
काठमाडौं । भदौ २४ को जेनजी आन्दोलनका क्रममा निजी क्षेत्रतर्फ सबैभन्दा ठूलो क्षति भाटभटेनी सुपरमार्केटले व्यहोर्यो । देरभर भाटभटेनीका १२ वटा स्टोर र मुख्य गोदाम पूर्णरुपमा ध्वस्त बन्यो । बाँकी ९ वटा स्टोरमा आंशिक क्षति पुगेको थियो ।
मीनबहादुर गुरुङले २०४१ सालमा भाटभाटेनी मन्दिर छेउमै १० बाई १२ को एउटा सानो कोठामा ३५ हजार रुपैयाँ लगानी गरेर एउटा किराना पसल खोले । सामान्य सटर भाडामा लिएर किराना पसल चलाएका उनले त्यसको एक दशकमै नक्सालमै ३ हजार स्क्वायर फिटको भाटभटेनी सुपर मार्केट सञ्चालनमा ल्याउँदै नेपालमा अन्तर्राष्ट्रियस्तरको सुपर मार्केट भित्र्याए । तर, विभिन्न आन्दोलनका क्रममा भाटभटेनी आन्दोलनकारीको निशानामा पर्ने गरेको छ ।
पछिल्लो पटक जेनजी आन्दोलनका क्रममा भएको आगजनी र लुटपाटका कारण भाटभटेनीमा १२ अर्ब रुपैयाँ भन्दा बढीको क्षति पुग्यो । तर, त्यसको तीन महिनापछि भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङले बालुवाटारमा रहेको मुख्य गोदाम पुनः सञ्चालनमा ल्याएका छन् ।
यसै सन्दर्भमा क्लिकमान्डुका रोविन पौडेलले भाटभटेनीका सञ्चालक मीनबहादुर गुरुङसँग कुराकानी गरेका छन्-
जेनजी आन्दोलनका क्रममा तोडफोड भएको र जलाइएको गोदाम पुनर्निर्माण गरेपछि त्यसको गेटमा राखेको एक ब्यानरमा तपाईंले पशुपतिनाथ तर्फ फर्कंदै ‘हे भगवान, मेरो देश नेपालमा यस्तो दिन फेरि कहिल्यै नआओस्’ भनेर पुकार गर्नुभएको देखिन्छ । यसको अर्थ के हो ?
भदौ २४ गते भएको भयानक घटना फेरि कहिल्यै दोहोरिन नपरोस् भन्ने मेरो भावना हो । यति ठूलो क्षति देशमा फेरि नहोस् । र अब राम्रो मात्र गरौं भन्ने एउटा मैले म्यासेज दिन खोजेको हुँ । त्यही कुरा आम जनसमुदायमा पुर्याउन खोजेको हुँ ।
कति भौतिक क्षति भएको आकलन गर्नुभएको छ ?
क्षति धेरै भयो। खुद्रा व्यवसायीको हिसाबले हेर्दा अत्यन्त ठूलो क्षति भयो। हाम्रो देशमा दशैं–तिहार सबैभन्दा ठूलो पर्व हो, र त्यसका लागि मुख्य गोदाममा धेरै सामान भण्डारण गरिएको थियो । केही सामान स्टोरहरूमा पठाइसकिएको थियो । सामान्य प्रचलन अनुसार खुद्रा व्यवसायीले औसत स्टककै बीमा गर्छन् । तर, दशैं–तिहारमा स्टक अलि धरै हुन्छ । त्यो अतिरिक्त स्टकको बीमा गरिएको थिएन । त्यसैले त्यो क्षतिको पूर्ति हुँदैन ।
यद्यपि भाटभटेनीको कुल बीमा १६ अर्ब रुपैयाँभन्दा बढीको छ। १२ वटा स्टोरमा भएको क्षतिमा मात्र १० अर्ब ८६ करोड बराबरको बीमा छ, सामान र भवन सहित । सामान (स्टक) नै झन्डै ४ अर्ब ८० करोडको क्षति छ। भवनतर्फ दाबीको १००% भुक्तानी नहोला । तर हामी नयाँ प्रविधि प्रयोग गरेर हाम्रोतर्फबाट पनि सम्भव भएसम्म मर्मत र रेट्रोफिटिङ जस्ता उपाय अबलम्बन गर्नेछौं ।
क्षति भने धेरै ठूलो छ । भाटभटेनीका स्टोर सार्वजनिक भवन हुन् । ती भवन अझै बलियो बनाउने ठूलो खर्च पर्छ । तसर्थ पनि क्षति सानो छैन ।
जसरी खरानीबाट उठेर फेरि उभिने तपाईं पहिलो व्यवसायी बन्नु भयो । यस्तो ठूलो क्षतिपछि समेत तपाईंलाई अझै नेपालमै लगानी गर्न प्रेरणा के हो ?
सबैभन्दा पहिले, म नेपाली हुँ । नेपाललाई माया गर्नु मेरो कर्तव्य हो । व्यवसायीको भूमिका भनेको रोजगारी सिर्जना गर्नु, सरकारलाई राजस्व दिनु र समाजमा सकारात्मक रूपान्तरण ल्याउनु हो ।

२०७२ सालको भूकम्प, नाकाबन्दी, कोभिड लगायतका सबै संकटमा पनि मैले जिम्मेवार व्यवसायीको रूपमा निभाउनुपर्ने भूमिका निर्वाह गरें ।
भदौ २४ गतेको घटनापछि म उभिन सक्नुको एकमात्र कारण यो हो कि, त्यो दिनलाई मैले चटक्कै बिर्सें । यदि बिर्सिएको थिइनँ भने कि पलायन हुन्थेँ कित डिप्रेसनको सिकार हुन्थेँ वा मेरो मनमा नकारात्मक भावले डेरा जमाउँथ्यो । त्यसैले त्यो दिन मैले बिर्सनै पर्छ । अझै बढी मेहनत गर्नुपर्छ भन्ने आत्मविश्वासले म अघि बढेको छु । यही सोचले यो भवन ७० दिनमै पुनः सञ्चालनमा ल्याउन सकिएको हो ।
एकछिन फेरि भदौ २४ गतेकै दिनमा फर्कौं । त्यो दिनलाई कसरी सम्झनुहुन्छ ?
यो गोदाम छिटो पुनर्निर्माण हुनुको मुख्य कारण नै त्यो दिनलाई बिर्सिनु हो । भदौ २४ ले मलाई चुनौती दियो, मलाई झस्कायो । त्यसलाई जित्नका लागि मैले ८, १०, १२ घण्टा होइन, २३ घण्टासम्म मेहनत गरें ।
४२ वर्षको मेहनतले बनेको संस्था यति ठूलो नोक्सानमा जाँदा निकै पीडा भयो, भन्नै नसकिने पीडा । तर त्यसैलाई जित्नको लागि मैले असाध्यै परिश्रम गरिरहेको छु र अझै गरिरहनेछु ।
भाटभटेनीका दर्जन स्टोरहरू जलाइए । तपाईंलाई के कारण लाग्छ ? तपाईं नै किन निशानामा पर्नु भयो ?
म आफ्नो कर्तव्यबाट कहिल्यै विमुख भएको छैन र हुन पनि सक्दिनँ । तर धेरै नचाहिँदा र अनावश्यक प्रोपोगाण्डाले यस्तो भयो जस्तो लाग्छ ।
एक समय त मलाई ‘माओवादीको पैसा चलायो’ भनेर आरोप लगाए । प्रचण्ड र वैद्य अलग भएपछि ‘मीनबहादुरले सुसाइड गर्यो’, ‘एयर एम्बुलेन्समा सिंगापुर लगियो’ पनि भने । यस्ता झूटा प्रचार बेलाबेला हुन्छ । पछिल्लो पल्ट पनि यस्तै भय ।

यस्ता अनर्गल हल्लाले व्यवसायीमाथि ठूलो घात हुन्छ । अब यस्ता घटनाहरू नदोहोरिऊन् भनेर प्रार्थना गरेको छु ।
म विश्वस्त छु कि नेपाल संसारका सबैभन्दा सुन्दर देशमध्ये एक हो र हाम्रो कालमै अझ राम्रो बन्नेछ ।
अन्त्यमा के भन्न चाहनुहुन्छ ?
हामी सबै सिजर्नशील बनौं । कडा मेहनत गरौं । नागरिकको कर्तव्य दक्षतापूर्वक पूरा गरौं । र, हल्ला तथा नचाहिने प्रोपोगाण्डाको पछि नलागौं । गलत काम नगरौं । सबैलाई मेरो यही आग्रह छ । फेरि पनि भन्न चाहन्छु, ‘हे भगवान ! मेरो देश नेपालमा यस्तो दिन फेरि कहिल्यै नआओस् ।’
फोटो/भिडियो: विभूषणकुमार जोशी







प्रतिक्रिया