भाटभटेनीलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनाउँछुः मिनबहादुर गुरुङ



काठमाडौं । भाटभटेनी सुपरमार्केटलाई देशकै सबैभन्दा बढी कर तिर्ने संस्था बनाउने सञ्चालक मिनबहादुर गुरुङले बताएका छन् ।

बिहीबार नक्सालस्थित भाटभटेनी सुपरमार्केटको प्रांगणमा आयोजित क्यूआर कोड स्क्यान शुरुवातको कार्यक्रममा बोल्दै गुरुङले आफ्नो लक्ष्य भाटभटेनीलाई सबैभन्दा बढी कर तिर्ने संस्था बनाउनु रहेको बताए ।

‘मेरो लक्ष्य सबैभन्दा कर तिर्ने र सबैभन्दा धेरै रोजगारी सिर्जना गर्ने संस्था बनाउनु हो,’ उनले भने, ‘यसका लागि देशका विभिन्न स्थानमा आउलेट सञ्चालन गर्दै जाने छौं ।’

३७ वर्षअघि ३५ हजार रुपैयाँ लगानीमा शुरु भएको भाटभटेनीले हाल देशका विभिन्न स्थानमा १९ वटा आउटलेट सञ्चालन गर्दै आएको छ । पछिल्लो समयमा कम्पनीले इटहरिमा नयाँ आउटलेट सञ्चालनमा ल्याएको छ ।

हाल कम्पनीमा १२ लाख सक्रिय सदस्य छन् भने दैनिक औसतमा ४० हजार पटक कारोबार हुँदै आएको छ । भाटभटेनीले वार्षिक २० अर्ब रुपैयाँ बराबरको कारोबार गर्दै आएको छ । जसमा करिब ८ अर्ब रुपैयाँ विद्युतीय भुक्तानीमार्फत् हुँदै आएको छ ।

गुरुङले चालु आवमा ३० अर्ब रुपैयाँको कारोबार पुर्याउने लक्ष्य लिइएको बताए ।

शुरुवाती समयमा एकजना कर्मचारी राखेर कोल्ड स्टोर सञ्चालन भएको भाटभटेनी सुपरमार्केटमा हाल ६ हजारभन्दा बढी कर्मचारीले रोजगारी पाएका छन् ।


क्लिकमान्डु