व्यवसाय विस्तारमा आक्रमक बने मिनबहादुर गुरुङ, ५ अर्ब लगानीमा ५ ठाउँमा भाटभटेनी खोल्ने



काठमाडौं । भाटभटेनी डिपार्टमेन्ट स्टोरका संस्थापक मिनबहादुर गुरुङ कोरोना संकटकै समयमा पनि व्यवसायमा विस्तारमा आक्रामकरुपमा प्रस्तुत भएका छन् ।

गुरुङले करिब ३ अर्ब लगानी गर्ने योजनासहित ३ स्थानमा भाटभटेनी डिपार्टमेन्ट स्टोरका लागि भूमि पुजनसमेत गरिसके ।

गुरुङले काठमाडौं उपत्यकाको काठ क्षेत्रमा स्टोरलाई फोकस गर्न खोजेका छन् । उपत्यकाको टोखा र सानागाउँमा र सुदुरपश्चिमको धनगढीमा भाटभटेनी डिपार्टमेन्ट स्टोर खोल्ने भएका छन् ।

यसबाहेक इटहरी र हेटौंडामा गुरुङले भाटभटेनी डिपार्टमेन्ट स्टोर आउने क्रममा रहेको छ ।

‘५ स्थानमा करिब ५ अर्बजति लगानी हुने छ, काठमाडौं उपत्यकाको बाहिरी क्षेत्रमा स्टोर खोल्न यो पटक प्राथमिकता दिइएको छ,’ गुरुङले क्लिकमाण्डूसँग भने ।

भाटभटेनी डिपार्टमेन्ट स्टोरले सन् २०२२ को अन्त्यसम्ममा थप २ हजार रोजगारी सिर्जना गर्ने गुरुङले जानकारी दिए ।

गुरुङले यो हप्तामात्र ३ स्थानमा भाटभटेनी डिपार्टमेन्ट स्टोर खोल्नको लागि भूमिपुजन गरेका छन् । २ वर्षभित्रमा काठमाडौं उपत्यकाको टोखा र सानागाउँमा डिपार्टमेन्ट स्टोर संचालनमा आउने छ । यस्तै काठमाडौं उपत्यका बाहिर धनगढीमा स्टोर संचालनमा आउने । सुदुरपश्चिममा धनगढीमा पहिलो पटक भाटभटेनी डिपार्टमेन्ट स्टोर खुल्न लागेको हो ।

२०४१ सालमा काठमाडौंको भाटभटेनी मन्दिरमा गुरुङले भाटभटेनी डिपार्टमेन्ट स्टोरको सुरुवात गरेका थिए । जसले वर्षमा २० अर्बजतिको कारोबार गर्ने गरेको छ ।

अहिले देशभर भाटभटेनीका १८ वटा स्टोर संचालनमा रहेका छन् । ५ वटा स्टोर संचालनमा आउने क्रममा रहेका छन् ।


पुष्प दुलाल