विद्युत प्राधिकरणले जारी गर्यो २६ बुँदे सुधारात्मक निर्देशन

0
Shares

काठमाडौं । नेपाल विद्युत प्राधिकरणले विद्युत् वितरण प्रणालीमा देखिएका बारम्बारका अवरोध, असुरक्षित संरचना, बढ्दो चुहावट र बक्यौता महसुलजस्ता समस्या समाधानका लागि २६ बुँदे सुधारात्मक निर्देशन जारी गरेको छ ।

वितरण तथा ग्राहक सेवा निर्देशनालयका नवनियुक्त प्रमुख एवं उपकार्यकारी निर्देशक राजन ढकालले जिम्मेवारी सम्हालेकै दिन प्रादेशिक तथा डिभिजन कार्यालय प्रमुखहरूसँग छलफल गरी स्पष्ट जिम्मेवारी, लक्ष्य र समयसीमासहित यो निर्देशन दिएका हुन् ।

निर्देशनानुसार आपूर्तिको निरन्तरता र विश्वसनीयतालाई पहिलो प्राथमिकतामा राख्दै बढी अवरोध हुने फिडरहरूमा सुधार योजना लागू गरिनेछ भने आगामी दुई महिनासम्म रुखका हाँगा काट्ने, जम्पर कस्ने र जोखिमयुक्त संरचना सुधार्ने विशेष अभियान सञ्चालन गरिनेछ । 

निर्देशनले पूर्वसावधानीमूलक मर्मत, कर्मचारीको कार्य विवरण स्पष्टीकरण, चुहावट नियन्त्रण, ऊर्जा लेखाङ्कन र सडक बत्ती तथा सरकारी निकायको बक्यौता असुलीमा कडाइ गर्ने नीति लिएको छ।  साथै, सुरक्षा मापदण्डको अनिवार्य पालना, योजनाबद्ध विद्युत् कटौतीको पूर्वसूचना र ग्राहकका गुनासा तत्काल सम्बोधन गर्ने व्यवस्थासमेत गरिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठ र ऊर्जा मन्त्रालयको परिणाममुखी कार्यदिशाअनुरूप आएको यो निर्देशनको प्रभावकारी कार्यान्वयन भएमा विद्युत् सुरक्षा, राजस्व असुली र उपभोक्ता सेवाको गुणस्तरमा उल्लेखनीय सुधार आउने अपेक्षा गरिएको छ ।