
काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी कार्यकाल सकिनुअघि फोर्स लिभमा बसेका छन् । चैत ५ गतेदेखि १० दिनको लागि गभर्नर अधिकारी बिदामा बसेका हुन् । वरिष्ठ डेपुटी गभर्नर डा. निलम ढुंगाना तिम्सिनालाई कायममुकायम गभर्नरको जिम्मेवारी दिएर गभर्नर अधिकारी बिदामा बस्न लागेका हुन् ।
अधिकारी चैत अन्तिम साता ५ वर्षको कार्यकाल पूरा गरी गभर्नरबाट बिदा हुँदैछन् । गभर्नरको कार्यकाल सकिनुअघि अधिकारी अनिवार्य रुपमा बस्नुपर्ने बिदा बाँकी रहेकोले बिदा बस्न लागेका हुन् । चैत २४ मा राष्ट्र बैंकबाट बिदा हुने गभर्नर अधिकारी त्यसअघि बिदा बस्ने र चैत १५ मा राष्ट्र बैंकमा हाजिर भएर त्यसपछि मात्रै औपचारीक बिदाइ हुने भएका हुन् ।
सोमबार ग्लोबल मनि विक २०२५ कौ औपचारीक उद्घाटनमा सहभागि भएका गभर्नर अधिकारी ५ गतेबाट १० दिनको लागि फोर्स लिभमा बस्न लागेका हुन् ।
१५ चैतमा राष्ट्र बैंककको एक आन्तरिक कार्यक्रम रहेको र उक्त कार्यक्रमा सहभागि हुनेगरी गभर्नरको बिदा सकिने र कार्यकालको अन्तिम साता जिम्मवारी सम्हालेर मात्रै बिदा हुने राष्ट्र बैंक स्रोतले जनाएको छ ।
गभर्नर अधिकारी बिदामा बस्दा विगतदेखि नै कायममुकायम गभर्नरको जिम्मेवारी वरिष्ठ डेपुटी गभर्नर निलम ढुंगाना तिम्सिनाले सम्हाल्दै आएको र यसपटक पनि उक्त जिम्मेवारी उनले नै प्राप्त गर्नेछिन् । राष्ट्र बैंकको व्यवस्थाअनुसार अनिवार्य रुपमा बस्नै पर्ने सञ्चित बिदा बाँकी रहेकोले त्यसकौ लागि गभर्नर अधिकारी बिदा बस्न लागेका हुन् ।
२०७६ चैत २४ मा गभर्नर नियुक्त भएको अधिकारीले २५ चैतमा पदभार ग्रहण गरेका थिए ।
कार्यकाल सकिन लागेसँगै गभर्नर अधिकारीले अत्यावश्यक बाहेकका अन्य निर्णय यसअघि नै गर्न छोडेका थिए । आफ्नो कार्यकालको कम अवधि मात्रै बाँकी भएकोले गभर्नर अधिकारीले अत्यावश्यकभन्दा बाहेकका कम र निर्णय गर्न छोडेको राष्ट्र बैंकका अधिकारीहरु बताउँछन् ।
यसैबीच सरकारले नयाँ गभर्नर नियुक्तिका लागि ३ सदस्यीय सिफारिस समिति गठन गरेको छ । गभर्नर नियुक्तिका लागि अर्थमन्त्री विष्णुप्रसाद पौडेलको संयोकत्वमा सिफारिस समिति गठन भएको हो । समितिमा मन्त्री पौडेलका साथै नेपाल राष्ट्र बैंककै पूर्वगभर्नर विजयनाथ भट्टराई र अर्थविद् डा. विश्व पौडेल रहेका छन् ।
नेपाल राष्ट्र बैंक ऐन, २०५८ अनुसार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्तिअघि अर्थमन्त्रीको नेतृत्वमा एउटा सिफारिस समिति गठन गर्नुपर्ने व्यवस्था छ ।
समितिमा पूर्वगभर्नरमध्ये एक जना र आर्थिक, मौद्रिक, वित्तीय वा व्यवस्थापन क्षेत्रका विज्ञमध्ये एक जना सदस्य रहन्छन् ।
प्रतिक्रिया