४१ हजार ४० रुपैयाँ ठिक्क पार्नुस्, आउँदैछ रिलायन्सको आईपीओ

21
Shares

काठमाडौं । डेढ वर्षदेखि रोकिएको रिलायन्स स्पिनिङ मिल्सको प्राथमिक सार्वजनिक निष्कासन (आईपीओ) प्रक्रिया अघि बढेसँगै आईपीओमा आवेदन दिन चाहने लगानीकर्ताले ४१ हजार रुपैयाँ ठिक्क पार्नुपर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले मंगलबार निष्कासन तथा बिक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटललाई पत्र लेख्दै रिलायन्सको आईपीओ निष्कासन प्रक्रिया अघि बढाउन निर्देशन दिएसँगै आईपीओ भर्नेले ४१ हजार ४० रुपैयाँ ठिक पार्नुपर्ने भएको हो ।

बुक बिल्डिङ विधिबाट आईपीओ निष्कासन गर्ने यस कम्पनीले सर्वसाधारणलाई प्रतिकित्ता ८२० रुपैयाँ ८० पैसाका दरले सेयर निष्कासन गर्नेछ । बुक बिल्डिङ विधिबाट जारी हुने आईपीओमा सर्वसाधारणले न्यूनतम ५० कित्ता आवेदन दिनुपर्छ । कम्पनीले सर्वसाधारलाई ११ लाख ५५ हजार ९ सय ६० कित्ता आईपीओ निष्कासन गर्नेछ ।

कम्पनीले यसअघि योग्य संस्थागत लगानीकर्तालाई सेयर निष्कासन गरिसकेको छ । योग्य संस्थागत लगानीकर्ताले कबोल गरेको मूल्यका आधारमा सेयरको कट अफ मूल्य प्रतिकित्ता ९ सय १२ रुपैयाँ रहेको छ । सो मूल्यमा योग्य संस्थागत लगानीकर्ताले सेयर खरिद गरेका थिए । जसअनुसार सर्वसाधारणले यो मूल्यको १० प्रतिशत कम अर्थात् ८ सय २० रूपैयाँ ८० पैसा तिर्नुपर्नेछ।

कम्पनीले योग्य संस्थागत लगानीकर्ताका लागि निष्कासन गरेको सेयरमा ६४ वटा आवेदन दिएएका थिए । ९१२ रुपैयाँमा सेयर खरिदका लागि आवेदन दिनेमा गौरव नेपाल इनेष्टमेन्ट कुमारी क्यापिटल, कुमारी धनवृद्धि योजना, कुमारी इक्विटी फण्ड, कुमारी सुनौलो लगानी योजना, नबिल स्टक डिल्लर, नेशनल फण्ड म्यानेजमेन्ट, नेपाल लाइफ क्यापिटल, प्रभु क्यापिटल, प्रभु सेलेक्ट फण्ड, प्रभु स्मार्ट फण्ड, एस आर हाईड्रो एण्ड इन्भेष्टमेन्ट, सिद्धार्थ क्यापिटल लिमिटेड रहेका छन् । रिलायन्सको बोलकबोलका लागि प्रतिकित्ता ६०८ रुपैयाँ फ्लोर प्राइस र ९१२ रुपैयाँ सिलिङ प्राइस सीमा तोकिएको थियो ।

रिलायन्सले जारी पुँजी १ अर्ब ९० करोड रुपैयाँको १०.१४५ प्रतिशतले हुने १९ करोड २६ लाख ६० हजार रुपैयाँको १९ लाख २६ हजार ६ सय कित्ता सेयर जारी गर्न अनुमति पाएको हो । पहिलो चरणमा संस्थागत लगानीकर्ताका लागि गत माघ १० गतेदेखि १४ गतेसम्म ४० प्रतिशत अर्थात् ७ लाख ७० हजार ६४० कित्ता सेयरका लागि कबोल पेस गरेका थिए । रिलायन्सको आईपीओमा योग्य संस्थागत लगानीकर्ताहरूले पेस गरेको बोलपत्र माघ १५ गते खोलिएको थियो । त्यसपछि सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको थियो ।

तर, २०८१ असार १२ मा सर्वसाधारणका लागि आईपीओ जारी गर्ने स्वीकृत पाए पनि त्यसका विरुद्ध उजुरी परेपछि प्रक्रिया रोकिएको थियो । त्यसयता रिलायन्स अदालत पुगेको थियो ।

नेपाल विद्युत प्राधिकरण र रिलायन्सबीचको विद्युत बक्यौता विवाद उत्कर्षमा पुगेपछि आईपीओ प्रक्रिया रोकिएको थियो । प्राधिकरणले दाबी गरेअनुसार ७५ करोड ३७ लाख रुपैयाँ बक्यौता रिलायन्सले नोक्सानी व्यवस्था गरिसकेको छ र सोही अनुसार नयाँ वित्तीय विवरण तयार पारेको छ । यसबीचमा रिलायन्सले धरौटीको रुपमा २ करोड ७५ लाख रुपैयाँ प्राधिकरणलाई बुझाएर कानुनी प्रक्रियामा जाने बाटो खोलिसकेको छ ।

बुक बिल्डिङमार्फत आईपीओ जारी कसरी हुन्छ ?

बुक बिल्डिङ विधिबाट आईपीओ जारी गर्दा आईपीओ जारी गर्ने कम्पनीले निष्कासन तथा बिक्री प्रबन्धकको सहयोगमा योग्य संस्थागत लगानीकर्तासँग उनीहरूले चाहेको न्यूनतम खरिद संख्या, आशय मूल्य र सोको मूल्यांकन विधिसहित प्रारम्भिक विवरणपत्रमा सुझाव माग हुन्छ, त्यसपछि योग्य संस्थागत लगानीकर्ताले आवश्यक अध्ययन गरी आशय मूल्य पेस गर्छन् ।

त्यही आशय मूल्यको आधारमा बिक्री मूल्य सीमा (कट अफ मूल्य) निर्धारण हुन्छ। यो मूल्यमा योग्य संस्थागत लगानीकर्ताले सेयर खरिद गर्छन् भने सर्वसाधारणले यो मूल्यको १० प्रतिशत कम तिर्नुपर्नेछ। कट अफ मूल्य भन्नाले यस्तो मूल्य हो, जुन मूल्यभन्दा बढी कबोल गर्ने योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट गरे सबै बिक्री हुनेछ।

योग्य संस्थागत लगानीकर्तालाई बाँडफाँट सम्पन्न भएको विवरण ७ दिनभित्र नेपाल धितोपत्र बोर्डमा बुझाउनुपर्ने व्यवस्था छ । बोर्डको स्वीकृतिपछि सर्वसाधारणलाई आईपीओ जारी गर्ने प्रक्रिया अघि बढ्छ जसअघि सर्वसाधारणलाई सबै कुरा खुलाएर नयाँ विवरणपत्र पेस गर्नुपर्छ । बोर्डले स्वीकृति दिएको ७ दिनभित्र आह्वान–पत्र प्रकाशन गर्नुपर्नेछ । र सोहीअनुसार आवेदन माग गरिनेछ ।