अमेरिका–इरान युद्धको खर्च ३७ अर्ब डलर नाघ्यो, ट्रम्प प्रशासनद्वारा आपतकालीन बजेटको माग

0
Shares

एजेन्सी । अमेरिका र इरानबीच चलिरहेको युद्धको खर्च हालसम्म ३७.५ अर्ब अमेरिकी डलर पुगेको अमेरिकी रक्षामन्त्री पिट हेगसेथले मंगलबार जानकारी दिएका छन् ।

इरानमाथि पुनः भीषण बमवर्षा सुरु भएपछि यो अलोकप्रिय बन्दै गएको द्वन्द्वका लागि थप बजेट जुटाउन उनले पहिलोपटक संसदमा सांसदहरूको कडा प्रश्न र शंकाको सामना गर्नुपरेको छ ।

अमेरिकामा मध्यावधि चुनाव हुन अब ६ महिना मात्र बाँकी छ । त्यसमा राष्ट्रपति डोनल्ड ट्रम्पको रिपब्लिकन पार्टीले प्रतिनिधिसभा र सिनेटमा आफ्नो बहुमत जोगाउन निकै ठूलो चुनौतीको सामना गरिरहेको छ । यसैबीच जनमत सर्वेक्षणहरूमा विपक्षी डेमोक्रेटहरू बलियो देखिन थालेका छन् र उनीहरूले यो महँगो युद्धलाई आम नागरिकको बढ्दो महँगीसँग जोडेर चुनावी मुद्दा बनाइरहेका छन् ।

रक्षामन्त्री हेगसेथले वाशिङटनमा भएको सुनुवाइका क्रममा ३७.५ अर्ब डलरको यो आँकडामा आगामी सेप्टेम्बर ३० सम्मको अनुमानित खर्च पनि समावेश गरिएको बताएका छन् । तर, पेन्टागनले यो रकमको गणना कसरी गर्यो भन्ने कुरा अझै स्पष्ट भइसकेको छैन ।

रोयटर्सका अनुसार, ट्रम्प प्रशासनले युद्धको सुरुवाती ६ दिनमै ११.३ अर्ब डलर खर्च भएको अनुमान गरेको थियो । गत महिना मात्रै राष्ट्रपति ट्रम्पले कंग्रेससँग ९० अर्ब डलरको अतिरिक्त बजेट मागेका थिए जसको अधिकांश हिस्सा इरान द्वन्द्वसँग सम्बन्धित छ । यसले नोभेम्बरको चुनावको पूर्वसन्ध्यामा बजेटका लागि अर्को ठूलो राजनीतिक रस्साकस्सीको संकेत गरेको छ ।

फेब्रुअरी २८ देखि अमेरिका र इजरायलले इरानमा बमवर्षा सुरु गरेयता ट्रम्प र उनको टोलीले द्वन्द्वका योजनाबारे आफूहरूलाई पर्याप्त जानकारी नदिएको भन्दै रिपब्लिकन र डेमोक्रेट दुवै पक्षका सांसदहरूले असन्तुष्टि पोखेका छन् । विनियोजन समितिकी वरिष्ठ डेमोक्रेट सिनेटर प्याटी मरेले राष्ट्रपतिले युद्ध अपराध र तनाव बढाउने धम्की दिइरहेको र यो अर्को कहिले नटुंगिने युद्ध हुन सक्ने भन्दै चेतावनी दिइन् ।

ट्रम्पले इरानका नागरिक पूर्वाधारहरूमाथि आक्रमण गर्ने धम्की दिएका छन् । त्यसलाई आलोचकहरूले सम्भावित युद्ध अपराधको संज्ञा दिएका छन् ।

सिनेट र प्रतिनिधिसभामा रिपब्लिकनहरूको बहुमत निकै कम भएकाले बजेट पारित गर्न डेमोक्रेटहरूको समर्थन अनिवार्य छ । यसैबीच, डेमोक्रेटिक सिनेटर कर्स्टन गिलिब्रान्डले प्रशासनको विरोधाभाषी भनाइप्रति आक्रोश व्यक्त गर्दै भनिन्, ‘प्रशासनका कुराहरू आपसमा मिल्दैनन्, त्यसैले मानिसहरू आक्रोशित छन् । युद्ध सकिएको हो कि होइन वा यो दुई हप्तामा सकिने हो कि होइन भन्ने कुरामा कुनै स्पष्टता छैन ।’

हेगसेथले सांसदहरूलाई तत्काल थप बजेट नपाए सैन्य तालिमहरू कटौती गर्नुपर्ने अवस्था आउने बताएका छन् ।

यस युद्धले पेन्टागनको करिब १० खर्ब डलरको बजेटमा ठूलो दबाब सिर्जना गरेको छ र सैन्य कर्मचारीहरूको तलब तथा अन्य व्यवस्थापनमा समेत जोखिम निम्त्याएको छ । जोइन्ट चिफ अफ स्टाफका अध्यक्ष जनरल ड्यान केनले पनि सैन्य कर्मचारीहरूलाई तलब खुवाउने बाटो खोजे तापनि मशिनरीहरूको मर्मत सम्भार र भविष्यको सैन्य क्षमतामा लगानी गर्न पेन्टागनलाई गाह्रो हुने स्वीकार गरेका छन् ।

रक्षामन्त्री हेगसेथले सांसदहरूलाई हालको अतिरिक्त बजेट मात्र नभई सन् २०२७ का लागि १५ खर्ब डलरको बजेट स्वीकृत गर्न पनि आग्रह गरेका छन् । १५ खर्ब डलरको बजेट नपाउनु नै राष्ट्रका लागि सबैभन्दा ठूलो खतरा भएको उनको दाबी छ ।

यसै महिना अमेरिका र इरानबीचको कमजोर युद्धविराम भंग भएपछि दुवै पक्षले दैनिक रूपमा एकअर्कामाथि हमला गरिरहेका छन् । यस युद्धमा ज्यान गुमाउने अमेरिकी सैनिकको संख्या १८ पुगेको छ भने करिब ४३० जना घाइते भएका छन् । पेन्टागनका अनुसार, जुलाई ७ यता घाइते भएका १०० सैनिकमध्ये अधिकांश ड्युटीमा फर्किसकेका छन् ।

पछिल्लो एक हप्तामा ट्रम्पले इरानको ऊर्जा संयन्त्र, पुल, खार्ग टापुको तेल केन्द्र कब्जा गर्ने र जमिनमुनि रहेको पिक्याक्स माउन्टेन भनिने आणविक केन्द्रमा बमवर्षा गर्ने धम्की दिएका छन् । मंगलबार ट्रम्पले अमेरिकाले निकै छिट्टै उक्त पहाडभित्रको केन्द्रलाई ध्वस्त पार्ने घोषणा समेत गरेका छन् ।