प्रदीप अधिकारी भ्रष्टाचारमा मुछिएपछि प्राधिकरणमा डीजीको दौड, तिवारी अगाडि

994
Shares

काठमाडौं । नेपाल नागरिक उड्डयन प्राधिकरणमा निमित्त महानिर्देशको जिम्मा वरिष्ठताका आधारमा तोकिने भएको छ ।प्राधिकरणका महानिर्देशक (डीजी) प्रदीप अधिकारी भ्रष्टाचारको आरोपमा निलम्बनमा परेपछि डीजीको दौड चलिरहेको छ।

मन्त्रालयका प्रवक्ता जयनायरायण आचार्यका अनुसार निलम्बमा परेको पत्र मन्त्रालयमातहत नै आएको र सोही अनुसार जानकारी गराइसकिएको छ । यसका लागि मन्त्रालयले नै तोकेर दिन सक्ने विषयमा पनि छलफल भइरहेको छ ।

तिवारी हाल प्राधिकरणमा बहालमा रहेका ५ जना उपमहानिर्देशकमध्ये सबैभन्दा वरिष्ठ हुन् । तिवारीपछि प्रेमनाथ ठाकुर, हंसराज पान्डे, देवचन्दलाल कर्ण र जगन्नाथ निरौला छन् ।

प्राधिकरणका १२ औं तहका कर्मचारीमध्येबाट महानिर्देशक नियुक्त हुने व्यवस्था छ । यद्यपि, प्रदीप अधिकारी महत्वकांक्षी भएकोले ११ औं तहबाट १२ औं नभएर एकैपटक महानिर्देशक भएका थिए ।

प्राधिकरण ऐन अनुसार कर्मचारीहरूको सेवाका शर्त र सुविधासम्बन्धी नियमावली २०५६ अनुसार १२ औं तहको पदमा ६ वर्ष, महानिर्देशक भएको ४ वर्ष वा ५८ वर्षको उमेर हद जुन छिटो हुन्छ, सो अनुसार अवकाश पाउने व्यवस्था छ ।

अधिकारीले ६ जना वरिष्ठलाई पन्छाएर महानिर्देशक हुँदा भएको विवाद र महत्वकांक्षाले अख्तियारले भ्रष्टाचारको मुद्दासम्म नै दर्ता गरेकोले पनि अब नियमसंगत नै प्राधिकरणले नेतृत्व पाउने देखिएको छ ।

प्रधानमन्त्री शुशीला कार्की नियमसंगत नै जानुपर्ने, क्षमतावान वरिष्ठ नै हुँदाहुँदै कनिष्ठमा गएर थिति विगार्न नहुने पक्षमा भएकोले पनि प्राधिकरणमा वरिष्ठताका आधारमा तिवारी नै महानिर्देशक बन्ने भएका छन् ।

तिवारी २०७७ मंसिर १७ गते नेपाल नागरिक उड्डयन प्राधिकरणको १२ तह (उपमहानिर्देशक)मा बढुवा भएका कर्मचारी हुन्

प्राधिकरण ऐन अनुसार उनको उमेरहदभन्दा छिटो उपमहानिर्देशकको ६वर्षे कार्यकाल छिटो पूरा हुँदै छ । उनको प्राधिकरणमा रहेर काम गर्न पाउने समय २०८३ मंसिरसम्म छ । त्यसो हुँदा तिवारीलाई सरकारले महानिर्देशक नियुक्त गरेको अवस्थामा उनले एक वर्ष काम गर्न पाउने छन् ।

तिवारीपछिको वरिष्ठको श्रेणीमा हंसराज पाण्डे छन् । हाल त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल महाप्रबन्धकको जिम्मेवारीमा रहेका पाण्डे २०७८ पुस १६ गते उपमहानिर्देशक भएका हुन् ।

पाण्डेसँगै एकैदिन देवचन्द्रलाल कर्ण र प्रेमनाथ ठाकुर पनि २०७८ पुस १५ गते नै उपमहानिर्देशक भएका हुन् । प्रेमनाथ, हंसराज र देवचन्द्रलाल ६ वर्ष प्रावधानका कारण २०८४ पुस १५ सम्म मात्रै प्राधिकरणमा रहन्छन् ।

तिवारीसँगै प्रतिस्पर्धामा १२ औं तह भएकोले प्रेमनाथ ठाकुर, हंसराज पाण्डे, देवचन्द्रलाल कर्ण र जगन्नाथ निरौला पनि छन् । निरौला २०७९ चैत्र १८ गते उपमहानिर्देशक भएका कर्मचारी हुन् । उनीहरु सबै १२ औं तहकै कर्मचारी भएकोले सबैले प्रतिस्पर्धी हुन् भने वरिष्ठता भने सबैभन्दा अगाडि प्रतापबावु तिवारी मात्रै छन् ।

निरौलालाई महानिर्देशक बनाउँदा चार वर्षको पूरै कार्यकाल बिताउन पाउँछन् । सरकारले आगामी चार वर्ष प्राधिकरणको नेतृत्व नचलाउने र दीर्घकालीन भिजन राखेर लामो समय काम गर्न दिने सक्षम व्यक्तिको खोजी गर्ने हो भने निरौला रोजाइमा पर्छ सक्छन् । त्यसो त निरौला २ वर्षपछि वरिष्ठताकै हिसावले पनि महानिर्देशक हुन्छन् । सरकारले चाहेमा उनलाई अहिले नै महानिर्देशक बनाउन सक्छ ।