ऋण घटाउँदै भाटभटेनी, एक वर्षमा कति कमाउँछन् मिनबहादुर गुरुङ ?

9.1k
Shares

काठमाडौं । भाटभटेनी सुपरमार्केटले ६ महिनामा १६ अर्ब ७९ करोड रुपैयाँको व्यापार गरेको छ । देशकै सबैभन्दा ठूलो सुपरमार्केट चेनले आम्दानी बढाउने क्रमलाई निरन्तरता दिएको हो ।

भाटभटेनीले गत आर्थिक वर्ष (सन् २०२४) मा ३० अर्ब ६२ करोड रुपैयाँको कुल व्यापार गरेको थियो । ६ महिनाको आधारमा सन् २०२५ को कुल आय करिब ३४ अर्ब रुपैयाँ पुग्ने प्रक्ष्येपण गर्न सकिन्छ ।

भाटभटेनीले सन् २०२१ देखि नै व्यापार बढाउँदै लगेको छ । सो वर्ष १९ अर्ब ९५ करोडको व्यापार गरेको सुपरमार्केटदे सन् २०२२ मा २६ अर्ब ८९ करोड र सन् २०२४ मा २९ अर्ब ७९ करोडको व्यापार गरेको थियो ।

भाटभटेनीका संस्थापक गुरुङले ५० अर्ब रुपैयाँको कारोबारपछि सर्वसाधारणलाई सेयर जारी गर्ने घोषणा केही वर्षअघि नै गरिसकेका छन् ।

यो व्यापारको तुलनामा कम्पनीको नाफा मार्जिन ११.२ प्रतिशत छ । व्यापार निरन्तर बढिरहेको परिस्थितिमा सञ्चालन नाफा भने पछिल्ला २ वर्षको तुलनामा केही घटेको हो । सन् २०२३ मा भाटभटेनीको सञ्चालन नाफा १२.८ र सन् २०२४ मा १३.८ प्रतिशत थियो ।

भाटभटेनीले वार्षिक नाफा मार्जिनको ४.६ गुणा ऋण लिएको छ । अर्थात्, करिब १७ अर्ब रुपैयाँ ।

पछिल्ला वर्षहरूमा भाटभटेनीले आफ्नो पुँजीगत खर्चमा नियन्त्रण गरेको छ । नयाँ आउटलेटसँगै बढेको व्यापारले सम्पत्ति–दायित्व असन्तुलन कम पनि गरेको छ ।

पछिल्लो समय भाटभटेनीको स्वपुँजी लगानीको फेयर भ्यालु गेन बढेको छ ।

भाटभटेनीले हालैमात्र कर्जाको सीमा बढाएको छ । करिब १३ अर्ब कर्जाका लागि रेटिङ गराएको भाटभटेनीले पछिल्लो १७ अर्बभन्दा बढीका लागि रेटिङ गराएको हो ।

अब थप कर्जा नलिने भाटभटेनीको तयारी छ । उल्टै भाटभटेनी व्यवस्थापनले कर्जामा निर्भरता घटाउँदै लैजाने योजना बनाएको छ जसका लागि लगानी पोर्टफोलियो तथा क्यासफ्लोलाई तरलीकरण गरिनेछ ।

भाटभटेनीले पछिल्ला ५ वर्षमा व्यापार ११% को वार्षिक बढाउँदै लगेको छ । नयाँ आउटलेटको सफल सञ्चालन र सञ्चालन खर्चमा मितव्ययिताले कम्पनीलाई नाफा मार्जिन स्वस्थकर स्थितिमा राख्न मद्दत मिलेको छ ।

चालु आर्थिक वर्षको ६ महिनाको तथ्यांकअनुसार कम्पनीको कुल ऋण नेटवर्थको १.९ गुणा छ ।

सन् १९९२ मा स्थापित भाट–भाटेनी बजार हस्सिा र आम्दानीको आधारमा नेपालको सबैभन्दा ठूलो र विश्वसनीय सुपरमार्केट चेन हो । खासगरी आधुनिक विक्रीस्थल, गुणस्तरीय सामाग्रीको उपलब्धताका कारण उपभोक्ता र आपूर्तिकर्तामाझ बलियो सम्बन्ध बनाएको छ, भाटभटेनीले ।

गुरुङ परिवार भाटभटेनी स्थापनाको ८ वर्ष अघिदेखि नै खुद्रा व्यवसायमा संलग्न थिए । प्रवद्र्धक मिन बहादुर गुरुङ र उनकी पत्नी सबित्री घले गुरुङको ३० वर्षभन्दा बढीको अनुभवले कम्पनीलाई स्थिरता प्रदान गरेको छ ।

भाटभटेनीका २७ स्टोरहरु देशका विभिन्न सहरी केन्द्रमा अवस्थित छन् । खासगरी काठमाडौं उपत्यकामा भाटभटेनीको बलियो उपस्थिति छ भने रणनीतिर केन्द्रहरुमा आफ्नै आउटलेट छन् । साथै पछिल्लो समय मदिरालगायत केही वस्तुको सीधा आयातमा संलग्न हुँदा स्थानीय डिलरसँगको निर्भरता घटाउँदै नाफा मार्जिन बढाउन सहयोग पुगेको छ ।

तर, नयाँ आउटलेट खोल्न ८० प्रतिशत कर्जा प्रयोग गरिएकोले कम्पनीको गियरिङ निकै बढेको छ । यसकारण कम्पनीको व्यापार घट्यो भने ऋण चुक्ता असहज बन्ने आँकलन गरिएको छ ।

सञ्चालन नाफा कुल व्यापारको ११.२ प्रतिशतमा झरेको अवस्थामा यस्तो मार्जिन थप बिग्रियो भने ऋण तिर्न निकै असहज हुनेछ।

यसैगरी अव्यवस्थित साना पसल र उदाउँदै गरेको ई–कमर्स प्लेटफर्मले भाट–भाटेनीलाई थप चुनौती दिने सम्भावना छ । किनकी भाटभटेनीले अहिलेसम्म काठमाडौं, पोखरा, र चितवन जस्ता सहरहरूमा मात्र बलियो उपस्थिति जमाएको छ, तर ग्रामीण क्षेत्रहरूमा निकै कमजोर देखिएको छ ।

यता नयाँ आउटलेटको सञ्चालनले कम्पनीको चालुपुँजी चक्र लामो बनाएको छ । मध्य–जनवरी २०२५ सम्ममा कम्पनीको चालुपुँजी–सञ्चालन आम्दानी अनुपात २५% पुगेको छ, जुन यसअघि १८% थियो ।

भाटभटेनीले आफ्नो इक्विटी लगानी बेचेर कर्जा घटाउने योजना बनाएको छ भने हालै खोलिएका आउटलेटबाट समयसँगै अझ बढी आम्दानी हुने अपेक्षा छ ।

यता मिनबहादुर दम्पतीले अहिलेसम्म भाटभटेनीको खुद नाफाको तुलनामा लाभांशको रूपमा निकै कम मात्र रकम लिएका छन् । भाटभटेनीमा मिनबहादुरको ६० प्रतिशत र उनकी पत्नी सावित्रीको ४० प्रतिशत स्वामित्व छ ।