राष्ट्र बैंकको अब बन्ने गभर्नर यस्तो होस्ः पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल

3.3k
Shares

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिनै लाग्दा राष्ट्र बैंकमा कस्तो व्यक्ति गभर्नर बन्ला भन्ने आम चासो छ । अधिकारीको कार्यकाल यही चैत २४ गतेदेखि सकिँदै छ । अहिले उनी अनिवार्य विदामा बसेका छन् ।

गभर्नर बन्न दर्जनौं व्यक्तिहरु दौडधूपमा छन् । अर्थतन्त्रका लागि निकै महत्त्वपूर्ण मानिने मौद्रिक नीति तर्जुमा गर्ने, नोटमा हस्ताक्षर गर्ने मात्रै नभएर अन्तर्राष्ट्रिय एक्पोजरका कारण पनि गभर्नर पद सबैको रोजाइमा पर्ने गरेको छ । पछिल्लो समय त सरकालाई सफल वा असफल बनाउन भूमिका खेल्नसमेत सक्ने भएकाले राजनीतिक रुपमा समेत गभर्नरलाई उच्च महत्त्वका साथ हेरिँदै आएको छ ।

त्यतिमात्रै होइन, पछिल्लो समय गभर्नर पदमा आफू समर्थित व्यक्ति पुर्‍याउन राजनीतिक दल र स्वार्थ समूह निकै सक्रिय छन् । निजी क्षेत्रलाई पनि केन्द्रीय बैंकले लिने नीतिले ठूलो अर्थ राख्छ । त्यसकारण व्यावसायिक घरनाहरु समेत आफू अनुकुलको व्यक्तिलाई गभर्नर बनाउन ठूलै प्रयास गर्दै आएका छन् ।

अर्थतन्त्रको बाह्य क्षेत्र बलियो भए पनि सरकार र राष्ट्र बैंकले विगतमा लिएको नीतिका कारण आन्तरिक अर्थतन्त्र निकै कमजोर अवस्थामा छ । यस्तो संकटपूर्ण अवस्थामा वित्तीय क्षेत्रमा भएको खर्बौं रकम परिचालनमा प्रत्यक्ष नियन्त्रण गर्नसक्ने गभर्नर संकुचित, अर्थशास्त्र नबुझेको, स्वार्थ समूहको वा कुनै अमुक राजनीतिक दलको मात्रै कुरा सुन्ने मान्छे आउला वा अर्थतन्त्र बुझेको डाइनामिक मान्छे गभर्नर बन्ला भनेर सरोकारवालाहरु चिन्तित छ । यसै अवसरमा क्लिकमान्डुले पूर्वगभर्नर डा। चिरञ्जीबि नेपाललाई सोधेको थियो( अहिलेको संकटलाई पार लगाउन कस्तो मान्छे गभर्नर बन्नुपर्छ ?

डा. नेपालको भनाइ जस्ताको त्यस्तै

राष्ट्र बैंकको गभर्नर नियुक्त गर्दा आग्रह वा पूर्वाग्रह राख्नु हुँदैन । आग्रह र पूर्वाग्रह नराखी खोज्ने हो भने गभर्नर बन्न धेरै मानिस योग्य छन् । गभर्नरका लागि अर्थशास्त्री, व्यवस्थापनको ज्ञाता लगायत राम्रा मान्छे नेपालमा जति पनि छन् । उनीहरुले राष्ट्र बैंक चलाउन सक्छन् । त्यसैले राजनीतिक नेतृत्व वा गभर्नर छान्नेले आग्रह पूर्वाग्रह नराखी गभर्नर खोज्नुपर्छ । कुनै पनि राजनीतिक आग्रह पूर्वाग्रह नराखी राष्ट्र बैंकलाई गभर्नर दिन्छु भन्ने सोचले काम गर्नुपर्छ र राम्रो मान्छे ल्याउनुपर्छ । त्यस्तो राम्रो मान्छे राष्ट्र बैंक भित्र पनि छन्, बाहिर पनि छन् । म राष्ट्र बैंक बाहिरबाट गएको भए पनि उल्लेखनीय काम गरेर प्रमाणित भएको व्यक्ति हूँ ।

म गभर्नर भएर राष्ट्र बैंक छिर्दै गर्दा भूकम्प र भारतको नाकाबन्दीले अर्थतन्त्र प्रभावित बनाएको थियो । त्यो बेला अवस्था निकै कठिन थियो । राष्ट्र बैंक भित्रका काविल व्यक्तिहरुलाई उपयुक्त जिम्मेवारी दएिर काम लगाउन म सफल भएकै हूँ ।

शुक्ष्म व्यवस्थापनमा अल्झिइँन, चुक्ता पुँजी बढाउने बोल्ड डिसिजन गरेँ । त्यो बेला पुँजी बढाउने नीतिको धेरैले विरोध गरे । अहिले उनीहरु नै त्यो नीति नआएको भए त बैंकहरु डुब्ने रहेछन् भन्छन् । अर्थतन्त्रमा देखिएको अहिलेको सक सनो पुँजी भएका बैंकले थेग्न सक्ने थिएनन् । साथै मैले समस्याग्रस घोषणा गरी कोमामा रहेका १६ वटा संस्थालाई पुनर्जीवन दिँदै राष्ट्र बैंकमा रहेको समस्याग्रस्त विभाग नै खारेज गरीदिएँ । भूकम्पले भत्काएका राष्ट्र बैंकका संरचनाको पुनर्निमार्ण गर्न अर्बौं खर्च गर्दा कुनै विवाद भएन । गभर्नर र डेपुटी गभर्नर निवास पनि बनाउन सुरु गरेँ । मेरा पालामा वित्तीय पहुँचमा पनि राष्ट्र बैंकले ठूलो फड्को मार्यो भने निजी क्षेत्र र अर्थतन्त्र पनि फ्लोरिस भएको इतिहास ताजै छ । आफूले मात्रै नाफा कमाउनु हुँदैन समाजलाई पनि नाफाको भागिदार बनाउनु पर्छ भनेर कर्पोरेट सोसियल रेस्पोन्सबिलिटी सुरु गरेँ भने सञ्चालक र कर्मचारीको तालिममा अनिवार्य खर्च गर्नुपर्ने सीमा नै तोकिदिएँ । यी सबै कामले बैंकिङ क्षेत्र निकै बलियो बनेको छ ।

त्यो बेला राष्ट्र बैंकमा मसँगै काम गरेका काबिल साथीहरु हुनहुुन्छ । गभर्नर ल्याउँदा राष्ट्र बैंकभित्र र बाहिर भनिरहनु पर्दैन । सबै दक्ष, योग्य हुनुहुन्छ । दक्ष र योग्यलाई नेतृत्वले छान्नुपर्छ । नियुक्ति गर्नेले यत्ति कुरा ख्याल गरे पुग्छ । र गभर्नर बन्न चाहनेले पनि आफ्नो व्यक्तिगत स्वार्थ नराखिदिए पुग्छ । बोल्ड डिसिजन गर्ने क्षमता चाहिन्छ । अर्थतन्त्र राम्रो बन्यो भने सबैको राम्रो हुन्छ ।