
जेए होल्डिङ प्रालिका कार्यकारी उपाध्यक्ष जेन श्रेष्ठ जेनजी विद्रोहपश्चात् नेपाली निजी क्षेत्रले भोग्नुपरेको बहुआयामिक संकट र आगामी अपेक्षालाई प्रस्तुत अन्तार्वार्तामार्फत् उजागर गर्छन् । श्रेष्ठका अनुसार प्रदर्शनले भौतिक पूर्वाधारमा मात्र नभई व्यवसायीहरूको मनोबल, लगानीको वातावरण र मानसिक स्वास्थ्यमा गहिरो चोट पुर्याएको छ । सरकारले गरेका राहतका प्रयासहरू ढिलो भएको टिप्पणी गर्दै उनले समस्याको मुख्य जड खराब शासन व्यवस्था र भ्रष्टाचार भएको औंल्याएका छन् । आगामी फागुन २१ गते हुने निर्वाचनमार्फत आउने नयाँ सरकारले निजी क्षेत्रलाई हेर्ने दृष्टिकोणमा परिवर्तन ल्याउनुपर्ने र पुरानो राजनीतिक नेतृत्वले अवकाश लिएर युवा नेतृत्वलाई मार्गप्रशस्त गर्नुपर्ने उनको ठम्याइ छ ।
जेनजी प्रदर्शनका क्रममा तपाईंले के कस्ता क्षति भोग्नुभयो ?
जेनजी प्रदर्शनका क्रममा धेरै उद्योग तथा व्यवसायमा आर्थिक तथा भौतिक क्षति भए पनि मैले त्यो अवस्था सामना गर्नुपरेन । मेरो व्यापार/आपूर्ति, बैंक/वित्तीय संस्था, पर्यटन, होटल तथा उड्डयन क्षेत्रमा लगानी छ । बागमती प्रदेश केन्द्रित मेरो व्यापार व्यवसाय भए पनि जेनजी आन्दोलनको क्रममा कुनै भौतिक तथा आर्थिक क्षति भएको थिएन ।
तर, निजी क्षेत्रले आर्थिक, जीवन सुरक्षा र मानसिक स्वास्थ्यमा ठूलो क्षति बेहोरेको छ । निजी क्षेत्रले भोगेको आर्थिक क्षतिको पूर्तिसँगै जीवन सुरक्षा र मानसिक स्वास्थ्यको सुनिश्चिततामा पनि ध्यान दिन आवश्यक छ। खराब शासन व्यवस्थाका कारण निजी क्षेत्र पीडित बनेको छ । कुनै पनि विकासोन्मुख देश सामाजिक द्वन्द्वप्रति बढी संवेदनशील हुन्छ र त्यसलाई गम्भीर रूपमा सम्बोधन गर्न आवश्यक छ ।
जेनजी आन्दोलनपछि बैंकिङ र बिमा क्षेत्रमा कस्तो असर परेको अनुभूति गर्नुभएको छ ?
जेनजी आन्दोलनपछि बैंकिङ र बिमा क्षेत्रमा कर्जा असुली थप प्रभावित भएको छ । बैंकमा कर्जाको माग घटेको छ । प्रदर्शनका कारण अधिकांश व्यवसायीहरू लगानी गर्नबाट डराएका छन् । यसको प्रत्यक्ष असर कर्जा प्रवाहमा देखिएको हो । त्यस्तै, प्रदर्शनमा भौतिक क्षति भएकाले बिमा क्षेत्रमा दाबी भुक्तानी बढेको छ ।
जेनजी प्रदर्शनका कारण तपाईंको मनोबलमा कस्तो असर परेको छ ? जेनजी आन्दोलनका कारण लगानीको वातावरण कमजोर भएको जस्तो लाग्छ ?
जेनजी प्रदर्शनले म मात्र नभई अधिकांश व्यवसायीको मनोबलमा ठूलो असर परेको छ । जेनजी आन्दोलनका कारण लगानीको वातावरण धेरै कमजोर भएको छ । उद्योगी तथा व्यवसायीहरूमा तत्कालै लगानी गर्ने मनसाय छैन । नेपालमा स्थिर नीति नहुँदा लगानीको वातावरण निर्माण हुन सकेको छैन । त्यसमाथि समय–समयमा भएका प्रदर्शनले उद्योगी तथा व्यवसायीलाई नै निशाना बनाइरहेका छन् । प्रदर्शनको क्रममा तोडफोड तथा आगजनी हुँदा उद्योगी तथा व्यवसायी निकै आतंकित भएका छन् ।
जेनजी आन्दोलनपछि राहत, क्षति मूल्यांकन, आत्मविश्वास पुनःस्थापना लगायत कार्यमा सरकारको कदमप्रति कतिको सन्तुष्ट हुनुहुन्छ ?
जेनजी आन्दोलनपछि नयाँ सरकार गठन भएको छ । सरकारले आगामी फागुन २१ गते निर्वाचन गर्नुपर्ने बाध्यता छ । अहिले सबैजना निर्वाचनमा केन्द्रित छन् । छोटो समयमा सबै काम गर्न सकिँदैन । आन्दोलनपछि राहत, क्षति मूल्यांकन, आत्मविश्वास पुनःस्थापना लगायत कार्यमा सरकारको कदमप्रति सन्तुष्ट नै छु ।
सरकारले सबै क्षेत्रका व्यवसायीलाई समेट्ने प्रयास गरिरहेको छ । राहत तथा पुनःस्थापना एकैपटकमा परिपूर्ति गर्न सकिँदैन । सरकारले व्यवसायीहरूलाई आश्वासन दिइरहेका छन् । आगामी नयाँ सरकार गठन भएपश्चात् नीतिगत सुधार हुन सक्ने अपेक्षा छ ।
आजको अवस्थामा तपाईं थप लगानी गर्न वा व्यवसाय विस्तार कतिको तयार हुनुहुन्छ ?
विभिन्न कालखण्डमा धेरै प्रदर्शन भए । प्रदर्शनका क्रममा भौतिक तथा आर्थिक क्षति भइरहेको नै थियो । तर, व्यवसायीहरूले प्रदर्शन, आन्दोलन भयो भन्दैमा लगानी गर्न छोडेका थिएनन् ।
अहिलेको प्रदर्शनले पनि धेरै आर्थिक तथा भौतिक क्षति गराएको छ । क्षति भएर व्यापार व्यवसाय नै गर्दिनँ भन्ने अवस्था हुन्न । समयसँगै अवस्था परिवर्तन हुँदै जानेछ । यही अवस्था रहन्छ भन्ने हुन्न । त्यसैले आफ्नो व्यापार व्यवसाय विस्तार गर्न थप लगानी गर्छु ।
भदौ २३ र २४ गतेको जेनजी प्रदर्शनका क्रममा निजी क्षेत्रले कस्तो प्रत्यक्ष (भौतिक) र अप्रत्यक्ष (आर्थिक) क्षति बेहोर्नुपर्यो ?
निजी क्षेत्रले आर्थिक क्षतिका अतिरिक्त जीवन सुरक्षा र मानसिक स्वास्थ्यमा ठूलो क्षति बेहोरेको छ ।
खराब शासन व्यवस्थाका कारण निजी क्षेत्र पीडित छ ।
जेनजी प्रदर्शनले सिर्जित गरेको अनिश्चितताले सुदृढ हुँदै गरेको लगानी वातावरणमा गम्भीर धक्का पुगेको छ । यस परिवर्तनले सकारात्मक परिवर्तन ल्याउनेमा म व्यक्तिगत रूपमा आशावादी छु ।
तपाईंले व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतले महसुस गरेको पोस्ट जेनजी स्ट्रेस के–के छन् ?
वास्तवमा जेनजी प्रदर्शनको नाममा कसैले आफ्नो इर्ष्या पोखेको हुन सक्छ । व्यक्तिगत रूपमा वा आफ्ना कर्मचारीमा वा व्यावसायिक जगतमा डर, सुरक्षा, अनिश्चितताबाट सबै व्यवसायी र उद्योगी आजित छन् ।
जेनजी प्रदर्शनपछि व्यावसायिक वातावरण जोगाउन सरकारले गरेका प्रयासहरू के कस्ता छन् ? र, ती प्रयास कत्तिको प्रभावकारी भइरहेका छन् ?
जेनजी प्रदर्शनले अधिकांश व्यापार व्यवसायमा धक्का पुगेको छ । प्रभावित व्यवसायहरूका लागि कर छुट र भन्सार महसुल छुट प्रदान गरिएको थियो । व्यावसायिक भवनहरू र पूर्वाधारमा व्यापक क्षति भएकाले ऋण पुनःसंरचना तथा सहुलियतपूर्ण कर्जा प्रोत्साहनको व्यवस्था गरिएको छ । तर, यी कार्यहरू ढिलो गतिमा अगाडि बढिरहेका छन् ।
सरकारले शासन व्यवस्थामा सुधार गर्नु सबैभन्दा पहिलो आवश्यकता हो किनकि यही नै सबै समस्याको जड हो । भ्रष्ट अधिकारीहरू मात्र होइन, भ्रष्ट व्यापारिक समुदायमाथि पनि भ्रष्टाचारविरुद्धको कडा कानुन कार्यान्वयन हुनुपर्छ । रोजगारी सिर्जना गर्नुपर्छ र वैदेशिक रोजगारीलाई नै नेपाली आम्दानीको मुख्य स्रोतझैं मान्ने व्यवहार गर्न बन्द गर्नुपर्छ ।
अमेरिका लगायत अन्य पुँजीवादी अर्थतन्त्रहरूले जस्तै व्यवसायलाई राष्ट्रिय रोजगारी सिर्जनाकर्ता र जीडीपीको प्रमुख योगदानकर्ताका रूपमा लिनुपर्छ । अन्ततः राजनीतिक स्थिरता सुनिश्चित गर्नुपर्छ । देशलाई युवा नेतृत्वको खाँचो छ । यी पुराना नेताहरूले अब अवकाश लिनुपर्ने बेला आएको छ ।
भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, व्यवसायी आफैं र अन्य सरोकारवालाबाट के कस्तो पहलको आवश्यकता छ ? वा निजी क्षेत्रमाथि सर्वसाधारणको नकारात्मक मनोवृत्ति (दृष्टिकोण) कसरी बदल्न सकिन्छ ?
माथि भनिएको जस्तै सरकारले सबै क्षेत्रमा भ्रष्टचारविरुद्धको कारवाही गर्नुपर्छ । भविष्यमा निजी क्षेत्रमाथि आक्रमण हुन नदिन वा यस्ता प्रदर्शनबाट निजी क्षेत्रलाई टाढै राख्नका लागि सरकार, सरकारी कर्मचारी, सञ्चारमाध्यम र जनतालगायत सम्पूर्ण समुदायले निजी क्षेत्रप्रतिको नकारात्मक धारणालाई परिवर्तन गर्न आवश्यक छ ।
अन्त्यमा, नेपालमा लगानीमैत्री वातावरण बनाउन कसले कस्तो भूमिका निर्वाह गर्नुपर्ला ?
नेपालमा लगानीमैत्री वातावरण बनाउन सबैभन्दा पहिले सरकारले लगानीमैत्री वातावरण सिर्जना गर्नुपर्छ । त्यससँगै आमनागरिक, व्यवसायी, राजनीतिक र अन्य सबैजनाले आ–आफ्ना स्थानबाट लगानीमैत्री वातावरण बनाउन सहयोग गर्नुपर्छ ।
(प्रस्तुत अन्तर्वार्ता ‘जेनजी विद्रोहपछि लगानीकर्ताको आत्मविश्वास र व्यावसायिक वातावरण’ अध्ययन प्रतिवेदन तयार पार्ने क्रममा सोधिएका प्रश्नहरुमा जेए होल्डिङ प्रालिका कार्यकारी उपाध्यक्ष श्रेष्ठले दिएको जवाफका आधारमा तयार पारिएको हो।)








प्रतिक्रिया