मिनबहादुरलाई यसरी आयो ‘घन्टाको हिसाबले काम लगाएर हप्तामा तलब दिने’ सोच, कति हुन्छ कमाइ ?
युवालाई काम गर्ने बानी बसाउने र आर्थिकरुपमा सबल बनाउने भाटभटेनीको योजना
काठमाडौं । केही दिनअघिको साँझ मिनबहादुर गुरुङ नक्सालस्थित भाटभटेनी सुपरमार्केटको स्मार्ट पार्किङ अगाडि बसेर वरिपरि दृष्यावलोकन गरिरहेका थिए । उनको मोबाइलमा अपरिचित नम्बरबाट फोन आयो ।
उनले उठाए ।
‘नमस्कार, म डीपी अर्याल । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्री,’ उताबाट आवाज आयो ।
गुरुङ आश्चर्यमा परे ।
‘ओहो ! मन्त्रीज्यू नमस्कार । के पर्यो हजुर ?’ गुरुङले फर्काए ।
‘दाइसँग एकपल्ट भेट गर्नु थियो । भटौं न ।’ मन्त्री अर्यालले भने ।
‘मन्त्रीले नै भेट्न बोलाएपछि म नजाने कुरै भएन’ गुरुङले क्लिकमान्डुसँग भने ।
बाटोभर उनले सोचे कि- मन्त्रीसँग के कुरा गर्ने होला ?
व्यवसायीहरु मन्त्रीसँग भेट्दा अनेक माग्ने नेपाली संस्कार नै बनिसकेको छ। तर, उनी राज्यसँग माग्ने भन्दा पनि के दिन सकिन्छ भनेर सोच्छन् हमेशा ।
‘राज्यले के गर्दा राम्रो हुन्छ ? भन्ने सोच बनाइरहेको थिएँ ।’ उनले सुनाए- ‘आफूले कुनै यस्तो काम सुरुवातकाो प्रस्ताव राखौं, जसले गर्दा राज्य र नागरिक तथा आफ्नै व्यवसायमा पनि लाभ होस् ।’
बाटोभरी सोचहरुले उनको मस्तिस्क हुँडलिरह्यो । र, एउटा प्रस्ताव मन्त्रीसमक्ष गर्ने आइडिया निकाले । त्यो हो- घन्टे जागिर, हप्ते तलब ।
छोराछोरीको पढाइको सिलसिलामा अमेरिका र युरोप जाने मेसो मिलेको थियो उनलाई । त्यहाँ युवा वर्ग रिटेल स्टोर, ग्यास स्टेसनमा काम गर्दा रहेछन् । त्यस्तो कामको ज्याला/तलब घन्टाको हिसाबले हप्तैपिच्छे दिइन्छ । त्यहाँ उनले होटलमा वृद्ध–वृद्धाले पनि काम गरिरहेको देखे । २०-२२ वर्षअघि गुरुङलाई त्यस्तो अभ्यास नयाँ लागेको थियो ।
नेपालमा चाहिँ केटाकेटी खेलेरै समय बिताउने, मोबाइलमै झुन्डिने गर्छन् ।
युरोप अमेरिकामा केटाकेटी पनि काम गरेको देखेर त्यस विषयमा आफन्तलाई सोध्दा ‘अभिभावकले बालबच्चालाई आफ्नो स्वाबलम्बन बन्न सिकाएको’ भन्ने जवाफ पाएका थिए । विदेशमा आमाबाबुले बालबच्चालाई त्यहीअनुसार शिक्षा दिने रहेछन् ।
नेपालमा चाहिँ बाबुआमाले कमाएको पैसा छोराछोरीलाई पुग्छ । कोहीकोहीले त ५-७ पुस्तासम्म पुग्ने कमाउँछन् ।
गुरुङलाई यस्तो पहिलेदेखि नै युवावर्गले काम गरुन् भन्ने लाग्थ्यो, ‘युवाहरुले अनावश्यक काममा समय खेर नफालुन् । फजुल खर्च नगरुन् ।’
आफू देशकै ठूलो सुपरमार्केट चेनको सञ्चालक भएका नाताले पनि विदेशमा झैं रोजगारी सिर्जना गर्दा के हुने हो ? कसो हुने हो ? भन्ने उनको मनमा आइरहन्थ्यो । तर, सो सोचलाई अभ्यासमा उतार्ने चेष्ठा गरेका थिएनन् । उनलाई लाग्थ्यो, ‘युवामा कम्तिमा पनि काम गर्ने बानी विकास होस् ।’
यसो गर्दा रोजगारी सिर्जना पनि हुन्छ । देशका नागरिकको आयआर्जन र आम्दानी वृद्धि पनि हुन्छ । काम गर्यो भने आम्दानी हुन्छ, आफ्नो खर्च जोहो हुन्छ ।
आफैंले पनि व्यवसाय विस्तारमा कर्मचारी पाउने भएकाले लाभ नै हुने उनको सोच थियो ।
झापाको दमकमा नयाँ स्टोर सञ्चालनमा ल्याएपछि गुरुङलाई मन्त्रीसमक्ष प्रस्तावगरेअनुसार रोजगारी दिन सुरुवात गरिहाल्नुपर्ने महशुस भएका थियो । पछिल्लो समय वैदेशिक रोजगारी, शिक्षा, घरायसी कारण जागिर छाड्ने परिपाटी बढेको देखिन्छ । २-३ सयका दरमा पुराना कर्मचारीले छोडिरहेका थिए ।
अमेरिकी राष्ट्रपति बाराक ओबामाकी छोरी रेस्टुरेन्टमा काम गर्न हुने, नेपालीहरुले काम गर्न किन नहुने ? कि रोजगारीको अवसर नभएको हो ? भन्ने प्रश्न मनमा उठ्थ्यो ।
गुरुङका मनमा बाटोभरी यी र यस्तै कुरा खेले । र, मन्त्री अर्यालसमक्ष आफूले यसबारे कुरा राख्ने सोच बनाए ।
मन्त्री अर्यालसँगको भेटमा आफूले विदेशमा झैं रोजगारी दिने कार्यकार थालनी गर्दा कस्तो हुन्छ ? भन्ने प्रश्न गरे । साथै, २ हजार जना एसईई उत्तीर्ण गरेका विद्यार्थीलाई रोजगारी दिने प्रस्ताव पनि गरे ।
दिनमा निश्चित समय काम गर्ने र घन्टाको हिसाबले तलब पाउने प्रस्ताव गुरुङको रह्यो । र, तलब हप्तैपिच्छे भुक्तानी गर्ने योजना सुनाए ।
यो कुरा श्रममन्त्री अर्याललाई मन पर्यो । अर्याल पनि प्रफुल्ल बने ।
किनकी, अब देशमा कम्तिमा २ हजार युवा फुर्सदमा खालीहात बस्नु नपर्ने भयो । मोबाइल चलाएर पब्जी खेलेर समय बर्बाद पनि नहुने भयो । उनीहरु उत्पादनमुलक काममा लाग्ने भए ।
घन्टाको हिसाबले काम र हप्तैपिच्छे तलब भुक्तानी भन्ने कुरा मन्त्री अर्याललाई खुबै चित्त बुझेको थियो ।
‘आधुनिक जमानामा आधुनिक तरिकाले चल्नुपर्यो नि ! व्यापार व्यवसाय पनि युवावर्गबाट सञ्चालन भयो भने बिक्री बढ्छ । युवाहरु राम्ररी बुझाउन सक्ने क्षमता राख्छन् । किनकी उनीहरुले अनलाइनबाट विश्व घुमेका हुन्छन् । विश्वभरका उत्पादनबारे ज्ञान बटुलेका हुन्छन्,’ गुरुङले सुनाए ।
आफ्नो मनमा यस किसिमको कामबारे कुरा उब्जेको बिसौं वर्ष भइसकेको र आफ्नै स्टोरबाट यो योजनाको सुरुवात गर्न खोज्दा निकै राम्रो प्रतिक्रिया प्राप्त भएको उनले जिकिर गरे ।
‘अमेरिकामा युवामात्र होइन, ८५ वर्षको वृद्ध पनि होटलको रिसेप्सनमा काम गर्छन्,’ गुरुङ भन्छन्, ‘लामो समय काम गर्ने पनि होइन । २-३ वा ५ घन्टामात्रै काम गर्ने, थोरै कमाउने । आफ्नो खर्च धान्ने । बाबुआमालाई दुःख नदिने । राम्रो विषय हो नि !’
गुरुङले यसबारे सोचको धेरै समय भइसकेको हुनाले पनि कार्यान्वयनमा ढिला हुने छैन ।
उनको योजनाअुसार साउन १५ गतेदेखि नै देशभरका भाटभटेनीमा यस प्रकारको रोजगारी खुला हुनेछ ।
‘महिनादिन भित्रमा काम थाल्न सक्ने गरी संयन्त्र तयार भइरहेको छ,’ उनी भन्छन्, ‘डिजिटल प्रविधिबाट हाजिर हुनेछ । मेसिनमा थम्ब इन र आउट (बुढी औंलाले ल्याप्चे लगाए झैं हाजिर गर्ने) गरे भइहाल्यो ।’
सञ्चालक गुरुङका अनुसार यस प्रकृतिको रोजगारीमा सरकारले तोकेको भन्दा बढी ज्याला दिने तयारी छ । हाल सरकारले तोकेको तलब निकै नै कम छ । ज्यालादारी मजदुरको ज्याला प्रतिघण्टा तलब ९६ रुपैयाँ हाराहारीमात्र छ । गुरुङले पस्ताव गरेको रोजगारीमा प्रतिघण्टा ज्याला सरकारले तोकेको भन्दा २० प्रतिशत बढी नै हुने उनले बताए ।
‘प्रतिघन्टा १२० रुपैयाँ जति होला । दिनको ४ घन्टा काम गरेर पढ्दै गरेको विद्यार्थीले मासिक १०-१२ हजार रुपैयाँ कमाउन सक्नेछ,’ उनले भने ।
युवा विद्यार्थीको जीवनस्तर आर्थिक हिसाबले मात्र नभएर बानी र व्यवहारमा पनि परिवर्तन होस् भन्ने हेतुले यस्तो रोजगारी दिन खाजेको उनी बताउँछन् ।
‘युवाहरुमा काम गरेर खानुपर्छ भन्ने आदत बसोस्,’ उनले भने, ‘अमेरिका युरोपमा बच्चाहरुलाई काम गरेर खान सिकाइन्छ । हामीले त सानैदेखि काम गरेका हौं । दाउरा घाँस गर्नुपर्थ्यो । गाइ वस्तु चराउन जानु पर्थ्यो । केही काम नभए खाजा पुर्याउनुपर्थ्यो ।’
अहिलेका युवा जतिबेला पनि मोबाइल झुन्डिने गरेको उनको अनुभव छ । ‘त्यसैले भाटभटेनीले गर्न लागेको सुरुवात अनुत्पादक काम छाडेर, आर्थिक रुपमा सबल र सक्षम बनाउने सोच अनुसारको हो,’ गुरुङ थप्छन्, ‘कोही मान्छे खाली नबसौं । अनावश्यक आराम नगरौं, अनुत्पादक नबनौं ।’
युवाहरु काँचो माटो झैं हुने र जस्तो बनायो त्यस्तै बन्ने भन्दै गुरुङले भन्छन्, ‘म एउटा खुद्रा व्यवसायी हुँ । नयाँ सुरुवात गरौं भन्ने यो एउटा सोच हो । युवालाई काम गर्नुपर्छ भन्ने उत्प्रेरण मिल्ने मेरो विश्वाास छ ।’
उनका अनुसार यो स्किम २१ वर्षभन्दा कम उमेरका युवाका लागि हो । अहिले रोजगारीका लागि आवेदन प्राप्त भइरहेको छ । दुर्गम, कमजोर आर्थिक स्थिति भएको विद्यार्थीले भाटभटेनीमा रोजगारी पाउनेछन् ।
रोजगारी पाउनका निमित्त ऊ अनिवार्य रुपमा पढ्दै गरेको हुनुपर्छ । कार्यस्थल (भाटभटेनी सुपरमार्केट) नजिक बस्ने युवा पहिलो प्राथमिकतामा पर्नेछन् ।
सुरुमा विद्यार्थी लक्षित रहेको यो स्किमअनुसारको रोजगारी पछि अरु उमेर समूहका युवालाई पनि उपलब्ध गराइनेछ । साउनदेखि देशभरका २७ वटै स्टोरमै यो रोजगारी उपलब्ध हुनेछ ।
‘सकेसम्म उपत्यकाबाहिर यो रोजगारी प्रदान गर्छौं । मुख्यतः युवामा काम गर्ने इच्छाशक्तिका आधारमा अन्तर्वार्तामार्फत चयन हुनेछन्,’ उनले भने, ‘हामी सिपबिहीन युवालाई सिर्जनात्मक तरिकाले परिचालन गर्दैछौं । सुरका दिनमा कोही ग्राहक सेवा वाासत्कारमा परिचालन हुनेछन् । कसैले ग्राहकको गाडीसम्म सामान पुर्याउने काम गर्नेछन् । कोहीलाई स्टोरमा परिचालन गरिनेछ ।’
यो कार्यबाट राज्यलाई रोजगारी सिर्जनामा तथा अर्थतन्त्रलाई नागरिकको उपभोग क्षमता अभिवृद्धि, आर्थिक गतिविधि विस्तार र चलायनमान गरी सघाउ पुग्ने उनको विश्वास छ ।
गुरुङले ५० अर्बको कारोबारपछि सर्वसाधारणलाई सेयर जारी गर्ने योजना बनाएका छन्। धितोपत्र बोर्डले ‘बुक बिल्डिङ’ प्रणालीबाट सार्वजनिक सेयर निष्कासन गर्न सक्ने व्यवस्था लागू गरेको छ । यस्तो व्यवस्थाले भाटभटेनीजस्ता सुपरमार्केटलाई आइपीओ निष्कासन गर्न सजिलो बनाउँछ ।
२०४१ सालमा ३५ हजार पुँजीबाट सुरु भएको भाटभटेनी अहिले वार्षिक ३०औं अर्बको कारोबार गर्ने देशकै ठूलो सुपरस्टोर बनससकेको छ । भाटभटेनीले अहिले ६ हजार जनालाई प्रत्यक्ष रोजगारी दिएको छ ।
कुनैपनि व्यवसाय गर्दा सफा क्षेत्र रोज्नु पर्ने र वातावरण सफा भएर मात्रै पुग्दैन आफ्नो मन पनि सफा हुनुपर्ने उनी बताउँछन् ।
‘देश र उपभोक्ताप्रति जिम्मेवार हुनुपर्छ । इमानदारपूर्वक काम गर्नुपर्छ । त्यतिले मात्रै पुग्दैन धेरै नै कडा मिहेनत गर्नुपर्छ । कडा परिश्रमबिना कुनैपनि मान्छेले सफलताको शिखर चुमेको छैन । व्यवसाय गर्ने मान्छेले तत्कालै प्रतिफल खोज्नु हुँदैन । राज्यप्रतिको उत्तरदायी हुनुपर्छ । करमा पारदर्शी भएर व्यवसाय गर्नुपर्छ । हामी पारदर्शी छौं ।’ गुरुङ भन्छन्- ‘३५ हजार पुँजीबाट सुरु भएको भाटभटेनी अर्बौंको कारोबार गर्न सफल भएको छ, हजारौंलाई रोजगारी दिएको छ ।’
खोटाङको सामान्य किसान परिवारमा जन्मिएर आफ्नो आवश्यकताका लागि व्यवसाय शुरु गरेको उनी बताउँछन् ।
‘म कुनै व्यवसायीक घरानाको व्यक्ति होइन । र, यसरी ठूलो व्यवसायी बनौंला, धन कमाउँला भन्ने त सोचेकै थिइँन’ उनले भने- ‘ठूलो हुँदा ठूला मान्छेहरुको गिद्धे नजरमा परिएछ । देशमा रोजगारी सिर्जना गर्ने अभियानले आकार लिँदै जाँदा बिनाकसुर ७६ दिनसम्म हिरासतमा बस्नुपर्यो । सायद कर्पोरेट वारको सिकार पनि भएको हूँला । यसबाट धेरै सिकेँ। यही माटोमा फल्छु, फुल्छु ।’