विश्वकपमा ‘हाइड्रेशन ब्रेक’ को कमाल: विज्ञापनबाटै फक्स स्पोर्ट्सले कमायो ३८ अर्ब

0
Shares

काठमाडौं । यस वर्षको विश्वकप फुटबलमा खेलको बीचमा राखिएको ‘हाइड्रेशन ब्रेक’ विवादित बने पनि प्रसारणकर्ताका लागि भने यो निकै लाभदायक सावित भएको छ ।

अमेरिकामा मात्रै यी छोटा विश्रामहरूका कारण फक्स स्पोर्ट्सले अनुमानित २५ करोड डलर (करीब ३८ अर्ब नेपाली रुपैयाँ) विज्ञापन राजस्व संकलन गरेको छ ।

विवादित विश्राम, करोडौँको फाइदा

सन् २०२५ मा अमेरिकामा भएको फिफा क्लब विश्वकपको चर्को गर्मीलाई ध्यानमा राख्दै फिफाले यसपटक प्रत्येक हाफको बीचमा तीन मिनेटको अनिवार्य ‘हाइड्रेशन ब्रेक’ नियम ल्याएको थियो । खेलको प्रवाह बिथोलेको भन्दै खेलाडी र दर्शकले यसको आलोचना गरे पनि विज्ञापनदाताका लागि भने यो अवसर बन्यो ।

बीबीसी स्पोर्टका अनुसार, फक्स स्पोर्ट्समा ३० सेकेन्डको एउटा विज्ञापन स्लटको मूल्य २ लाख डलर (करीब ३ करोड ४ लाख रुपैयाँ) देखि ३ लाख डलर (करीब ४ करोड ५६ लाख रुपैयाँ) सम्म थियो। अमेरिकी टोलीको खेल र फाइनल चरणका खेलहरूमा त यो दर बढेर प्रति ३० सेकेन्ड ७ लाख ५० हजार डलर (करीब ११ करोड ४० लाख रुपैयाँ) सम्म पुगेको थियो । प्रत्येक खेलमा यस्ता थप ८ वटा विज्ञापन स्लटहरू उपलब्ध गराइएको थियो ।

फक्स वनमा २८ लाख नयाँ ग्राहकको कीर्तिमान

विज्ञापनसँगै स्ट्रिमिङ सेवामा पनि फक्सले ठूलो सफलता हात पारेको छ । स्ट्रिमिङ बजार अनुसन्धान फर्म ‘एन्टेना’का अनुसार, जुन महिनामा मात्र २८ लाख मानिसले फक्स वनको सदस्यता लिएका छन्। यो फक्स वनको इतिहासमै एकै महिनामा थपिएका सबैभन्दा धेरै ग्राहक हुन् ।

यसअघि गत जनवरीमा एनएफएल खेलहरूको बेला ११ लाख ग्राहक थपिनु नै उच्च रेकर्ड थियो, जुन महिनाको वृद्धि त्योभन्दा २.५ गुणा बढी हो ।

विशेषतः जुन ११ मा भएको उद्घाटन खेलकै दिन ४ लाख नयाँ प्रयोगकर्ता थपिएका थिए । रोचक कुरा के छ भने, जुन महिनामा थपिएका कुल ग्राहकहरूमध्ये ९३% यस सेवाका लागि पूर्णतया नयाँ थिए ।

फक्सले विश्वकपको अङ्ग्रेजी प्रसारण अधिकारका लागि ४८ करोड ५० लाख डलर (करीब ७३ अर्ब ७२ करोड नेपाली रुपैयाँ) तिरेको थियो । मेक्सिको र दक्षिण अफ्रिका बीचको उद्घाटन खेल विश्वभर १.२ अर्ब मानिसले हेरेका थिए, जसमध्ये ६३ लाखले फक्सका च्यानलहरूबाट हेरेका थिए। यो अमेरिकामा विश्वकप उद्घाटन खेलको इतिहासमै सबैभन्दा बढी हेरिएको टेलिकास्ट हो । स्पेन र अर्जेन्टिना बीचको फाइनल खेल करिब २० लाख मानिसले हेरेको अनुमान गरिएको छ ।

विश्वकप सकिएसँगै अब फक्स वनका लागि यी नयाँ २८ लाख ग्राहकलाई टिकाइराख्नु मुख्य चुनौती बनेको छ । एनएफएलका खेलहरू नोभेम्बर १५ भन्दा अघि सुरु नहुने हुनाले, त्यो अवधिसम्म कति ग्राहकले सदस्यता रद्द गर्छन् भन्नेमा एन्टेनाले चासो देखाएको छ। यद्यपि, नोभेम्बरमा हुने पेट्रियट्स र लायन्सको खेल, थ्याङ्क्सगिभिङ डेको खेल र एनएफसी च्याम्पियनसिपका कारण केही ग्राहकहरू यथावत रहने अपेक्षा गरिएको छ ।