भारतको डिमार्टका राधाकृष्णको नीतिले भाटभाटेनीका मिनबहादुर डलर अर्बपति बन्लान् ?



काठमाडौं । मिनबहादुर गुरुङले २०४१ सालमा काठमाडौंको भाटभटेनी मन्दिरमा ३५ हजार रुपैयाँको लगानीमा स्टोर खोले ।

नेपाल बैंकका जागिरे रहेका मिनबहादुर गुरुङले काठमाडौंको भाटभटेनी मन्दिरको परिचय स्टोरमा बनाइदिए ।

अर्थात् काठमाडौंमा बालकुमारीदेखि गोपिकृष्णसम्म सहरभित्रको बाटो भएर नेपाल यातायातको यात्रा गर्नुभयो भने ४ स्थानमा भाटभटेनी डिपार्टमेन्ट स्टोर आउँछ ।

तपाईंले भाटभटेनी झर्ने भन्नुभयो भने कहाँको भन्नुपर्ने हुन्छ । अर्थात् मन्दिरको परिचय स्टोरले बनाइदियो ।

यहाँ उठाउन खोजिएको कुरा भने अलि फरक छ । नेपालमा आजको दिनमा सबैभन्दा ठूलो डिपार्टमेन्ट स्टोर भाटभटेनी बनेको छ । जसले नेपालीहरुको ‘सपिङको कल्चर’मा परिवर्तन ल्याइदिएको छ ।

जसले वर्षमा करिब २० अर्ब रुपैयाँको कारोबार गर्छ । वर्षमा २० अर्बको कारोबार गरे पनि भाटभटेनी डिपार्टमेन्ट स्टोर भने पब्लिक लिमिटेड कम्पनी होइन । यसको स्वामित्व मिनबहादुर गुरुङ उनको परिवारको नाममा छ ।

पछिल्लो समय धितोपत्र बोर्डले ‘बुक बिल्डिङ’ प्रणालीबाट सार्वजनिक सेयर निष्कासन गर्न सक्ने व्यवस्था लागु गरेको छ । यस्तो व्यवस्थाले भाटभटेनीजस्ता सुपरमार्केटलाई आइपीओ निष्कासन गर्न सजिलो बनाउँछ ।

मिनबहादुर गुरुङले पब्लिक कम्पनी बनाएर सेयर जारी गर्ने बताए पनि प्रक्रिया भने शुरु गरेका छैनन् ।

के गुरुङले भारतको डिमार्टका संस्थापक राधाकृष्ण दमानीले लिएको बाटो लिन्छन् ? राधाकृष्ण दमानीको चर्चा भारतमा पछिल्लो समय निकै चलेको छ ।

कुनै बेला सेयर बजारमा लगानीकर्ता रहेका र दलाल स्ट्रिटमा मात्र चिनिएका दमानी सन् २००२ मा एभेन्यू सुपरमार्केटको स्थापना गरेर ‘डि मार्ट’ ब्राण्डमा सुपरमार्केट स्थापना गरे ।

सन् २०१७ सम्ममा दमानी अर्बपतिको सूचिमा समेत थिएनन् । उनले सन् २०१७ मा डिमार्टको सार्वजनिक सेयर निष्काशन (आइपीओ) जारी गरे ।

आइपीओ निष्कासन गरेपछि उनको कम्पनी मुम्बई स्टक एक्सचेन्जमा सूचिकृत भयो । डिमार्ट सेयर बजारमा कारोबार हुनासाथ दमानी अर्बपति बने ।

२ वर्षमा उनको सम्पत्ति यसरी बढ्यो कि फोब्र्सको २०१९ को सूचिमा उनी भारतको दोस्रो धनी व्यक्ति नै बन्न सफल भए । त्यो बेला उनको सम्पत्ति १५ अर्ब अमेरिकी डलर थियो । सेयर निष्कासन गरेको २ वर्षमा उनको सम्पत्ति बढेर १५ अर्ब डलर पुगेको थियो ।

फोर्ब्सको रियल टाइम सूचिअनुसार अहिले उनीसँग १४.५ अर्ब अमेरिकी डलरको सम्पत्ति छ । उनी भारतका चौथो धनी व्यक्ति हुन् ।

सेयर बजारमा सूचिकृत कम्पनीको मूल्य अनुसार फोर्ब्सको रियल टाइम सूचि भने परिवर्तन भएको हुन्छ ।

सन् २०१७ मा आइपीओ निष्कासन गरेपछि राधाकृष्ण दमानीलाई रिटेल मार्केटको किङ भनेर चिनिन्छ ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरका संचालक मिनबहादुर गुरुङ सर्वसाधारणलाई सेयर जारी गर्ने आफ्नो योजना रहेको सुनाउँछन् ।

‘अहिले हाम्रो २० अर्ब रुपैयाँजतिको वार्षिक कारोबार हो, त्यसलाई ५ वर्षभित्रमा ५० अर्ब पुर्याएपछि सार्वजनिक सेयर निकाष्सन गर्ने योजना हो,’ गुरुङले क्लिकमाण्डूसँग भने ।

बुक बिल्डिङ योजनाले ब्राण्डेट कम्पनीलाई आइपीओ निष्कासन गर्नको लागि सहयोगी भूमिका हुने बुझाइ उनको छ ।

नेपालमा अहिले डलर अर्बपति बिनोद चौधरी हुन् । उनी र उनको परिवारको नाममा नबिल बैंकमा बढी सेयर छ । नबिल बैंकमा चौधरी र उनको परिवारको नाममा भएको सेयरले उनलाई डलर अर्बपति बनाउन महत्वपूर्ण भूमिका खेल्यो ।

भारतमा राधाकृष्ण दमानीले सेयर निष्कासन गरेपछि भाटभटेनीको समेत सेयर निष्कासन गर्नुपर्ने सोच लिएका गुरुङ के नेपालमा अर्को डलर अर्बपति बन्नेछन् ? यो प्रश्नको जवाफ भने अहिले दिन सकिँदैन ।

सबैभन्दा पहिला त भाटभाटेनीले सार्वजनिक सेयर निष्कासन गर्नुपर्यो । त्यसपछि त्यसको मूल्यले निर्धारण गर्ने कुरा हो ।

खोटाङको किसान परिवारमा जन्मेका गुरुङ पहिलो पुस्ताका व्यवसायी हुन् । विभिन्न समयमा उनी विवादमा समेत आएका हुन्छन् । उनले गरेको गल्ती गरेको भए कारवाही समेत होला ।

तर, एउटा कुरा भने आइपीओ निष्कासन नगरे पनि पछिल्लो दुई दशकमा सफल भएका व्यवसायीमा गुरुङ पर्छन् । उनको सफलताको कथा साँच्चै लोभलाग्दो छ ।


क्लिकमान्डु