
काठमाडौं । भारतको विकानेरवाला फुड्स प्रालिसँगको संयुक्त लगानीमा सनवारिया फुड्स एन्ड स्न्याक्स प्रालिले नेपालमै बिकानो ब्रान्डको स्न्याक्स उत्पादन गर्ने भएको छ ।
सन् २०२२ मा स्थापना भएको यो कम्पनीले भुजिया, नम्किन, पफ कर्न/एक्सट्रुडेड स्न्याक्स, आलु चिप्स, दालबाट बनेका स्न्याक्स, मिठाई तथा फ्रोजन फुडलगायतका खाद्य पदार्थहरू उत्पादन गर्ने जनाएको छ ।
नेपालको ग्लोबल इन्डिष्ट्रियल पार्क प्रालि (नाथ ग्रुपको ८० प्रतिशत स्वामित्व) र भारतको बिकानेरवाला फुड्स प्रालिको (२० प्रतिशत) बीचको संयुक्त लगानीमा सञ्चालन हुनेछ ।
भारतमा सन् १९८८ देखि बिकानो ब्रान्डमा विभिन्न खाद्य वस्तुहरूको उत्पादन तथा वितरण गर्दै आएको छ । साथै, कम्पनीले बिकानेरवाला ब्रान्डमा क्विक सेवा रेष्टुरेन्ट पनि सञ्चालन गर्दै आएको छ ।
नेपालले विगत लामो समयदेखि बिकानो ब्रान्डको स्न्याक्स आयात गरी बजारमा बिक्री वितरण गर्दै आएको छ । तर, सनवारिया कम्पनीले ७७ करोड ९० लाख रुपैयाँ लगातमा उद्योग निर्माण गरी नेपालमै उक्त स्न्याक्सको उत्पादन सुरु गर्ने तयारी गरेको हो ।
कम्पनीले उद्योग निर्माण गर्न ऋण–इक्विटी अनुपात ७५ः२५ राखेको छ । उच्च ऋणमा आधारित पुँजीगत लगानीका कारण कम्पनीको गियरिङ स्तर तथा ऋण कवरेज क्षमता प्रारम्भिक वर्षहरुमा दबाबमा रहनेछ ।
कम्पनीको सन् २०२५ को नोभेम्बरसम्ममा उत्पादन प्लान्टको वित्तीय प्रगति ५४ प्रतिशत भएको जनाएको छ । कम्पनीले आंशिक रुपमा सन् २०२६ को जनवरीबाट कारोबार गर्ने योजना बनाएको थियो । साथै, सन् २०२६ को मार्चबाट पूर्ण क्षमतामा कारोबार गर्ने जनाएको थियो । तर निर्धारित समयमा र लागत केही पर धँकेलिने देखिएको छ ।
प्लान्ट निर्माणको लागि वित्तीय स्रोत व्यवस्थापनसम्बन्धी जोखिम रहेको छ । हालसम्ममा ऋणको २३ प्रतिशत सुनिश्चित हुन बाँकी छ भने इक्विटीको ५१ प्रतिशत लगानी गर्न बाँकी रहेको छ ।
कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि एक अर्ब रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ७० लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ३० लाख रुपैयाँको रेटिङ गराएको हो ।





प्रतिक्रिया