
काठमाडौं । नेपाल राष्ट्र बैंकको नयाँ गभर्नर छान्न सरकारले यही चैत ११ गते अर्थमन्त्री विष्णु पौडेलको संयोजकत्वमा ३ सदस्यिय सिफारिस समिति गठन गरिसकेको छ । उक्त समितिमा पूर्वगभर्नर विजयनाथ भट्टराई र विज्ञका तर्फबाट राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. विश्व पौडेल सदस्य छन् ।
समितिले केही दिनभित्रै सरकारलाई ३ जनाको नाम सिफारिस गर्नेछ । सिफारिसमा परेका ३ जनामध्ये १ जनालाई सरकारले आगामी ५ वर्षे कार्यकालका लागि गभर्नर नियुक्त गर्नेछ ।
अहिले संसदको ठूलो राजनीतिक दल कांग्रेसको समर्थनमा दोस्रो ठूलो दल एमाले अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री छन् । र, अर्थमन्त्री छन्, एमाले उपाध्यक्ष पौडेल ।
गभर्नर बन्न कांग्रेस र एमालेसँग निकट रहेका दर्जन बढी व्यक्तिहरु तीब्र दौडमा छन् । यही चैत २४ गतेदेखि अहिलेका गभर्नर महाप्रसाद अधिकारीको कार्यकाल सकिँदैछ ।
मौद्रिक नीति तयार गरी कार्यान्वयन गर्न, बैंक तथा वित्तीय संस्थाहरुको नियमन तथा सुपरिवेक्षण गरी आवश्यक कारवाही गर्न र लगानीको वातावरण तयार गर्न अहम् भूमिका खेल्छन्, गभर्नरले । राष्ट्र बैंक प्रमुखका रूपमा गभर्नरले नेपाली मुद्राको निष्काशन, बैंकिङ तथा वित्तीय क्षेत्रको नियमन, निरीक्षण, सुपरीवेक्षण, अनुगमन, मूल्य स्थिरता, विदेशी विनिमय व्यवस्थापन, आर्थिक अनुसन्धान तथा अन्वेषण, बैंकिङ तथा भुक्तानी प्रणालीको विकास लगायतका क्षेत्रमा काम गर्दछन् । राष्ट्र बैंक सरकारको आर्थिक सल्लाहकार पनि हो । राष्ट्र बैंकले निष्काशन गर्ने नेपाली मुद्रा (नोट) मा गभर्नरकै हस्ताक्षर हुन्छ ।
नेपालको अस्थिर राजनीतिक अवस्थामा सरकार र मन्त्री परिवर्तन भइरहन्छन् । यस्तो अवस्थामा गभर्नरको भूमिका अर्थतन्त्रको मुख्य ड्राइभरका रुपमा स्थापित भइरहेको छ । त्यसैले, नयाँ गभर्नरको छनोट प्रक्रिया अघि बढेसँगै सरोकारवालाले कस्तो गभर्नर आउने हो ? भनेर चासो र चिन्ता व्यक्त गर्न थालेका छन् ।
राष्ट्र बैंक गभर्नरको कार्यालय हो । गभर्नर राष्ट्र बैंकको सञ्चालक समितिको अध्यक्ष र व्यवस्थापन प्रमुख दुवै हो । गभर्नरले राष्ट्र बैंकको नियमभित्र रहेर र त्यहाँका कर्मचारीहरुलाई परिचालन गरेर आफ्ना नीति लागू गर्नुपर्छ ।
देशको अर्थतन्त्र अहिले संकटको डिलमा छ । विगतमा प्रवाह गरेको कर्जा असुली नभएका कारण बैंकिङ क्षेत्र ठूलो तनावमा छ। नेपाललाई भर्खरै सम्पत्ति शुद्विकरण निवारणका लागि काम गर्ने अन्तर्राष्ट्रिय संस्था एफएटीएफले ग्रे लिस्टमा पनि राखेको छ । ग्रेलिस्टबाट माथि उठ्न गभर्नरले निकै कठोर भएर काम गर्न सक्नुपर्छ । राजनीतिसँगको अनावश्यक लसपस र शक्ति केन्द्रसँगको हिमचिम भएको गभर्नर नियुक्ति भएको अवस्थामा राष्ट्र बैंकले स्वायत्त भएर काम गर्न सक्दैन ।
यो चुनौतीपूर्ण अवस्थामा कस्तो व्यक्ति गभर्नर बन्ला भन्ने आम चासो भइरहेको सन्दर्भमा क्लिकमान्डुले विशेष शृंखला नै चलाएको छ ।
यसै सन्दर्भमा क्लिकमान्डुले केन्द्रीय बैंकमा कार्यरत तल्ला तहदेखि उपल्लो वा विशिष्ट श्रेणीसम्मका कर्मचारीलाई सोधेको छ, ‘राष्ट्र बैंकका काम/कारवाहीलाई प्रभावकारीरुपमा अघि बढाउन कस्तो गभर्नर चाहिएको छ ?‘ प्रस्तुत छ, उनीहरुको भनाइ जस्ताको तस्तै ।
०००
गभर्नरले सरकार परिवर्तन हुँदा व्यवहार परिवर्तन गर्नु हुँदैन

राष्ट्र बैंक वर्षौंदेखिको पुस्ताले स्थापित गरेको प्रणालीमा चलिरहेको छ। जहाँ कर्मचारीले सिस्टममा काम गरिरहेका छन् । अब नयाँ आउने गभर्नर ज्ञान र क्षमता नपुगेर पोलिसी चेन्ज गर्ने खालको हुनु भएन । राष्ट्र बैंकको राम्रो सिस्टमलाई चलाउन र लिड गर्न सक्ने व्यक्ति गभर्नर हुँदा राम्रो हुन्छ ।
नयाँ गभर्नरले कर्मचारीलाई मिलाएर लैजाने र सरकार परिवर्तन भए पनि त्यस अनुसारको व्यवहार नगर्ने क्वालिफिकेसन क्लियर भएको मान्छे आएपुग्छ । इन्टिग्रिटी राम्रो भएको र वेल म्यानेज गर्न सक्ने, सेन्ट्रल बैंकको रोल बुझेको र त्यसको रिजिममा बस्ने मान्छे आएहुन्छ ।
१८ औं गभर्नर आउने वित्तिकै सबै परिवर्तन भइहाल्छ भन्ने हुँदैन । यसको अर्थ १७ औं वा त्यसअघि बनेका गभर्नरबाट केही काम भएको छैन भन्ने होइन । काम सबैबाट भएको हुन्छ । काम गर्ने क्रममा केही कमजोरी भएका हुन सक्छन् तर त्यस्ता कमजोरीहरुबाट सिकेर थप राम्रो गर्ने व्यक्तिलाई सरकारले गभर्नर बनायो भने केन्द्रीय बैंकको गरिमा थप उचो हुन्छ ।
०००
गभर्नरले कसैको पक्ष-विपक्षमा मौद्रिक औजार प्रयोग गर्नु हुँदैन

अहिले बैंकहरुको एसेट म्यानेजमेन्ट चुनौतीपूर्ण बन्दै गएको छ, बैंकप्रतिको आमरुपमा विश्वास घट्दै गएकोजस्तो देखिएको छ । अर्थतन्त्रको अवस्था यस्तो भएको बेला नयाँ गभर्नरलाई धेरै नै चुनौती छ । त्यसैले बुझेको व्यक्ति गभर्नर बन्नुपर्छ ।
अहिलेको आर्थिक अवस्थामा फेयर व्यक्ति आवश्यक छ । राष्ट्र बैंकलाई बाहिर र भित्रबाट पनि ड्राइभ गर्न सक्ने गुण गभर्नरमा हुनुपर्छ । जे जस्तो भए पनि विषयवस्तुबारे भने नयाँ गभर्नर जानकार हुनैपर्छ ।
अर्थतन्त्रलाई राम्ररी नबुझेको, मनिटरी र सेन्ट्रल बैंकको फङ्सनल चिज नबुझेको व्यक्ति आउँदा त्यसैमा एक/डेढ वर्ष अलमलिने अवस्था बन्न जान्छ । नयाँ गभर्नले कतिपय चिजहरु सिक्दासिक्दै बित्ने भएकाले प्रभावकारी काम नदेखिन सक्छ ।
राष्ट्र बैंकको गभर्नेन्स फरक छ । सरकारी निकायमा थाहा पाउँदापाउँदै कतिपय मन्त्रीले काम गर्न नसक्ने गरेको हामीले देखेका छौं । कतिपयले काम गर्न नसेर पनि हुन सक्छ भने कतिपयले काम गर्न सके पनि सिस्टम बुझ्दाबुझ्दै समय बित्ने गरेको छ । राष्ट्र बैंकमा यस्तो अवस्था बन्नु हुँदैन ।
राष्ट्र बैंक र सेन्ट्रल बैंकिङ बुझेको, अहिलेको आर्थिक अवस्था बुझेको, यसको समस्यालाई मिहिन तरिकाले विश्लेषण गरेर त्यो अनुसार मनिटरी पोलिसी कसैको पक्ष वा विपक्षमा नलागी निर्माण गरी कार्यान्वयन गर्न सक्ने गभर्नर अहिलेको आवश्यकता हो । राष्ट्र बैंकलाई पनि आन्तरिकरुपमा हाँक्ने व्यक्ति गभर्नर हुनुपर्छ । यहाँ हजारभन्दा बढी कर्मचारी छन्, इन्फाइस्ट्रक्चर कमजोर छ, त्यसैले सबै व्यवस्थापन गर्नसक्ने व्यक्ति चाहिन्छ ।
०००
गभर्नरमा सरकारसँग फरक मत राख्दै कन्भिन्स गर्न सक्ने खुबी हुनुपर्छ

गभर्नर कुशल व्यवस्थापक त हुनैपर्यो । सँगसँगै अर्थतन्त्रका सबै पाटोको विशलेषण गर्नसक्ने र समन्वयात्मक रुपमा अगाडि बढाउन सक्ने व्यक्ति पनि हुनुपर्छ । राष्ट्र बैंक नेपाल सरकारको आर्थिक सल्लाहकार हो । राष्ट्र बैंकले सरकारलाई सधैं ‘कन्भेन्सनल’ सुझाव मात्रै दिएर हुँदैन । आवश्यकताअनुसारको अन-कन्भेन्सनल सुझाव दिनसक्ने व्यक्ति गभर्नर चाहिन्छ । केन्द्रीय बैंकको हकमा ‘इन्टिग्रिटी’ अत्यन्त सान्दर्भिक रहन्छ । सरकारले नियुक्त गर्ने गभर्नर ‘टावरिङ पर्सनालिटी’ पनि हुुनुपर्छ।
गभर्नर अर्थशास्त्री त हुँनैपर्छ साथै प्रशासक पनि । आवश्यक पर्दा आफ्नो कुरा निडरताका साथ राख्नुपर्छ किनकी कतिपय अवस्थामा केन्द्रीय बैंकले फरक मत राख्नुपर्ने हुन्छ । सरकारले उदार वित्त नीति ल्याएर ‘मनि सप्लाई’ बढ्ने अवस्थामा त्यसलाई सन्तुलन गर्ने गरी कसिलो मौद्रिक नीति ल्याएर मनि सप्लाई नियन्त्रण गर्ने दायित्व केन्द्रीय बैंकको हुन्छ ।
राजनीतिज्ञहरु कुनै अवस्थामा उदार हुन खोज्छन् । सरकारको वित्त नीति धेरै नै उदार हुँदा केन्द्रीय बैंकले त्यसलाई सन्तुलन गर्ने नीति लिनुपर्छ । वित्त नीति र मौद्रिक नीतिको गाम्भिर्यता बुझेर त्यसका अन्तरसम्बन्ध र स्वतन्त्ररुपमा कार्यान्वयन गर्नसक्ने व्यक्तिलाई गभर्नर बनाउनुपर्छ । आवश्कयताअनुसार सरकारलाई कन्भिन्स गराउने क्षमता पनि गभर्नरमा हुनुपर्छ ।
कर्मचारीको दृष्टिकोण अलि फरक हुनसक्छ । राष्ट्र बैंकलाई एउटा सिस्टममा चलेको संस्था मानिन्छ । केन्द्रीय बैंकमा कर्मचारी प्रशासनको लागि कर्मचारी सेवा विनियमावली छ । त्यसमा सेवासुविधा, सरुवा र बढुवामा एउटा सिस्टम र पद्दति बसिकेको छ। त्यसलाई कार्यान्वयन गर्दा मात्रै पनि पुग्छ । सही व्यक्तिलाई सही जिम्मेवारी दिन सक्ने हो भने प्रशासनिकरुपमा कुनै समस्या हुँदैन ।
०००
राष्ट्र बैंकभन्दा बाहिरबाट आएको गभर्नरले काम गर्न सक्छ

कुशल व्यवस्थापन क्षमता भएको र निर्णय क्षमता राम्रो भएको व्यक्ति गभर्नर नियुक्त हुनुपर्छ । केन्द्रीय बैंकको गतिविधि स्वचालित हुन्छ । केन्द्रीय बैंकको कार्यकारी प्रमुखसमेत रहने गभर्नर प्रशासनिक क्षमता भएको व्यक्ति आउँदा राम्रो हुन्छ ।
गभर्नर अर्थशास्त्रको जानकार त हुनैपर्छ । साथै प्रशासनिक निर्णय क्षमता भएको कुशल व्यवस्थापक पनि हुनुपर्छ । राष्ट्र बैंककै क्याडर भन्दा पनि बाहिरबाट नयाँ मान्छे ल्याउँदा उसले राम्रो काम गर्नसक्छ भन्ने मलाई लाग्छ । किनकी बाहिरबाट आएको व्यक्तिले माइक्रो म्यानेजमेन्टमा लाग्ने भन्दा पनि आफूलाई कसरी काम गरेर प्रमाणित गर्ने भन्ने सोच राख्दछ ।
सबै संरचना बुझेको भन्दा नयाँ मान्छे जसमा निर्णय गर्ने क्षमता पनि प्रबल भयो भने उसले काम गर्न सक्छ । राष्ट्र बैंकमा एउटा सिस्टम रहेकोले प्रणाली बुझेको मान्छै नै चाहिन्छ भन्ने हुँदैन । अर्थतन्त्र बुझ्नु त पहिलो शर्त हो साथै प्रशासनिक कार्यमा राम्रो गर्नसक्ने व्यक्ति नै केन्द्रीय बैंकको गभर्नरको लागि उपयुक्त हुन्छ ।
०००
‘ब्याकवार्ड र फवार्ड’ को नीति नलिने व्यक्ति गभर्नर बन्नुपर्छ

केन्द्रीय बैंक वित्तीय प्रणालीको शाख राख्ने र वित्तीय प्रणाली अर्थतन्त्रकै मियोको रुपमा रहने निकाय हो । वित्तीय प्रणालीमा पुँजीको सुनिश्चितता गर्दै, वित्तीय स्थायित्व कायम गर्दै अर्थतन्त्रलाई समेत सहयोग पुर्याउने निकाय केन्द्रीय बैंक हो ।
केन्द्रीय बैंकको नेतृत्व गर्ने गभर्नर वित्तीय क्षेत्र र अर्थतन्त्रको जानकार र नजिकबाट नियालेको व्यक्ति हुनुपर्छ । राष्ट्र बैंक ऐन, २०५८ ले नै गभर्नर कस्तो हुनुपर्ने भनेर योग्यता तोकेको छ । पछिल्लो समयको परिवर्तित अवस्था, वित्तीय प्रणालीमा आएको उतारचढाव, अर्थतन्त्रमा वित्तीय क्षेत्रमा बढ्दो प्रभुत्वले गर्दा नयाँ गभर्नरले केही विषयमा विचार पुर्याउनुपर्ने देखिन्छ । अब आउने गभर्नर नियुक्त गर्दा सरकारले त्यसलाई ध्यान दिन आवश्यक छ ।
गभर्नर कुशल व्यवस्थापक त हुनैपर्छ भने आन्तरिक र वाह्य दुवै व्यवस्थापनमा गभर्नर पोख्त हुनुपर्छ । मौद्रिक र अर्थतन्त्रको जानकार त हुनैपर्यो । कुशल व्यवस्थापक भएन भने वित्तीय क्षेत्र र केन्द्रीय बैंकको शाख नै डगमगाउने रहेछ । आन्तरिक व्यवस्थापन भनेको केन्द्रीय बैंकको भित्री संरचना, केन्द्रीय बैंकका विभिन्न काम कारवाही पुरा गर्ने र कर्मचारी व्यवस्थापन कसरी गर्ने भन्ने महत्त्वपूर्ण हुन्छ । कर्मचारीलाई कसरी परिचालन गर्ने भन्ने व्यवस्थापकीय रणनीति गभर्नरमा भएन भने काम गर्न सक्दैन।
केन्द्रीय बैंक वित्तीय क्षेत्रको अभिभावक भएकाले वित्तीय क्षेत्रको पनि कुशल व्यवस्थापन गर्न सक्ने गभर्नर हुनुपर्छ । वित्तीय संस्था कति चाहिने, मर्जर, एक्वीजिसन र वित्तीय स्थायित्व कसरी कायम गर्ने भन्ने व्यवस्थापकीय क्षमता गभर्नरमा हुनुपर्छ ।
केन्द्रीय बैंकको मूख्य दायित्व ब्याजदर, तरलता र मूल्य स्थायित्व कायम गर्ने भन्ने हो । त्यसको परिधिमा रहेर माथि उल्लेखित क्षमता अब आउने गभर्नरमा चाहिन्छ ।
केन्द्रीय बैंकभित्रको कर्मचारी व्यवस्थापनमा पनि ‘राइन मेन राइट प्लेस’ र केन्द्रीय बैंकले लिएको उद्देश्य पूरा गर्न सक्नुपर्छ। त्यसका लागि केन्द्रीय बैंकका विभागहरुलाई उचित मार्गनिर्देशन दिनसक्ने व्यक्ति गभर्नर हुनुपर्छ ।
विगतमा सरकारको नेतृत्व, निजी क्षेत्रले पनि केन्द्रीय बैंक र गभर्नरलाई एउटा संस्थानको जस्तै व्यवहार गर्दै आएको थियो । पछिल्लो एक दशकमा भने सबैको ध्यान केन्द्रीय बैंकमा छ । धितोपत्र बजारमा देखिने उचारचढावमा पनि केन्द्रीय बैंकको नीतिको प्रभाव प्रत्यक्ष अप्रत्यक्षरुपमा देखिने गरेको छ । सेयर बजारलाई प्रत्यक्ष नभए पनि पुँजी परिचालनको हिसाबमा पुँजी प्रवाह, तरलता, ब्याजदर जस्ता विषयले पनि सेयर बजार प्रभावित हुने गरेको छ । मुद्रा बजार र पुँजी बजार तथा त्यसका सरोकारवाला पनि केन्द्रीय बैंकको नीतिबाट प्रभावित हुने हुँदा ती सबै क्षेत्रको जानकार, समक्ष र सही व्यक्ति गभर्नर हुनुपर्छ ।
अर्थतन्त्र केही जटिल मोडमा छ । अर्थतन्त्रको संरचना पनि त्यस्तै छ । यस्तो अवस्थामा सबै क्षेत्रलाई व्यवस्थापन गर्नसक्ने कुशल व्यवस्थापन चाहिन्छ । अध्ययन र अनुसन्धानमा केन्द्रीय बैंकले राम्रो थिङट्याङको रुपमा आफ्नो परिचय बनाएको छ । त्यसका लागि कर्मचारीको हौसला बढाउने र निजी क्षेत्रको बनोबल बढाउन सक्ने गभर्नर चाहिन्छ । ‘ब्याकवार्ड र फवार्ड’ को नीति नलिने व्यक्ति गभर्नर हुनुपर्छ । राष्ट्र बैंकमा नीति निर्देशन जारी गर्नुअघि एउटा रेगुलेसन कमिटी छ । त्यसमा छलफल हुन्छ। हरेक पोलिसि जारी गर्दा त्यसमा अध्ययन अनुसन्धान गरेर मात्रै जारी हुन्छ ।
अहिले एउटा निर्देशन जारी गर्ने र ३ महिनामा फिर्ता गर्ने अवस्था भयो भने त्यसले अस्थिरता ल्याउँछ । वित्तीय क्षेत्र संवेदशनशील भएकोले यसमा जानकार व्यक्ति नै गभर्नर आउनुपर्छ । त्यसमा सरकार सचेत छ भन्ने मेरो बुझाइ छ ।
०००
सबै कर्मचारीलाई समान व्यवहार गर्ने गभर्नर चाहिन्छ

अध्यक्ष, राष्ट्रिय कर्मचारी संगठन
गभर्नर कस्तो हुनपर्छ भन्ने कुरा गर्नु अघि नेपाल राष्ट्र बैंक कस्तो संस्था हो भन्ने बुझ्न जरुरी छ । राष्ट्र बैंक मुलुकको केन्द्रीय बैंक हो । केन्द्रीय बैंकले मुद्रा निष्कासन गर्ने, मौद्रिक नीति तर्जुमा र कार्यान्वयनमार्फत् मूल्य स्थिरता कायम गर्ने काम गर्छ । राष्ट्र बैंकले गर्ने गतिविधि, केन्द्रीय बैंकले तर्जुमा गर्ने मौद्रिक, विदेशी विनिमय नीति लगायतलाई समय सान्दर्भिक र अर्थतन्त्रको आवश्यकता अनुकुल बनाउन सक्ने दृष्टिकोण भएको व्यक्ति गभर्नर हुनुपर्छ ।
कर्मचारीको दृष्टिकोणबाट हेर्ने हो भने गभर्नर उच्च प्रशासनिक क्षमता भएको सबैलाई समान व्यवहार गर्नसक्ने हुनुपर्छ । पारदर्शीरुपमा केन्द्रीय बैंकको क्रियाकलाप र निर्णय प्रक्रिया र कार्यान्वयन गर्ने व्यक्तिलाई गभर्नर बनाउनुपर्छ । कर्मचारीलाई समुचितरुपमा समान अवसर प्रदान गर्ने, सहभागितामूलक निर्णय गराउन सक्ने गभर्नर राष्ट्र बैंकका कर्मचारीले अपेक्षा गरेका छन् । कर्मचारीबाट उच्च उत्पादकत्व लिन उचित कर्मचारीलाई उचित ठाउँ दिनसक्ने क्षमता हुनुपर्छ ।
समग्र अर्थतन्त्रको दृष्टिकोणबाट हेर्न हो भने केन्द्रीय बैंक अर्थमन्त्रको मियो पनि हो । वित्तीय क्षेत्रको स्थिरता र स्थायित्वका लागि राष्ट्र बैंक ऐनले सशक्त भूमिका दिएको छ । गभर्नर केन्द्रीय बैंकको सञ्चालक समितिको अध्यक्ष र कार्यकारी पद पनि भएकाले आवश्यक निर्णय गर्न सक्षम व्यक्तिलाई गभर्नर बनाउनुपर्छ । गभर्नर कार्यकारी पद भएकाले निर्णय कार्यान्वयन गर्ने सन्दर्भमा त्यसको प्रभाव र असर कस्तो हुने भने विश्लेषण पनि गभर्नरले गर्न सक्नुपर्छ । निर्णय हुने तर कार्यान्वयन नहुने अवस्था भयो भने त्यसले पनि राम्रो सन्देश जाँदैन ।
गभर्नर प्रशासनिक सुधार गर्न सक्ने हुनुपर्छ । केन्द्रीय बैंकका प्रशासनिक क्षेत्रमा देखिएको कमी कमजोरी सुधार गर्ने र आएका गुनासोको पनि सम्बोधन गर्नुपर्छ । जनशक्ति र सम्पत्ति व्यवस्थापनमा पनि गभर्नरले ध्यान दिन सक्नुपर्छ । गभर्नरमा अर्थशास्त्रको ज्ञान हुनै पर्छ । अर्थशास्त्रको मात्रै नभएर व्यवस्थापक र वित्तीय क्षेत्रको समेत ज्ञान गभर्नरमा हुनुपर्छ । यी तीनै पक्षको जानकार व्यक्ति गभर्नर भएन भने उसले पूरा गर्ने जिम्मेवारी र भूमिकामा असन्तुलन हुन्छ । अर्थतन्त्रमा समस्या र चुनौति छन् भने त्यसलाई समाधान गर्ने उपायको पनि जानकारी पनि गभर्नरले राख्नुपर्छ ।
०००
मौद्रिक नीति आफूअनुकुल बनाउने व्यक्ति गभर्नर बन्नु हुँदैन

अध्यक्ष, नेपाल वित्तीय संस्था कर्मचारी संघ
अहिले देशको अर्थतन्त्र सिथिल अवस्थामा छ । अर्थतन्त्र चलायमान भएको छैन । ब्याजदर घटेपनि कर्जाको माग बढेको छैन । लगानीको वातावरण पनि सन्तोषजनक छैन । तसर्थ, अहिलेको महत्त्वपूर्ण काम भनेको मुलुकको समग्र आर्थिक व्यवस्थापन गर्नु हो । अर्थतन्त्रलाई मार्गदर्शन गर्ने, समग्र आर्थिक स्थिरता कायम राख्ने जस्ता महत्वपूर्ण भूमिका राष्ट्र बैंकको गभर्नरको हुने गर्छ ।
राष्ट्र बैंकमा आउने गभर्नर अहिलेको अर्थतन्त्रको अवस्था मिहिन रुपमा बुझेको, व्यावसायिक व्यक्ति हुनुपर्छ । अहिले राष्ट्र बैंकको स्वायत्ततामा हस्तक्षेप भइरहेको छ । त्यो विषयमा अब आउने गभर्नरले धेरै नै ध्यान दिन आवश्यक छ । केन्द्रीय बैंकको स्वायत्तता कायम राख्नुपर्छ, यो सबैको चाहना हो ।
हिजोका दिनमा गभर्नर भएपछि आफ्नो अनूकुल हुने गरी मौद्रिक नीति बनाउने गरिएको थियो । अब त्यस्तो हुनुहुँदैन । अब व्यावसायीक ढंगले मौद्रिक नीति बन्नुपर्छ । राष्ट्र बैंकले सही समयमा सही नीति लिनुपर्छ ।
नयाँ आउने गभर्नरबाट राष्ट्र बैंकमा रहेका मार्गदर्शन भित्र बसेर काम होस् भन्ने सबैको चाहना छ ।
नयाँ गभर्नर आएपछि कर्मचारीको हकहित, अधिकारका साथै संस्थागत रुपमा सुधार हुन आवश्यक छ । नयाँ आउने गभर्नरबाट कर्मचारीको मनोवल तथा उत्प्रेरणा बढाउने र केन्द्रीय बैंकको समग्र शाख बढाउने काम हुन आवश्यक छ ।
०००
पपुलारीटी खोज्ने मान्छेलाई गभर्नर बनाउनु हुँदैन

अध्यक्ष, नेराबैं कर्मचारी संघ
राष्ट्र बैंक ऐनले नै केन्द्रीय बैंक र गभर्नरको जिम्मेवारी तोकेको छ । ऐनमा रहेको केन्द्रीय बैंकको उद्देश्य, काम र कर्तव्यहरु पूरा गर्न नेतृत्वदायी भूमिका खेल्नसक्ने व्यक्ति गभर्नर हुनपर्छ । यो नेतृत्वदायी भूमिका कस्तो व्यक्तिले निभाउन सक्छ भन्ने प्रश्न आउँछ ।
सैद्धान्तिकरुपमा मात्रै भन्दा पनि विद्यमान आर्थिक अवस्था कस्तो छ ? भन्ने विषयमा तल्लो तहबाट नै बुझेको र विश्लेषण गर्न सक्ने वास्तविक आवस्थाको चिन्तन गर्न सक्ने व्यक्ति अबको गभर्नर बन्नुपर्छ । जटिल अवस्थामा रहेको अर्थतन्त्रलाई कसरी सकारात्मक दिशानिर्देशन गर्न सक्ने, बुझेको मान्छे गभर्नर भएर आए हुन्थ्यो भन्ने हामीलाई लागेको छ ।
नियामक निकाय भएोले केन्द्रीय बैंकको आफ्नै विशेष काम हुन्छ । समग्र बैंक तथा वित्तीय संस्थाको स्थिरता र स्थायित्वका लागि काम गर्दैसमग्र आर्थिक उदेश्य हासिल गर्न मार्गदर्शन गर्नसक्ने क्षमता भएको गभर्नर हामी कर्मचारीले अपेक्षा गरेका छौं । अर्थतन्त्रका सन्दर्भमा सरकारसँग समन्वयन गर्दै नीतिहरु बनाउने जिम्मेवारी पनि केन्द्रीय बैंकको हो । मौद्रिक र विदेशी विनिमय नीति र त्यससँग सम्बन्धीत कार्यविधिहरु बनाउँदा सैद्दान्तिक ज्ञान पनि हुुनुपर्छ ।
नीति निमार्ण गर्दा तथ्य र प्रमाण र सिद्दान्तका आधारमा निर्णय गर्नुपर्छ । पपुलारीटी खोजेर केन्द्रीय बैंकले काम गर्नसक्ने अवस्था हुँदैन । कुनै नीति बनाउँदा कुन सिद्दान्त र के का आधारमा बन्यो भनेर अन्तर्राष्ट्रिय निकायले प्रश्न गर्दा त्यसको प्रतिरक्षा पनि गर्नुपर्छ । त्यो क्षमता गभर्नरमा हुनुपर्छ ।
हामी कर्मचारीले हेर्दा आन्तरिक व्यवस्थापन पनि गभर्नरको लागि ठुलो चुनौति हो । गभर्नर कुशल व्यवस्थापकसँगै आर्थिक क्षेत्रको विज्ञ प्रशासक भयो भने सबै काम गर्न कर्मचारीको नेतृत्व गर्नसक्छ । हामीले अपेक्षा गरेको गभर्नर पनि त्यस्तै हो । राष्ट्र बैंकको संरचना र भूमिका साथै समग्र अर्थतन्त्र पनि बुझेको मान्छे गभर्नर भयो भने उसले काम गर्न सक्छ ।
गभर्नर छनोटको मापदण्ड सिफारिस समितिलाई छ । गभर्नर राष्ट्र बैंकभित्रको प्रणाली बुझेकाले गर्नसक्ने बाहिरबाट आएकाले गर्न नसक्ने भन्ने पनि हुँदैन । बाहिरबाट मान्छे ल्याउँदैमा राम्रो हुन्छ भन्नेपनि होइन । गभर्नर नियुक्त भएको मान्छेको कार्यशैली कस्तो हुन्छ र कसरी सन्तुलन कायम गर्ने भन्ने कुराले पनि धेरै अर्थ राख्छ । बाहिर बसेको भए पनि प्रणाली बुझेको मान्छे भयो भने उसले राम्रोसँग काम गर्छ । केनिद्रय बैंक मात्रै नभएर समग्र वित्तीय क्षेत्र बुझेको मान्छे भयो भने उसले पदीय मर्म बुझेर काम गर्नसक्छ । केन्द्रिय बैंकभित्र वा बाहिरको भन्ने कुराले धेरै अर्थ राख्छ जस्तो लाग्दैन ।
को र कस्तो गभर्नर ? (विशेष श्रृंखला)
– गभर्नर सिफारिस समितिलाई ब्रिफिङ: ट्यालेन्ट हन्ट गर्दा यी विषयमा गम्भीर नभए कलंकको दाग लाग्छ
– राष्ट्र बैंकको गभर्नर बन्न १२ भाइको लिगलिगे दौड: कसको कनेक्सन कहाँ, सम्भावना कति ?
– राष्ट्र बैंकको गभर्नरमा डेढ दर्जन आकांक्षी, को को छन् दौडमा ?
– नेपाल राष्ट्र बैंकको भावी गभर्नर को बन्लान् ?
– गभर्नरको पदनै धरापमा पारेको राष्ट्र बैंकको त्यो अलोकप्रिय नीतिले प्रणालीलाई कता लैजाँदैछ ?
– राष्ट्र बैंकको आगामी गभर्नर कस्तो हुनुपर्छ ?
– राष्ट्र बैंक कब्जा गर्ने सरकारको दुर्नियत, विचौलियाको मतियारलाई गभर्नर नबनाउनु: स्वर्णिम
– सरकारले गठन गर्यो गभर्नर सिफारिस समिति, राष्ट्र बैंकले कस्तो नेतृत्व पाउँदैछ ?
– गभर्नर नियुक्तिको मुखैमा किन गायव गरियो ‘अर्थ सम्वद्ध निकायका पदाधिकारी नियुक्ति मापदण्ड’ ?
– यी ३ जनाले पाए राष्ट्र बैंकको गभर्नर सिफारिस गर्ने जिम्मेवारी
– एक्जिट मुडमा गभर्नर, अत्यावश्यक बाहेक निर्णय हुन छोड्यो
– कार्यकाल सकिनुअघि १० दिनको ‘फोर्स लिभ’मा गभर्नर अधिकारी, अन्तिम एक साता जिम्मेवारीमा फर्किने
– गभर्नर नियुक्तिको मुखैमा ओलीको सन्देश: महिलालाई राष्ट्रपति, प्रधानन्यायाधीश र मुख्यसचिव बनाउने मै हुँ
– डेपुटी गभर्नर नीलम: १९ वर्षमै विवाह, टीयूको गोल्ड मेडलिस्ट, विद्यार्थीले भनेपछि राष्ट्र बैंकमा जागिर
– राष्ट्र बैंकको अब बन्ने गभर्नर यस्तो होस्ः पूर्वगभर्नर डा. चिरञ्जीवि नेपाल
– परराष्ट्रमन्त्री आरजूले नमानेपछि गभर्नर छान्ने समितिले कामै गर्न सकेन, अब के हुन्छ ?
– गभर्नर नियुक्तिको सिफारिस गर्न तीन सदस्यीय समिति गठन
– नबिल बैंकको सीईओबाट राजीनामा दिएर गभर्नर बन्ने दौडमा ज्ञानेन्द्र ढुंगाना, कति छ सम्भावना ?
– राष्ट्र बैंकको अब बन्ने गभर्नर ‘म जस्तै’ हुनुपर्छ
– यस्तो हुनुपर्छ अबको गभर्नर: पूर्वबैंकर परशुराम कुँवर
– भावी गभर्नरमा हुनैपर्ने ३ गुण, जसले राष्ट्र बैंकको शीर उँचो राख्नेछ: नरबहादुर थापा
– राजनीतिक हैन आर्थिक म्यान्डेट पुरा गर्ने गभर्नर चाहिन्छ: अनलराज भट्टराई
– ‘भावी गभर्नरको इन्टिग्रिटी कम्तिमा पूर्वगभर्नर कुलशेखर शर्माको झैं हुनुपर्छ’
– पार्टीबाट राजीनामा दिएको भोलिपल्ट गभर्नर नियुक्त गरेपछि राष्ट्र बैंक कसरी स्वायत्त हुन्छ ?
– आर्थिक दुरावस्थाबीच कस्तो व्यक्तिलाई गभर्नर चयन गर्ने?
– गभर्नरका लागि योग्य व्यक्ति नेता र शक्तिकेन्द्रलाई बिटो बुझाउँदै पुग्दैन, सरकारले ‘ट्यालेन्ट हन्ट’ गर्नुपर्छ
– कसैले पचाउन नसक्ने तथा बोल्ड नीतिगत निर्णय लिने व्यक्तिलाई गभर्नर बनाउनुपर्छ
प्रतिक्रिया