
पछिल्लो समय गभर्नर हुन थैला र थैलीहरु बुझाउनुपर्ने भन्ने हल्ला पनि सुनिन्छ । त्यस्तो काम गरेर गभर्नर भयो भने उसले स्वतन्त्ररुपमा काम गर्न सक्दैन । त्यसरी कसैले पनि गभर्नर नियुक्त हुनु हुँदैन ।
पढेलेखेका योग्य मान्छे बाहिर पनि छन् । पहिल्यैदेखि राष्ट्र बैंकमा काम गरेकाहरु पनि अवकास पाएर बाहिर बसेका छन् ।बहालवाला डेपुटी गभर्नरहरु पनि गभर्नरका लागि योग्य छन् । उनीहरुले अपेक्षा राख्नु स्वाभाविक हो । तर, गभर्नर हुनका लागि कुन तह र कहाँसम्म जाने भन्ने एउटा सीमा हुनुपर्छ । त्यसलाई नाघ्नु हुँदैन । त्यसलाई नाघ्यो भने स्वतन्त्ररुपले राष्ट्र बैंक जस्तो गरिमामय संस्थाले आफ्नो गरिमा कायम गर्न सक्दैन ।
राष्ट्र बैंकको गरिमाको विचार गरेर देशको बिग्रँदो अर्थतन्त्रलाई केही हदसम्म सुधार्न सक्ने व्यक्ति गभर्नर हुनुपर्छ । गभर्नर अलिकति निडर र अनुभवी हुनुपर्छ । वित्तीय, बाह्य र आन्तरिक स्थायित्वलाई ध्यानमा राखेर नेपाल सरकारले बजेटमार्फत् राखेका आर्थिक वृद्धि लगायतका लक्ष्यहरु पूरा गर्नसक्ने व्यक्ति गभर्नर हुनुपर्छ । आर्थिक वृद्धि लगायका लक्ष्यहरु पछिल्लो केही वर्षयता त्यति सकारात्मक देखिएका छैनन् । त्यसलाई पनि सहयोग पुग्ने गरी गभर्नरले काम गर्नुपर्छ ।
गभर्नर निडर र राष्ट्र बैंकको प्रतिष्ठामा आँच आउने कुनै काम नगर्ने व्यक्ति हुनुपर्छ । सरकारको नेतृत्व गर्नेले सुपारी, मरिच, पेस्तादाना लगायतमा डलर खर्च गरेर आयात खुलाउँछन् । त्यसको तस्करीमा पनि उनीहरुकै आफन्त जोडिएको भन्ने खबर सुन्न पाइन्छ । यस्तो परिस्थितिमा राष्ट्र बैंक जस्तो स्वतन्त्र निकायको नेतृत्व गर्ने गभर्नरले अडान लियो भने देश र अर्थतन्त्रलाई पनि केही भरथेग हुन्छ ।
पछिल्लो समय अर्थतन्त्रप्रति कसैको ध्यान नै गएको छैन । माओवादीको द्धन्दको समयमा उक्त द्धन्द समाधान भएपछि अर्थतन्त्रले गति लिन्छ भनेको सुनिन्थ्यो । तत्कालिन समयमा प्रधानमन्त्री हुँदा गिरिजाप्रसाद कोइरालाले पटक-पटक सोही कुरा बोल्नुहुन्थ्यो । माओवादी मुलधारको राजनीतिमा आएको मात्रै नभएर प्रचण्ड आफैले सरकारको नेतृतव गरेपनि अर्थतन्त्रमा ठुलो परिवर्तन केही हुन सकेको छैन ।
शेरबहादुर देउवा, केपी शर्मा ओली पटक-पटक प्रधानमन्त्री हुनुभयो । गिरिजाप्रसाद कोइरालापछि पटक-पटक सरकारको नेतृत्व उहाँहरु ३ जनाले नै गर्नु भएको छ । राम्रो, नराम्रो जे गरेको भएपनि जस उहाँहरुलाई नै जाने हो । अर्थतन्त्रको हालत कुनै पनि तथ्यांकले राम्रो देखाउँदैन । युवाहरु विदेशमा गएर पठाएको रेमिट्यान्सले नै गरिबी निवारण केही सहयोग गरे पनि त्यसबाहेक केही हुन सकेको छैन भन्ने विश्व बैंकको रिपोर्टले पनि देखाएको छ । सोही कारण जनताले परिवर्तन खोजिरहेका छन्। अर्थतन्त्रको अवस्था डामाडोल छ । नेताहरुले पालैपालो मिलेर राज मात्रै गरेका छन् । जनता र अर्थतन्त्रका लागि केही गर्न सकेका छैनन् भन्ने १४/१५ वर्षका केटाकेटीदेखि बुढापाकनले समेत भन्ने गरेकै देखिन्छ ।
नियामकमा योग्य र राम्रो मान्छे लैजाँदा पनि अर्थतन्त्र सुधारमा भूमिका खेल्न छ । कुनै पनि देशको केन्द्रिय बैंकको दायित्व, आन्तरिक स्थायित्व अथात् मूल्य स्थायित्व, बाह्य स्थायित्व अथात् भुत्तानी सन्तुलनलाई हेर्नुपर्ने हुन्छ । त्यसमा असर नपर्ने गरी नेपाल सरकारले बजेटमा उल्लेख गरेको आर्थिक वृद्धिदर लगायतका कार्यलाई राष्ट्र बैंकले सहयोग गर्नुपर्छ ।
राजनीति तरल भएको अवस्थामा यस्ता नियामक निकायमा स्थायी सरकार हुन् भन्ने लाग्छ । हालै सम्पत्ती शुद्धिकरण निवारणमा नेपाल ग्रे लिसटमा परेको छ । यस्तो अवस्थामा स्थायी सरकारको रुपमा नियामकहरुको भूमिका अझै महत्वपुर्ण रहन्छ । देश र अर्थतन्त्रप्रति सजग भएर के कस्तो कार्य गर्नुपर्छ भन्नेमा ध्यान दिएर निष्पक्षरुपमा आगाडि बढ्नसक्ने व्यक्ति नै गभर्नरको लागि उपयुक्त हुन्छ ।
स्व. कृष्ण प्रसाद भट्टराई १० महिनाको लागि प्रधानमन्त्री हुँदा उहाँले मलाई विश्वास गरेर गभर्नर नियुक्त गर्नुभएको हो । नभए म जस्तो ठाडो स्वभाव भएको र राजनीतिक नेतृत्वले काम गर्न गाह्रो भन्ने मान्छेलाई गभर्नर बनाउने अवस्था थिएन । मलाई गभर्नर नियुक्त गर्दा शेरबहादुर देउवाको पनि ठुलो सहयोग थियो । उक्त समयमा पैसा बुझाउन र पद माग्ने चाकडी गर्ने भन्ने थिएन । पछिल्लो १०/१५ वर्षमा जुन पद्दतिको विकास भएको छ । त्यसमा मेरो पूर्ण विमत्ति छ । पहिले नियामक निकायमा नियुक्त गर्न यस्तो विकृति थिएन । अहिले यस्तो नियुक्तमा शिर्ष नेतामात्रै नभएर उनीहरुको परिवारका सदस्यको पनि संलग्नता हुन्छ भन्ने सुनिन्छ । यसमो धेरै दु:ख लाग्छ ।
गभर्नर, निडर, विद्वान, लोभ नभएका, आवश्यकताभन्दा बढी नेतासँगा झुकाव नराख्ने व्यक्ति गभर्नर भएमा त्यसले आफ्नो सञ्चालन स्वायतत्ता कायम राख्न सक्छ । भोलिको दिनमा कुनै नेतृत्वले पोस्ता दाना, मरिच, सुपारी आयात गर्न करोडौं डलर खर्च गर्ने अवस्था आउँदा त्यसमा केन्द्रिय बैंकले अडान लिन सक्नुपर्छ । गभर्नरमा त्यस्तो क्षमता चाहिन्छ ।
राष्ट्र बैंकमा म गभर्नर हुँदा सँगै काम गरेको अर्थशास्त्र बुझेका, चार्टर्ड एकाउन्टेन्डहरु केन्द्रिय बैंकमा काम गरेको लामो अनुभव भएकाहरु धेरै छन् । राष्ट्र बैंकको डेपुटी गभर्नर, कार्यकारी निर्देशकबाट अवकास भएका धेरै व्यक्तिहरु गभर्नरको लागि योग्य छन् । राष्ट्र बैंकमा अहिलका डेपुटी गभर्नरहरु लागयतका राष्ट्र बैंकमा नै लामो अनुभव भएको धेरै व्यक्ति गभर्नर हुन योग्य छन् । यद्यपी उनीहरुले आफ्नो सञ्चालन स्वतन्त्रतालाई बन्धकी राख्नु हुँदैन ।
पैसा लेनदेनको घृणित कार्य गरेर गभर्नर नियुक्त कसैले पनि नलिनुस् । त्यसले राष्ट्र बैंकको गरिमा जोगिँदैन । देशका लागि केही काम गर्न सकिँदैन । ‘जी हजुरी’मै दिन र वर्षहरु वित्छन् ।
प्रतिक्रिया