गभर्नर नियुक्तिको मुखैमा ओलीको सन्देश: महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव बनाउने मै हुँ

3.4k
Shares

काठमाडौं । केही दिन अघि राजधानीमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले भने, ‘हामीले राष्ट्रपति महिला बनायौं । प्रधानन्यायाधीश महिला बनायौं । कतिपय देशले यो उपलब्धि हासिल गर्न सकेका छैनन् । महिला सभामुख बनायौं । महिला रक्षामन्त्री बनायौं । इट्स नट अ जोक । भर्खरै सुरु भएको संघीय प्रणालीमा मुख्यमन्त्री महिला बनाइसक्यौं । ब्युरोक्रेसीको टपमा अर्थात् मुख्यसचिव महिला बनायौं । संयोगवश भनौं वा प्रयासस्वरुप भनौं, यी सबै बनाउँदा मै पर्दो रहेछु, प्रधानमन्त्री ।’

नेपाल उद्योग परिसंघले आयोजना गरेको महिला नेतृत्व सम्मेलनमा प्रधानमन्त्री ओलीको बोलीसँगै सभाहल गुञ्जियो । खासखुस कुरा हुन थाले ।

देशका विभिन्न निकायको नेतृत्व र उच्च ओहोदमा महिला पुगिसकेको भए तापनि अहिलेसम्म महिला प्रधानमन्त्री, प्रहरी तथा सेना प्रमुख, केन्द्रिय बैंकका गभर्नर आदि केही भुमिकामा महिला पुगेका छैनन् ।

आफ्नै पालामा राष्ट्रपतिदेखि मुख्यसचिवसम्म महिला बनाएको दाबी गरेको प्रधानमन्त्री ओलीले थप भने, ‘एक्लै टप्लक्क राष्ट्रपतिमा महिला पुग्दैन, यदी महिला सशक्तिकरण छैन भने । महिला सहभागिताको राम्रो स्थिति छैन भने ।’ उनले हाम्रो समाज महिलाहरुको प्रतिस्पर्धात्मक क्षमता बढेको पनि बताए ।

वर्तमान सत्ता समीकरणमा एकातिर महिला प्रधानमन्त्रीको कुरा उठिरहेको र अर्कातिर केन्द्रिय बैंकको रिक्त हुन लागेको गभर्नर पदमा महिला आकांक्षी समेत रहेको परिवेशमा ओलीको भनाईलाई अर्थपूर्ण रुपमा हेरियो ।

गभर्नर पद राजनीतिक नियुक्तिमध्ये ग्लामरस पद हो । संवैधानिक निकाय प्रमुख, राष्ट्रिय योजना आयोगका उपाध्यक्ष र सदस्यपछि पोर्टफोलियोमा माथि रहेको पद पनि हो ।

भर्खरै प्रहरीको महानिरीक्षक नियुक्त गरेको सरकारले चैत २४ गतेदेखि खाली हुन लागेको गभर्नर पनि नियुक्त गरिहाल्नुपर्ने स्थिति छ ।

सत्ता समीकरणका दुई राजनीतिक दलहरु नेपाली कांग्रेस र नेकपा एमालेबीच भागबण्डामा गभर्नर कसको पोल्टा पर्ने हो टुंगो छैन ।

गभर्नरको दौडमा यी दुई राजनीतिक दलनिकट दर्जन बढी प्रत्यासी छन् । तीमध्ये नेकपा एमाले निकट दुई डेपुटी गभर्नर नीलम ढुंगाना तिम्सिना र बमबहादुर मिश्र अग्रस्थानमा छन् ।

एमाले निकट नै बैंकर अशोक शेरचन तथा राष्ट्र बैंकका कार्यकारी निर्देशक प्रकाशकुमार श्रेष्ठ छन् ।

यसैगरी कांग्रेस निकट राष्ट्र बैंकका सञ्चालक रवीन्द्र पाण्डे, राष्ट्र बैंकका कार्यकारी निर्देशक गुणाकर भट्ट, बैंकर ज्ञानेन्द्र ढुंगाना आदि प्रतिस्पर्धामा छन् । यसैगरी केही बैंकर, पूर्व प्रशासक र दुवै राजनीतिक दल निकट रहेका व्यक्तिहरु तीब्र लबिङमा छन् ।

यस्तो परिस्थितिमा प्रधानमन्त्री ओलीको सो अभिव्यक्तिलाई निकै अर्थपूर्ण रुपमा हेरिएको छ किनकी प्रधानमन्त्री ओलीले यसअघि नेपालमा महिला प्रधानमन्त्री बनाउने बताएका थिए ।

उनले भनेका थिए, ’म महिला प्रधानमन्त्री बनाउन चाहन्छु, तर त्यसका लागि केही तयारी गर्नुपर्छ । दुई महिना, तीन महिना वा अर्को सालमै महिला प्रधानमन्त्री बनाइहाल्छु भन्न मुश्किल हुन सक्छ । तर छिट्टै यसका लागि तयारी गर्ने विषयमा सोचिरहेको छु ।’

ओलीले त्यतिबेला पनि आफू महिलाको हितका लागि सधैं सक्रिय रहेको दाबी गर्दै पहिलो महिला राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुख आफ्नै कार्यकालमा नियुक्त भएको बताएका थिए ।

नेपालमा पहिलो महिला राष्ट्रपति विद्यादेवी भण्डारी, पहिलो महिला प्रधानन्यायाधीश सुशीला कार्की र पहिलो महिला सभामुख ओनसरी घर्ती मगर हुन् । यसैगरी भण्डारी पहिलो महिला रक्षामन्त्री पनि हुन् । उनले वर्तमान कार्यकालमा पहिलो महिला मुख्यसचिवका रूपमा लिलादेवी गड्तौलालाई नियुक्त गरेका थिए ।

Skip This