
एजेन्सी । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सेनाका उच्च कमान्डर ओलेक्सान्डर सिर्स्कीलाई पदबाट हटाउने निर्णय गरेका छन् भने बर्खास्त गरेको केही दिनमै पूर्व रक्षामन्त्रीलाई पुनः सरकारमा फिर्ता ल्याउने प्रयास थालेका छन् ।
यो सैन्य फेरबदल देशभर एक हप्तादेखि चलिरहेको अशान्तिपछि आएको हो जसलाई सन् २०२२ मा रुसले पूर्ण स्तरको आक्रमण सुरु गरेयताकै सबैभन्दा ठूलो राजनीतिक संकट मानिएको छ ।
मंगलबार राति टेलिभिजन सम्बोधन गर्दै जेलेन्स्कीले मिखाइलो ड्रापाटीलाई युक्रेनी सशस्त्र बलको नयाँ कमान्डर–इन–चीफ नियुक्त गरेको घोषणा गरे र युद्धको सुरुवाती चरणमा किभको रक्षामा महत्त्वपूर्ण भूमिका खेलेकोमा निवर्तमान सिर्स्कीलाई धन्यवाद दिए ।
सम्बोधनका क्रममा जेलेन्स्कीले युक्रेनी रक्षा बलका अपरेशनहरू बिना कुनै अवरोध निरन्तर जारी रहनुपर्ने र युक्रेनको लामो दूरीको प्रतिबन्ध योजना तथा मिड–स्ट्राइक कार्यक्रमलाई पूर्ण शुद्धताका साथ कार्यान्वयन गरिने बताए ।
नयाँ सेनापति नियुक्त भएपछि ड्रापाटीले राष्ट्रपति जेलन्स्कीलाई धन्यवाद दिँदै देशको सशस्त्र बललाई बलियो बनाउन सिर्स्कीले गरेको योगदानको प्रशंसा गरे । ड्रापाटीले फेसबुकमा एक पोस्ट गर्दै आफूले आज देशको रक्षा गरिरहेका मानिसहरूप्रति सम्मान राख्दै जिम्मेवार र केन्द्रित भएर काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
युक्रेनका राष्ट्रपतिले पूर्व रक्षामन्त्री मिखाइलो फेडोरोभसँग भेटवार्ता गरेको र उनलाई देशको प्राविधिक क्षमतालाई एकीकृत गर्दै त्यसको निरन्तर विकास सुनिश्चित गर्न सक्ने एक सम्मानित नेतृत्वदायी पद प्रस्ताव गरेको जानकारी समेत दिए । फेडोरोभ युक्रेनमा निकै लोकप्रिय व्यक्तित्व मानिन्छन् र उनलाई युक्रेनको ड्रोन युद्ध रणनीतिका प्रमुख हिमायतीका रूपमा हेरिन्छ ।
उनलाई गत साता अचानक पदबाट हटाइएपछि युक्रेनका विभिन्न शहरहरूमा त्यसको विरोधमा प्रदर्शनहरू सुरु भएका थिए ।
ती प्रदर्शनहरू सोमबार लगातार पाँचौं दिनसम्म जारी रहे जहाँ प्रदर्शनकारीहरूले प्लेकार्ड र झण्डाहरूसहित जेलन्स्कीले फेडोरोभलाई पुनः बहाली गर्नुपर्ने र सिर्स्कीलाई बर्खास्त गर्नुपर्ने माग राखेका थिए ।
यसैबीच फेडोरोभले सामाजिक सञ्जाल एक्समार्फत ड्रापाटीलाई कमान्डर–इन–चीफमा नियुक्त भएकोमा बधाई दिएका छन् । उनले यो नियुक्तिलाई स्वतन्त्रता र न्यायका लागि लडिरहेका स्वतन्त्र मानिसहरूका बीचमा ताजा हावाको लहर र आशाको नयाँ स्रोतको रूपमा व्याख्या गर्दै यसलाई परिवर्तनको स्वर भनेका छन् जसलाई अब बेवास्ता गर्न सकिने अवस्था थिएन ।
चार वर्षभन्दा लामो युद्धका क्रममा ड्रोन उत्पादन र क्षमतामा उल्लेख्य वृद्धि गरेको युक्रेनले पछिल्लो समय रुसी ऊर्जा पूर्वाधार र सैन्य सम्पत्तिहरूमाथि आक्रमण तीव्र पारेको छ । रुसका प्रमुख शहरहरूमा रहेका तेल रिफाइनरीहरूलाई लक्षित गर्दै युक्रेनले रुसका लागि यो युद्धको आर्थिक मूल्य बढाउने र दक्षिणी युक्रेनमा रहेका रुसी सेनालाई कमजोर बनाउने प्रयास गरिरहेको छ ।
रक्षाविज्ञ र रणनीतिज्ञहरूले युक्रेनको ड्रोन अभियानलाई रुसको सैन्य गतिलाई रोक्नका लागि निर्णायक मान्दै आएका छन् । यद्यपि, उनीहरूले किभको यो सफल डीप–स्ट्राइक रणनीतिले युद्ध थप चर्कने र तनाव बढ्ने जोखिमलाई पनि उत्तिकै बढाएको चेतावनी दिएका छन् ।





प्रतिक्रिया