सुमेधा एयर सञ्चालन गर्न खोजेका निरज गोविन्दले बैंकको ऋण नतिरेको भन्दै १६ रोपनी जग्गा लिलामीमा

5k
Shares

काठमाडौं । सुमेधा एयर नामक हेलिकप्टर कम्पनी सञ्चालन गर्न लागेका निरज गोविन्द श्रेष्ठले ऋण नतिरेको भन्दै बैंकले उनको नामको १६ रोपनी १० आना जग्गा लिलामीमा चढाएको छ । श्रेष्ठले नेपाल इन्भेष्टमेन्ट मेगा बैंकबाट लिएको ऋण नतिरेका कारण बैंकले सोमबार सम्पत्ति लिलामीको ७ दिने सूचना जारी गरेको छ ।

बैंकले पाल्पा घर भएका र हाल ललितपुर बस्ने निरज गोविन्द श्रेष्ठको नाममा रहेको धितो लिलाम गर्न लागेको हो । श्रेष्ठको नामको जग्गा ललितपुर महानगरपालिका (साविक सुनाकोठी गाविस वडा नं. ९) मा रहेको छ । लिलाममा राखिएका जग्गाहरू विभिन्न २४ वटा कित्ताको रहेको छ ।

एनसेलमा उपेन्द्र महतोबाट २० प्रतिशत सेयर खरिद गरेर टेलिकम क्षेत्रमा ४ वर्ष मात्रै टिकेका निरज गोविन्द श्रेष्ठ नेपालको कर्पोरेट क्षेत्रमा समेत लगानी भएका व्यक्ति हुन् । उनले विभिन्न बैंकमा गरेको लगानी झिकेर हवाई उड्डयनमा केन्द्रित गर्न खोजेकै बेला उनको सम्पत्ति बैंकले लिलामीमा पठाएको हो ।

एनसेल, सानिमा तथा माछापुच्छ्रे बैंकका पूर्वलगानीकर्ता श्रेष्ठ सुमेधा एयर नामक हेलिकप्टर कम्पनीमार्फत हवाई बिजनेशमा प्रवेश गर्न तम्तयार थिए । नेपालको निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीमा विवादमा परेका श्रेष्ठले सुमेधा एयर दर्ता गरेका छन् ।

उनको कम्पनी सुमेधाले इजाजतपत्र (लाइसेन्स)का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयबाट पाइससकेका छन् ।

उनको वायुसेवा कम्पनीले नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष उडान सञ्चालन अनुमति मागेको छ । प्राधिकरणले यो वायुसेवाको आवश्यक कागजात मूल्यांकन गरेर हवाई उडानको अनुमति दिन पार गर्नुपर्ने विभिन्न चरणको प्रक्रिा पार गर्ने क्रममै छ ।

निरज गोविन्द नेपालमा विभिन्न क्षेत्रमा लगानी भएका गैरआवासीय नेपाली हुन् । २०६८ चैत १६ मा उपेन्द्र महतोसँग एनसेलको २० प्रतिशत सेयर स्वामित्व खरिद गरेपछि उनी ४ वर्ष एनसेलमा थिए ।

एनसेल आजिआटा लिमिटेड बनेसँगै प्रवेश गरेका श्रेष्ठसँगै रेनोल्ड होल्ङिङको ८० प्रतिशत सेयर थियो । श्रेष्ठ २०७२ चैत २९ मा आफ्नो स्वामित्वको २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिलाई बिक्री गरेर एनसेलबाट बाहिरिएका थिए ।

एनसेल प्रवेश गर्दा र बाहिरिँदाको सेयरको खरिद बिक्री विवादमा परेपछि श्रेष्ठपनि त्यसमा मुछिए । सरकारले २०८० मंसिर २१ मा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठन गरेको एनसेलको सेयर स्वामित्व खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदनमा निरज गोविन्दमाथि थप छानबिन हुनुपर्ने उल्लेख छ ।

निरज गोविन्द श्रेष्ठले उपेन्द्र महतोसँग एनसेलको २० प्रतिशत सेयर किन्दाको मूल्य र सो रकमको लगानीको स्रोत के हो भन्ने विषयमाथि पनि छानबिन समितिले प्रश्न उठाएको छ । त्यसो त निरज गोविन्दले विदेशी कम्पनीबाट ऋण लिएको २ करोड ३० लाख डलरको छानबिन गर्नुपर्ने विषय महालेखा परीक्षकको ५४ औं प्रतिवेदनमै उल्लेख छ ।