भाटभटेनीको व्यापारमा उछाल, एकै वर्ष गर्‍यो पौने ३० अर्बको कारोबार, थप ३ वटा शाखा खोल्दै



काठमाडौं । अर्थतन्त्रमा देखिएको सुस्तताको समयमा पनि भाटभटेनी सुपरमार्केट र डिमार्पमेन्टल स्टोर (बीबीएसएम)को व्यापारमा उछाल आएको छ ।

सन् १९९२ मा सुपरमार्केटको चेन ल्याएको मिनबहादुर गुरुङको भाटभटेनीले एकै वर्ष पौने ३० अर्बको व्यापार गरेको छ ।

कम्पनीले सन् २०२३ मा २९ अर्ब ७० करोड (अपरिष्कृत) रुपैयाँको व्यापार गरेको छ । उक्त व्यापार हालसम्मकै उच्च हो । कम्पनीले सन् २०२२ मा २६ अर्ब ९३ करोड रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, कम्पनीले सन् २०२१ मा १९ अर्ब ९९ करोड ७० लाख रुपैयाँ, सन् २०२० मा १९ अर्ब ३६ करोड २० लाख रुपैयाँ र सन् २०१९ मा १७ अर्ब ९९ करोड ६० लाख रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले भाटभटेनीमार्फत विभिन्न वस्तु बिक्री वितरण गर्दै आएको छ । कम्पनीको हालसम्ममा २४ वटा शाखा छन् । साथै, कम्पनीले एउटा शाखा तत्कालै खोल्ने तथा सन् २०२४ को पहिलो त्रैमासिकसम्ममा २ वटा थप शाखा खोल्ने तयारी गरेको छ । कम्पनीले नयाँ खोल्ने योजना बनाएको शाखासहित देशभर भाट–भटेनीको शाखा २७ पुग्नेछ ।

मिनबहादुर गुरुङको ६० प्रतिशत र सावित्री घले गुरुङको ४० प्रतिशत हिस्सा रहेको कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि १२ अर्ब ८७ करोड ६ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ५ अर्ब २५ करोड ८१ लाख रुपैयाँ अर्थात् एलबीबी र अल्पकालीन कर्जाका लागि ७ अर्ब ६१ करोड २५ लाख रुपैयाँ अर्थात् एफोर रेटिङ पाएको छ ।

कम्पनीले सन् २०२२ देखि २०२३ सम्म ६ वटा शाखाको विस्तार गरेको थियो ।


क्लिकमान्डु