एनसेलमा उपेन्द्र महतोबाट २० प्रतिशत सेयर खरिद गरेर टेलिकम क्षेत्रमा ४ वर्ष मात्रै टिकेका निरज गोविन्द श्रेष्ठ नेपालको कर्पोरेट क्षेत्रमासमेत लगानी भएका व्यक्ति हुन् । उनले विभिन्न बैंकमा गरेको लगानीमसेत झिकेका छन् भने अबको मिसन हवाई उड्डयनमा केन्द्रित गर्न खोजेको देखिएको छ ।

काठमाडौं । नेपालको निजी क्षेत्रको अग्रणी मोबाइल सेवा प्रदायक एनसेलको सेयर खरिद बिक्रीमा गोलमाल गरेर विवादमा आएका निराज गोविन्द श्रेष्ठ हवाई उड्डयन व्यवसायमा प्रवेश गरेका छन् ।
एनसेल, सानिमा तथा माछापुच्छ्रे बैंकका पूर्वलगानीकर्ता श्रेष्ठ सुमेधा एयर नामक हेलिकप्टर कम्पनीमार्फत हवाई बिजनेशमा प्रवेश गरेका छन् । उनको कम्पनी सुमेधाले इजाजतपत्र (लाइसेन्स)का लागि संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आवेदन दिएको छ । उनको आवदेनमाथि पर्यटन मन्त्रालयले आवश्यक अध्ययनपछि इजाजत दिने तयारीमा छ ।
इजाजतका लागि यो वायुसेवाले ५० करोड रुपैयाँ चुक्ता पुँजी कायम गर्ने र २० लाख बैंक ग्यारेन्टी राखेर इजाजतपत्र लिनुपर्छ । मन्त्रालयबाट अनुमति लिएका वायुसेवाले तीनवटा वायुयान सञ्चालन गर्नुपर्छ भने पछिल्लो व्यवस्था अनुसार ५ वर्षभित्र कम्तिमा ५ वटा जहाज संख्या पुर्याउनुपर्छ ।
तोकिएको शर्त पालना गरेर सुमेधाले इजातपत्र लिने तयारी गरिरहेको पर्यटन मन्त्रालयले जनाएको छ ।
उनले कम्पनी दर्ता गरेर दर्ता प्रमाणपत्रको प्रतिलिपिसहित पर्यटन मन्त्रालयमा निवेदन दिइसकेका छन् । हवाई कम्पनीले इजाजतपत्र लिन तोकिएको शर्त करिब पूरा भएको र यो वायुसेवाले मन्त्रालयका उच्च पदस्थ कर्मचारीसँग आफ्नो प्रस्तुतीकरणसमेत दिइकेकाले इजाजतपत्र पाउने आधार सुनिश्चत भइसकेको छ ।
निरज गोविन्द नेपालमा विभिन्न क्षेत्रमा लगानी भएका गैरआवासीय नेपाली हुन् । २०६८ चैत १६ मा उपेन्द्र महतोसँग एनसेलको २० प्रतिशत सेयर स्वामित्व खरिद गरेपछि उनी ४ वर्ष एनसेलमा रहेका थिए । एनसेल आजिआटा लिमिटेड भएसँगै प्रवेश गरेका श्रेष्ठसँगै रेनोल्ड होल्ङिङको ८० प्रतिशत सेयर थियो । श्रेष्ठ २०७२ चैत २९ मा आफ्नो स्वामित्वको २० प्रतिशत सेयर सुनिभेरा क्यापिटल भेन्चर्स प्रालिलाई बिक्री गरेर एनसेलबाट बाहिरिएका थिए ।
एनसेल प्रवेश गर्दा र बाहिरिँदाको सेयरको खरिद बिक्री विवादमा श्रेष्ठ मुछिए । सरकारले २०८० मंसिर २१ मा पूर्वमहालेखापरीक्षक टंकमणि शर्माको संयोजकत्वमा गठन गरेको एनसेलको सेयर स्वामित्व खरिद बिक्री सम्बन्धी छानबिन प्रतिवेदनमा निरज गोविन्दमाथि थप छानबिन हुनुपर्ने उल्लेख छ ।
निरज गोविन्द श्रेष्ठले उपेन्द्र महतोसँग एनसेलको २० प्रतिशत सेयर किन्दाको मूल्य र सो रकमको लगानीको स्रोत के हो भन्ने विषयमाथि पनि छानबिन समितिले प्रश्न उठाएको छ । त्यसो त निरज गोविन्दले विदेशी कम्पनीबाट ऋण लिएको २ करोड ३० लाख डलरको छानबिन गर्नुपर्ने विषय महालेखा परीक्षकको ५४ औं प्रतिवेदनमै उल्लेख छ ।
नेपालको दूरसञ्चार नीति २०६० ले दूरसंचार क्षेत्रमा ८० प्रतिशतसम्म विदेशी लगानी हुने र कम्तिमा २० प्रतिशत नेपाली लगानी अनिवार्य गरेको छ । यो नीतिअनुसार २०६८ मा निरज गोविन्द नेपाली नागरिकको हैसियतले एनसेल भित्रिएको देखिन्छ । तर २०७२ मा उनले सेयर बिक्री गरेर पुँजीगत लाभ कर तिर्दा भने आयकर ऐन बमोजिम गैरवासिन्दाको रुपमा कर तिरेको देखिएको एनसेलको सेयर खरिद बिक्री प्रतिवदेनमा उल्लेख गरिएको छ । उक्त प्रतिवदेनले निरज गोविन्द नेपाली नागरिक हुन् कि गैरआवासीय नागरिक भन्ने विषयमै प्रश्न उठाएको छ । सो विषयमा छानबिन गर्नुपर्ने विषय पनि प्रतिवेदनले औंल्याएको छ । तर प्रतिवेदन भने सरकारले हालसम्म लुकाएरै राखेकाे छ ।
एनसेलको सेयर खरिद बिक्री सम्बन्धी प्रतिवेदनका अनुसार निरज गोविन्दले सुनिभेरा क्यापिटल भेन्चर्सलाई एनसेलको सेयर बिक्री गर्दा ११ अर्ब ३२ करोड रुपैयाँ लाभ भएको र सो वापतको पुँजीगत लाभकर तिरेका छन् । तर सुनिभेरा क्यापिटल भेन्चर्सले भने ३ अर्ब ३१ करोड रुपैयाँ मात्र सेयर लगानी भएको भनेर देखाएको छ । सेयर बिक्री गर्ने र खरिद गर्ने कम्पनीबीचको उक्त रकमबीचक भिन्नताले शंका उब्जिएको भन्दै थप छानबिन गर्नुपर्ने निष्कर्ष निकालिएको छ ।
त्यसो त निरज गोविन्द श्रेष्ठले सानिमा बैंक र माछापुच्छ्रे बैंकमा भएको आफ्नो सेयर स्वामित्वसमेत तीन वर्ष अगाडि नै बिक्री गरिसकेका छन् । आर्थिक वर्ष २०७८/७९ सम्ममा सानिमा बैंकको वार्षिक प्रतिवेदनमा अनुसार यो बैंकमा उनको ४.६३ प्रतिशत सेयर थियो । त्यसअघि २०७७/७८ मा ६.१५ प्रतिशत र २०७६/७७ मा ६.२२ प्रतिशत सेयर स्वामित्व सानिमा बैंकमा निरज गोविन्दको थियो ।
आर्थिक वर्ष २०७८/७९ सम्ममा माछापुच्छ्रे बैंककमा निरज गोविन्दको ०.५३ प्रतिशत सेयर अर्थात ४ करोड ७८ रुपैयाँको सेयर स्वामित्व थियो । त्यसअघि २०७७/७८ मा माछापुच्छ्रे बैंकमा उनको ०.५३ प्रतिशत सेयर (४ करोड ७८ लाख रुपैयाँ)को सेयर स्वामित्व थियो ।
थप ६ वटा वायुसेवा थपिँदै
पर्यटन मन्त्रालयबाट अनुमति लिएर उडान सञ्चालन अनुमति (एओसी)का लागि नेपाल नागरिक उड्डयन प्राधिकरणसमक्ष ६ वटा वायुसेवा कम्पनीले आवेदन दिएका छन् ।
प्राधिकरणबाट अनुमतिको पर्खाइमा रहेका वायुसेवामा ३ वटा हेलिकप्टर र अर्को ३ वटा फिक्स विंग्सका वायुसेवा छन् । हेली एयर नेपाल, सगरमाथा एयर, गगनचुम्बी एयर हेलिकप्टरका रुपमा आउँदै छन् भने डाँफे, गुण र बीबी एयर फिक्स विंग्सका रुपमा नियमति उडानको लागि आउँदै छन् । यसमध्ये डाँफे र गुण आन्तरिक उडानका वायुसेवा हुन् भने बीबी अन्तर्राष्ट्रिय उडानका वायुसेवा हुन् ।
प्रतिक्रिया