१२ अर्ब डलर खर्चेर २० बोइङ र १४ एयरबस किन्दै फिलिपिन्स एयरलाइन्स

टाट पल्टिएको अवस्थाबाट कसरी भयो सफल ?

0
Shares

एजेन्सी । बैंकिङ र सुर्तीजन्य पदार्थका टाइकुन लुसियो टानको नियन्त्रणमा रहेको फिलिपिन्स एयरलाइन्सले आफ्नो विमानको आधुनिकीकरणलाई तीव्रता दिँदै २० वटा बोइङ ७८७-१० ‘ड्रिमलाइनर’ र १४ वटा एयरबस ए३५०-१००० लामो दुरीका जेटहरू अर्डर गरेको छ ।

बेलायतमा जारी ‘फर्नबरो इन्टरनेशनल एयर शो’ मा सोमबार भएको सम्झौता अनुसार फिलिपिन्सको ध्वजावाहक एयरलाइन्सले कम्तीमा १५ वटा ड्रिमलाइनर खरिद गर्ने प्रतिबद्धता जनाएको छ भने थप ५ वटा विकल्पमा राखिएको फोर्ब्सले जनाएको छ । मनिलास्थित पीएएलका अनुसार यी विमानहरू सन् २०३१ देखि २०३४ को बीचमा डेलिभरी हुनेछन् ।

मंगलबार फिलिपिन्स एयरलाइन्सले एयरबससँग छुट्टै समझदारी पत्र मा हस्ताक्षर गर्‍यो, जसअन्तर्गत थप ९ वटा एथ्री ३५०- १००० विमानहरू खरिद गरिनेछ र थप ५ वटा किन्ने विकल्प रहनेछ । यी विमानहरूमा रोल्स-रोयस ट्रेन्ट एक्सडब्ल्यूबी-९७ इन्जिनहरू जडान गरिनेछ ।

फिलिपिन्स एयरलाइन्सले यी सम्झौताहरूको वित्तीय विवरण सार्वजनिक गरेको छैन । ‘सिम्पल फ्लाइङ’ को अनुमान अनुसार, बोइङको अर्डरको मूल्य ७.१ अर्ब डलरसम्म हुन सक्छ (एउटा ड्रिमलाइनरको सूचीकृत मूल्य ३५ करोड ५० लाख डलरसम्म हुन्छ, यद्यपि छुटपछि एयरलाइन्सले १५ देखि २० करोड डलर तिर्ने गर्छन्)। त्यस्तै, एयरबसको अर्डरको मूल्य ५.१ अर्ब डलरसम्म पर्न सक्ने अनुमान गरिएको छ ।

कोभिड-१९ महामारीका कारण हवाई यात्रा ठप्प भएपछि कम्पनी ठूलो ऋणमा डुबेको थियो।

डिसेम्बर २०२१ मा अमेरिकामा ‘च्याप्टर ११’ टाट पल्टिएको प्रक्रियाबाट सफलतापूर्वक बाहिर निस्किएपछि फिलिपिन्स एयरलाइन्सले पहिलो पटक बन्ड बिक्री गरेर ३० करोड डलर संकलन गरेको थियो । सोही पुँजीबाट यो ८५ वर्ष पुरानो एयरलाइन्सले आफ्नो विमानको विस्तार र आधुनिकीकरण गर्न लागेको हो ।

च्याप्टर ११’ यस्तो कानुनी प्रक्रिया हो जहाँ कम्पनीले आफू ऋण तिर्न नसक्ने (टाट पल्टिएको) स्वीकार गर्छ, तर व्यवसाय पूर्ण रूपमा बन्द गर्नुको सट्टा ‘पुनर्संरचना’गर्ने मौका पाउँछ । डिसेम्बर २०२१ मा, कम्पनी सफलतापूर्वक यो प्रक्रियाबाट बाहिर निस्कियो । यस क्रममा उसले २ अर्ब डलरभन्दा बढीको ऋण घटाउन सफल भयो र नयाँ लगानीकर्ताहरूबाट थप पुँजी जुटाउन सक्यो ।

‘यो लगानीले फिलिपिन्स एयरलाइन्सको भविष्य र हवाई यात्राको निरन्तर वृद्धिमा हाम्रो आत्मविश्वास झल्काउँछ,’ फिलिपिन्स एयरलाइन्स होल्डिङ्सका अध्यक्ष तथा लुसियो टानका नाति लुसियो टान तृतीयले भने, ‘बोइङ ७८७-१० ले हाम्रो मध्यम र लामो दुरीको बेडिलाई बलियो बनाउनेछ, जसले यात्रीहरूलाई उत्कृष्ट अनुभव र सञ्चालनमा दक्षता प्रदान गर्नेछ।’

कम्पनीका अनुसार ७८७ ड्रिमलाइनरहरू जीई एरोस्पेसको जीईएनएक्स-१बी इन्जिनद्वारा सञ्चालित हुनेछन् ।

त्यस्तै, सन् २०३४ देखि २०३६ को बीचमा आउने ए३५०-१००० जेटहरू फिलिपिन्स एयरलाइन्सको लामो दुरीको उडानका लागि ‘फ्ल्यागशिप’ (मुख्य) विमान हुनेछन् । टानका अनुसार, दक्षिणपूर्वी एसियामा यो विमान सञ्चालन गर्ने फिलिपिन्स एयरलाइन्स पहिलो र हालको एकमात्र एयरलाइन्स हो । यसले उत्तर अमेरिकामा एयरलाइन्सको पहुँच विस्तार गर्न मद्दत पुर्‍याएको छ।

हाल ८० भन्दा बढी विमानहरू सञ्चालन गरिरहेको फिलिपिन्स एयरलाइन्सले फिलिपिन्सका साथै एसिया, उत्तर अमेरिका, अष्ट्रेलिया र मध्य पूर्वका ४० अन्तर्राष्ट्रिय गन्तव्यहरूमा उडान भर्दछ । सन् २०२३ मा कीर्तिमानी नाफा कमाए पछि सन् २०२४ देखि यसले आक्रामक रूपमा विमानको विस्तार गरिरहेको छ ।

एयरलाइन्स बाहेक, लुसियो टानको ‘एलटी ग्रुप’मार्फत बैंकिङ, बियर, सुर्ती र घरजग्गा व्यवसायमा ठूलो लगानी छ। फोर्ब्सका अनुसार २.९ अर्ब डलरको सम्पत्तिका साथ टान फिलिपिन्सका सबैभन्दा धनी व्यक्तिहरूमध्ये एक हुन् ।