
काठमाडौं । ठमेलमा रहेको ठमेल प्लाजा होटल एन्ड सुइटले चालु आर्थिक वर्षको ६ महिनामा पौने १२ करोड रुपैयाँको व्यापार गरेको छ । कम्पनीले चालु आवको ६ महिनाको अवधिमा ११ करोड ८० लाख रुपैयाँको व्यापार गरेको हो ।
कम्पनीले गत आवमा २८ करोड ६० लाख रुपैयाँ, सन् २०२४ मा २७ करोड १० लाख रुपैयाँ, सन् २०२३ मा २३ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा ११ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो ।
कम्पनीको व्यापार गत आवमा ६ प्रतिशतले बढेको छ । त्यसैगरी कम्पनीले गत आवमा १२ करोड ४० लाख रुपैयाँ खुद नाफा कमाएको छ । सन् २०२४ मा १ करोड ९० लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनील ५ करोड २० लाख रुपैयाँ लागतको जग्गा बिक्री गरेकाले नाफा बढेको उल्लेख छ । होटलको प्रतिकोठाको मूल्य गत आवमा घटेको छ । सन् २०२४ मा प्रतिकोठाको मूल्य २ हजार ६ सय ६५ रुपैयाँ रहेकोमा गत आवमा घटेर २ हजार ४ सय ३६ रुपैयाँ कायम गरेको होटलले जनाएको छ । त्यस्तै, चालु आवको ६ महिनाको अवधिमा अकुपेन्सी क्षमता ६४ प्रतिशत रहेको छ।
सन् २०१२ मा स्थापना भएको कम्पनी सन् २०२३ मा मात्रै पब्लिक कम्पनीमा परिणत भएको थियो । कम्पनीले रमडा इन्कोर काठमाडौं ठमेल ब्रान्डमा चार तारे होटल सञ्चालन गर्दै आएको छ । ठमेलमा १ हजार १ सय ७० स्क्वारमिटर क्षेत्रफलमा फैलिएको होटलमा ९० वटा कोठाको सुविधा छ ।
सन् २०२१ बाट व्यवासायिक कारोबार सुरु गरेको कम्पनीमा जगन्नाथ ज्ञवालीको १२ प्रतिशत स्वामित्व छ । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५२ करोड ८३ लाख रुपैयाँको रेटिङ गराएको हो ।








प्रतिक्रिया