर ल्याउनु पर्ने लबिइङमा राष्ट्र बैंककै कर्मचारीहरु सक्रिय भएकाले राष्ट्र बैंकका दाबेदार क्याडरका लागि अबरोध बन्न सक्छ ।

राष्ट्र बैंकको क्याडरलाई गभर्नर बनाउँदा ‘कर्मचारीतन्त्रमा शुक्ष्म व्यवस्थापन हुने’ र संकुचित सोचभन्दा माथि उठ्न नसक्ने भन्दै बाहिरबाट गभर्नर ल्याउनु पर्ने लबिइङमा राष्ट्र बैंककै कर्मचारीहरु सक्रिय भएकाले राष्ट्र बैंकका दाबेदार क्याडरका लागि अबरोध बन्न सक्छ । गभर्नरका लागि पूर्वप्रशासक राष्ट्र बैंकका क्याडर बैंकका सीईओ पूर्वपत्रकारदेखि मौद्रिक अर्थशास्त्रका जानकारदेखि योजनाविद् तथा विकास अर्थतन्त्र बुझेका २ दर्जन बढी आकांक्षी छन् । यसमध्येबाट राजनीतिक तथा शक्तिकेन्द्रसँगको पहुँचका आधारमा क्लिकमान्डुले एक दर्जन बलिया दाबेदारको सूची तयार पारेको हो ।

यी हुन् गभर्नरका बलिया १२ दाबेदार

१, डा. निलम ढुंगाना तिम्सिना

राष्ट्र बैंकको सिनियर डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिना स्वभाविकरुपमा गभर्नरको सबैभन्दा बलियो दाबेदार हुन् ।ढुंगानाको निकटता एमालेतिरै छ । उनका पति विष्णुप्रसाद तिमल्सिना एमाले निकट प्राध्यापक संघको राजनीति गर्छन् । निलम स्वयं पनि एमाले नेतृत्वहरुसँग नजिक छिन् । महिला भएको नाता जोड्दै पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री ओली पत्नी राधिका शाक्यसँग भेटिरहन्छिन् । ढुंगानाले प्रधानमन्त्री ओलीपत्नी राधिका शाक्य, पूर्वराष्ट्रपति भण्डारी र कांग्रेस सभापति देउवाको निवासमै पुगेर आफूलाई गभर्नर बनाउन लबिइङ गरिसकेकी छन् ।

वित्तीय स्थायित्वमा जोड दिँदै शास्त्रीय अर्थशास्त्रीको पहिचान बनाएकी ढुंगाना वित्तीय स्थायित्वमा बढी जोड दिन्छिन् । साथै, केन्द्रीय बैंकको भूमिका मुख्य ३ म्यान्डेटहरू वित्तीय, वाह्य क्षेत्र र मूल्य स्थायित्वमै रहनुपर्नेमा उनी जोड दिन्छिन् ।

एमालेनिकट ढुंगाना कांग्रेस परिवारकी छोरी हुन् । अहिलेका प्रधानमन्त्री ओली महिलालाई नेतृत्वमा लैजानुपर्छ भन्नेमा निकै उदार छन् । तसर्थ ढुंगानालाई आगामी गभर्नरका लागि निकै शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ । २०५४ मंसिर २२ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेकी उनले अष्ट्रेलियाबाट व्यवस्थापनमा विद्यावारिधी गरेकी छन् ।

२, बमबहादुर मिश्र

राष्ट्र बैंकमा कार्यकारी निर्देशक बनेको केही समयमै डेपुटी गभर्नरमा नियुक्त भएका बमबहादुर मिश्र प्रधानमन्त्री केपी ओलीका छिमेकी मात्रै होइनन्, एमाले निकटसमेत हुन् । पढाइमा अब्बल मिश्र चतुर खेलाडीसमेत मानिन्छन् । प्रधानमन्त्री ओलीको गृहनगर दमककै भएकाले मिश्रलाई गभर्नरको बलियो दाबेदारका रुपमा हेरिएको छ । राष्ट्र बैंककै कर्मचारीहरु समेत झापामा बसाईं सर्न सकेको भए गभर्नर नियुक्तको सम्भावना अझै बलियो रहने भन्दै मिश्रमाथि व्यङ्ग्य पनि गर्छन् । मिश्र एमाले निकट भए पनि अहिलेसम्म कुनै पनि दल तथा दल निकट कर्मचारी संघको सदस्यता लिएका छैनन् । पार्टी निकट भएर सबै सहयोग गर्न तयार रहेको तर व्यवसायिक व्यक्ति भएकोले सदस्यता नलिने भन्दै उनले एमाले निकट कर्मचारी संघको सदस्यता नलिएको एमालेको सदस्य रहेका राष्ट्र बैंककै कर्मचारीहरु बताउँछन् ।

पारिवारिक पृष्ठभूमिका कारण प्रधानमन्त्रीको गृहजिल्ला झापाका एमाले नेताहरुसँग मिश्रको राम्रो सम्बन्ध भएकै कारण उनले डेपुटी गभर्नरमा बाजी मारेका थिए । अहिले पनि उनलाई डेपुटी गभर्नर नियुक्त हुँदाको राजनीतिक साथ रहेको बताइन्छ ।

मिश्रले कार्यकारी निर्देशक हुँदा नियमन विभाग, भुक्तानी प्रणाली विभाग र विदेशी विनियम व्यवस्थापन विभागको प्रमुख भएर काम गरेका थिए । राष्ट्र बैंक प्रवेश गर्नुअघि मिश्रले निजी क्षेत्रले सञ्चालन गरेको तत्कालीन एनआईसी बैंकमा काम गरेका थिए । २०५९ साउन २७ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका मिश्रले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर गरेका छन् । साथै, उनले कानुनमा एलएलबीसम्मको अध्ययन पूरा गरेका छन् । राष्ट्र बैंकको क्याडरलाई गभर्नर बनाउनु हुँदैन भन्ने लबिइङले काम नगरेको अवस्थामा मिश्रले गभर्नरको बाजी मार्न सक्छन् ।

३, डा. प्रकाश कुमार श्रेष्ठ

राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. प्रकाश कुमार श्रेष्ठ पनि गभर्नरका बलियो दावेदार हुन् । उनी हाल राष्ट्रिय योजना आयोगका सदस्यका रुपमा (काज सरुवा) भएर कार्यरत छन् । श्रेष्ठले एमाले महासचिव शंकर पोखरेल लुम्बिनी प्रदेशको मुख्यमन्त्री हुँदा प्रदेश योजना आयोगको उपाध्यक्ष भएर काम गरेका थिए । राष्ट्र बैंकको कार्यकारी निर्देशक भएपछि प्रदेश योजना आयोगका उपाध्यक्षबाट राजीनामा दिएका उनले हालका अर्थमन्त्री विष्णु पौडेल अर्थमन्त्री हुँदा काजमा अर्थमन्त्रालयको सल्लाहकार भएर समेत काम गरिसकेका छन् ।

२०५४ साल मंसिर २३ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका श्रेष्ठ ०७६ असार ११ गते कार्यकारी निर्देशकमा बढुवा भएका थिए । उनले अर्थशास्त्रमा पिएचडी गरेका छन् ।

यसअघि राष्ट्र बैंकको डेपुटी गभर्नर नियुक्तिका बेला अहिलेका अर्थमन्त्री विष्णु पौडेल नै अर्थमन्त्री थिए । पौडेलले त्यसबेलै श्रेष्ठलाई डेपुटी गभर्नर बनाउन चाहेका थिए । तर, प्रधानमन्त्री ओलीको हस्तक्षेपका कारण श्रेष्ठ डेपुटी गभर्नर बन्न सकेका थिएनन् । प्रधानमन्त्री ओलीले नै निलम र बमबहादुरलाई डेपुटी गभर्नर बनाउन अर्थमन्त्रीलाई निर्देशन दिएपछि पौडेलले चाहँदा चाहँदै पनि श्रेष्ठले मौका पाएनन् । प्रधानमन्त्री ओलीले श्रेष्ठलाई पछि हेरौंला भनेर बचन दिएकाले यसपटक एमालेको भागमा गभर्नर परेमा उनीलाई गभर्नरका सबैभन्दा शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ । श्रेष्ठलाई गभर्नर बनाउन एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेल, एमाले महासचिव शंकर पोखरेल, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार युवराज खतिवडालगायतका नेताहरु लबिइङमा छन् । यद्यपि प्रधानमन्त्री ओलीले भने अहिलेसम्म गभर्नरका लागि कसैलाई बचन दिइनसकेको स्रोतहरुको दाबी छ ।

गभर्नरको लबिइङ गर्दै एमाले महासचिव पोखरेलकहाँ पुगेका एक दाबेदारलाई उनले यसपटक श्रेष्ठ नै आफ्नो उमेद्वार भएको जवाफ दिएका थिए । युवराज खतिवाडले पनि शंखर पोखरेलको उमेद्वार नै आफ्नो उमेदवार हुने बताएको स्रोतको दाबी छ ।

राम्रो अर्थशास्त्रीको परिचय बनाएका श्रेष्ठसँग व्यवस्थापकीय अनुभवको कमी रहेको उनका आलोचकहरु बताउँछन् । गभर्नर पद ‘बोल्ड निर्णय’ गर्नुपर्ने व्यवस्थापकीय जिम्मेवारी भएकाले त्यस्तो निर्णय गर्ने कार्यक्षमतामाथि भने राष्ट्र बैंककै अधिकारीहरु शंका व्यक्त गर्छन् । श्रेष्ठले राष्ट्र बैंकमा लामो समय आर्थिक अनुसन्धान विभागको कार्यकारी निर्देशक भएर काम गरे भने लघुवित्त सुपरिवेक्षण विभाग प्रमुख भएर पनि काम गरे । उनीसँग नेपाल धितोपत्र बोर्डको सञ्चालक बनेर काम गरेको अनुभव पनि छ । राष्ट्र बैंकमा अर्थशास्त्री नेतृत्व नहुँदा मुलुकको अर्थतन्त्र शिथिल भएको आम बुझाइ छ, यस्तो अवस्थामा राम्रो अर्थशास्त्रीको छवि बनाएका र अहिलेसम्म कुनै पनि विवादमा नमुछिएका श्रेष्ठलाई गभर्नरको बलियो उम्मेद्वारका रुपमा हेरिएको छ ।

४, डा. गुणाकर भट्ट

गभर्नरका अर्का बलियो दावेदार हुन् राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्ट । सुदूरपश्चिमका भट्ट नेपाली कांग्रेस निकट मानिन्छन् । कांग्रेस सभापति शेरबहादुर देउवासँग सिधा पहुँच भएका भट्ट कांग्रेसको भागमा गभर्नर परेमा बलियो दाबेदार हुन् । देउवाले भट्टको परिवारले लगाएको एउटा गुन तिर्नुपर्ने बताउँदै आएको र उक्त गुन तिर्न गुणाकरलाई एउटा नियुक्त दिनुपर्ने बताउँदै आएको स्रोतको दाबी छ । भट्ट परिवारका माधव भट्टलाई डेपुटी गभर्नर बनाउन नसकेका देउवाले यसपटक गुणाकरलाई गर्भनर बनाएर गुन तिर्नसक्ने देउवा निकट कांग्रेसका नेताहरु बताउँछन् ।

भट्टले २०५७ असार १ गतेदेखि राष्ट्र बैंकमा जागिर सुरु गरेका हुन् । भट्ट २०७५ साल कात्तिक ६ गते कार्यकारी निर्देशक भएका हुन् । उनले व्यवस्थापन र अर्थशास्त्र विषयमा स्नातकोत्तर अर्थशास्त्रमा पीएचडी गरेका छन् ।

नेपाल धितोपत्र बोर्डका तत्कालीन अध्यक्ष भिष्मराज ढुंगाना निलम्बनमा परेपछि देउवाले भट्टलाई बोर्डको अध्यक्ष बन्न प्रस्ताव गरेका थिए । उक्त प्रस्ताव अस्वीकार गरेका भट्टको चासो गभर्नरमा छ । राष्ट्र बैंकको शक्तिशाली विभागका कार्यकारी निर्देशक भएर काम गरेका उनले डा. प्रकाशशरण महत अर्थमन्त्री हुँदा अर्थमन्त्रालयको आर्थिक सल्लाहकार भएर समेत काम गरेका थिए । भट्ट धितोपत्र बोर्डको सञ्चालक भएर काम गरिसकेका व्यक्ति हुन् । उनले राष्ट्र बैंकमा नियमन, बैंक सुपरिवेक्षण, आर्थिक अनुसन्धान र भुक्तानी प्रणाली विभागको प्रमुख भएर काम गरिसकेको छन् । अर्थशास्त्रको राम्रो ज्ञान भएका उनी उच्च नैतिक चरित्र भएका सालिन र नम्र स्वाभावका छन् । तर, गभर्नर पद ‘बोल्ड निर्णय’ गर्नुपर्ने व्यवस्थापकीय पद भएकोले भट्टको त्यस्तो निर्णय गर्ने कार्यक्षमतामाथि भने राष्ट्र बैंककै अधिकारीहरु आशंका व्यक्त गर्छन् ।

५, राजेन्द्र किशोर क्षेत्री

पूर्वमुख्यसचिवको छोटो जिम्मेवारीबाट ५८ वर्षे उमेर हदका कारण २०७४ कात्तिक ६ गते अवकास पाएका राजेन्द्र किशोर क्षेत्री पनि गभर्नरका लागि बलियो दाबेदार हुन् । यद्यपि उनका लागि अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधन बाधक बन्न सक्छ । उक्त मापदण्डमा ६५ वर्ष नाघेको व्यक्ति पदाधिकारी वा सदस्य हुन नसक्ने व्यवस्था छ ।

तर पछिल्लो समय अर्थ मन्त्रालयले उक्त मापदण्ड लुकाएको छ । क्षेत्रीलाई गभर्नर बनाउनकै लागि मापदण्ड गायव पारिएको हुन सक्ने अर्थमन्त्रालयकै अधिकारीहरु बताउँछन् । वा, सरकारले क्षेत्रीकै लागि मापदण्ड संशोधन गर्नसक्ने बताइन्छ ।

मापदण्ड संशोधन नभएको अवस्थामा क्षेत्री गभर्नर बन्ने संभावना छैन । तर अर्थ मन्त्रालयको सिफारिसमा मन्त्रिपरिषदले मापदण्ड संशोधन गरेको अवस्थामा भने क्षेत्री गभर्नरका सबैभन्दा शक्तिशाली दाबेदार हुन् । आरजु देउवा निकट मानिने क्षेत्रीलाई शक्तिशाली व्यापारिक घरानाको साथ रहेको बताइन्छ । मुख्यसचिवबाट अवकास भएपछि उनी व्यापारिक घरानामा परामर्शदाताको रुपमा काम गर्दै आएका छन् ।

राष्ट्र बैंकको गभर्नर जस्तो पदमा अर्थसचिव समेत नभएको व्यक्तिलाई नियुक्ति गर्नु हुँदैन भन्ने आवाज बुलन्द छ । साथै, पूर्वप्रशासकलाई गभर्नर बनाउनु हुँदैन भन्ने लबिइङ पनि तीव्र भइरहेकाले यो लबिइङले क्षेत्रीलाई अवरोध सिर्जना गर्न सक्छ ।

क्षेत्री अर्थशास्त्र, नेपालको ऊर्जा तथा जलस्रोत, राष्ट्रिय तथा अन्यर्राष्ट्रिय कानुन, कर, बिमा र भौतिक पूर्वाधारका क्षेत्रका जानकार हुन् । उनले सहकारी, अख्तियार दुरूपयोग अनुसन्धान आयोग, ऊर्जा मन्त्रालयको सचिवका रूपमा काम गरेका छन् ।

जलस्रोत तथा ऊर्जा नीति निर्माण, विद्युत् विधेयक र विद्युत् नियमन आयोगको विधेयकजस्ता कानुनी मस्यौदा निर्माण गर्न उनले महत्त्वपूर्ण भूमिका खेलेका थिए । साथै क्षेत्रीसँग अध्यापन, कानुन तथा अन्तर्राष्ट्रिय विषयवस्तु विज्ञ र नेपाल सरकारका लागि स्वतन्त्र विज्ञ तथा परामर्शदाताका रूपमा काम गरेको अनुभव छ ।

२०३९ सालमा शाखा अधिकृतका रूपमा निजामति सेवा प्रवेश गरेका क्षेत्री २०६९ सालमा सचिव बनेका थिए र २०७४ असार २९ गते मुख्यसचिव बनेका उनी ५८ वर्षे उमेर हदका कारण सोही वर्षको कात्तिक ६ गते मुख्यसचिवबाट सेवानिवृत्त भएका थिए ।

काठमाडौंको लैनचौर घर भएका उनले उनले त्रिभुवन विश्वविद्यालय अर्थशास्त्र र राजनीतिशास्त्रमा स्नातकोत्तर गरेका छन् भने बेल्जियमको युनिभर्सिटी अफ ब्रुसेल्सबाट पनि कानुनमा स्नातकोत्तर गरेका छन् । क्षेत्रीले त्यसअघि नेपाल ल क्याम्पसबाट एलएलबी गरेका थिए भने नेदरल्यान्डसको इरास्मस युनिभर्सिटीबाट अन्तर्राष्ट्रिय कानुनमा ग्र्याजुयट डिप्लोमा गरेका थिए ।

क्षेत्री आफूभन्दा सिनियर सचिवहरू शान्तराज सुवेदी र शान्तबहादुर श्रेष्ठलाई पछि पार्दै मुख्य सचिव बनेका थिए । उनी कानुन समूहबाट निजामति सेवामा प्रवेश गरेका थिए । प्रशासन समूहका कर्मचारीको व्यापक विरोध र लोकसेवा आयोगको असहमतिका बाबजुद एमाले नेतृत्वको अडानमा उनी कानुन समूहबाट प्रशासनमा पुगेका थिए ।

कानुन समूहका व्यक्तिलाई ऊर्जामा ल्याइएको भन्दै प्रशासन र प्राविधिक समूहका कर्मचारीहरुले बिरोध गरेका थिए । ऐनमा भएको व्यवस्थाविपरीत क्षेत्रीलाई ऊर्जा मन्त्रालयमा ल्याइएको भन्दै लोकसेवा आयोगले समेत आपत्ति जनाएको थियो ।

शक्तिको बलमा क्षेत्रीले उतिबेलै ऊर्जा मन्त्री राधा ज्ञवालीलाई मन्त्रीबाट फिर्ता गराउन सफल भएका थिए । उनलाई ज्ञवालीकै जोडबलमा ऊर्जा मन्त्रालयमा सचिव बनाएर ल्याइएको थियो । सोलु करिडोरको ठेक्काको विषयले ज्ञवाली र सचिव क्षेत्रीको सम्बन्ध तिक्त बनायो।

सोलु करिडोर प्रसारणलाइनको ठेक्का भारतीय कम्पनी मोहन इनर्जीलाई दिने विद्युत् प्राधिकरण सञ्चालक समितिको निर्णयविरुद्ध क्षेत्रीले नोट अफ डिसेन्ट लेखेका थिए । प्राधिकरण इतिहासमा सचिवले नोट अफ डिसेन्ट लेखेको त्यो पहिलो घटना हो । क्षेत्री भारतीय कम्पनी ज्यागुवार ओभरसिजको पक्षमा थिए । विवादका कारण प्राधिकरणको सन्चालक समितिको बैठक लामो समय बस्न सकेको थिएन ।

ज्ञवाली र क्षेत्रीबीच पञ्चेश्वर विकास प्राधिकरणको प्रमुख कार्यकारी अधिकृत सीईओको नियुक्तिमा पनि खटपट भयो ।त्यसकारण मन्त्री ज्ञवाली र सचिव क्षेत्रीबीच बोलचाल नै बन्द भयो । यहीकारण सुशील कोइरालाले ऊर्जामन्त्री ज्ञवालीलाई फिर्ता पठाएका थिए ।

६, सुशील भट्ट

राष्ट्रिय योजना आयोगका पूर्वसदस्य एवं लगानी बोर्ड नेपालका निवर्तमान प्रमुख कार्यकारी अधिकृत सुशील भट्ट पनि गभर्नरका बलिया दाबेदार हुन् । सत्ता साझेदार दुई ठूला नेता शेरबहादुर देउवा र केपी ओलीसँग भट्टको सिधा पहुँच छ ।

राजनीतिकरुपमा कांग्रेस निकट भट्ट कांग्रेसभित्रै पनि सभापति देउवा निकट मानिन्छन् भने एमाले अध्यक्ष एवं प्रधानमन्त्री ओलीसँग पनि उनको निकटता कम छैन । ओलीले योजना आयोगको सदस्य बनाएका भट्टलाई ओलीले नै लगानी बोर्डको सीईओ बनाएका थिए ।

इन्फिनिटी होल्डिङसका प्राविधिक निर्देशकसमेत भएर काम गरिसकेका भट्टले योजना, लगानी र विकास वित्तको विज्ञका रुपमा आफ्नो पहिचान बनाएका छन् ।

पछिल्लो समय व्यवसायमा छलाङ मार्दै ठूलो शक्तिकेन्द्रका रुपमा उदाएका व्यवसायी दीपक भट्ट सुशीलका सहोदर भाइ हुन् । यस अर्थमा पनि उनलाई गभर्नरको शक्तिशाली दाबेदारका रुपमा हेरिएको छ ।

इन्फिनिटीमार्फत् भट्टले पूर्वाधार परियोजनामा लगानी र विकाससम्बन्धमा परामर्श र व्यवस्थापन सेवाहरू प्रदान गर्दथे । नेपाल व्यवस्थापन संघका अध्यक्षसमेत भइसकेका उनी परियोजना व्यवस्थापन र परियोजनाको जीवन चक्रका जानकार हुन् ।

लगानी बोर्डमा रहँदा उनले करिब ३ अर्ब अमेरिकी डलरको निजी लगानी स्वीकृत गर्ने कार्यको नेतृत्व गरे । त्यसअघि राष्ट्रिय योजना आयोगमा भौतिक पूर्वाधार र यातायात र शहरी विकास क्षेत्र हेर्ने सदस्यका रुपमा काम गरेका थिए ।

इलेक्ट्रिकल तथा इलेक्ट्रोनिक इन्जिनियरिङमा काठमाडौं विश्वविद्यालयबाट स्नातक गरेका भट्टले काठमाडौं विश्वविद्यालयबाटै व्यवस्थापनमा स्नातकोत्तर (एमबीए) गरेका छन् । योजना आयोगको राष्ट्रिय परियोजना बैंक र राष्ट्रिय परियोजना बैंक व्यवस्थापन सूचना प्रणाली विकास र कार्यान्वयनमा उनको संलग्नता छ । यसबाहेक प्रोक्युरमेन्ट, संघीय अनुदान तथा वित्तीय हस्तान्तरण सम्बन्धी मापदण्ड तथा निर्देशिका जारी गर्न, परियोजना विकास, अनुगमन तथा मूल्यांकन, बजेट लेखनमा पनि उनी सहभागी थिए ।

भट्ट पूर्वबैंकर पनि हुन् । उनले कुमारी बैंक र सिद्धार्थ बैंकमा विभागीय प्रमुखका रुपमा काम गरिसकेका छन् । डेभलपमेन्ट इकोनोमिका जानकार भट्टसँग मौद्रिक अर्थशास्त्रको अनुभव भने छैन । राष्ट्र बैंकभित्रै पूर्वप्रशासक, बैंकर र राष्ट्र बैंकको क्याडरलाई गभर्नर बनाउन नहुने लविइङ भइरहेको अवस्थामा भट्टले बाजी मार्नसक्ने सम्भावना पनि बलियै देखिन्छ ।

७, गोकर्ण अवस्थी

निजी क्षेत्रको छाता संगठन नेपाल उद्योग वाणिज्य महासंघका महानिर्देशकका रुपमा कार्यरत गोकर्ण अवस्थी पनि गभर्नर बन्ने दौडमा छन् । कांग्रेस सभापति शेरबहादुर देउवा निवासमा केही दिनअघि कांग्रेसबाट गभर्नरका लागि सम्भावित उम्मेद्वारहरु को को हुन सक्छन् भनेर कोर टिममा भएको छलफलमा अवस्थीको नाम पनि आएको थियो ।

दार्चुला स्थायी घर भएका अवस्थीको कांग्रेस संस्थापन पक्ष अर्थात् सभापति शेरबहादुर देउवासँग राम्रो सम्बन्ध छ । देउवाको कोर टिमका एनपी साउद, गृहमन्त्रीसमेत रहेका रमेश लेखक लगायतका नेताहरुसँग राम्रो सम्बन्ध रहेका अवस्थीको महामन्त्री गगन थापासँग विषेश सम्बन्ध छ । साथै, एमाले उपाध्यक्षसमेत रहेका उपप्रधान एवं अर्थमन्त्री विष्णु पौडेलसँग पनि अवस्थीको खास सम्बन्ध छ । त्यतिमात्रै होइन, पूर्वगभर्नर एवं पूर्वअर्थमन्त्रीसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीका आर्थिक सल्लाहकार डा युवराज खतिवडासँग पनि उनको विषेश सम्बन्ध छ ।

कांग्रेसले अवस्थीको नाम अघिसारेको अवस्थामा एमालेबाट पनि अवरोध नहुने बुझाइमा अवस्थी गभर्नरको दौडमा सहभागी भएका हुन् । साथै, निजी क्षेत्रको पिरव्यथा बुझेको व्यक्ति भएको भन्दै उद्योगी व्यवसायीहरु पनि अवस्थीलाई गभर्नर बनाउने लबिइङमा सक्रिय छन् । शेखर गोल्छाले महासंघमा महानिर्देशक बनाएका अवस्थीलाई चन्द्र ढकालले पनि निरन्तरता दिएका थिए । यसअर्थमा उनलाई शेखर र चन्द्र दुबै खेमाका व्यवसायीको आड हुने अनुमान गरिएको छ ।

पछिल्लो समय कांग्रेसभित्रको समीकरणमा हलचल आइरहेको छ । संस्थापन इतरका नेता शेखर कोइरालाले संसदीय दलको चुनाव गर्नुपर्ने अभियान चलाइरहँदा सभापति देउवा महामन्त्री थापाप्रति अत्यन्तै सफ्ट छन् । अहिले थापाले भनेको कुरालाई देउवाले खासै नकार्दैनन् भन्ने चर्चा छ। त्यसैले महामन्त्री थापासँग विशेष सम्बन्ध रहेका अवस्थी गभर्नरको दौडमा बलियो दाबेदार भएको विश्लेषण गर्न सकिन्छ ।

२०७८ चैत अन्तिमदेखि महासंघको महानिर्देशकमा कार्यरत उनी त्यसअघि उपमहानिर्देशकका रुपमा कार्यरत थिए । २०८१ भदौ ४ गतेदेखि अवस्थी पुँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डको सञ्चालक छन् ।

भारतीय जनसञ्चार संस्थानबाट सन् २००४ मा डिप्लोमा इन डेभलपमेन्ट जर्नालिज्म उत्तीर्ण अवस्थीले शंकरदेव क्याम्पबाट २००६ सालमा वाणिज्यशास्त्रमा फस्ट डिभिजनसहित उत्तीर्ण गरेका छन् ।

पत्रकारिताबाट व्यावसायिक करिअर सुरु गरेका उनी कान्तिपुर दैनिकको अर्थ सम्पादकसम्म बने । साथै उनले आर्थिक पत्रकारहरुको संस्था नेपाल आर्थिक पत्रकार समाजको अध्यक्ष बनेर काम गरिसकेका छन् । अवस्थीसँग संयुक्त राष्ट्र संघमा काम गरेको अनुभव पनि छ ।

नेपालले सन् २००४ मा डब्लुटीओको सदस्यता लिएपछि अवस्थीले डब्लुटीओलाई बिट बनाए । डब्लुटीओको रिपोर्टिङ गर्न व्यापार, अन्तर्राष्ट्रिय कानुन, विश्व व्यापारको ट्रेन्ड बुझ्नुपर्छ । उनले सन् २००३ देखि सन् २००५ सम्म व्यापार सम्बन्धी धेरै रिपोर्टिङ गरे ।

२०५८ सालमा नेपाल टेलिभिजनबाट प्रशारण हुने कार्यक्रम अर्थको अर्थमा जोडिएर २०६५ सालमा कान्तिपुर दैनिक प्रवेश गरेका अवस्थीलाई पत्रकारिताले मुलुकको अर्थतन्त्रको बारेमा बुझ्न सहयोग गर्‍यो ।

कान्तिपुर छाडेर उनी संयुक्त राष्ट्र संघको ‘सस्टेनेबल डेभलपमेन्ट गोल्स् एडभाइजर’को रुपमा २ वर्षभन्दा बढी काम गरे । १४ वर्षदेखि उनी विभिन्न कलेजमा एमबिएलाई बढाउँछन् । एपेक्स, एस, किङ्स र सनवेमा बीबीए, एमबीएलाई उनले पढाए ।

राष्ट्र बैंककै कमर्चारीहरुले पूर्वप्रशाशक, राष्ट्र बैंकको क्याडर र बैंकका सीईओ गभर्नर बन्न नहुने लबिइङ गरिरहेको अवस्थामा अवस्थीले बाजी मार्न सक्ने सम्भावना बलियो छ ।

८, ज्ञानेन्द्र ढुंगाना

नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत ज्ञानेन्द्र ढुंगाना पनि गभर्नरको दौडमा अग्रस्थानमा छन् । एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको जन्मजिल्ला तेह्रथुम स्थायी घर भएका ढुंगाना कांग्रेसको संस्थापन पक्षसँग नजिक छन् ।

ज्ञानेन्द्रका दाइ गोविन्द ढुंगानाले देउवालाई कांग्रेस पार्टी फुटाउँदा पनि सहयोग गरेका थिए । देउवा नेतृत्वको प्रजातान्त्रिक कांग्रेसका तेह्रथुम जिल्लाका सभापतिसमेत रहेका गोविन्द पछि पार्टी मिलेपछि पनि सभापति बने । कांग्रेस पृष्ठभूमिका ढुंगानाको देउवासँगै दोस्रो तहका नेताहरुसँग पनि राम्रो सम्बन्ध छ । ढुंगाना कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेपालका एकमात्र डलर अर्बपति विनोद चौधरीको ठूलो लगानी रहेको नबिल बैंकको सीईओ हुन् ।

नेपाल बैंकर्स संघको अध्यक्ष भएर काम गरिसकेका ढुंगाना २०४१ सालको एसएलसीमा तेह्रथुम जिल्ला फस्ट भएका थिए । काठमाडौं आएर कमर्श पढ्न थालेका उनी बीकम पास गरेपछि चाटर्ड एकाउन्टेन्सी पढ्न भारत गए । भारतबाट चार्डर्ड एकाउन्टेन्सी उत्तीर्ण गरी नेपाल आएका उनले सन् १९९४ मा बैंक अफ काठमाण्डूबाट करिअर सुरु गरे । ढुंगानाले अस्ट्रेलियाबाट सर्टिफाइड पब्लिक एकाउन्टेन्ट तथा वित्तीय विश्लेषणमा स्नातकोत्तर गरेका छन् ।

उनले सन् २००१ मा राष्ट्र बैंकमा नाम निकाले । राष्ट्र बैंकको विभिन्न विभागमा बसेर १० वर्ष काम गरेका ढुंगानाले सो क्रममा विदेश गएर पढ्ने अवसर पनि पाए । बढुवा भएर निर्देशक बनेका उनले राष्ट्र बैंकको जागिरबाट राजीनामा दिएर सन् २०१२ मा एनसीसी बैंकको महाप्रबन्धकको नियुक्ति लिए । पछि उनले एनबी बैंकको सीईओ भएर पनि काम गरे ।

राष्ट्र बैंकको जागिरे भएकाले उनीभित्र राष्ट्र बैंकको गभर्नर बन्ने सपना उहिल्यैदेखि पलाएको ढुंगानालाई नजिकबाट चिन्नेहरु बताउँछन् । डा. चिरञ्जीवी नेपाल गभर्नर नियुक्त हुने बेलामा ढुंगानाको नाम पनि गभर्नरमा चर्चामा आएको थियो । तर, त्यो प्रयास सफल भएन । अहिले पनि ढुंगानाको नाम गभर्नरका लागि चर्चामा छ ।

राष्ट्र बैंकमा काम गरेको अनुभव, निजी क्षेत्रले प्रवर्धन गरेको बैंकको सीईओ भएर काम गरेको अनुभव र कांग्रेस पृष्ठभूमिका ढुंगाना कांग्रेसको कोटामा गभर्नर परेमा निकै बलिया दाबेदार हुन् । ढुंगाना निर्णय क्षमता उच्च भएका व्यक्ति हुन् । राष्ट्र बैंकको गभर्नरले बोल्ड डिसिजन गर्नुपर्ने भएकाले उनी उपयुक्त पात्र भएको राष्ट्र बैंकका कर्मचारीहरु पनि बताउँछन् । तर सीईओलाई गभर्नर बनाउनु हुँदैन भन्ने लबिइङ तीव्र भइरहेकाले त्यसको असर ढुंगानालाई पर्न सक्छ ।

९, अशोक शेरचन

हाल प्रभु बैंकको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रहेका अशोक शेरचन सरकारको नेतृत्व गरेको नेकपा एमालेसँग निकट छन् । प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीसँग सिधा सम्बन्ध रहका शेरचन गभर्नरको बलियो दाबेदार हुन् ।

त्यतिमात्रै होइन, शेरचनको पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीका साथै एमालेका दोस्रो तहका नेताहरुसँग पनि खास सम्बन्ध छ । एमाले पार्टी, नेताहरु र जनवर्गीय संगठनहरुलाई शेरचनले खास-खास अवस्थामा महत्वपूर्ण सहयोग गरेका छन् । पार्टी पङ्क्ति र नेताहरुलाई राम्रो सहयोग गरेका शेरचन यो पटक पार्टीले गुन तिर्ने विश्वासका साथ गभर्नरको लबिइङमा लागेका छन् । उनी कांग्रेस, रास्वपा लगायतका पार्टीका नेताहरुसँग पनि नजिक छन् । र उनीहरुलाई पनि उदार मनले निरन्तर सहयोग गरिरहेकै छन् ।

एमालेमा सक्रिय रहेका शेरचनले तत्कालीन नेकपा नफुटेको भए बाग्लुङबाट चुनाव लड्ने तयारी गरेका थिए । प्रभु बैंकका पूर्वअध्यक्षसमेत रहेका नेकपा एमालेका सांसद् देवीप्रकाश भट्टचनसँग शेरचनको पारिवारिक नाता छ । भाटभटेनी सुपर मार्केट सञ्चालक व्यवसायी मिनबहादुर गुरुङसँग शेरचनको घनिष्ट सम्बन्ध छ ।

मिनबहादुर गुरुङ देउवाका विश्वासपात्र मानिने कांग्रेस कोषाध्यक्षसमेत रहेका व्यवसायी उमेश श्रेष्ठका साझेदार हुन् । उमेश श्रेष्ठ कांग्रेस केन्द्रीय सदस्यसमेत रहेका नेपालका एकमात्र अर्बपति विनोद चौधरीका साझेदार हुन् । त्यतिमात्रै होइन गुरुङ चन्द्र ढकालका पनि व्यावसायिक साझेदार एवं घनिष्ठ मित्र हुन् । एमालेलाई अर्ब रुपैयाँभन्दा बढी मूल्य पर्ने जग्गा दान दिएका गुरुङले गभर्नरमा गर्ने लविइङले ठूलो अर्थ राख्छ । अर्थात् गुरुङको प्रस्तावलाई ओलीले नकार्न नसक्ने विश्लेषण गर्दै गभर्नरका आकांक्षीहरुले गुरुङसँग सम्बन्ध स्थापित गर्दै आफ्नो पक्षमा लविइङ गरिदिन आग्रह गर्दै आएका छन् । यद्यपि, अहिलेसम्म गुरुङ मौन देखिन्छन् ।

शेरचनले प्रभु फाइनान्सलाई विकास बैंक हुँदै ग्रान्ड, किष्ट र सेन्चुरी बैंकजस्ता बिग्रिएका संस्थाहरुलाई मर्ज गरेर सफल व्यवस्थापनको कमान्ड अहिलेसम्म पनि गरिरहेका छन् ।

बैंकरलाई गभर्नर बनाउँदा अर्थतन्त्र राम्रो हुन्छ भन्ने कुरामा प्रधानमन्त्री ओली विश्वस्त भए भने शेरचनले गभर्नरको बाजी मार्ने प्रबल सम्भावना छ ।

१०, सन्तोष कोइराला

गभर्नर बन्ने दौडमा बैंकर सन्तोष कोइराला पनि अग्रस्थानमा देखिएका छन् । माछापुच्छ्रे बैंकमा दोस्रो कार्यकालका लागि प्रमुख कार्यकारी अधिकृतका रुपमा कार्यरत कोइराला २०८१ पुसमा वाणिज्य बैंकहरुको छाता संगठन नेपाल बैंकर्स संघको अध्यक्ष निर्वाचित भए ।

पछिल्ला केही सातादेखि राष्ट्र बैंकका कर्मचारीहरु बैंकका सीईओलाई गभर्नर बनाउनु हुँदैन भन्ने तीव्र लबिइङमा छन् । तर सरकारले बैंकका सीईओलाई गभर्नरको जिम्मेवारी दिने निर्णय गरेको अवस्थामा कोइराला निकै बलिया उम्मेद्वार हुन् ।

कांग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघको राजनीतिसमेत गरेका कोइराला कांग्रेसको भागमा गभर्नर आएमा स्वाभाविकरुपमा बलिया दाबेदार हुन् । किनभने, कांग्रेस नेताहरु कृष्ण सिटौला, नारायण खड्का, महामन्त्रीद्वय गगन थापा, विश्वप्रकाश शर्मा, स्वास्थ्यमन्त्री प्रदिप पौडेल, कांग्रेस कोषाध्यक्ष उमेश श्रेष्ठ, नेता ज्ञानेन्द्रबहादुर कार्की, शेखर-शशांक कोइराला र राष्ट्रपति रामचन्द्र पौडेलसँग कोइरालाको विषेश सम्बन्ध छ । सभापति शेरबहादुर देउवासँग पनि कोइरालाको राम्रो सम्बन्ध छ । कोइराला खानदानी कांग्रेस मात्रै होइनन्, स्वयं कांग्रेसको राजनीतिमा सक्रिय भएका व्यक्ति हुन् ।

त्यतिमात्रै होइन, एमाले नेताहरुसँग पनि कोइरालाको गज्जबको सम्बन्ध छ । झापा स्थायी घर भएका कोइरालाको एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीसँग पनि राम्रो सम्बन्ध छ । कोइराला एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलका ज्वाईं हुन् । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. युवराज खतिवडासँग पनि कोइरालाको गज्जबको सम्बन्ध छ । तसर्थ, कांग्रेसले कोइरालाको नाम गभर्नरका लागि प्रस्ताव गरेको अवस्थामा उनका लागि एमालेले अवरोध नगर्ने सहजै अनुमान लगाउन सकिन्छ ।

२७ वर्ष बैंकिङको अनुभव भएका कोइराला कम्प्लाइन्स (अनुपालना)मा आधारित बैंकिङ अभ्यास गर्दै आएका छन् । २०४५ सालमा एसएलसी उत्तीर्ण गरेपछि इन्जियर बन्ने योजनालाई मूर्तरुप दिन काठमाडौं आएका कोइरालाले अमृत साइन्स क्याम्पस (अस्कल)बाट आइएस्सी पास गरे । त्यसबेला उनी अहिलेका स्वास्थमन्त्री प्रदिप पौडेलसँगै नेविसंघको राजनीतिमा सक्रिय थिए ।

पुल्चोक इन्जिनियरिङ क्याम्पसमा प्रवेश परीक्षा छुटेपछि इन्जिनियर बन्ने सपनाले बिसर्जन लियो र उनी झापा फर्किएर मेची बहुमुखी क्याम्पसमा बीकम पढ्न थाले । त्यसबेला उनले अहिलेका कांग्रेस महामन्त्री विश्वप्रकाश शर्माको समितिमा बसेर नेविसंघको सक्रिय राजनीति पनि गरेका थिए ।

२०४८ सालमा बिकम टप गरे र काठमाडौं फर्किएका उनले शंकरदेव क्याम्पसबाट एमबीएसम्मको अध्ययन पूरा गरेका छन् । सन् १९९९ मा बैंक अफ काठमाण्डूमा जुनियर असिस्टेन्टबाट करिअर सुरु गरेका कोइरालाले सानिमा बैंकमा १३ वर्ष काम गरे।

टिम वर्कमा काम गर्न रुचाउने कोइरालाले नैतिक चरित्रमा प्रश्न गर्ने ठाउँ दिएका छैनन् । उनी पनि गभर्नरका बलिया दाबेदार हुन्।

११, अर्जुन कार्की

पूर्वसचिव अर्जुन कार्की नेपाल विद्युत प्राधिकरणमा दुईपटक प्रबन्ध निर्देशकको रुपमा काम गरिसकेका व्यक्ति हुन् । विद्युत प्राधिकरणका वर्तमान प्रवन्ध निर्देशकलाई सरकारले ‘तपाईंलाई किन पदबाट नहटाउने?’ भनेर स्पष्टीकरण सोधिसकेको छ ।

कांग्रेस सभापति शेरबहादुर देउवापत्नी समेत रहेकी पराराष्ट्रमन्त्री आरजु देउवाले कार्कीलाई प्राधिकरणको प्रवन्ध निर्देशक नियुक्ति गर्ने बचन दिएको देउवानिकट कांग्रेस नेताहरु बताउँछन् ।

तर प्रधानमन्त्री केपी ओलीले पूर्वप्रबन्ध निर्देशक हितेन्द्रदेव शाक्यमाथि अन्याय भएको भन्दै फेरि प्राधिकरणमा नियुक्ति गरेर गुन तिर्नपर्ने आफू निकटस्थहरुलाई बताउने गरेका छन् । डेडिकेटेड ट्रंकलाइन विवादलाई ओलीले इगो बनाएका कारण प्राधिकरणमा शाक्यलाई नै ल्याउन चाहेकाले प्राधिकरणमा कार्कीको सम्भावना कम भएको आँकलन गरिएको छ । प्राधिकरण एमालेको भागमा परे गभर्नर कांग्रेसको भागमा पर्ने प्रवल सम्भावना छ । यस्तो अवस्थामा आरजु र शक्तिशाली व्यापारिक घरानाको उम्मेद्वारका रुपमा कर्कीलाई गभर्नरका लागि कांग्रेसले अघि बढाउन सक्ने ठूलो सम्भावना छ ।

२०६३ सालमा सिंचाई विभागमा कार्यरत हुँदा कार्कीलाई विद्युत प्राधिकरणको प्रबन्ध निर्देशकको जिम्मेवारी दिइएको थियो । त्यतिबेला उनी ट्रान्सफर्मर खरिद प्रकरणमा समेत मुछिएका थिए । ट्रान्सफर्मर खरिदमा अख्तियारले मुद्दा चलाए पनि उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख आयुक्त लोकमान सिंह कार्कीले जोगाएको बताइन्छ । लोकमानसँग अत्यन्त निकट सम्बन्ध भएका कारण ट्रान्सफर्मर घोटालामा कार्की मुछिने भएकाले सबैभन्दा कमसल ट्रान्सफर्मर खरिदको फाइलमा अख्तियारले हातै हालेन ।

२०७० भदौमा कार्की पुन: प्राधिकरणको प्रबन्ध निर्देशक बनेका थिए । खुला प्रतिस्पर्धाबाट नियुक्त गरिएका रामेश्वर यादव भ्रष्टाचारमा मुछिएपछि खाली भएको प्रबन्ध निर्देशक पदमा उनलाई १० महिनाका लागि दोस्रो पटक नियुक्त गरिएको थियो ।

त्यसपछि सचिवमा बढुवा भएर उनी शहरी विकास मन्त्रालय पुगेका थिए । त्यहाँबाट भौतिक पूर्वाधार तथा यातायात मन्त्रालय सरुवा भए । त्यहाँबाट नेपाल ट्रष्टको कार्यालय पुगेका थिए । उनी २०७६ साउन २१ गते सचिवबाट रिटार्यड भए । कार्की उच्च निर्णय क्षमता भएका व्यक्ति हुन् ।

१२, रविन्द्र पाण्डे

कांग्रेसको कोटाबाट राष्ट्र बैंकको सञ्चालक समिति सदस्य नियुक्त भएका रविन्द्र पाण्डे पनि राष्ट्र बैंकका पूर्वकार्यकारी निर्देशक हुन् । नुवाकोट स्थायी घर भएका पूर्वअर्थमन्त्रीद्वय डा. रामशरण महत र डा. प्रकाशशरण महतसँग निकट पाण्डे पछिल्लो समय आरजु देउवासँग राम्रो सम्बन्ध रहेकाले कांग्रेसका भागमा गभर्नर परे गभर्नरको बलियो दाबेदार हुन् । ६० को दशकको अन्त्यतिर राष्ट्र बैंककको कार्यकारी निर्देशकबाट अवकाश भएका पाण्डे उमेरले ६५ वर्ष नाघिसकेका छन् । राजेन्द्र किशोर क्षेत्री वा रविन्द्र पाण्डेका लागि अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधन अर्थमन्त्रालयले गायब बनाइएको हुनसक्ने धेरैको आँकलन छ ।

राष्ट्र बैंकको आर्थिक अनुसन्धान र सुपरिवेक्षण विभागको प्रमुख भएर काम गरेको उनले अवकाशपछि राष्ट्रिय वाणिज्य बैंकको अध्यक्ष भएर पनि काम गरे । उनले ग्रामिण विकास लघुवित्त (साविकको ग्रामिण विकास बैंक) अध्यक्ष र नागरिक लगानी कोषको सञ्चालक पनि भएर काम गरे । पछिल्लो २२ महिनादेखि राष्ट्र बैंकको सञ्चालक रहेका पाण्डेसँग नेपाल धितोपत्र बोर्डको सञ्चालकको रुपमा पनि काम गरेको अनुभव छ ।

राष्ट्र बैंकका पूर्वकर्मचारी गभर्नर बन्नु हुँदैन भन्ने लविइङ बलियो भएको अवस्थामा र अर्थमन्त्रालय सम्वद्ध निकायहरुको पदाधिकारी तथा सदस्य नियुक्ति सम्बन्धी मापदण्ड २०७३ को पहिलो संशोधनमा ६५ वर्षको उमेरहदले पाण्डेलाई अफ्ठ्यारो पार्न सक्छ । यद्यपि, सरकारले पाण्डेलाई गभर्नर बनाउन चाह्यो भने मापदण्ड संशोधन गर्नुपर्छ ।