बुटवलको तिनाउ नदीमा सिग्नेचर पुल बन्दै, ठेक्का आह्वान

147
Shares

काठमाडौं । पूर्व–पश्चिम राजमार्ग अन्तर्गत बुटवल–गोरुसिङ्गे–चन्द्रौटा खण्डमा पर्ने तिनाउ नदीमा आकर्षक ‘सिग्नेचर पुल’ निर्माणका लागि सरकारले टेन्डर आह्वान गरेको छ ।

चालु आर्थिक वर्ष २०८२/८३ को बजेटमा नारायणी र तिनाउ नदीमा सिग्नेचर पुल निर्माण सुरु गर्ने घोषणाअनुसार तिनाउ पुलका लागि बोलपत्र प्रक्रिया औपचारिक रूपमा अघि बढाइएको हो ।

सडक विभागले शुक्रबार ‘डिजाइन एन्ड बिल्ड’ मोडेलमार्फत पुल निर्माणका लागि बोलपत्र आह्वान गरेको हो । विभागले यसअघि विस्तृत अध्ययन तथा प्रारम्भिक डिजाइनका नमुना तयार गरिसकेको छ ।

हाल विश्व बैंकको आर्थिक सहयोगमा बुटवल–गोरुसिङ्गे सडक विस्तार कार्यान्वयन भइरहेको छ । सोही विस्तार परियोजनाअन्तर्गत तिनाउ नदीमा नयाँ सिग्नेचर पुल बनाइने बताइएको छ ।

सडक विभागका अनुसार तिनाउ नदीमाथि चार लेनको आधुनिक सिग्नेचर पुल निर्माण हुनेछ जसको लम्बाइ करिब २३०–२४० मिटर रहनेछ । पुल बुटवलस्थित चेनेज ५८९–००० क्षेत्रमा पर्नेछ । सिग्नेचर पुलका कारण क्षेत्रको सौन्दर्य अभिवृद्धि भई पर्यटकीय गतिविधि बढ्ने अपेक्षा छ।

हालको पुल नहटाई छेउमै नयाँ संरचना

पूर्व–पश्चिम राजमार्गमा २०३८ सालमा बनेको हालको तिनाउ पुल पुरानो र साँघुरो भइसकेकाले नयाँ पुलको आवश्यकता देखिएको हो । सुरुमा पुरानो पुल भत्काएर नयाँ बनाउने योजना भए पनि यातायात व्यवस्थापनमा समस्या हुने र हालको पुलको आयु बाँकी रहेकाले छेउमै नयाँ पुल निर्माण गर्ने निर्णय गरिएको विभागका उपमहानिर्देशक अर्जुनप्रसाद अर्यालले बताए ।

तिनाउ सिग्नेचर पुलको आर्किटेक्ट डिजाइन भारतको टोटल सिनर्जी कन्सल्टिङ ले तयार पारेको हो भने स्ट्रक्चर डिजाइन स्विस सरकारअन्तर्गतको स्विस डेभलपमेन्ट कोअपरेशनले गरेको छ । डिजाइन तयार गर्न चीन, भारत, स्विजरल्याण्ड र नेपालका पुल विज्ञहरू सहभागी भएका थिए ।

डिजाइनअनुसार पुलको दुवैतर्फ चेक ड्याम निर्माण गरी वरिपरि कृत्रिम ताल निर्माण गरिनेछ । त्यहाँ सन्ध्या आरती, रात्रिकालीन बजार, झिलिमिली बत्ती, क्याफे, हरियाली बगैँचा तथा विश्राम स्थलहरू समेत विकास गरिने प्रस्ताव छ । यसले जितगढी किल्ला, युद्ध संग्रहालय, बुटवल पुरानो बस्ती, स्थानीय मन्दिर–मस्जिद जाने पर्यटकका लागि थप आकर्षण सिर्जना गर्ने अपेक्षा गरिएको छ ।

तिनाउ सिग्नेचर पुलको लागत अहिलेसम्म सार्वजनिक गरिएको छैन । तर सिग्नेचर पुल सामान्य पुलभन्दा धेरै महँगो हुने प्राविधिकहरू बताउँछन्।

हाल बुटवल–गोरुसिङ्गे ५० किलोमिटर सडक विस्तारका लागि चिनियाँ कम्पनी शान्सी कन्स्ट्रक्सन इन्जिनियरिङ ग्रुप कर्पोरेसन र आशिष निर्माण सेवा जेभीले काम थालिसकेका छन्। बाँकी गोरुसिङ्गे–चन्द्रौटा १९ किमि सडकको पनि टेन्डर प्रक्रिया तयारीमा छ । सरकार यो खण्डलाई अधिकतम ‘वन्यजन्तु–मैत्री’ सडकका रूपमा निर्माण गर्दैछ । पूर्वपश्चिम राजमार्गअन्तर्गत नारायणगढ–बुटवल खण्डमा नारायणी नदीमाथि अर्को सिग्नेचर पुलको निर्माण पनि हालै सुरु गरिएको छ ।